वीरगंज, ०६ असार — जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन फैलिएको जनाएको छ। शुक्रवार (२०८२ असार ६) जारी सूचनाअनुसार, मनसुन प्रणाली अहिले देशका सबै भू-भागमा फैलिसकेको छ।

नेपालमा यस वर्षको मनसुन २०८२ जेठ १५ गते (सन् २०२५ मे २९) का दिन कोशी प्रदेशको पूर्वी भाग हुँदै प्रवेश गरेको थियो। त्यसपछि क्रमशः मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही भागमा फैलिँदै असार ६ गते (जुन २० तारिख) सुदूरपश्चिम पुगेको हो। यसरी हेर्दा मनसुन सरदर मितिभन्दा १५ दिन छिट्टै देशमा प्रवेश गरे पनि देशभर फैलिन भने २३ दिन लागेको हो।

विज्ञापन

महाशाखाले जारी गरेको नक्सामा पूर्वी नेपालमा मनसुन जेठ १५ देखि २८ (मे २९–जुन ११) भित्र फैलिएको, मध्य भागमा जुन १२–१९ (जेठ २९–असार ५) र पश्चिमी नेपालमा असार ६ (जुन २०) मा मात्रै पुगेको उल्लेख छ।

आजको मौसम अवस्था
महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही स्थानहरू र अन्यत्र थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ।

रातिको समयमा पनि यस्तै अवस्था रहने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here