लखनऊ सुपर जायन्ट्स विरुद्ध रोयल च्यालेन्जर्स बेंगलुरु। तस्विर : बिसिसिआइ

लखनउ, उत्तर प्रदेश — रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायर १ मा प्रवेश गरेको छ। मंगलबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै आरसीबीले प्लेअफको दोस्रो चरणमा पन्जाब किंग्ससँगको भेट पक्का गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ऋषभ पन्तको अविजित ११८ रनको शतकको मद्दतले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रनको विशाल योगफल बनाएको थियो। पन्तले ६१ बलमा ११ चौका र ८ छक्का प्रहार गरे भने मिचेल मार्ससँग दोस्रो विकेटमा ७८ बलमा १५२ रनको साझेदारी गरे। मार्सले ३७ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै उत्कृष्ट योगदान दिए।

विज्ञापन

जवाफी ब्याटिङमा आरसीबीले ८ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। कप्तान जितेश शर्मा र मयंक अग्रवालले पाँचौं विकेटका लागि ४५ बलमा अविजित १०७ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए। जितेशले ३३ बलमा ८५ रन (८ चौका, ६ छक्का) र मयंकले २३ बलमा ४१ रन (५ चौका) बनाए।

यस जितसँगै आरसीबी र पन्जाब दुवै १९ अंकसहित शीर्ष दुई स्थानमा रहेर क्वालिफायर १ मा पुगेका हुन्। गुजरात टाइटन्स १८ अंकसहित तेस्रो स्थानमा रहँदै इलिमिनेटर खेलमा मुम्बईसँग प्रतिस्पर्धा गर्नेछ।

लिग चरणको अन्तिम खेलमा गुजरातलाई पराजित गरेको लखनउले कुल १२ अंक जोड्दै सातौं स्थानमा प्रतियोगिता समाप्त गर्‍यो। पन्तले व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरे पनि लखनउको प्लेअफ यात्रा अधुरै रह्यो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here