काठमाडौं, ५ असार — स्वतन्त्र सांसद अमरेशकुमार सिंहले टिपर चालकहरूमध्ये अधिकांशको ड्राइभिङ लाइसेन्स नक्कली रहेको गम्भीर आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बिहीबार बिहान ११ बजेको बैठकमा बोल्दै उनले सरकारले पैसा लिएर हात हातमा लाइसेन्स बाँडेका कारण सडकमा ज्यान मार्ने गाडीका रूपमा चिनिएको टिपर धेरै दुर्घटनाको कारक बनेको बताए।
“टिपरको नाम नै अब ‘ज्यानमारा’ राखौँ,” सांसद सिंहले भने, “किनभने अधिकांश टिपर चालकको लाइसेन्स नक्कली छ। सरकारले पैसा लिएर बाँडेका कारण यस्तो स्थिति आएको हो।”
उनका अनुसार नक्कली लाइसेन्स भएकै कारण दैनिकजसो सडक दुर्घटनामा दर्जनौँ नागरिकको ज्यान गइरहेको छ। “अस्ती मेरो क्षेत्रमै टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भयो, पाँच–सात जना घाइते छन्,” उनले सदनलाई जानकारी गराए।
सांसद सिंहले वर्तमान सरकार बनेयता दलित समुदायमाथिको दमन, हिंसा र विभेद झन् बढेको दाबी गर्दै गुनासो व्यक्त गरे। “के दलित यो देशका नागरिक होइनन्? किन उनीहरूले न्याय पाउनु हुँदैन?” भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
सिंहले टिपर चालकहरूको नियमन, लाइसेन्स वितरण प्रणालीको सुधार तथा दलितमाथि भइरहेको अन्याय रोक्न सरकारले तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

























