वीरगंज, ३० जेठ — मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, यी तीनवटै प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागहरूमा समेत वर्षा वा हल्का हिमपात हुनसक्ने देखिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा/हिमपातको सम्भावना औंल्याइएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भेगका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। कोशी प्रदेशमा राति पनि एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुनी वायु सक्रिय छ। साथै, देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुले समेत असर गरिरहेको महाशाखाले जनाएको छ।
महाशाखाले नदी तटीय तथा पहाडी क्षेत्रमा रहने बासिन्दाहरूलाई सतर्क रहन, आकस्मिक बाढीपहिरोका जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

























