बाँके, ०५ असार— नेकपा एमाले जिल्ला कमिटी बाँकेद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आज भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य माननीय राजकुमार गुप्ता प्रमुख अतिथि थिए।
मन्त्री गुप्ताले कार्यकर्तालाई सम्बोधन गर्दै पार्टी संगठनको मजबुती, जनउत्तरदायी शासन प्रणाली तथा समावेशी विकासको आवश्यकतामा जोड दिए। उनले भने, “पार्टी सङ्गठनको सुदृढीकरण बिना राष्ट्रिय विकास सम्भव छैन। सबै तहका सरकारले जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।”
उनले सुशासन र सङ्घीयताको कार्यान्वयनमा नेकपा एमालेले खेलेको अग्रगामी भूमिकालाई स्मरण गर्दै, स्थानीय तहदेखि सङ्घीय सरकारसम्म पार्टीले जनअपेक्षाअनुसार काम गरिरहेको उल्लेख गरे।
“कार्यकर्ता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हुन्। उनीहरूको सक्रियता, एकता र जागरूकता बिना पार्टीको प्रगति सम्भव छैन,” मन्त्री गुप्ताले स्पष्ट पारे।
कार्यक्रममा बाँके जिल्लाका विभिन्न स्थानीय तहबाट सहभागी अगुवा कार्यकर्ताहरूले संगठनात्मक अनुभव आदानप्रदान गर्दै पार्टीको आगामी योजना र कार्यदिशाबारे गहन छलफल गरेका थिए।
उत्साहजनक सहभागिता र गहन छलफलले कार्यक्रम फलदायी बनेको आयोजकले जनाएको छ। नेकपा एमाले बाँकेले संगठन सुदृढीकरण तथा जनमुखी कार्यक्रमलाई निरन्तरता दिँदै पार्टीलाई थप सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
अन्त्यमा मन्त्री गुप्ताले भने, “देशको समृद्धिको मूल आधार सुशासन, समावेशी विकास र उत्तरदायी नेतृत्व हो, जसको मार्गदर्शक शक्ति नेकपा एमाले बन्नेछ।”

























