
पर्सा — पर्सा जिल्लाको पोखरिया नगरपालिका–९ मा विवाह समारोहको दौरान चोरी भएको मोटरसाइकलसहित तीनजना युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार उनीहरूलाई चोरी मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
गत जेठ ८ गते राति करिब ११ बजेको समयमा वीरगंज महानगरपालिका–२१, तासपुर निवासी ५४ वर्षीय राजदेव महतोको नाममा दर्ता रहेको ना.५४ प ३८७७ नम्बरको कालो तथा रातो रंगको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी भएको थियो। मोटरसाइकल विवाहस्थलबाट हराएपछि पीडितले इलाका प्रहरी कार्यालय, पोखरियामा निवेदन दिएका थिए।
प्रहरीले दिएको जानकारी अनुसार, निवेदनका आधारमा खोजतलास गर्दा मोटरसाइकल जेठ १० गते पोखरिया नगरपालिका–४ को सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको हो। प्रारम्भिक अनुसन्धानपछि मोटरसाइकल चोरीमा पोखरिया नगरपालिका–४ का तीन जना युवाको संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा पोखरिया नपा -४ का १९ वर्षीय रितिक गिरी, २१ वर्षीय राम विश्वास कुमार राम र १९ वर्षीय कृष्ण महतो नुनिया रहेका छन्।
इलाका प्रहरी कार्यालय, पोखरियाले पर्सा जिल्ला अदालतबाट म्याद थप गराई तीनै जनाविरुद्ध चोरी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता किशोर लम्सालले बताए।
यसैबीच, पीडित पक्षले पोखरिया क्षेत्रमा पछिल्लो समय मोटरसाइकल चोरीका घटनाहरू दोहोरिरहेकाले चासो व्यक्त गरेका छन्। एक जना पीडितले भने, “चोर पक्राउ परे पनि विभिन्न दबाबमा छाडिने प्रवृत्तिले चोरहरूको मनोबल बढेको हो।”
स्थानीय बासिन्दाहरूले प्रहरी प्रशासनसँग चोरी नियन्त्रणमा थप सक्रियता देखाउन माग गरेका छन्।
























