रौतहट, २६ जेठ – फतुवा विजयपुर नगरपालिका वडा नं. ४ मा कृषकहरूलाई वितरण गरिने स्प्रे टंकी खरिदमा ठगी र अनियमितता भएको पुष्टि भएपछि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा बोलपत्र आह्वान नगरेकै सूचना झुट्टा रुपमा देखाइ रु. २ लाख १२ हजार २२५ रुपैयाँ भुक्तानी गरेको पुष्टि भएपछि पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको हो।

अनुसन्धानका क्रममा फतुवा विजयपुर नगरपालिकाले २०७८।१०।१८ मा जनसवाल राष्ट्रिय दैनिकमा सूचना प्रकाशनका लागि पत्राचार गरेको बताएको थियो भने २०७८।१०।२० मा उक्त सूचना प्रकाशित भएको दाबी गरेको थियो। यस्तै, बोलपत्र स्वीकृत भएको आशयको सूचना तराई पोष्टमा २०७८।११।२७ मा प्रकाशित भएको जनाइएको थियो। तर, प्रेस काउन्सिल नेपालले ती दुबै पत्रिकामा कुनै पनि सूचना प्रकाशित नभएको स्पष्ट पारेको छ।

विज्ञापन

बदनियतपूर्ण मिलेमतोमा नक्कली सूचना र बिल

पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव, तत्कालीन सह-लेखापाल नविन कुमार यादव, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी वगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र प्रतिनिधि ओमप्रकाश यादवले आपसी मिलेमतोमा सूचना प्रकाशित नगरी नक्कली पत्रिकाका प्रति तयार गरी कार्यालयको अभिलेखमा राखेका थिए।

त्यसै आधारमा जनसवाल राष्ट्रिय दैनिकलाई रु १,७२,८२५ र तराई पोष्टलाई रु ३९,४०० गरी कुल रु २,१२,२२५ भुक्तानी गरिएको थियो। सो क्रममा सरकारी कागजातमा केरमेट गरिएको, चेकमा उल्लेख नाम सच्याइएको र करसमेत कटौती गरिएको देखिएको छ।

विशेष अदालतमा मुद्दा दायर

प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, उक्त कार्यबाट दोषीहरुले गैरकानूनी लाभ लिएको र नगरपालिकालाई हानि पुर्‍याएको ठहर भएपछि उनीहरू विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो। भ्रष्टाचार निवारण ऐन अन्तर्गत उनीहरूलाई सजाय माग गर्दै आरोपपत्र दर्ता गरिएको छ।

यस घटनाले स्थानीय तहमा बजेटको नाममा कागजमै गरिने खर्च र कागजमै देखाइने सूचना प्रकाशनजस्ता अनियमितताहरूप्रति गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here