डन्डी खेल मैदान। तस्विर : एजेन्सी

डन्डी (स्कटल्यांड)— एकदिवसीय विश्वकप लिग–२ अन्तर्गत सोमबारदेखि डन्डीमा सुरु हुने शृंखलामा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध पहिलो खेल खेल्दैछ। विगतमा कमजोर प्रदर्शन गर्दै आएको नेपालका लागि यो शृंखला अवसरको रूपमा आएको छ, किनभने स्कटल्यान्डका पाँच प्रमुख खेलाडी टोलीमा छैनन्।

ब्राड करी, ब्राड ह्विल, एन्ड्रयु उमिद, जोस डेभ, माइकल जोन्स जस्ता काउन्टी क्रिकेटमा व्यस्त खेलाडीहरू अनुपस्थित छन्। व्यक्तिगत कारण देखाउँदै क्रिस सोल पनि टोलीमा छैनन्। तर जर्ज मुन्सी, म्याकमुलेन, कप्तान बेरिङ्टन, र क्रसको उपस्थितिले स्कटल्यान्डको ब्याटिङ बलियो देखिन्छ।

नेपालले पछिल्ला अभ्यास खेलहरूमा मिश्रित प्रदर्शन गरेको छ। स्कटल्यान्ड ‘ए’ सँगको खेलमा आरिफ, आसिफ र दीपेन्द्र ‘डक’ भए पनि भीम सार्की, रोहित पौडेल र गुलशन झाले अर्धशतक प्रहार गरे। बलिङतर्फ सोमपाल कामी, करण केसी, गुलशन झा र रिजन ढकालसँगै सन्दीप लामिछाने, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीको स्पिन संयोजन नेपालका लागि निर्णायक बन्न सक्छ।

लिग–२ मा नेपाल पछिल्लो समय कमजोर देखिए पनि स्कटल्यान्डविरुद्ध अन्तिम ४ खेलमध्ये ३ मा जित निकालेको छ। नयाँ प्रशिक्षक स्टुवार्ट लको नेतृत्वमा नेपालले नतिजामुखी प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। तर विदेशी भूमिमा, त्यो पनि स्कटल्यान्डको घरेलु मैदानमा, नेपालका लागि चुनौती कम छैन।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन