वीरगंज, २२ जेठ – पर्सा जिल्ला प्रहरीको अनुरोधमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट श्रुती रौनियारलाई पक्राउ गरेको छ। कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले रौनियार पक्राउ परेकी पुष्टि गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई पर्सा पठाउने तयारी भइरहेको जानकारी दिएका छन्।
पर्सा प्रहरीले रौनियारविरुद्ध ठगी तथा विश्वासघातको आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ। पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार, रौनियारले चार करोड ३२ लाख रुपैयाँ बराबरको संयुक्त कारोबार एकलौटी रूपमा हिनामिना गरेकी आरोप छ।
उनका अनुसार यसअघि अदालतबाट पक्राउ नगर्न अन्तरिम आदेश (स्टे अर्डर) जारी भए पनि पछि अदालतले नै पक्राउ अनुमति दिएपछि उनलाई पक्राउ गरिएको हो। “हामीकहाँ ल्याएपछि अब अनुसन्धान प्रक्रिया अघि बढ्नेछ,” एसपी मिश्रले जानकारी दिए।
श्रीमती श्रुती र उनका श्रीमान् सुमित रौनियार पप्पु कन्स्ट्रक्सनसँग आबद्ध रही विभिन्न व्यापारिक गतिविधिमा संलग्न रहेको बताइएको छ। यद्यपि हाल श्रुतीमाथि लागेको आरोपको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। अनुसन्धान अघि बढेसँगै थप विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।
प्राप्त जानकारी अनुसार श्रुति रौनियार पर्सावासी चर्चित व्यापारी तथा पूर्व सांसद हरिनारायण रौनियारकी छोरा बुहारी हुन् ।

























