वीरगंज, ३० जेठ — सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती खरिदमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

२०७८/७९ को आर्थिक वर्षमा गाउँपालिकाले वडा नं. १ देखि ९ सम्म सौर्य बत्ती जडानका लागि छुट्याएको २ करोड १६ लाख रुपैयाँ बराबरको बजेटलाई नियतवश टुक्र्याएर पाँचवटा छुट्टाछुट्टै प्याकेज बनाई २ करोड ५३ लाख १७ हजार २५० रुपैयाँ लागत अनुमान गरी सार्वजनिक बोलपत्र आह्वान गरिएको अनुसन्धानबाट खुलासा भएको हो।

पोल, सोलार प्यानल, लाइट, तार, ब्याट्री, नटबोल्ट, चार्ज कन्ट्रोलर लगायतका सामान छुट्टाछुट्टै खरिद गरी एकीकृतरूपमा नल्याई बजेट बढी देखाउने र लागत बढाउने नियतसाथ टुक्र्याएर ठेक्का दिने कार्य भएको आयोगको ठहर छ।

सो प्रकरणमा संलग्न ठेक्का कम्पनीहरू स्काई राइज ट्रेडिङ कन्सर्न, एस के स्टोर्स र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपालसमेतविरुद्ध गैरकानुनी लाभ लिएको र राज्यलाई आर्थिक हानि पुर्याएको अभियोगमा कारबाही प्रक्रिया अघि बढाइएको छ।

आयोगका अनुसार योजनाबद्ध तरिकाले बजेटको मनपरी टुक्र्याउने, लागत बढाएर देखाउने र प्रक्रिया विपरीत ठेक्का दिने कार्यमा संलग्न व्यक्तिहरूमाथि गम्भीर आर्थिक अपचलन र भ्रष्टाचारको प्रमाण भेटिएको हो।

भ्रष्टाचार निवारण ऐन बमोजिम कैद,  जरिवाना र विगो असुल उपर गर्ने मागदाबीसहित आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए।

प्रतिवादीहरु  
तत्कालीन गापा अध्यक्ष विक्रम यादव, तत्कालिन निमित्त प्रसशाकीय अधिकृत लालबाबुप्रसाद साह, लेखा अधिकृत शिवशंकरप्रसाद कुशवाहा, लेखापाल सञ्जयकुमार ठाकुर, जिन्सी शाखा प्रमुख रामकैलाश राय यादव, सब इन्जिनियर सन्तोष राय, राजु राय, स्काई राइज ट्रेडिङ कन्सर्न, मलंगवा, सर्लाही तथा उक्त कम्पनीका प्रोप्राइटर जयप्रकाश यादव, एस के स्टोर्स, मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर रंजुकुमारी साह  र  जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल, मलंगवा तथा उक्त कम्पनीका प्रोप्राइटर संगीता कुमारी गरी १० जनालाई प्रतिवादी बनाई आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन