वीरगंज, १२ असार — नेसनल ईन्फोटेक (एनआई) कलेज, वीरगंजले त्रीजुद्ध माध्यमिक विद्यालय परिसरमा संचालित दृष्टिविहीन छात्रावासका विद्यार्थीहरूका लागि बुधवार एक थान ल्यापटप कम्प्युटर सेट सहयोग हस्तान्तरण गरेको छ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सो कम्प्युटर सेट एनआई कलेजका सञ्चालक मनिष सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले छात्रावासका शिक्षक महेश साह कानु तथा विद्यार्थीहरूलाई हस्तान्तरण गरे।
प्रजिअ अर्यालले सामाजिक दायित्व अन्तर्गत उद्योगी तथा व्यवसायीहरूले सीएसआर (CSR) फण्डमार्फत समाजका विपन्न तथा असहाय वर्गका विद्यालय र आश्रयस्थलहरूमा सहयोग गर्नुपर्नेमा जोड दिँदै एनआई कलेज तथा सिंह दम्पतीप्रति विशेष धन्यवाद व्यक्त गरे।
एनआई कलेजका सञ्चालक मनिष सिंहले सामाजिक उत्तरदायित्व अन्तर्गत बिगतदेखि नै विभिन्न ठाउँमा सेवा-सहयोग गर्दै आएको उल्लेख गर्दै, छात्रावासमा अध्ययनरत १३ जना विद्यार्थीका लागि एक वर्ष पुग्ने ब्याग, कपी, कलम लगायत स्टेशनरी सामग्री सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।
छात्रावास शिक्षक महेश साह कानुले “हामीलाई दया होइन, अधिकार र साथ चाहिएको हो” भन्दै सोच परिवर्तनको आवश्यकता औंल्याए र सहयोगी कलेज परिवार तथा प्रजिअप्रति आभार व्यक्त गरे।
शिक्षाविद् मार्टिन मोक्तानको सहजीकरणमा सम्पन्न कार्यक्रममा दृष्टिविहीन विद्यार्थीहरूले सुमधुर गीत प्रस्तुत गर्दै सहयोगप्रति खुशी व्यक्त गरे। विद्यालयका प्रधानाध्यापक नवीन मिश्रले विद्यार्थीहरूको चाहना अनुसार छिट्टै सहयोग उपलब्ध गराइदिएकोमा एनआई कलेज परिवार र प्रजिअ अर्याललाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा सिंह दम्पती, युवा नेता सुधीर पटेल, सामाजिक अभियन्ता तथा वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, इनोभेटिभ वीरगंजका अध्यक्ष कमल चौगाई, सञ्चारकर्मी कन्हैया पटेल, राज सर्राफ, अभिलाष गुप्ता लगायत शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
केहिदिन अघि अभितकसँग कुराकानीको क्रममा विद्यालयमा शिक्षकको अभाव रहेको दृष्टिविहीन बालिकाहरुले गुनासो गरेका थिए। यसबारेमा वीरगंज मनापले चासो लिनुपर्ने स्थानीय मानिसहरुको भनाइ रहेको छ।

























