पर्सा – पटेर्वासुगौली गाउँपालिका वडा नं. १ रामभौरी नजिकै रहेको सितलपुर जङ्गलमा जङ्गली हात्तीको आक्रमणमा एकजना व्यक्तिको मृत्यू भएको छ।
प्रहरीका अनुसार गत ९ गते मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं २ बस्ने श्यामबहादुर भुलन, भक्त बहादुर आले र श्रवण भुलन तीनजना कुरीलो (जडिबुटी) खन्न साँझको सवा सात बजेको समयमा जङ्गलमा गएका थिए। यस क्रममा अचानक एक जङ्गली हात्तीको आक्रमणमा परी श्यामबहादुर भुलनको मृत्यु भएको र उनका साथीहरु ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीलाई सोमवार जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा दृश्य अनुसन्धान (Scene of Crime) टोली खटिएको थियो। प्रहरीले घटनास्थलमा लाशको जाँच, मुचुल्का र आवश्यक प्रक्रिया पूरा गरेपछि लाश पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगंज पठाएको छ। पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी किशोर लम्सालले थप अनुसन्धान कार्य भइरहेको बताए।

























