वीरगंज, पर्सा – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेश तथा अन्य पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ।
कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश तथा अन्य पहाडी क्षेत्रका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ। विशेषगरी कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ। साथै, उच्च-पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
आज राति पनि यही मौसमी अवस्था कायम रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही स्थानहरू तथा अन्य थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना यथावत रहेको छ।
हाल देशको पश्चिमी र मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको महाशाखाले जनाएको छ।
























