इरानको सम्भावित क्षेप्यास्त्र हमलाबाट बच्न बंकरमा बसेका इजरायलको तेल अविवका स्थानीय युद्धविराम भएपछि खुसीले नाच्दै । तस्बिर : एपी/रासस

काठमाडौँ — अप्रत्याशित रूपमा सुरु भएको इरान–इजरायल युद्ध १२ दिनपछि नाटकीय रूपमा अन्त्य भएको घोषणा गरिएको छ । युद्धको दसौं दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पनि औपचारिक रूपमा युद्धमा होमेका थिए । त्यसको भोलिपल्ट इरानले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा हवाई आक्रमण गर्दै जवाफी कारबाही सुरु गरेको थियो ।

युद्ध थप चर्किंदै गएको विश्लेषण भइरहेका बेला तेहरानको स्थानीय समय अनुसार राति १:३० बजे राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत इरान–इजरायल युद्धविरामको घोषणा गरे । उनले एकपक्षीय रूपमा युद्धविरामको घोषणा गरेपछि मात्र दुबै देशका उच्च नेतृत्वले त्यसलाई औपचारिक रूपमा स्वीकार गरेका थिए ।

विज्ञापन

युद्धविरामको घोषणापछि पनि केही घण्टासम्म दुई देशका सेनाबीच क्षेप्यास्त्र प्रहार जारी थियो । अमेरिकी समय अनुसार मंगलबार बिहान नेदरल्यान्ड्समा हुने नेटो सम्मेलनमा प्रस्थान गर्नु अघि ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जेमिन नेतान्याहुलाई फोन गर्दै युद्धविराम उल्लंघनलाई समर्थन नगर्ने स्पष्ट पारेका थिए । ह्वाइट हाउसका अनुसार एयर फोर्स वानबाट भएको फोनवार्तामा ट्रम्पले युद्धविराम कायम राख्न आवश्यक उपायहरूबारे ‘दृढ र प्रत्यक्ष’ संवाद गरेका थिए ।

लगत्तै ट्रम्पले सामाजिक सञ्जालमा लेखे, “इजरायलले इरानमाथि थप आक्रमण गर्नेछैन। सबै विमानहरू फर्किएका छन्। इरान फर्किंदा मैत्रीपूर्ण ‘प्लेन वेभ’ गर्नेछन्। युद्धविराम लागू भएको छ। धन्यवाद।”

युद्धविरामको घोषणापछि विश्वभरका नेताहरूले सतर्कतापूर्वक आशावादी प्रतिक्रिया दिएका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले “यदि युद्धविराम साँच्चिकै कायम रहन्छ भने यसलाई स्वागतयोग्य मानिन्छ” भन्दै रुस पनि यसमा आशावादी रहेको बताएका छन् । यद्यपि, युद्धविरामको कूटनीतिक पहलमा रुस संलग्न रहेको कुनै संकेत देखिएको छैन ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युद्धविरामको घोषणाको प्रशंसा गर्दै भने, “स्थिति अझै अस्थिर छ। अन्तिम घडीका घटनाहरूले अत्यधिक नाजुकता देखाएको छ।”

जर्मन चान्सलर फ्रेडरिक मर्जले पनि ट्रम्पको पहलको स्वागत गर्दै इरान र इजरायललाई युद्धविराम कायम राख्न आग्रह गरेका छन् । उनले मंगलबार हुने नेटो शिखर सम्मेलनपछि अमेरिकासहित युरोपेली राष्ट्रहरूले स्थायीत्व कायम राख्ने उपायमा छलफल गर्ने जानकारी दिए ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमानले पनि युद्धविराममा वार्ताको भूमिकामा कतारका आमिरको योगदान रहेको बताएका छन् । साउदी अरेबियाले पनि एक विज्ञप्तिमार्फत युद्धविराम घोषणालाई स्वागत गर्दै तनाव न्यूनिकरणमा भएको प्रयासको कदर गरेको जनाएको छ ।

१२ दिन लामो युद्धमा करिब ७०० इरानी र २८ इजरायली नागरिकको ज्यान गएको पुष्टि भएको छ भने घाइतेको संख्या हजारौंमा पुगेको छ । इजरायली आक्रमणले इरानमा ठूलो भौतिक क्षति पुर्‍याएको छ भने इजरायलले पनि हमाससँगको पछिल्लो २० महिनाको युद्धभन्दा बढी क्षति भोग्नुपरेको बताइएको छ ।

युद्धविरामपछि तेलको मूल्यमा गिरावट

इरान–इजरायल युद्धविरामको घोषणा लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ ।

मंगलबार बिहान ब्रेन्ट क्रूडको मूल्य ५.२ प्रतिशत घटेर प्रतिब्यारेल ६७.७५ डलरमा झरेको छ । अमेरिकाको डब्लूटीआई (WTI) कच्चा तेलको मूल्य ५.४ प्रतिशतले घटेर ६५.०१ डलर पुगेको छ ।

यसअघि, इरानले होर्मुज जलमार्ग बन्द गर्ने चेतावनी दिएपछि सोमबार कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको थियो । युद्धविराम स्थायीत्वमा परिणत भए बजारमा स्थिरता आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here