तस्विर : सौजन्य

वीरगंज, पर्सा – वीरगंज कपडा बैङ्कले शुक्रवार वीरगंजको घण्टाघरमा निश्शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। गरीब तथा असहाय नागरिकलाई लक्षित गर्दै नियमित रूपमा आइतवारदेखि शुक्रवारसम्म बिहान १०:३० बजेदेखि बेलुकी ५ बजेसम्म कपडा वितरण गर्दै आएको बैङ्कले उक्त दिन करिब ९ सय थान नयाँ तथा पुराना कपडा वितरण गरेको सचिव कन्हैया पटेलले जानकारी दिए।

कार्यक्रम वीरगंज कपडा बैङ्कका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी थिए भने विशेष अतिथिका रूपमा वीरगंज महानगरपालिका–९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ता उपस्थित थिए।

विज्ञापन

कार्यक्रममा प्रमुख अतिथि अधिवक्ता कुर्मीले “जोसँग धेरै कपडा छ, उहाँले हामीलाई दिएर जानुस्, जसलाई आवश्यक छ, उहाँले हामीसँग निश्शुल्क लिएर जानुस्” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै कपडा बैङ्कले विगत ६ वर्षदेखि निरन्तर सेवा गर्दै आएको उल्लेख गरे। उनले शनिवार बाहेक अन्य दिनहरूमा नियमित रूपमा कार्यालयबाट र महिनामा एकपटक विभिन्न स्थानहरूमा—जस्तै घण्टाघर क्षेत्रमा—बाढी, आगलागी जस्ता विपत्तिका पीडितहरूको घरमै पुगेर लत्ता-कपडासहित अन्य सामग्री सहयोग पु-याउँदै आएको बताए। उनले सबैलाई आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत दिन–दुःखी र असहायको सेवामा खर्च गर्ने बानी बसाल्न आग्रह गरे।

वडाध्यक्ष जवाहर प्रसाद गुप्ताले वीरगंज कपडा बैङ्कको सेवाभावनालाई खुलेर प्रशंसा गर्दै सबैलाई आआफ्नो ठाउँबाट सेवा गर्न प्रेरणा लिन आग्रह गरे। साथै, आफू पनि भविष्यमा कपडा बैङ्कको कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

अध्यक्ष लालबाबु सिंहले मानवताप्रेमी सहयोगी दाताहरू, शुभेच्छुक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूप्रति आभार प्रकट गर्दै यस्ता मानवीय कार्यहरूमा निरन्तर साथ र सहयोगको अपेक्षा जाहेर गरे।

कार्यक्रममा बिपिएस कलेजका प्रिन्सिपल दीपक पटेल, सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी हुकुम सिंह राजपूत, सतिश सिंह राजपूत, कमल अधिकारी, दिपेन्द्रप्रसाद साह, राजेन्द्र भट्टराई, उपाध्यक्ष प्रकाश थारु, मोनिका सिंह, कोषाध्यक्ष मनोज मिश्र, सदस्यहरू जानकी देवी, नवराज भट्टराई, अभिलाष गुप्ता, केदार गुप्ता, सञ्चारकर्मी राज सराफ, राहुल गुप्ता र अर्जुन चौधरीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here