वीरगंज, २० जेठ – महालेखा परीक्षकको सातौं वार्षिक प्रतिवेदन २०८२ अनुसार मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा मधेश आन्दोलनका सहिद तथा घाइते परिवारलाई कुल रु. ३ करोड ५४ लाख अनुदान वितरण गरेको छ।
प्रदेश सरकारको बजेट वक्तव्य २०८०/८१ र मधेशी सहिद प्रतिष्ठान निर्देशक समितिको २०८१ सालको निर्णयअनुसार उक्त वर्ष ६२ जना सहिदका परिवारलाई जनही रु. ३ लाखका दरले र एक जना जिउँदो सहिदलाई समेत रु. ३ लाख प्रदान गरिएको हो। यसरी मात्र रु. १ करोड ८९ लाख अनुदान वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ। साथै, आन्दोलनमा घाइते भएका १०२ जनालाई विभिन्न दरमा रु. १ करोड ६५ लाख वितरण गरिएको छ।
यो अनुदान रकम अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्यरूपमा घटेको देखिन्छ। २०७९/८० मा सरकारद्वारा रु. ६ करोड ११ लाख २५ हजार वितरण गरिएको थियो भने त्यसअघि २०७८/७९ मा रु. ३ करोड ३७ लाख ९० हजार वितरण गरिएको थियो।
प्रतिवेदनले प्रदेश सरकारले सहिद तथा घाइते आन्दोलनकारीप्रति देखाएको प्रतिबद्धता उल्लेख गरे पनि रकममा आएको गिरावटले आगामी दिनमा अनुदान वितरण सम्बन्धी नीतिहरू पुनरावलोकन गर्नुपर्ने सङ्केत दिएको छ।

























