वीरगंज, ०१ असार — जिल्ला प्रशासन कार्यालय, पर्साले अबदेखि वीरगंज महानगरपालिकाबाट नभई आफ्नै कार्यालयबाटै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने निर्णय गरेको छ। उक्त व्यवस्था असार ०१ गतेदेखि लागू हुने भएको हो।
महानगर कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्यमा लगातार समस्या देखिएपछि यसप्रति बढ्दो गुनासो आएका थिए। यही पृष्ठभूमिमा अबको व्यवस्था जिल्ला प्रशासन कार्यालय, पर्साबाटै विवरण संकलन गरिने गरी मिलाइएको हो। प्रशासकीय अधिकृत दीपक पटेलका अनुसार यसअघि वीरगंज महानगर, पोखरिया नगरपालिका तथा इलाका प्रशासन कार्यालय सुपौलीमार्फत विवरण दर्ता गर्ने प्रबन्ध गरिएको थियो, तर महानगरबाट गरिएको प्रबन्ध हटाइएको छ। पोखरिया र सुपौलिमा भने विवरण दर्ता कार्य यथावत् रहनेछ।
वीरगंज महानगरपालिकामा परिचयपत्र दर्ता सेवामा व्यापक लापरवाही, ढिलासुस्ती र सेवाग्राहीसँग अवैध रकम लिएको भन्ने आरोपहरू पटक–पटक सार्वजनिक भएका थिए। अभितक मिडियाले यसबारे प्रत्यक्ष प्रसारणमार्फत जनगुनासो प्रस्तुत गरेको थियो। सो प्रसारणपछि महानगर प्रमुख राजेशमान सिंहले उक्त विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालयका प्रमुख अधिकारीलाई समेत गुनासो गरेका थिए।
अब महानगरका ३२ वडाका बासिन्दाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न जिल्ला प्रशासन कार्यालय, पर्सा धाउनुपर्नेछ। यस्तो अवस्थामा सेवा प्रभावकारी र व्यवस्थित बनाउनेतर्फ प्रशासनले विशेष ध्यान दिनु आवश्यक देखिएको छ।

























