पर्सा – आज दिउँसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ।
लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।
आज राति बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहने अनुमान छ। बागमती र गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा र अन्य स्थानका एक-दुई भागमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनसक्नेछ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले समेत आंशिक प्रभाव पारिरहेको छ। मौसम पूर्वानुमान अनुसार वर्षा वा हिमपातको सम्भावना रहेको क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।
























