रौतहट, ०६ असार — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज रौतहट जिल्लास्थित गरुडा नगरपालिकाको १३औं नगरसभाको उद्घाटन गरे।
नगरसभामा प्रमुख अतिथिको रूपमा मन्तव्य दिँदै मन्त्री गुप्ताले गरुडा नगरपालिकालाई प्रदेशकै नमुना नगरपालिका बनाउने अभियानमा सरकार सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय तहमा सुशासन, पारदर्शिता, विकास र समावेशी सहभागिता सुनिश्चित गर्न आवश्यक नीति तथा स्रोतसाधन उपलब्ध गराउन संघीय सरकारले प्राथमिकता दिएको स्पष्ट पारे।
“गरुडा नगरपालिकाले देखाएको योजनाबद्ध विकास र जनउत्तरदायी सेवा प्रवाह अन्य नगरपालिकाका लागि पनि प्रेरणाको स्रोत बन्नेछ,” मन्त्री गुप्ताले भने।
कार्यक्रममा नगर प्रमुखले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रू ६९ करोड २६ लाख १७ हजारको बजेट विनियोजन गरिएको जानकारी दिए। बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, कृषिमा आधुनिकीकरण तथा महिला, बालबालिका र वृद्ध लक्षित कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गरे।
नगरसभामा संघीय सांसद, प्रदेशसभा सदस्य, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, नागरिक समाजका व्यक्तिहरू तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

























