वीरगंज, ०१ असार — ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साले विश्व रक्तदाता दिवसको अवसरमा वीरगंजमा आयोजित विशेष कार्यक्रममा रक्तदाताहरु तथा आयोजक संघसंस्थाहरुलाई सम्मान गरेको छ। कार्यक्रम वीरगन्जस्थित मकालु होटलको सभाहलमा सम्पन्न भयो।

कार्यक्रम ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साका अध्यक्ष शत्रुघन नेपालको अध्यक्षता र वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसबन्त यादव, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगंज महानगरपालिका–९ का वडाअध्यक्ष जवाहर प्रसाद गुप्ता, वडा–३ का वडाअध्यक्ष बैजु स्वर्णकार, नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाका सभापति भगवान कुर्मी, रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेय, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, नेपाल रेडक्रस सोसाइटी रानिघाट उपशाखाका सभापति सतिश सिंह, वीरगंज युवा समाजका अध्यक्ष सन्जिव थापा, सञ्चारकर्मीहरु लगायत विभिन्न संघसंस्थाका पदाधिकारी तथा ब्लड डोनर्स एसोसिएसन पर्साका सदस्यहरुको उपस्थिति थियो।

विज्ञापन

प्रमुख अतिथि हरि गौतमले रक्तदाताहरुलाई साक्षात् भगवानका दूतको संज्ञा दिंदै रक्तदानले कसैको जीवन बचाउने हुनाले यसको सम्मान गर्नु अत्यन्त गर्वको विषय भएको बताए। उनले ब्लड डोनर्स एसोसिएसनलाई यस्तो पुनीत कार्यको लागि धन्यवाद दिंदै मानवताको सेवामा सबैलाई हातेमालो गर्न अपिल गरे।

सखुवा प्रसौनी गापाका अध्यक्ष यादवले रक्तदान जात, धर्म र छुवाछुतभन्दा माथिको मानवीय कार्य भएको उल्लेख गर्दै रक्तदानलाई उत्प्रेरणा दिने कार्यक्रममा आफ्नो पालिकाबाट एक लाख रुपैयाँ बजेट छुट्याउने प्रतिबद्धता जनाए।

वडा नं ९ का अध्यक्ष जवाहर गुप्ताले आफू विगत २० वर्षदेखि रेडक्रस र रक्तदान कार्यक्रममा सक्रिय रहेको बताउँदै आगामी वर्षमा चार पटक रक्तदान गर्ने प्रतिबद्धता जनाए। उनले समाजमा रक्तदान सम्बन्धी चेतना फैलाउन आह्वान गरे।

वीरगंज–३ का वडाअध्यक्ष बैजु सराफले गर्मीमा रक्तदान गर्ने व्यक्तिहरुको सहजताका लागि रक्तसञ्चार केन्द्रमा डेढ टनको एसी प्रदान गर्ने घोषणा गरे।

कार्यक्रममा अध्यक्ष शत्रुघन नेपालले कोही पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले संस्था दिनरात रक्तदानको प्रवर्द्धनमा क्रियाशील रहेको बताए। उनले रक्तदाताहरुको सम्मान गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त ढंगले कार्यक्रमहरु अगाडि बढाइने जानकारी दिए।

कार्यक्रममा स्वागत मन्तव्य निशान्त लामिछानेले राखेका थिए भने सहजीकरण राजन श्रीवास्तवले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here