वीरगंज, ०६ असार – शुक्रवार देशभर आंशिकदेखि साधारणतया बदलीसँगै पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा, काठमाडौँले जनाएको छ।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै, उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

कोशी र मधेश प्रदेशका तराई भू–भागमा थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

यसैगरी, राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च–पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने सम्भावना छ।

महाशाखाका अनुसार हाल देशमा मनसुन सक्रिय रहेको र कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुले प्रभाव जमाएको छ। साथै देशको पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव नेपालमा परेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here