मधेश प्रदेश सभा सदस्य सरोजसिंह कुशवाहा । तस्विर : फाइल

वीरगंज, २९ जेठ — अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाण्डौबाट खटिएको टोलीले मधेश प्रदेश सभा सदस्य सरोजकुमार सिंहलाई भ्रष्टाचारको गम्भीर आरोपमा नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गरिएको देखाई ती समितिहरूको खातामा जम्मा भएको सरकारी रकम आफ्नै निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकाएर आफ्ना साथै श्रीमतीको खातामा बैंकमार्फत दाखिला गराएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। यसै क्रममा निज सचिव कायस्थको खातामा समेत रकम जम्मा गरिएको विवरण फेला परेको छ।

विज्ञापन

यस कार्यलाई आयोगले सरकारी रकम दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य भएको ठहर गर्दै थप अनुसन्धान अघि बढाएको छ। सरोजकुमार सिंह हाल धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ९ मा बसोबास गर्दै आएका र स्थायी घर महोत्तरी जिल्ला, मनराशिसवा नगरपालिका वडा नं. ६ सरपल्लो रहेको आयोगले जनाएको छ। सिंह महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य हुन्।

सिंहलाई जेठ २९ गते बिहीवार साँझ ६:०३ बजे काठमाण्डौ महानगरपालिका वडा नं. १०, रत्नराज्य विद्यालय नजिकबाट पक्राउ गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १२ गते सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको थियो । सोही क्रममा अख्तियारले अनुसन्धानका लागि सिंहले प्रयोग गर्दै आएका विद्युतीय उपकरणहरू नियन्त्रणमा लिइएको थियो । अख्तियारले अनुसन्धान थालेको १७ दिन पछि प्रदेश सभा सदाय सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ।

यो पनि पढ्नुहोस् : उपभोक्ता समितिको रकम दुरुपयोग प्रकरण: प्रदेश सभा सदस्य सरोजकुमार सिंहका स्वकीय सचिव पक्राउ, सिंह पनि अनुसन्धानको घेरामा

 

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here