बारा, ०६ असार – ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास, वीरगंजद्वारा महागढीमाई नगरपालिकासँगको सहकार्यमा शुक्रवार (२० जुन २०२५) बारा जिल्लाको महागढीमाई नगरपालिकामा रहेको प्रसिद्ध “गढीमाई मन्दिर” नजिकैको विवाह मण्डप परिसरमा योग कार्यक्रम आयोजना गरिएको हो।
महागढीमाई मन्दिरमा नेपाल र भारत दुवै देशका भक्तजनहरूको आगमन हुने गर्दछ र यसले दुई देशहरू बीच सद्भाव र मित्रता प्रवर्द्धन गर्दै सांस्कृतिक र धार्मिक आदानप्रदानका लागि एक आदर्श मञ्च प्रदान गर्दछ। वाणिज्य दूतावासद्वारा आयोजित अन्तर्राष्ट्रिय योग दिवस २०२५ को उत्सवको श्रृंखलाको पाँचौं कार्यक्रम थियो। कार्यक्रमले स्थानीय समुदाय र विद्यार्थीहरूमा योग अभ्यास र यसका असंख्य स्वास्थ्य लाभहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको जनाइएको छ।
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षत्री प्रमुख अतिथि थिए भने महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादव विशिष्ट अतिथि थिए। निर्वाचित स्थानीय जनप्रतिनिधिहरू, महागढीमाई नगरपालिकाका पाँचवटा विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, पतञ्जलि योग समितिका सदस्यहरू र विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरू लगायत अन्य विशिष्ट अतिथिहरूले कार्यक्रममा उत्साहका साथ भाग लिएका थिए।
मधेश प्रदेशका माननीय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षत्रीले सम्बोधनको क्रममा योगलाई दैनिक जीवनमा समावेश गर्नुको महत्त्वमा जोड दिए। उनले योगका अमूल्य फाइदाहरू, विशेषगरी अनुशासन स्थापित गर्न यसको भूमिकामाथि प्रकाश पारे र विद्यार्थीहरूको लागि यसको महत्त्वमाथि जोड दिए । उनले आदर्श समाज निर्माणमा योगले कसरी योगदान पुर्याउन सक्छ भन्ने कुरा पनि स्पष्ट पारे। महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले विद्यालयका विद्यार्थीहरूको हितको लागि नगरपालिकासँगको सहकार्यमा कार्यक्रम आयोजना गरेकोमा वाणिज्य दूतावासप्रति आभार व्यक्त गरे। योग अभ्यासका असंख्य फाइदाहरूमा जोड दिँदै, उनले सहभागीहरूलाई यसको विशाल फाइदाहरूबाट आफूलाई समृद्ध बनाउन दैनिक १५–३० मिनेट समर्पित गर्न प्रोत्साहित गरे। साथै उनले मानिसहरूलाई वातावरणमैत्री जीवनशैली अँगाल्न र जैविक खाना छनोटहरूलाई प्राथमिकता दिन पनि आग्रह गरे।
यसैगरी, भारतका महावाणिज्यदूत देवीसहाय मीनाले २०१४ मा संयुक्त राष्ट्र सङ्घको महासभामा प्रस्ताव पारित भएपछि अन्तर्राष्ट्रिय योग दिवसको सुरुवातको बारेमा उल्लेख गरे। उनले योगका असंख्य फाइदाहरू र यसले व्यक्तिको जीवनका विभिन्न पक्षहरूमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्ने बारे प्रकाश पारे। उनले यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको मूल नारा “एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” मा पनि प्रकाश पार्दै समग्र मानव कल्याण र एकतालाई प्रवर्द्धन गर्न यस विषयवस्तुको महत्त्वमा जोड दिए।
महागढीमाई नगरपालिका, नेपाल–भारत मैत्री सङ्घ, पतञ्जलि योग समिति–बारा र अन्य सङ्घ-संस्थाहरूको सक्रिय सहयोगमा आयोजित योग कार्यक्रममा लगभग छ सयजनाले भाग लिएका थिए। वाणिज्य दूतावास, वीरगंजले सबै सहभागीहरूलाई उनीहरूको सहभागिता र कार्यक्रम सफल बनाउन सक्रिय सहयोग र सहकार्यका लागि सबै साझेदार संस्थाहरू प्रति कृतज्ञता व्यक्त गरेको छ।

























