वीरगंज, ०४ असार — चीनको तिब्बत क्षेत्र हुँदै भोटेकोशी नदीमा अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमानसँगै सिन्धुपाल्चोकका नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनामा असार ०३ गतेदेखि ७ गतेसम्म भोटेकोशी नदीको माथिल्लो तटीय क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसका आधारमा जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले मिति असार ४ गते सूचना जारी गर्दै नदी किनारका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको हो।
प्रशासनको सूचनाले विशेषगरी भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका भित्र पर्ने भोटेकोशी–सुनकोशी नदी आसपासका क्षेत्रहरूलाई उच्च जोखिममा उल्लेख गरेको छ।
“हालको अवस्थामा बाढी र भारी वर्षाको सम्भावना कम देखिए तापनि मनसुनको प्रभाव कायमै छ,” विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “विभागले मौसम तथा बाढीसम्बन्धी अवस्थाहरूको निरन्तर निगरानी गरिरहेको छ र आवश्यकता अनुसार अद्यावधिक सूचना प्रकाशन गरिनेछ।”
विभागले सबै नागरिक, विशेषगरी नदी आसपासका बासिन्दाहरूलाई सतर्क रहन र आधिकारिक सूचना तथा पूर्वानुमानहरूमा ध्यान दिन विशेष आग्रह गरेको छ।

























