अभितक, वीरगंज, ३० जेठ – वीरगंज मनपा–२२ अन्तर्गत ड्राइपोर्ट सडकस्थित सिरिसिया चोकमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सिरसिया चोकबाट ड्राइपोर्टतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकलले सडकमा बिग्रिएर रोकिराखिएको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको पछाडि ठोक्किएको थियो।
बिग्रिएर सडकमै रोकिएको ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार तीनमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना शुक्रबार बिहान ५ बजे तिर भएको जनाइएको छ।
मृत्यु हुनेहरूमा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३, झलमैयाका २३ वर्षीय रामाकान्त यादव र विजय यादव रहेका छन्। घाइते भएका २२ वर्षीय विजयकुमार यादवको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र हाल उपचाररत रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

























