तस्विर : सौजन्य

वीरगंज, २२ जेठ – प्रकृति सेवा प्रतिष्ठान नेपाल र श्री शारदा माध्यमिक विद्यालयको संयुक्त आयोजनामा विश्व वातावरण दिवस–२०८२ को अवसरमा वीरगंज–२४, बहुअरीस्थित विद्यालयको प्राङ्गणमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

पाँच दिने कार्यक्रमको पाँचौं तथा मुख्य दिन बिहीबार आयोजित सो कार्यक्रममा ७५ थान विभिन्न प्रजातिका रुख बिरुवा रोपिएको प्रतिष्ठानका सहसचिव अभिनाश झाले बताए।

विज्ञापन

प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह र विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि समाजसेवी एवं युवा नेता प्रकाशकुमार उपाध्याय थिए ।

उद्घाटन समारोहमा प्रमुख अतिथि उपाध्याय, अध्यक्ष सिंह र प्रअ बर्णवालले संयुक्त रूपमा रुख बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए। उक्त अवसरमा निम, बेल, अमला, अर्जुन, गोल्डमोहर, आँप, लिची, जामुन, धुपी, बेगन बेलिया, रजनिगन्धा, बेलि, रञ्जन र कठरिया लगायत बिभिन्न प्रजातिका रुख बिरुवा रोपिएका थिए।

कार्यक्रममा बोल्दै उपाध्यायले वातावरणले मानव जीवनमा पुर्‍याएको उपकारप्रति कृतज्ञता व्यक्त गर्दै यसको संरक्षण र सम्बर्द्धनमा सबैको भूमिका अपरिहार्य रहेको बताए। उनले विद्यार्थीहरुलाई वातावरणप्रेमी बन्न आह्वान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।

प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सिंहले “हरियो, सफा र स्वस्थ वीरगञ्ज”, “प्लास्टिक झोला, प्रदूषण मुक्त वीरगञ्ज”, “धरतीलाई बचाऔँ, वातावरणलाई जोगाऔँ” भन्ने मूल नारासहित प्रतिष्ठानले वातावरण दिवसअन्तर्गत तीन दिन सफाइ अभियान, चौथो दिन साइकल र्‍याली तथा अन्तिम दिन वृक्षारोपण कार्यक्रम गरेर जनचेतना फैलाउने प्रयास गरिएको जानकारी दिए।

तस्विर : सौजन्य

कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय परिवार र प्रतिष्ठानका पदाधिकारीप्रति आभार व्यक्त गर्दै वातावरण संरक्षणका यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य हदिस मियाँ, प्रतिष्ठानका सदस्य भोला प्रसाद, केदार गुप्ता, राजु गुप्ताका साथै विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here