वीरगंज, पर्सा — वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वडा नं. २७ स्थित उदयपुरघुर्मीमा निर्माणाधीन कालोपत्रे सडकको निरीक्षण गरेका छन् । हाल उक्त सडकमा कालोपत्रे प्रक्रिया अघि बढाउन अतिक्रमण हटाउने कार्य र सडकको बेस निर्माण तीव्र गतिमा भइरहेको महानगरले जनाएको छ।
निरीक्षणको क्रममा प्रमुख सिंहले निर्माण कार्यको गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। साथै, काम समयमा सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
उहाँले सोही दिन वडा नं. २१ परवानीपुरस्थित मुख्य सडकदेखि पटेल नगरतर्फ जाँदै गरेको सडकको पनि निरीक्षण गरे। अवरोध हटाएर हाल तीव्र गतिमा सडक निर्माण कार्य भइरहेको छ।
यसका साथै वडा नं. १४ सानो पिप्रा बौद्धिमाईमा निर्माण सम्पन्न भएको कालोपत्रे सडकको पनि प्रमुख सिंहले निरीक्षण गरे।
सडक निरीक्षणको क्रममा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नं. २७ का वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मी, स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।
स्थानीयवासीहरूले सडक निर्माणले आवागमन सहज हुनुका साथै आर्थिक तथा सामाजिक विकासमा समेत टेवा पुग्ने अपेक्षा व्यक्त गरेका छन्।
वीरगंज महानगरपालिकाले हाल विभिन्न वडाहरूमा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, ढल, खानेपानी लगायतका परियोजनाहरूलाई तीव्रता दिएको छ। महानगरको ग्रामीण क्षेत्रलाई बजारसँग जोड्न हाल हरेक वडामा कालोपत्रे सडक निर्माणको काम तीव्र रुपमा भइरहेको छ।

























