वीरगंज, ०३ असार — जिल्ला प्रशासन कार्यालय, पर्सामा राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप अत्यधिक बढेपछि सेवा समय थप गरिएको छ। कार्यालयले सूचना जारी गरी बुधवारदेखि सार्वजनिक विदाबाहेक प्रत्येक दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रवाह हुने जनाएको हो।
असार ४ गतेदेखि लागू हुने व्यवस्था अनुसार सेवा लिनेको सहजता तथा भीड व्यवस्थापनका लागि नयाँ समय लागू गरिएको हो। सेवा लिन आउने नागरिकले सोही समय अवधिभित्र कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
प्रशासकीय अधिकृत दिपककुमार पटेलद्वारा हस्ताक्षरित सूचनामा सेवा प्रभावकारी बनाउने उद्देश्यले समय तालिका परिवर्तन गरिएको उल्लेख छ। कार्यालयले नागरिकसँग सहयोग र समन्वयको अपेक्षा राखेको छ।

























