अहमदाबाद, ३० जेठ – अहमदाबादमा बिहीवार भएको भयानक विमान दुर्घटनामा परी ज्यान गुमाउने यात्रुका परिवारलाई टाटा समूहले प्रतिव्यक्ति १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। दुर्घटनाग्रस्त विमान एयर इन्डिया टाटा समूहको स्वामित्वमा रहेको कम्पनी हो।
टाटा सन्स र एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले विज्ञप्तिमा गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, “एयर इन्डिया १७१ फ्लाइटको दुर्घटनाबाट हामी स्तब्ध छौं। हाम्रा विचार र प्रार्थनाहरू पीडित परिवार र घाइतेहरूसँग छन्। हामीले महसुस गरिरहेको शोकलाई शब्दमा व्यक्त गर्न सकिँदैन।”
दुर्घटना बिहीवार दिउँसो एयर इन्डियाको उडान नम्बर १७१, जो अहमदाबादबाट लण्डन गइरहेको थियो, उडान भरेको केही क्षणपछि दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक रिपोर्ट अनुसार विमानमा कुल २१३ जना सवार थिए, जसमा २०४ जनाको ज्यान गएको र अन्य गम्भीर घाइते भएका भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
स्थानीय प्रशासन, एनडीआरएफ र सेनाको संयुक्त प्रयासमा उद्धार कार्य जारी छ। घाइतेहरूलाई नजिकैको सरकारी तथा निजी अस्पतालमा उपचार गराइँदैछ। टाटा समूहको राहत घोषणालाई सार्वजनिक वृत्तमा सकारात्मक रूपमा हेरिएको छ।
प्रधानमन्त्री, राष्ट्रपति, र विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। केन्द्र सरकारद्वारा गठन गरिएको उच्चस्तरीय छानबिन टोलीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिसकेको छ।
दुर्घटनाको विस्तृत विवरण र विमानको ‘ब्ल्याक बक्स’ विश्लेषणपछि थप जानकारी सार्वजनिक गरिने जनाइएको छ।

























