नवलपरासी, ०६ असार — महेन्द्र राजमार्ग अन्तर्गत विनयी खोलामा बनेको अस्थायी डाइभर्सनमा मध्यरात फसेको यात्रुवाहक बसका सबै २४ यात्रुको सकुशल उद्धार गरिएको छ।
नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मे १ ख ४०८५ नम्बरको बस गएराति पौने १२ बजे विनयी खोलाको बाढीले बगाएको डाइभर्सन पार गर्ने क्रममा खोलाको बीचमै फसेको थियो।
घटनापछि खटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको टोलीले राति नै एक्स्काभेटरको सहयोगमा उद्धार कार्य सञ्चालन गरी बसमा सवार सबै यात्रुहरूलाई सकुशल बाहिर निकालेको हो। उद्धारमा करिब डेढ सय प्रहरी परिचालित भएको प्रहरीले जनाएको छ।
यात्रुहरू सकुशल भए पनि बस भने अहिले पनि खोलामै अड्किएको छ।
छ महिनाअघि विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि अस्थायी रूपमा डाइभर्सन बनाई यातायात सञ्चालन हुँदै आएको छ। तर बाढी आउने बित्तिकै डाइभर्सन बगाउने र फेरि निर्माण गर्ने प्रक्रिया दोहोरिरहेको छ। बाढीका कारण यो डाइभर्सन अहिलेसम्म आठ पटक बगाइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीयवासीले वर्षायाममा नियमितरूपमा हुने डाइभर्सन क्षति र जोखिमप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुरक्षित र दीर्घकालीन समाधानको माग गरेका छन्।

























