वीरगंज, ०८ असार – सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले आफ्नो नेतृत्वमा कृषि, शिक्षा, स्वास्थ्य तथा सडक र नालालगायतका भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर विकास गतिविधि अगाडि बढाइएको बताएका छन्।

शनिवार सृजनाशील महिला सिप विकास केन्द्रको समन्वयमा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सीमित स्रोत र बजेटका बाबजुद जनताको आवश्यकता अनुसार काम भइरहेको जानकारी दिए।

विज्ञापन

उनले आफ्नो नेतृत्वमा पछिल्लो तीन वर्षमा सम्पन्न भएका योजनाहरूको विस्तृत जानकारी दिँदै भने, “म आउनुभन्दा अघि र पछि पालिकामा कति विकासका काम भए भन्ने कुरा जनताले आफै मूल्याङ्कन गरिरहेका छन्।”

अध्यक्ष यादवले गाउँपालिकाको प्रशासनिक भवन कुनै व्यक्ति वा पूर्व जनप्रतिनिधिको जग्गामा नभई पुरानो आर्मी ब्यारेककै जग्गामा निर्माण भइरहेको उल्लेख गर्दै भवन निर्माण यही कार्यकालमा सम्पन्न गर्ने प्रतिवद्धता जनाए। उनले अनियमितता र स्रोतको दुरुपयोग हुन नदिने स्पष्ट गर्दै भने, “यदि कुनै पनि अनियमितता भएको प्रमाण छ भने ल्याउनुस्, सम्बन्धित प्रतिनिधि वा कर्मचारी जेसुकै भए पनि कारबाही हुन्छ।”

कार्यक्रममा केही सहभागीले असन्तुष्टि जनाएपछि अध्यक्ष यादवले विकास निर्माणको विषयलाई लिएर राजनीति नगर्न आग्रह गर्दै भने, “राजनीतिक मतभेदका लागि अन्य प्लेटफर्म छन्। सार्वजनिक कार्यक्रममा अराजक शैली अपनाउनु उपयुक्त होइन।”

विद्यालयका खाजा, इन्धन, खाना–नास्तालगायतका खर्चबारे उठेका प्रश्नहरूको जवाफ प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहाले दिए।

दीपनारायण आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा अध्यक्ष यादवको अध्यक्षता, उपाध्यक्ष शर्मिला विष्टको विशेष आतिथ्यता तथा विभिन्न वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी र स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here