वीरगंज, ०५ असार – वीरगंज महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा “रात्री बजार कार्यक्रम”अन्तर्गत रु बिस लाख रुपैयाँ नियम विपरित खर्च गरेको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वीरगंज महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनमा सो कार्यक्रम अन्तर्गत २० लाख २७ हजार २ सय ५० रुपैयाँ नियम विपरित खर्च भएको देखाएको छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९९ अनुसार गैरसरकारी संस्थाबाट काम गराउनुपूर्व सो कार्यको आवश्यकता, किसिम, समयावधि, गुणस्तर, कार्य संचालन विधि, जनशक्ति, कार्यक्षेत्र र लागतको मोटामोटी अनुमान तयार गर्नुपर्ने प्रावधान छ। यसैगरी, उपनियम ८ अनुसार १० लाख रुपैयाँभन्दा बढी लागत भएको काम गराउन खुला आशयपत्र माग गरी परामर्श सेवा खरिदको प्रक्रिया अपनाउनु पर्ने स्पष्ट व्यवस्था छ।
तर, महानगरपालिकाले कानुनी प्रक्रियाको खिल्ली उडाउँदै वीरगंज साइक्लिङ क्लबलाई रात्री बजार सञ्चालनको जिम्मा दिएको र सो क्रममा (२३३४-३५ मिति २०८१-२-२४) रु २०,२७,२५० खर्च भुक्तानी गरिएको देखिएको छ। लागत अनुमान तयार नगरी र कुनै प्रकारको प्रतिस्पर्धा नगरी गरिएको उक्त भुक्तानी सार्वजनिक खरिद नियमावलीको विपरीत भएको भन्दै महालेखाले उक्त खर्चलाई “अनियमित खर्च” को रूपमा औँल्याएको हो।

























