वीरगंज, २६ जेठ — पर्सा जिल्लाको छपकैया स्थित रामदेनी तिवारी आधारभूत विद्यालयमा कार्यरत शिक्षक चन्देशकुमार चौहानविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी निमावि दोस्रो श्रेणीमा पदोन्नति लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
चौहानले मगध विश्वविद्यालय, बोध गयाबाट अंग्रेजी बिषयमा स्नातक तह उत्तीर्ण गरेको भनी झुटो प्रमाणपत्र पेश गरी २०७० सालमा दोस्रो श्रेणीको शिक्षकमा पदोन्नति प्राप्त गरेका थिए। प्रारम्भिक रूपमा उनी २०६० सालमा निमावि तृतीय श्रेणीको अंग्रेजी शिक्षकका रूपमा नियुक्त भएका थिए।
अनुसन्धानपछि चौहानले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भई भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार चौहानलाई ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना माग गर्दै आरोपपत्र दर्ता गरिएको छ।

























