पर्सा प्रहरीले उच्च अदालत जनकपुरको वीरगंजस्थित अस्थायी इजलासका दुई न्यायाधीशमाथि कालो मोसो दल्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति आफूलाई नेकपा बहुमतका कार्यकर्ता बताउने गर्भु महतो, पद्मबहादुर मगर र किशोर कुम्हाल रहेका छन्।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार ती तीनजनाले अदालत परिसरमा नारा जुलुस गर्दै न्यायाधीश डा खुशीराम थारू र अर्जुन महर्जनमाथि कालो मसी पोतेका थिए। उनीहरुले जनताको पक्षमा न्याय हुनुपर्नेमा जनविरोधी फैसला गरिएको भन्दै इजलासमै हुलदंगा मच्चाउँदै मसी दलेका थिए।
यो घटना उच्च अदालत जनकपुरको वीरगंज इजलासले रौतहटको चर्चित राजपुर बम विस्फोटसम्बन्धी मुद्दामा पूर्व सांसद मोहम्मद आफताब आलमलाई सफाइ दिएको निर्णयसँग प्रत्यक्ष जोडिएको देखिएको छ। न्यायाधीश थारू र महर्जनको संयुक्त इजलासले जेठ १४ गते जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाउँदै आलमलाई निर्दोष ठहर गरेको थियो।
पूर्व सांसद आलममाथि २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन, रौतहटको राजपुरमा भएको बम विस्फोटमा संलग्न भई घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा हालेर मारेको आरोप लागेको थियो। जिल्ला अदालतले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। उनले पाँच वर्ष पाँच महीना आठ दिन जेल सजाय भोगिसकेका थिए।
न्यायाधीशमाथि अदालत परिसरमै आक्रमण हुनु न्यायपालिका स्वतन्त्रतामाथि गम्भीर आघातको रूपमा लिइएको छ। नेपाल बार एशोसिएसनका पदाधिकारीहरूले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
यस घटनाले न केवल न्यायिक निर्णयप्रति असहमति प्रकट गर्ने तरिका र सीमालाई प्रश्नमा ल्याएको छ, अदालतहरूको भौतिक सुरक्षामाथि समेत गम्भीर चासो जन्माएको छ।

























