सम्मान ग्रहण गर्दै प्रप्रअ अरविन्दलाल कर्ण। तस्विर : सौजन्य

पर्सा — वीरगंज मनपाका प्रमुख राजेशमान सिंह, शिक्षिका गिता खनाल र पिटिए अध्यक्ष प्रदीप गुप्ता शैक्षिक योगदानका लागि सम्मानित भएका छन्।

प्रधानाध्यापक संघ नेपाल, मधेश प्रदेशले जनकपुरधाममा आयोजना गरेको दोस्रो प्रदेश सभा कार्यक्रमको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो।

महानगर प्रमुख सिंहलाई वीरगंजले पछिल्ला वर्षहरूमा शैक्षिक पूर्वाधार, गुणस्तरीय शिक्षा प्रवर्द्धन र बालमैत्री वातावरण निर्माणमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको हो। अस्वस्थताका कारण कार्यक्रममा अनुपस्थित नगर प्रमुखको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सम्मान ग्रहण गरे।

यसैगरी, सुन्दरमल्ल रामकुमार कन्या मावि, वीरगंजकी बाल विकास शिक्षिका गिता खनाललाई “मधेश प्रदेशकै उत्कृष्ट बाल विकास शिक्षिका” को रूपमा नगद ५ हजारसहित सम्मान गरिएको छ। शिक्षणमा सिर्जनशीलता, बालमैत्री व्यवहार र समर्पणका लागि उनलाई यो सम्मान प्रदान गरिएको हो।

सिन्दुरिया माई आधारभूत विद्यालय, लक्ष्मणवाका पिटिए अध्यक्ष प्रदीप कुमार गुप्तालाई पनि विद्यालय व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेको भन्दै प्रदेशकै उत्कृष्ट पिटिए अध्यक्षको रूपमा सम्मानित गरिएको छ।

कार्यक्रममा मधेश प्रदेशभरिका शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक प्रतिनिधि र शिक्षा क्षेत्रका विविध तहका व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सहकार्य र समर्पणबाट मात्र समृद्ध शैक्षिक भविष्य निर्माण सम्भव हुने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here