|
श्री
उच्च अदालत जनकपुर
अस्थायी इजलास वीरगन्ज
संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री खुशीप्रसाद थारु
माननीय न्यायाधीश श्री अर्जुन महर्जन
फैसला
मुद्दा नं.:- ०८०-CS-1162
रजिष्ट्रेशन नं.:- 52-०76-00718
इजलास नं.:- 2 को निर्णय नं.-697
मुद्दाः- बिष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसूर।
रौतहट जिल्ला, साविक राजपुर गाउँ विकास समिति, फरहदवा वडा नं.4 को हाल राजपुर नगरपालिका वडा नं.4 घर भई हाल कारागार कार्यालय, नख्खु, ललितपुर थुनामा रहेका मोहम्मद सिद्दीक बेदिलको छोरा वर्ष 62 को मोहम्मद अफताब आलम.………………………………………………………………………………….१
बिरुद्ध
रौतहट जिल्ला साविक गा.वि.स. सरुअठा वडा नं.2 हाल परिवर्तित यमुनामाई गाउँपालिका वडा नं.4 मा बस्ने श्रीनारायण सिंह राजपुत…………………………..1
रौतहट जिल्ला साविक गा.वि.स. सरुअठा वडा नं.9 हाल परिवर्तित यमुनामाई गाउँपालिका वडा नं.4 मा बस्ने रोक्शाना खातुन……………………………………1
सर्लाही जिल्ला, साविक गा.वि.स. बेलवा जब्दी वडा नं.7 पिपरनाथ हाल परिवर्तित गोडैता नगरपालिका वडा नं.2 पिपरात गाउँ बस्ने शेख हकिमको छोरा वर्ष 59 को सफि अहम्मद………………………………………………………………………….1
जिल्ला प्रहरी कार्यालय रौतहट, गौरका प्रहरी निरीक्षक पपु नायकको प्रतिवेदन…..1
भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत मुसहाचोक थाना बैरगनिया मुसहाचोक वडा नं.2 बस्ने बिसुनदेव महरा चमारको छोरा वर्ष 42 को शंकर भन्ने गौरी शंकर राम चमार………………………………………………………………..1
ईलाका प्रहरी कार्यालय राजपुर, रौतहटमा कार्यरत प्र.ना.नि. दिपक कुमार गुप्ता समेतको प्रतिवेदनले नेपाल सरकार…………………………………………………..1
मुद्दा नं.:- ०८0-CS-1163
निर्णय नं.-698
रौतहट जिल्ला, साविक राजपुर गाउँ विकास समिति, फरहदवा वडा नं.4 को हाल राजपुर नगरपालिका वडा नं.4 घर भई हाल कारागार कार्यालय, रौतहट थुनामा रहेका मोहम्मद सिद्दीक बेदिलको छोरा वर्ष 54 को मोहम्मद महताब आलम…….१
बिरुद्ध
रौतहट जिल्ला साविक गा.वि.स. सरुअठा वडा नं.2 हाल परिवर्तित यमुनामाई गाउँपालिका वडा नं.4 मा बस्ने श्रीनारायण सिंह राजपुत…………………………..1
रौतहट जिल्ला साविक गा.वि.स. सरुअठा वडा नं.9 हाल परिवर्तित यमुनामाई गाउँपालिका वडा नं.4 मा बस्ने रोक्शाना खातुन……………………………………1
सर्लाही जिल्ला, साविक गा.वि.स. बेलवा जब्दी वडा नं.7 पिपरनाथ हाल परिवर्तित गोडैता नगरपालिका वडा नं.2 पिपरात गाउँ बस्ने शेख हकिमको छोरा वर्ष 59 को सफि अहम्मद………………………………………………………………………….1
जिल्ला प्रहरी कार्यालय रौतहट, गौरका प्रहरी निरीक्षक पपु नायकको प्रतिवेदन…..1
भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत मुसहाचोक थाना बैरगनिया मुसहाचोक वडा नं.2 बस्ने बिसुनदेव महरा चमारको छोरा वर्ष 42 को शंकर भन्ने गौरी शंकर राम चमार………………………………………………………………..1
ईलाका प्रहरी कार्यालय राजपुर, रौतहटमा कार्यरत प्र.ना.नि. दिपक कुमार गुप्ता समेतको प्रतिवेदनले नेपाल सरकार…………………………………………………..1
मुद्दा नं.:- ०८0-CS-1164
निर्णय नं.-699
रौतहट जिल्ला, साविक राजपुर गाउँ विकास समिति, फरहदवा वडा नं.7 को हाल राजपुर नगरपालिका वडा नं.6 घर भई हाल कारागार कार्यालय, रौतहट थुनामा रहेका शेख इस्लामको छोरा वर्ष 40 को शेख सेराज भन्ने शेख सराज……………१
बिरुद्ध
रौतहट जिल्ला साविक गा.वि.स. सरुअठा वडा नं.2 हाल परिवर्तित यमुनामाई गाउँपालिका वडा नं.4 मा बस्ने श्रीनारायण सिंह राजपुत…………………………..1
रौतहट जिल्ला साविक गा.वि.स. सरुअठा वडा नं.9 हाल परिवर्तित यमुनामाई गाउँपालिका वडा नं.4 मा बस्ने रोक्शाना खातुन……………………………………1
सर्लाही जिल्ला, साविक गा.वि.स. बेलवा जब्दी वडा नं.7 पिपरनाथ हाल परिवर्तित गोडैता नगरपालिका वडा नं.2 पिपरात गाउँ बस्ने शेख हकिमको छोरा वर्ष 59 को सफि अहम्मद………………………………………………………………………….1
जिल्ला प्रहरी कार्यालय रौतहट, गौरका प्रहरी निरीक्षक पपु नायकको प्रतिवेदन…..1
भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत मुसहाचोक थाना बैरगनिया मुसहाचोक वडा नं.2 बस्ने बिसुनदेव महरा चमारको छोरा वर्ष 42 को शंकर भन्ने गौरी शंकर राम चमार………………………………………………………………..1
ईलाका प्रहरी कार्यालय राजपुर, रौतहटमा कार्यरत प्र.ना.नि. दिपक कुमार गुप्ता समेतको प्रतिवेदनले नेपाल सरकार…………………………………………………..1
मुद्दा नं.:- ०८1-CS-270
निर्णय नं.-700
रौतहट जिल्ला साविक गा.वि.स. सरुअठा वडा नं.2 हाल परिवर्तित यमुनामाई गाउँपालिका वडा नं.4 मा बस्ने श्रीनारायण सिंह राजपुत…………………………..1
जिल्ला रौतहट साविक गा.वि.स. सरुअठा वडा नं.9 हाल परिवर्तित यमुनामाई गाउँपालिका वडा नं.4 मा बस्ने रोक्शाना खातुन……………………………………1
जिल्ला
सर्लाही साविक गा.वि.स. बेलवा जब्दी वडा नं.7 पिपरनाथ हाल परिवर्तित गोडैता नगरपालिका वडा नं.2 पिपरात गाउँ बस्ने शेख हकिमको छोरा वर्ष 59 को सफि अहम्मद………………………………………………………………………….1
जिल्ला प्रहरी कार्यालय रौतहट, गौरका प्रहरी निरीक्षक पपु नायकको प्रतिवेदन…..1
भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत मुसहाचोक थाना बैरगनिया मुसहाचोक वडा नं.2 बस्ने बिसुनदेव महरा चमारको छोरा वर्ष 42 को शंकर भनिने गौरी शंकर राम चमार…………………………………………………………1
ईलाका प्रहरी कार्यालय राजपुर, रौतहटमा कार्यरत प्र.ना.नि. दिपक कुमार गुप्ता समेतको प्रतिवेदनले नेपाल सरकार…………………………………………………..1
बिरुद्ध
रौतहट जिल्ला, साविक राजपुर गाउँ विकास समिति, फरहदवा वडा नं.4 को हाल राजपुर नगरपालिका वडा नं.4 घर भई हाल कारागार कार्यालय, नख्खु, ललितपुर थुनामा रहेका मोहम्मद सिद्दीक बेदिलको छोरा वर्ष 62 को मोहम्मद अफताब आलम…………………………………………………………………………………..1
रौतहट जिल्ला, साविक राजपुर गाउँ विकास समिति, फरहदवा वडा नं.4 को हाल राजपुर नगरपालिका वडा नं.4 घर भई हाल कारागार कार्यालय, रौतहट थुनामा रहेका मोहम्मद सिद्दीक बेदिलको छोरा वर्ष 54 को मोहम्मद महताब आलम…….1
रौतहट जिल्ला, साविक राजपुर गाउँ विकास समिति, फरहदवा वडा नं.7 को हाल राजपुर नगरपालिका वडा नं.6 घर भई हाल कारागार कार्यालय, रौतहट थुनामा रहेका शेख इस्लामको छोरा वर्ष 40 को शेख शेराज भन्ने शेख सराज……………१
जिल्ला बारा साबिक गाबिस हिरहरपुर वडा नं.4 हाल सिम्रौनगढ न.पा. वडा नं.4 बस्ने मोति सहनीको छोरा अ.बर्ष 55 को बद्रि सहनी……………………………….1
ऐ.ऐ. बस्ने बेदामी साहको छोरा अं.वर्ष 44 को मुक्ति साह…………………………1
“साधक”
मुद्दा नं.:- ०८1-CS-271
निर्णय नं.-700
नेपाल सरकार…………………………………………………………………………..1
बिरुद्ध
जिल्ला बारा साबिक गाबिस हिरहरपुर वडा नं.4 हाल सिम्रौनगढ न.पा. वडा नं.4 बस्ने मोति सहनीको छोरा अ.बर्ष 55 को बद्रि सहनी……………………………….१
सुरु फैसला गर्ने अदालत : श्री रौतहट जिल्ला अदालत।
सुरु फैसला गर्ने माननीय न्यायाधीश : श्री मातृकाप्रसाद आचार्य।
सुरु मुद्दा नं. :०76–C1–0095
सुरु फैसला मितिः-२०८1/01/१3
न्याय प्रशासन ऐन,२०73 को दफा ८(3) बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको सुरु फैसला एवम् पुनरावेदनको संक्षिप्त तथ्य र यस अदालतको ठहर निम्न प्रकार छः-
तथ्य खण्ड
- मिति २०६४।१२।२७ गते साँझ ६:३० बजेको समयमा जिल्ला रौतहट गा.वि.स. राजपुर फरहदवा वडा नं.४ मा रहेको नेपाली काँग्रेसका उम्मेदवार मोहम्मद आफताब आलमको घरमा बमबिष्फोटन भएको थियो।जनतालाई आफ्नो प्रभावमा पारी धाँधली रुपमा निर्वाचन जित्नको लागी भण्डारण गरी राखेको ग्रेनाईट तथा हातहतियार बनाउन संकलन गरी राखेको बिष्फोटक पदार्थ, बम समेत बिष्फोटन हुँदा जाहेरवालाका छोराहरु पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसि अख्तर मियाँ समेत घाईते भएकोमा नजिकैको ईट्टाभट्टाको चिम्नीमा जलाई कर्तव्यगरी मारी लाशनष्ट गरेको हुँदा कानून बमोजिम कारवाही गरीपाउँ भन्नेसमेत व्यहोराको मिति २०६४।१२।३० को तत्कालिन उम्मेदवार शैलेन्द्र साह समेतको संयूक्त निवेदन।
- मृतक ओसि अख्तर मियाँको जुत्ता, मोजा, सुईटरसमेत मेरो छोराको हो भन्ने मिति २०६५।०१।०६ गते मा निजको आमा रोक्साना खातुनले गरिदिएको सनाखत कागज।
- जिल्ला रौतहटगा.वि.स. राजपुरफरहदवा वडा नं.४ स्थित शेखईद्रिसको दक्षिण मोहडाको गाईबस्तु बाँध्ने गोठघर रहेको पूर्वपश्चिम लम्बाई भई ६ वटा कोठाहरु रहेको, १ नं. कोठामा धानको भुस भई पूर्वसाईडको दिवाल भित्ता पुरानो सामान्य अवस्थामा चर्केको, सो कोठाको उत्तरसाईडको माथि छानामा ३ वटा नयाँ बासको भाटा लगाएको, २ नं. कोठामा भुस राखेको, ३ नं. कोठामा खाना पकाउने दाउरा राखेको, ४ नं. कोठामा गाईबस्तु बाख्रा बाँध्ने किलागाडिएको, ५ नं. कोठामा भूईमा बालुवा रहेको सो माथि आलु राखेको, ६ नं. कोठामा ट्रेक्टरगाडीको हुँड र पूराना पार्टपूर्जाहरु रहेको, प्रत्येक कोठाहरुमा नयाँ तथा पुरानो खपडाले छाएको अवस्थामा रहेको सो गोठघरदेखि दक्षिण ६ मिटरदूरीमा ट्रेक्टर राख्ने ग्यारेज घरको छाना नयाँ तथा पुरानो खपडाले छाएको अवस्थामा रहेको त्यसै गरी विष्फोटन भएको शेख ईद्रिसको गोठघरको चित्रबनाई A=घट्नास्थल गोठघर, B=नयाँ सिमेन्टले गारो लगाएको जस्तो देखिएको दिवाल, C=कोठा भित्र राखेको भुस, D=छानामाथि लगाएको नयाँ तीनवटा बाँसको भाटा, E=ट्रेक्टर राख्ने ग्यारेज, F=नयाँ पुरानो खपडाले छाना छाएको भन्ने मिति २०६५।०१।१४ गतेको घटनास्थल मुचुल्का।
- घाईते हरुलाई जलाईएको जिल्ला रौतहट गा. वि. स. राजपुर फरहदवा वडा नं.५(क) स्थित राजा ईट्टा उद्योग प्रा. लि. को पश्चिम साईडमा ईट्टा पोल्दा धुवानिस्किने फलामको बम्बा २ वटा, सोबाट धुवाँनिस्किरहेको, सोको पूर्व र पश्चिमको पछाडि साईडबाट ईट्टा निकालेको कारण ५ फिट गहिराई रहेको सोको पूर्व साईडबाट १५ दिन अगावै ईट्टा पकाएको खरानी रहेको, सो खरानी मध्येबाट सानो २ बोरामा प्रहरीले खरानी उठाई लगेको भन्ने मिति २०६५।०१।१५ गतेको घटनास्थल मुचुल्का।
- मोहम्मद आफताब आलम समेतका व्यक्तिहरु मिति २०६४।१२।१९ गते का दिन मेरो घरमा आई मेरो छोरा वर्ष २४ को पिन्टु भन्ने त्रिलोकप्रताप सिंह राजपुतलाई चुनाव प्रचार प्रसार गर्न हिड भनी भनेकोमा मैले जान नदिएकोमा सोको भोलीपल्ट म घरमा नभएको अवस्थामा मोहम्मद आफताब आलमले निजको कारिन्दा शेख भदईलाई पठाई चुनाव प्रचार प्रसारको लागी निज आफताब आलमको घरमा २०६४।१२।२०गते मा लिई गएको मा सोको भोलिपल्ट निज छोरालाई घरमा फिर्ता ल्याउन भनी म गएकोमा मोहम्मद आफताब आलमसमेतले पिन्टु भन्ने त्रिलोकप्रताप सिंहलाई हामीले आफ्नो जिम्मामा काम लगाएका छौं, केही हुँदैन भनेकोमा म घरफर्की आएकोमा २०६४।१२।२७ गते साँझ करिब ६:३० बजेको समयमा बिष्फोटन भई छोरा घाईते भई निजले ईलाज गराउन घर जान्छु भन्दापनि निज घाईतेबाट घटना खुल्दछ, सार्वजनिक हुन्छ भनी सुरक्षाबल समेतको सहयोग लिई निज घाईते छोरालाई ईलाज गराउनुको सट्टा नजिकैको ईट्टा भट्टाको बलिरहेको चिम्नीमा घाईते छोरालाई हाली जलाई लाश बेपत्ता बनाएको हुँदा कारवाही गरीपाउँ भन्ने मिति२०६५।०१।१८ गतेको श्रीनारायण सिंह राजपुतको किटानी जाहेरी दरखास्त।
- मेरो छोरा वर्ष २२ को ओसि अख्तर दुबईमा मजदूरी गरी विदामा घरमा आएकोमा २०६४।१२।२७ गतेको दिन निज विपक्षीहरु मेरो घरमा आई मेरो छोरालाई मोहम्मद आफताब आलमको चुनावमा सहयोग गर्न भनी महताब आलमले मोटरसाईकल चढाई राजपुर फरहदवा गाउँमा लगेकोमा २०६४।१२।२७ गते साँझ ६:३० बजेको समयमा आफताब आलमको आफन्तको खपडावाला घरमा बम बिष्फोट हुँदा छोरा ओसि अख्तर घाईते भई छटपटाउँदा ईलाज गर्नुको सट्टा घटनाको रहस्य खुलासा होला भन्ने ठानी ईलाज नगराई ईट्टा भट्टाको चिम्नीमा छोरालाई जलाई मारेको कुरा थाहापाई निज आफताब आलमको घरमा गई सोधपूछ गर्दा विपक्षीहरुले तिम्रो छोरा मरिसक्यो, तिम्रो छोराको जुत्ता सम्म शेखमोबिन आलमको जिम्मामा छ भनी जुत्ता सम्म फिर्ता दिएको हुँदा निज अपराधीहरुले सुरक्षाबल, प्रशासन समेतको सहयोग र सक्रियतामा घटना र अपराधको दशि सबुत प्रमाणसमेत लोप पार्ने षड्यन्त्र रची मारी छोराको लाशसमेत नदिएको हुँदा यथार्थ अनुसन्धान गरी कारवाही गरी पाउँ भन्ने मिति २०६५।०१।१८ गतेको रोक्साना खातुनको किटानी जाहेरी दरखास्त।
- मिति २०६४।१२।२७ गते विहान घरबाट ओसिअख्तरको खेतमा गहुँकाट्न गएको अवस्थामा निजको आमा रोक्साना खातुनले मेरो छोरा ओसि अख्तरलाई मो. महताब र शेख सेराज भन्ने शेष सराजले बोलाई लगेकोछ, तिमी गएर ल्याईदेऊ भनेको हुँदा म मोहम्मद महताब आलमको घरमा गएको मा लालमहमदले ओसि अख्तर दक्षिणमोहडाको घरमा छ भनी देखाएकोमा सो घरमाजाँदा ढोका बन्द थियो, दिवालको प्वालबाट हेर्दा ओसि अख्तर र २ कार्टुन बम र १८।२० जना नचिनेका मानिसहरुलाई मैले देखेको हुँ, त्यसपछि मैले ओसि अख्तरलाई बोलाउँदा नचिनेको मानिसले पछि जान्छ, चुप लाग भनेको र ओसि अख्तर नआएको हुँदा सोही नजिक रहेको रुखमुनी बसिरहेको अवस्थामा बमविष्फोटन भई १/२ जनाको मृत्यु भएको र अन्य मानिसहरु घाईते भएको, घाईते मध्ये पिन्टुलाई दायाँ-बायाँ हात र दायाँ तिघ्रामा चोट लागेको र ओसि अख्तरलाई बायाँ खुट्टा र दाहिने हातमा चोट लागेको थियो, विष्फोटन हुँदा घर ध्वस्त भएको थिएन, छाना टुटफुट भएको थियो।ओसि अख्तर र पिन्टु समेतलाई ट्रयाक्टरमा राखी ईट्टा भट्टा तर्फ लादै गर्दा मानिसहरु कराएको सुनेको हुँ र पछि ट्रयाक्टर बाट जुटको बोरा उठाई चिम्नी मा फालेको मैले देखेको हुँ भन्ने मिति २०६५।०१।२० गतेको घटनाका प्रत्यक्ष दर्शी सराजुल मियाँको कागज।
- जिल्ला रौतहट राजपुर फरहदवा गा. वि. स. वडा नं.४ स्थित नेपाली काँग्रेस रौतहट का सभापति तथा क्षेत्र नं.२ बाट निर्वाचित मोहम्मद आफताब आलमका काका स्वर्गीय शेख ईद्रिसको खलिहानको घरमा २०६४।१२।२७ गते राती बम बनाउँदा केही व्यक्तिहरु हताहात भएको र केही घाईते भएको घटनाको सम्बन्धमा बमविष्फोटन बाट शेख ईद्रिसको घरको छाना नष्ट भएको, सो स्थानमा स्थानिय व्यक्तिहरु र प्रहरी घटनास्थलमा जान नसकेको, पिन्टु सिंह भन्ने त्रिलोक प्रताप सिंह राजपुत र ओसि अख्तर र नाम खुल्न नसकेको भारतीय नागरिकहरुको मृत्यु भएको बैशाख १८ गते मा मानव अधिकारकर्मी घटनास्थलमा पुग्दा शेख ईद्रिसको खलिहान घरको छाना स्पष्ट रुपमा नयाँ खपडाले छाएको, बाँसको नयाँ भाटा प्रयोग भएको, घरको भित्ता चर्केको तथा नयाँ पर्खाल लगाएको, घरमानयाँभुसराखिएको, उक्त भुस निकाली हेर्न भन्दा अधिकारकर्मी दिपेन्द्र झा र पीडित पक्षलाई स्थानिय बासिन्दाले आक्रमणको प्रयास गरेका थिए, मृत्यु भएका व्यक्तिहरुको परिवारलाई घटना विवरण नसुनाउन धम्की दिएको भन्ने समेत व्यहोराको मिति २०६५।०१।२४ गतेको अनौपचारीक क्षेत्र सेवा केन्द्र INSEC, नेपालबार ऐशोसिएशन, नेपाल राष्ट्रिय मानव अधिकार आयोगसमेतको स्थलगत निरीक्षण प्रतिवेदन।
- ओसि अख्तरलाई शेख सेराज भन्ने शेष सराज भन्ने व्यक्तिले जबरजस्ती गरी मोटरसाईकलमा चढाई शेखईद्रिसको घरमा बम बनाउन लगाउँदै गरेको अवस्थामा बम विष्फोटन भई ओसि अख्तर मियाँ लगायतका मानिसहरुको मृत्युभएको मा मृतक लाशहरु मो. महताब समेतले तत्कालै ट्रयाक्टरमा राखी ईट्टा उद्योगमा लगि जलाएको थाहा पाई सराजुल समेतका मानिसहरु मो.महताब कहाँ गई सोधपुछ गर्दा यस सम्बन्धमा तपाईको घरमा आई पछि बताउने छु भने पछि शेख सेराज भन्ने शेष सराजले मृत्क ओसि अख्तर मियाँको सुईटर गएका मानिसलाई दिई पठाएको भन्ने समेत व्यहोराको मिति २०६५।०१।२८ गतेको मृतक ओसि अख्तरको ससुरा समसुल मिया, काका मो.जाजुल, पत्नी अमाना खातुन समेतको कागज।
- मिति २०६४।१२।२७ गते विहान ८:०० बजेको समयमा ओसि अख्तर मियाँ लाई मो.महताब, शेख सेराज भन्ने शेष सराज समेत भई मोटरसाईकलमा चढाई पश्चिमतर्फ लगेको देखेको थिए, पछि निज ओसि अख्तर र पिन्टु भन्ने त्रिलोकप्रताप सिंह राजपुतको मृत्यु भएको कुरा थाहा पाएको हो भन्ने प्रत्यक्षदर्शी ओहिद मियाँ कवारीको मिति२०६५।०१।२९गते को कागज।त्यसै गरी ओसि अख्तर मियाँ र पिन्टु भन्ने त्रिलोकप्रतापसिंह राजपुत समेतका मानिसहरुको राजपुरफरहदवामा भएको बम विष्फोटनमा परी मृत्यु भएकोमा उक्त मृतकका लाशहरु राजा ईट्टा उद्योगमा लगि जलाई नष्ट पारेको हो भन्ने मिति २०६५।०१।२९गतेको साजाहान खातुन, कलाम मियाँ, जफरुल मियाँ समेतको कागज।
- मिति २०६४।१२।२७ गते राजा ईट्टा उद्योगमा बेलुका ६:३० बजेदेखि बेलुका राति सम्म कोही कसैलाई जलाएको होईन छैन भन्ने एखलाख आलम, शेख फजले हक, शेख स्वयब, जुमन मिया, मोसु दिनमिया, आवास मिया, शेख जुमईन भन्ने शेख मलकार, मोजामिल आलम, शेख नथुनी, शेखअदुय, शेख हविव समेतको कागज।
- परीक्षणको लागी प्राप्त माटोमा बम विष्फोटन भएको जस्तो देखिन्छ, देखिदैन जाँच गरी पठाईदिनु भनी माग भएकोमा विष्फोटक पदार्थ परीक्षण गर्ने सुविधा हाल यस प्रयोगशालामा नभएको हुँदा नमूना फिर्ता पठाएको भन्ने मिति २०६५।०२।२० गतेको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला महाराजगन्ज, काठमाण्डौंको पत्र।
- मिति २०६५।०३।०१ गतेमा प्रतिवादी शेख भदई पक्राउ परेको र निजको मिति २०६५।०३।०४ गतेमा अनुसन्धानको क्रममा कसूरमा ईन्कारी बयान भई २०६५।०३।०९गते मा प्रतिवादी हरु मो.आफताब आलम, मो. महताब आलम, मो.मोविन आलम र शेख सेराज भन्ने शेष सराजले हाजिर गराई पाउँ भनी जिल्ला प्रहरी कार्यालय, रौतहटमा संयुक्त निवेदन दिई प्रतिवादीहरुको बयान भई प्रतिवादीहरुलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरितको कसूर अपराध मा सोही महलको १३(१) नं. बमोजिम सजाय गरीपाउँ भन्ने प्रहरी राय प्रतिवेदन भएकोमा सोही मिति २०६५।०३।०९ गतेमा जिल्ला सरकारी वकील कार्यालय, रौतहटबाट मुद्दा नचल्ने निर्णय भई प्रतिवादीहरु सबैलाई हाजिरी जमानीमा छाडिएकोमा उक्त मुद्दा नचल्ने निर्णय महान्यायाधिवक्ताको कार्यालयबाट मिति २०६५।०३।३० गते मा सदर भएकोमा सो निर्णय उपर जाहेरवालाहरुको चित्त नबुझी उक्त निर्णय बदर गरी कानून बमोजिम अनुसन्धान कारवाही गरी पाउँ भनी सर्वोच्च अदालतमा २०६५ सालको WO–००३८१ को उत्प्रेषण समेतको रिट निवेदन परेको देखिन्छ।
- श्री सर्वोच्च अदालतबाट उक्त उत्प्रेषणको रिट निवेदनमा फैसला हुँदा “प्रस्तुत मुद्दामा किटानी जाहेरी दरखास्त, घटनास्थलमा ओसि अख्तरको सुईटर, हाईनेक, कालो रंगको मोजा जोडी, कालो रंगको जुत्ता जोडी बरामद भएको, प्रत्यक्ष दर्शी सराजुल मियाँ समेतको कागज, मानव अधिकार आयोग, नेपाल बार एशोसिएशन र अन्य मानव अधिकार सम्बन्धी संस्थाहरु समेतको स्थलगत अनुसन्धान प्रतिवेदन बाट वारदात पुष्टि भएको तथा जाहेरवालाहरुको छोरा हालसम्म फेला नपरेको तथ्य समेतबाट वारदातको सम्बन्धमा केही प्रमाणहरु मौजुदा रहेको पाईन्छ। निवेदकहरुको माग बमोजिम घाईते अवस्थाका पिन्टु भन्ने त्रिलोक प्रतापसिंह राजपुत र ओसि अख्तरलाई जिउँदै जलाई कर्तव्य गरी मारेको घटनाको सम्बन्धमा मुद्दा चलाउनुपर्ने अवस्था देखिएकोले मुद्दा नचलाउने गरी गरिएको मिति २०६५।०३।०९ गतेको जिल्ला सरकारी वकील कार्यालय रौतहटको निर्णयलाई सदर गरेको पुनरावेदन सरकारी वकील कार्यालय, हेटौडाको निर्णयलाई सदर गर्ने महान्यायाधिवक्ताको कार्यालयको मिति २०६५।०३।३० गतेको निर्णय समेत” उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ।उक्त मुद्दाको गम्भिर रुपले अनुसन्धान गरी कारवाही गर्नु भनी मिति २०६९।०२।१६गतेको सर्वोच्च अदालतको फैसलाको पेज नं.१३ मा निर्णयाधार Ratio decidendi कायम भई फैसला भएकोमा सो फैसलामा चित्त नबुझेको हुँदा न्यायिक पुनरावलोकन Judicial Review गरी पाउँ भनी महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट निवेदन परेकोमा माग बमोजिम पुनरावलोकन नहुने भनी सर्वोच्च अदालतबाट मिति २०७०।०४।११मा आदेश भएको छ।
- यसरी सर्वोच्च अदालतको मिति २०६९।०२।१६ को फैसला निर्णय बमोजिम उक्त घटनाको गम्भिर रुपले अनुसन्धान कारवाही गरी सोको जानकारी समेत दिनु भनी उल्लेख भएकोमा फैसला कार्यान्वयन निर्देशनालय काठमाण्डौंले सो सम्बन्धमा पटक पटक पत्राचार ताकेता गर्दा पनि अनुसन्धान कार्य सम्पन्न हुन नसकेको र उक्त फैसलाको कार्यान्वयन हुन नसकेको हुँदा अदालतको अवहेलनामा कारवाही गरी पाउँ भनी निवेदक अधिवक्ता पुष्पराज पौडेल विपक्षी जिल्ला प्रहरी कार्यालय रौतहटसमेत भएको अदालतको अवहेलना मुद्दामा “अनुसन्धान विगत ७ वर्षसम्म सम्पन्न हुन नसक्नुको कारण के हुन ? सो कारण र यस अदालतको आदेशको परिपालनामा नभएसम्म मासिक रुपमा अनुसन्धान प्रगति प्रतिवेदन यस अदालतलाई जानकारी गराउनू”भनी आदेश भएकोमा च.नं.४३३२ मिति २०७६।०३।१२गतेको पत्र प्राप्त भएकोमा सो आदेश बमोजिमको गोप्य प्रगति प्रतिवेदनसमेत सर्वोच्च अदालतमा पेश भएको देखिन्छ।
- मिति २०६४।१२।२७ गते साँझ १८:३० बजेको समयमा शेख ईद्रिसको गोठघरमा बम बिष्फोट भएको घटनास्थल वरपरका छिमेकी व्यक्तिहरु मेवालाल राय यादव, शिव साह कानु, धरिछन साह तेली, रामसोगारथ यादव, रवि कुमार, उदयनारायण साह, सुनर राय, रामबहादुर साह समेतका ८ जना छिमेकी व्यक्तिहरु र बम विष्फोटन भएको कुरा थाहा पाई घटनास्थलमा पुग्ने विजेन्द्र साह, राजेश कुमार साह, असगर अलि खाँ, शैलेन्द्र साहले २०६४ सालको संविधान सभाको चुनाव प्रभावित पार्नको लागी घटनास्थल गोठघरमा बम भण्डारण गरिराखेको र केही बम बनाउन लाग्दा अचानक उक्त बम विष्फोटन भई ओसि अख्तर, पिन्टु भन्ने त्रिलोक प्रताप सिंह राजपुत समेत घाईते भएकोमा प्रतिवादीहरु शेख सेराज भन्ने शेष सराज, मो. आफताब आलम, मो. महताब आलम, शेख भदई, मोहमद मोविन आलम समेतका प्रतिवादीहरुले तत्कालै घाईतेहरुलाई बोरामा हाली कसी ट्रयाक्टरमा लोड गरी लगेको, हामीहरुले आफ्नै आखाँले प्रत्यक्ष देखेको हो, त्यसपछि ईट्टाभट्टाको चिम्नीमा लाशहरुलाई जलाई लाश नष्ट गरेको हो, पहिला डरत्रासको कारणले भन्न नसकेको भनी उक्त घटनाका प्रत्यक्षदर्शी माथि उल्लेखित व्यक्तिहरुले किटानी रुपमा मिति २०७६।०३।१२ गते अगाडि र पछाडि कागज गरिदिएका छन्।
- मो. ओसि अख्तर र पिन्टु भन्ने त्रिलोक प्रताप सिंह राजपुतको मिति २०६४।१२।२७ गते राजपुर फरहदवा गाउँपालिका वडा नं.४ मा मृत्यु भएको हो भन्ने मृत्युदर्ता प्रमाण पत्र रहेको छ। साथै प्रतिवादी मोहम्मद आफताब आलमलाई मिति २०७६।०६।२६ गते विहान ११:१० बजेको समयमा जिल्ला रौतहट राजपुर न.पा. वडा नं.१ स्थित ईद्रिस गेटबाट पक्राउ गरेकोमा पक्राउ पूर्जी बुझाउँदा बुझ्न नमानेको भन्ने मुचुल्का रहेको छ।
- भारत विहार बस्ने शेख मसिरले नेपालबाट गाई गोरु खरीदगरी मलाई भारत सम्म पुर्याउन ज्याला दिने गरेकोमा २०६४।१२।२७ गतेका दिन ६ वटा गोरु खरीदगरी सो गोरु धपाउँदै अं.१८:३० बजेको समयमा राजपुर फरहदवा शेख ईद्रिसको घर नजिकै आईपुग्दा अचानक बम विष्फोट भएको बमको टुक्रा छर्रा लागि म समेत घाईते भएकोमा गम्छाले पेट बाँधी सो ठाउँबाट ६०० मीटर पर साहु शेख मसिरसँग भेटभई निजले मोटरसाईकलमा राखि उपचारको लागी भारत मोतिहारीको डा.प्रवेज र तवरेज आलमको क्लिनिकमा उपचार गराउँदा १९ दिन पश्चात म होसमा आएको थिए, उक्त अस्पतालमा करिब ४ महिना जति उपचार गराएको थिए। प्रतिवादी मोहम्मद आफताब आलमले संविधान सभाको निर्वाचन जित्नको लागी शेख ईद्रिसको घरमा बम स्टोर गरी बम बनाउन लाग्दा सो बम विष्फोटन भएको थियो। सो विष्फोटनमा परी २ जना मानिसको मृत्यु भएको र ओसि अख्तर मियाँ र पिन्टु सिंह समेतका १५।१६ जना मानिसहरु घाईते भएकोमा घाईतेहरुलाई मोहम्मद आफताब आलम, मोहम्मद महताब आलम, शेख सेराज भन्ने शेष सराज, शेख मोबिन आलम, शेख भदई समेतका मानिसहरुले मृतक तथा घाईतेहरुलाई जुटको बोरामा हालि कसी ट्रयाक्टरमा लोड गरी नजिकको राजा ईट्टा उद्योगमा लगि जिउँदै जलाएको थाहा पाए। लामो समयसम्म प्रहरी समक्ष उजुरी दिने सोच बनाएकोमा मेरो तथा परिवारको जिउँ ज्यानको खतरा महसुस गरी उजुरी गर्न सकिन, निज प्रतिवादीहरुलाई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने मिति २०७६।०३।२८ गतेको घटनाका घाईते प्रत्यक्षदर्शी सफी अहमदको किटानी जाहेरी दरखास्त तथा कागज ।
- निज प्रतिवादीहरुलाई विष्फोटक पदार्थ ऐन, २०१८ बमोजिम समेत थप कारवाही र सजाय गरी पाउँ भन्ने प्रहरी निरीक्षक पप्पु नायकको प्रतिवेदन। बम बिष्फोटनमा परी घाईते भएका मानिसहरुलाई घटनास्थलबाट ईट्टाभट्टा सम्म बोक्न प्रयोग गरेको ना १ त ६४७२ नं. को ट्रयाक्टर गाडी मोहम्मद महताब आलमको नाउँमा दर्ता रही २०६७।०३।२३ गते उमाशंकर साहको नाउँमा नामसारी भएको भन्ने प्रहरी प्रतिवेदन।
- मेरो हजुरबुवा शेख ल्याकत २००९ सालमा सल्लाहकार सभाको सदस्य हुनु हुन्थ्यो। काका शेख ईद्रिस २०१५, २०४८ र २०५१ सालमा निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो। म २०३६ साल देखि विधार्थी राजनीतिमा सक्रीय भई हाल सम्म ४ पटक निर्वाचित सांसद र ६।७ पटक मन्त्री समेत भईसकेको छु। २०६४।१२।२७ गतेका दिन चुनावको आन्त्तरिक व्यवस्थापनमा थिए । घटना नघटेको हुँदा कसैले देख्ने, सो घटनाबाट घाईते हुने प्रश्न नै आउँदैन। रोक्साना खातुनलाई म चिन्दिन, सर्वोच्च अदालत तथा अन्य मानव अधिकार वादी संघ–संस्थाले के-कस्तो निर्णय प्रतिवदेन दिएका छन, मलाई झिकाई नबुझेको हुँदा थाहा भएन भन्ने समेत व्यहोराको मिति २०७६।०७।०३ गतेको प्रतिवादी मोहम्मद आफताब आलमको ततिम्बा बयान ।
- म मतदानको अघिल्लो दिन २०६४ साल चैत्र २७ गते अरु दिन झै विहान ७:०० बजेदेखि ११:०० बजेसम्मको डुयुटी सिफ्ट समाप्त गरी घर फर्केको थिए, २८ गतेका दिन विहान सिफ्टमा काम गर्न सो गाउँ पुग्दा गाउँमा मतदानको चटारो थियो। गाउँलेहरुले बम विष्फोट भएको बारे गाँईगुई कुरा गरेको सुने, उद्योगमा पुगी मेरो भाई प्रभुलार्ई आफूले गाउँमा सुनेको हल्ला बारे सोध्दा चुपचाप काम गर्ने अरु कुरा हाम्रो चासोको विषय होईन भनी जवाफ दियो। रातको सिफ्टमा मेरो भाईसँगै काम गर्ने अन्य ३ जना मेरै गाउँका बद्री सहनी, मुक्ति साह र बारा बसतपुरका कृष्ण मुखिया समेतले मुखामुख मात्र गर्ने तर केही बोलेनने। मलाई मनमा चिसो पस्यो। पुनः सोही कुरा सोध्दा पछि थाहा पाउँला भन्ने जवाफ पाए। म आफ्नो काम सुरु गरे र ११:०० बजे आफ्नो सिफ्ट ड्युटी सकी हतार हतार मतदान गर्न आफ्नो गाउँ सिम्रौनगढ फर्कीएँ। बम बिष्फोटनको हल्ला मेरो गाउँ बारा सम्म फैलिसकेको रहेछ, सबैले मलाई नै घटनाबारे के भएको हो भनी सोध्ने गर्दथे। मैले सुनेको मात्र हो, अरुथाहा छैन भनी जवाफ दिने गर्दथे। ऐ.२९ गते पुनः विहान ७:०० बजे काममा पुगे, ईट्टा बोकी म्यान नजिकमा पुग्दा अस्वभाविक रुपमा गहुँको भूसा छरपष्ट भएको देखे। मेरो भाई त्यही भएको कारण मैले यो भुसा कसरी यहाँआयो ? तिम्रो रातको सिफ्ट ड्युटी थियो। के भएको हो? भनी सोध्दाभाईले एकान्तमा लगी घटनाबारे सविस्तार सुनाए। भाईले बताए अनुसार २७ गते साँझ शेख ईद्रिसको गोठघरमा नेता मो.आफताब आलम लगाएतका मानिसहरुले चुनाव जित्नको लागी बम बनाउने क्रममा अचानक विष्फोट हुँदा ठूलो मानवीय क्षति भएको, सो घटनामा परी केही मानिसको मृत्यु भएको त केही मानिसहरु सख्त घाईते भएको, घाईते भएकालाई हिजो राती २७ गते ट्रयाक्टरमा लोड गरी मो.आफताब आलम, मो.महताब आलम, शेख भदई, मो. मोबिन आलम, शेख सेराज भन्ने शेष सराज लगायत अन्य नचिनेको हिन्दी भाषा बोल्ने ३।४ जना समेतले ल्याई ईट्टा पकाउने भुङग्रोमा जिउँदै पालै–पालो हालेको सबै जना सोही भुङग्रोमा खरानी भए भनी बनाएको भन्ने समेत व्यहोराको मिति २०७६।०७।०३ गतेको राजा ईट्टा उद्योगमा काम गर्ने कामदार लखिन्द्र पटेलको कागज ।
- २०६४ सालको संविधान सभाको चुनाव जित्नको लागी भारतीय नागरिक तथा मृतकहरु समेतलाई बोलाई शेख ईद्रिसको घरमा बम बनाउने क्रममा बम विष्फोट भई १५।१६ जना मानिसहरु सख्त घाईते भएको र १।२ जना मानिसहरुको मृत्यु भई कुनै मानिसहरुको आखा, कान, टाउँको नरहेको त कोही मानिसहरुको हात खुट्टा नरही निजहरु मध्ये पिन्टु भन्ने त्रिलोक प्रताप सिंहको बायाँ खुट्टा समेतमा छर्रा लागी घाईते भएको र ओसि अख्तर मियाँको बायाँ हात समेतमा बमको छर्रा लागी घाईते भई घाईतेहरु छटपटी रहेकोमा प्रतिवादी मो.आफताब आलम, मो. महताब आलम, शेख सेराज भन्ने शेष सराज, शेख भदई, महमद मोबिन आलम समेतका प्रतिवादीहरुले तत्कालै घाईतेहरुलाई बोरामा हाली घटनास्थलमा रहेका मानिसहरुलाई भगाई प्रतिवादीहरुले घाईतेहरु तथा मृतकहरु समेतलाई प्रतिवादी मोहम्मद आफताब आलमले प्रयोग गर्ने गरेको ट्रयाक्टर गाडीको टेलरमा लोड गरी आफन्तको राजा ईट्टा उद्योग चिम्नी भट्टामा लगी जिउँदै जलाएको थाहा पाएको थिए। शेख ईद्रिसको घर बम विष्फोटमा क्षति भएकोमा ५।७ दिन पछि प्रतिवादी मो. आफताब आलम समेतका प्रतिवादीहरु मेरा घरमा आई मलाई बमले क्षति भएको शेख ईद्रिसको गोठ घर समेत पुनः निर्माण गरी पहिलाको जस्तै बनाई देउँ भनी भनेकोमा म सो गोठ घर निर्माण गर्न नमानेकोमा म र मेरो घर परिवारलाई यी प्रतिवादीहरुले मारिदिने भनी डराई धम्काएकोमा म डरले गर्दा निज प्रतिवादीहरु र मैले नचिनेका भारतीय नागरिक समेतको सहयोगमा पुनः शेख ईद्रिसको गोठ घर निर्माण गरी गोठ घरमा गाई बस्तुले खाने भुस राखी त्यसपछि अन्य पुराना घरहरुबाट माकुराको जालो ल्याई सो घरको छानोमा जालो लगाई घटनास्थल परिवर्तन गरे गराएको हुँ भन्ने समेत व्यहोराको मिति २०७६।०७।०३ गतेको विष्फोटन भईभत्केको घर छाना जिर्णोउद्धार गर्ने शेख ओलजाहिरको कागज ।
- बद्रिको प्रायः रातको सिफ्टमा डुयुटी हुने गर्दथ्यो। बद्री हेड मिस्त्री भएको कारण चौबीसै घण्टा स्टयाण्ड्वाई हुनु पर्दथ्यो। उसले बताए अनुसार साँझको करिब ६:१५ बजे देखि ६:३० बजे बीचमा ठूलो धमाका साथ बिष्फोट भएको रहेछ। उसले पनि विष्फोटको धमाका प्रष्टै सुनेको रहेछ। विष्फोटन पश्चातः उसलाई समेत सरसल्लाह गरी सबै योजना बनाएको सुनाएको थियो। बद्री सहनीले भने अनुसार विष्फोट भएपछि मो. आफताब आलम र मो. महताब आलमले बद्रीलाई घाईते तथा मृत्यु भएकालाई चिम्नी भट्टामा लगी जलाउन सहयोग गर्न भनेको रहेछन। सोही बमोजिम २७ गते करिब १२:३० बजे देखि १:०० बजेको बीचमा घाइतेहरुलाई बोरामा हाली ट्रयाक्टरमा लोड गरी ईट्टाभट्टामा ल्याई हाली जलाएको रहेछ। फरहदवा गाउँमा यसको हल्ला फैलिसकेको थियो भन्ने समेत व्यहोराको मिति २०७६।०७।०४ गतेको राजा ईट्टा उद्योगमा काम गर्ने जलिफ अंसारीको कागज ।
- राती करिब १२:३० बजे देखि १:०० बजेको बीचको समयमा ट्रयाक्टरको आवाज र मानिसहरुको खैलाबैलाले मेरो निद्रा भंग गरायो। म उठे, के रहेछ, रातको समयमा किन ट्रयाक्टरमा मानिस आएका हुन भनी डर लाग्यो। बद्री सहनी समेत सँगै देखे। बद्रीलाई संगै देखेपछि मलाई नजिक गएर बुझन मन लाग्यो, नजिक गए ट्रयाक्टर नजिक पुग्दा मो. आफताब आलम, निजका भाई मो. महताब आलम लगायत करिब आधा दर्जन मानिसहरु थिए, उनीहरु नेता भएकोले मैले चिने। अरुलाई चिन्न सकिन, कोको थिए, बद्रि सहनी समेत सोही ट्रयाक्टरमा सँगै आएका रहेछन। ट्रयाक्टरमा जुटको बोरामा मानिस हालेर ल्याएको रहेछन। त्यो देखेर म धेरै डराए, मलाई निजहरुले ठूलो स्वरमा त्यहाँबाट टाढा जान आदेश दिए, म केही पर गए, बोरामा ल्याएका मानिसहरु पालै पालो निकाल्दै ईट्टा पोल्ने भुङग्रोमा हाल्न लागे। निजहरुले कति मानिसहरु ल्याए एकिनका साथ सँख्या भन्न सक्दिन। मलाई केही पर पठाएको कारण गन्न सकिन, जसमध्ये कोही जिउँदै पनि हुनुपर्छ किनकी मैले बोरामा चलमलाएको देखेको थिए। बद्री सहनी समेत जलाउने काममा प्रत्यक्ष सहभागी बनेका थिएँ। उनीहरु करिब ३ घण्टा लगाएर जलाई सकेपश्चात सबै जना गाउँ तिर फर्केका थिए भन्ने समेत व्यहोराको मिति २०७६।०७।०४ गतेको राजा ईट्टा भट्टामा काम गर्ने प्रत्यक्षदर्शी राजेश प्रसाद सहनीको कागज।
- Blast Injuri भन्ने घटना घटेको समय मौकामा नै भारत मोतिहारी अस्पतालको र A Whitish old healed scar mark measuring 25cm x 20cm on anterior aspect of the chest, surgical linear 18 cm x 0.5 cm on upper abdomen, old scar mark 0.5cm x 0.5cm and 1cm x 0.5cm, 2cm apart on right lumbar region of the abdomen, old healed scar mark 1.5cm x 0.5 cm on left lumbar region, scar mark 1cm x 1cm, 8 cm on antero-lateral of right antecubital fossa 1/3 rd of the right forearm located 13cm from the wrist respectively,On the basis of only the medical examination of the examinee, the types of the original injuries for which the surgical operations and the skin graft were performed and the causatiove factors of the injuries cannot be determined, On the basis of the medical examination of the examinee together with the anaylsis of the hospital records of the examinee, the probable causation of the original injuries for which the surgical operations and the skin graft were performed is blast inuries, A Confirmatory opinion as to the causation of the original injuries can most likely to given if the original surgical treatment and documents and operation thetre notes are made available भन्ने समेत व्यहोराको Department of Forensic Medicine Maharajgunj Kathmandu को उक्त बम विष्फोटबाट घाईते भएका सफी अहमदको घाउ जाँच रिर्पोर्ट।
- प्रतिबादी शेख भदई मेरो घरमा आई मेरो छोरा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह राजपुत चुनावको प्रचार प्रसार गरी चुनाव जित्नको लागि प्रतिबादी मोहम्मद आलमको घरमा गएको थियो।मिति २०६४।१२।२८ गते हुने चुनावमा कोही मानिसहरु मत खसाल्न नआओस भनी बुथ छाप्ने उदेश्यले ऐ.२७गते अन्दाजी १८:३० बजेको समयमा घटनास्थल घरमा मेरो छोरा मृतक पिन्टु भन्ने त्रिलोक प्रताप सिंहराजपुत र मृतक ओसी अख्तर समेत निज प्रतिबादीकै काका शेख ईद्रिसको गोठ घरमा बसेकोमा बम बिष्फोट हुँदा मेरो छोरा मृतक पिन्टु भन्ने त्रिलोक प्रताप सिंह राजपुत र मृतक ओसी अख्तर समेत १५।१६ जना मानिसहरु घाईते भएका र १।२ जना मानिसहरुको मृत्यु भएकोमा मृतक तथा घाईतेहरु समेतलाई प्रतिबादी मोहम्मद आफताब आलम समेतले बोरामा हाली ट्याक्टरमा लोड गरी राजा ईट्टा उद्योग चिम्नी भट्टामा लगी जिउदै जलाएको कुरा स्थानीय मानिसहरु तथा श्रीमान जाहेरवाला श्रीनारायणसिं हराजपुतसमेत बाट सुनी थाहा पाएको हुँ भन्ने समेत ब्यहोराको मिति २०७६।०७।०४ गते मृतक पिन्टु भन्ने त्रिलोक प्रताप सिंह राजपुतको आमा कमलादेबि सिंहले गरिदिएको घटनाबिबरण कागज।
- मिति २०६४।१२।२८ गतेका दिन सम्पन्न हुने संविधान सभाको निर्वाचनको लागि मलाई यस जिल्लाको २ नं. क्षेत्रमा मोबाईल कमाण्डरको रुपमा इलाका प्रहरी कार्यालय,राजपुर वेश बनाई सोही क्षेत्रमा मोबाईल ड्युटी गर्ने गरी खटाईएकोमा म ऐ.२७ गतेनै खटी इलाका प्रहरी कार्यालय, राजपुरमा गई बसेको अवस्थामा बेलुकी अन्दाजी १८:३० बजेको समयमा इलाका प्रहरी कार्यालय, राजपुरबाट ड्युटी निस्कने तयारी गर्दै गर्दा पश्चिम दिशातर्फबाट ठुलो धमका सहित बिष्फोटको आवाज आयो, त्यसतर्फ हेर्दा कालो धुवाँको मुस्लो आएको देखे।सो स्थल इलाका प्रहरी कार्यालय, राजपुरबाट १ देखि १.५ कि.मी.को दूरिमा रहेको थियो। मैले तत्कालै मोबाईल टोलीलाई लिई घटनास्थलतर्फ जाँदै गरेको अवस्थामा गेटबाट केहि परमात्रै पुग्दा जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालिन प्रहरी प्रमुख प्रहरी उपरीक्षक स्वःलक्ष्मण न्यौपानेले संचार सेटमा मलाई कल गरी तुरुन्त जिल्ला प्रहरी कार्यालय आउनु भनी आदेश दिनु भएकोमा मैले बम बिष्फोट भएको ठुलो अवाज आएको त्यसतर्फ जादै गरेको रिपोटिङ गर्दा समेत त्यसतर्फ अर्को कुनै टोली पठाउँला, तपाई तुरुन्त जिल्ला प्रहरी कार्यालयमा आउनुहोस भन्ने आदेश पाएँ पछि म जिल्ला प्रहरी कार्यालयमा फर्कि आएको हुँ। रौतहट क्षेत्र नं.२ का नेपाली काँग्रेसका उम्मेदवार मो.आफताब आलमको घर कम्पाउण्डमा रहेको खलिहान गोठ घरमा बमबिष्फोट भएको सुनेको थिएँ भन्ने ब्यहोराको तत्कालिन प्र.नि.हाल प्र.ना.उ.ईन्द्र प्रसाद सुवेदीले मिति २०७६।०७।०९ गरी दिएको कागज।
- मिति २०६४।१२।२७ गते बेलुका अं.१८:३० बजेको समयमा प्रतिवादी मोहम्मद आफताब आलमको काका शेख ईद्रिशको गोठ घरमा अचानक बमबिष्फोट भएको ठुलो धमाका सुनी हामीहरु घटनास्थलमा जाँदा शेख ईद्रिशको गोठ घरमा बम बिष्फोट भई गोठघर क्षति भई १५।१६ जना मानिसहरु सक्त घाईते भएको र १/२ जना मानिसहरुको मृत्यु भएको देखेको हुँ। निज हरुमध्ये मैले चिनेका पिन्टु भन्ने त्रिलोक प्रताप सिंहको र ओसी अख्तर मियाँको शरिरमा हात, खुट्टा समेतमा घाउ लागी छटपटीरहेको देखेको हुँ। प्रतिबादी मोहम्मद आफताब आलम, मोहम्मद महताब आलम, शेख सेराज भन्ने शेष सराज, शेख भदई, मोहम्मद मोबिन आलम, फजलेहक, सगिर आलम र शेख जुमई भन्ने शेख मलकार समेतले चारैतिरबाट घेरी घाईतेहरुलाई सुई लगाई हामीहरुलाई गाली गलौज गर्दै भगाई दिएता पनि हामी लुकेर हेर्दा घाईते तथा मृतकहरुलाई जुटको बोरामा राखी निज प्रतिवादीहरुले प्रतिवादी मोहम्मद महताब आलमको ट्याक्टर गाडीको टेलरमा लोड गरी ट्याक्टर गौरी शंकर साहले चलाई प्रतिवादी मोहम्मद आफताब आलमको आफन्तको राजा ईट्टा उद्योग चिम्नी भट्टामा लगी सबै प्रतिवादीहरुले मृतक तथा घाईतेहरुलाई चिम्नी भट्टाको आगो बाल्ने भुङग्रोमा बद्री सहनी समेत मिलि हाली जलाई पूर्ण रुपले नष्ट गरेको, घाईतेमध्ये सफि अहमद घटनास्थलबाट भागेकोमा उपचार भई ज्यान जोगिन गएको हो।प्रतिवादी मोहम्मद आफताब आलमले चुनाव जित्नको लागि भारतबाट बम तथा बम बनाउने पदार्थ ल्याई सो गोठघरमा स्टोर गरी बम बनाउन लाग्दा अचानक बम बिष्फोट भएको थियो।कारवाहीबाट बच्नको लागि घाईतेहरु तथा मृतक लाश जलाई रातारात उक्त गोठ घर पुन: निर्माण गरी स्वरुप समेत परिवर्तन गरेका हुन भन्ने समेत ब्यहोराको हरिनारायणसाह, परीक्षणसाह, शंकर साह तेली र गेनालाल साह कानु समेतले किटानी गरी खुलाई लेखाई दिएको घटना बिबरण कागज।
- मलाई अनुसन्धान अधिकृत तोक्नु भएकोमा मैले अनुसन्धन गर्दै जाँदा मुद्दाका फरार प्रतिबादी शेख भदईलाई मिति २०६५।०३।०१गतेका दिन पक्राउ गरी अनुसन्धान कार्य गर्दै गरेको अवस्थामा अन्य प्रतिबादी मो.आफताब आलम, मो.महताब आलम, शेख सेराज भन्ने शेष सराज, मो.मोबिन आलम समेतका प्रतिबादीहरु ऐ.०९ बिहान अन्दाजी १०:०० बजेको समयमा संयुक्त निबेदनसाथ यस कार्यालयमा हाजिर भएका थिएँ।श्री मान र्यालय प्रमुखकै आदेशानुसार सोही दिन बयान गर्ने लगायतको सम्पूर्ण अनुसन्धान कार्य सम्पन्न गरी घटनाका प्रत्यक्षदर्शी शैलेन्द्र साह समेतको संयुक्त निबेदन, रोक्शाना खातुन, श्रीनारायण सिंह राजपुत समेतको किटानी जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, मौकामा घटना प्रत्यक्ष रुपमा देख्ने प्रत्यक्षदर्शी सराजुल मियाले गरी दिएको घटना बिबरण कागज अन्य समसुल मिया, मोहम्मद जाजुल मिया, मृतक ओसी अख्तरको श्रीमती आमना खातुनले गरीदिएको कागज, ओहिद मिया कवाडी, सहजान खातनु, कलाम मिया, जफरुल मियासमेतका मानिसहरुले गरीदिएको कागज र मृतक ओसी अख्तरको जुत्ता, मोजा, हाईनेक (स्वीटर) समेत घटनास्थलमा फेला परेको कारण समेतका यी सबुत प्रमाणबाट प्रतिबादी मो.आफताब आलम समेतका प्रतिबादीहरुको घटनामा संलग्नरहेको प्रष्ट देखिन आएको हुँदा प्रतिबादी मोहम्मद आफताब आलम समेत उपर मुलुकी ऐन २०२० ज्यान सम्बन्धी महलको १ नं. बिपरित १३ (१) नं. बमोजिमको परिभाषित कसूर अपराधमा निज प्रतिबादीहरुलाई ऐ. ऐनको दफा १३(१) नं. बमोजिम सजाय गरी पाउँ भनी मागदाबी सहित निज प्रतिबादीहरु तथा सक्कल र नक्कल मिसिल केश फायल सोही दिन जिल्ला सरकारी वकील कार्यालय, रौतहटमा पेश गरेकोमा सोही दिन जिल्ला न्यायाधिवक्ता धु्रवमणी ज्ञावलीज्यूबाट हाल सबुतप्रमाणको अभावमा कोही कसै उपर मुद्दा नचलाउने हुँदा निज प्रतिबादीहरुलाई खोजी भएका बखत उपस्थित गराउने गरी माथवर ब्यक्तिको जिम्मा जमानीमा छाडीदिनु हुन भनी पत्रादेशानुसार निज प्रतिबादीहरुलाई छाडिएको हो। यी संकलित सबुत प्रमाण र प्रत्यक्षदर्शीले गरीदिएको कागज समेतबाट घटना बास्तबिक हो भन्ने समेत ब्यहोराको तत्कालिन अनुसन्धान अधिकृत प्रहरी निरीक्षक हाल प्र.ना.उ. राजिव प्रसाद बस्नेतले गरीदिएको मिति २०७६।०७।१२ गतेको घटना बिबरण कागज।
- म २०६४ साल बैशाख महिनाको करिब १९।२० गतेका दिन इलाका प्रहरी कार्यालय राजपुर प्रमुखको रुपमा खटिई गएको हुँ।२०६४ सालको संविधान सभाको मतदान हुने दिन चैत्र २८ गतेभन्दा ५दिन अगावै मिति २०६४।१२।२४ गतेका दिन सिमा प्रहरी चौकी बंजरहामा रहेको मोबाईल २ बेशमा खटाएको मा खटिगई मिति २०६४।१२।२७ गते बेलुकी १८:३० बजेको समयमा सोही बेशमानै थिएँ।भोलि पल्ट ऐ.२८ गतेका दिन मतदान समाप्त भएपश्चात मतपेटिका सहित निर्वाचन कार्यालयमा फिर्ता भई मत पेटिकाहरु बुझाई जिल्ला प्रहरी कार्यालय, रौतहटमा आई ऐ.२९गतेका दिन म कार्यरत रहेको इलाका प्रहरी कार्यालय, राजपुरमा फिर्ता भई गएको हुँ।सो घटना सम्बन्धमा गाउँ घरमा स्थानीय मानिसहरुले गाइँ गुइँ कुराकानी गर्दा र मिडियामार्फत समेत सुनी थाहा पाएको हुँ।घटनास्थलमा पुगेका मानव अधिकार, ईन्सेकको टोली तथा पिडित समेतलाई यी प्रतिबादी हरुले स्थानीय मानिस हरुसंग भेट्न नदिई घरमा नयाँ भुस राखिएको, उक्त भुस निकाली हेर्न भन्दा मानव अधिकारकर्मी दिपेन्द्र झा र पीडित पक्षसमेत लाई यी प्रतिबादीहरु तथा स्थानीय बासिन्दा समेतले आक्रमण गर्ने प्रयास गरीरहेका छ भन्ने कुराको जानकारी पाउन साथ म तुरुन्तै घटना स्थल शेख ईद्रिसको गोठ घरतर्फ जादा करिब अन्दाजी ५०० जति पुरुष, महिला समेतका मानिसहरुले घेराउ गरीरहेको अवस्थामा म सहितको प्रहरी टोली पुगी मानव अधिकार कर्मी दिपेन्द्र झा समेतको टोलीलाई सुरक्षित साथ इलाका प्रहरी कार्यालय, रौतहटमा ल्याएको हुँ।सो ठाउँबाट मानव अधिकारकर्मीको टोली आ–आफ्नो गन्तब्य तर्फ फर्की गएको हो भन्ने समेत ब्यहोराको प्र.ना.नि.ईश्वर बिक्रम शाहले मिति २०७६।०७।१३ गते गरी दिएको घटना बिबरण कागज।
- मिति २०६४।१२।२७ गते बेलुकी अन्दाजी १८:३० बजेको समयमा घटनास्थल राजपुर फरहदवा शेख ईद्रिशको गाई बस्तु बाध्ने गोठ घर अगाडी आईपुग्दा धेरै मानिसहरु थिए र सो गोठघर भित्र १५।१६जना मानिसहरु बसेका कुरा गोठ घरको ढोका खुल्ला भएको कारण देखेको हुँ।अचानक बम बिष्फोट भएको ठुलो धमाका आएको र सो बमको टुक्रा, छर्राहरुले मेरो दुबै कान, घाँटी, छाती समेतमा गम्भिर घाउ चोट लागी रगत समेत बगेको, बिष्फोटनमा परी २।३ जना मानिसको मृत्यु भएको र धेरै जना मानिसहरु घाईते भई जोडले रुदै कराउँदै गरेको देखेको हुँ।सो बम बिष्फोटनबाट मेरो दुबै कान चुडिएको, घाँटी र छाती समेतमा बमको छर्रा लागी म घाईते भएकोमा म आफू बच्नको लागि सो ठाउँबाट करिब ७०० मिटरसम्मको दूरीमा दक्षिण आईसकेपछि म पूर्णरुपले बेहोस भई भूइँ जमीनमा लडेको। त्यसपश्चात १५।२० दिनपछि होसमा आउदा भारत बिहार राज्यको जिल्ला सिता मढी, सिता मढी स्थित सदर अस्पतालमा बेड भर्ना भएको रहेछु। पिसाब नलीमा, नाकमा, मलद्धार समेतमा पाईप लगाएको र मेरो अनुसहार को भागमा, घाँटीमा, छाती समेतमा पट्टि बाँधेको अवस्थामा म रहेको थिएँ।म संगै मेरी आमा म रनीदेबि रहेकी थिईन्। मलाई यहाँ को कसले उपचारको लागि ल्याएको भनी आमाले बच्चारामको ससुरा रौतहट जिल्लाको जिगडीया बस्ने बद्रिरामले ल्याएको हो भनी आमालाई सोध्दा मलाई बताउनुभएको थियो। सोही अस्पतालमा म संगै ईट्टा उद्योगमा काम गर्ने मेरै गाउँको अं.३०।३२ बर्षको नरेश राम, अं. बर्ष ४०/४२ को बिकाउ राम समेत सोही अस्पतालमा उपचार गराउदै गरेको अवस्थामा देखेको हुँ। पछि निजहरु संग बुझ्दा निजहरुले हामीपनि सोही बम बिष्फोटनमा परी सक्त घाईते भएका हौं भनी बताएका थिए भन्ने ब्यहोराको घाईते प्रत्यक्षदर्शी शंकर भनिने गौरीशंकर रामको किटानी जाहेरी दरखास्त।
- श्रीनारायण सिंह राजपुत समेतको जाहेरीले बादी नेपाल सरकारप्रति वादी मो.आफताब आलम समेत भएको कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र बिष्फोटक पदार्थ मुद्दामा अन्य शेख फजलेहक समेतका प्रतिवादीहरुको संलग्नता रहेको हुँदा निज प्रतिवादीहरु समेतलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरी पाऊँ भन्ने समेत ब्यहोराको इलाका प्रहरी कार्यालय, राजपुर रौतहटमा कार्यरत प्र.ना.नि.दिपक कुमार गुप्ता समेतको प्रतिबेदन।
- मिति २०६४।१२।२७ गते बेलुका र ऐ.२८ गते बिहान रौतहट जिल्लाको राजपुर फरहदवामा बिष्फोटन भएको र सो बिष्फोटनमा केहि ब्यक्तिहरु हताहत भएको भने बुझिन आएको छ भनी तत्कालिन रौतहट जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक स्वः लक्ष्मण न्यौपानेले मलाई जाहेर गरेका थिएँ, त्यसपछि मैले घटनास्थलमा तत्काल गई कानून बमोजिम गर्नु पर्ने सम्पूर्ण कार्य गर्नुका साथै अनुसन्धानमा कुनै पनि कसर बाँकी नराखी सक्रियताको साथ गर्नु भनी निर्देशन समेत दिएको हुँ भने ब्यहोराको तत्कालिन पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) किरण कुमार गौतमले मिति २०७६।०७।११ गते गरी दिएको घटना बिबरण कागज।
- जिल्ला रौतहट राजपुर फरहदवा गा.बि.स.वडा नं.४ हालको राजपुर नगरपाकि वडा नं.४ स्थित आफ्नै काका शेख ईद्रिसको गोठ घरमा मिति २०६४।१२।२७ गते अन्दाजी १८:३० बजेको समयमा बिष्फोट भएको घटना सम्बन्धमा अनुसन्धानका लागि खटि आउनु भएका अनुसन्धान अधिकृतले जानकारी गराई घटना बिबरणबारे जानकारी मात्र गर्नु भएकोमा मलाई सम्झना भएसम्म त्यती खेर बम बिष्फोट भयो, केहि मानिस घाईते भएको र केहि मृत्यु भएको भन्ने सम्म रिपोटिङ भएको थियो भन्ने लाग्छ र त्यसो रिपोटिङ भएपछि निष्पक्ष रुपमा अनुसन्धान गरी कानून बमोजिमको कारवाही गर्नु भने निर्देशन दिएको थिएँ। पछि जिल्ला प्रहरी कार्यालय रौतहटले पूर्व मन्त्री मो. आफताब आलम समेतलाई मुद्दा चलाउने रायसहित सरकारी वकीलको कार्यालय, रौतहटमा मिसिल पेशगरेकोमा निज आफताब आलम समेतका ब्यक्तिहरु हाजिर जमानीमा छुटेको भन्ने सुनेको थिएँ भने समेत ब्यहोराको तत्कालिन प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक (IGP) ओम बिक्रम राणाले मिति २०७६।०७।११गते गरी दिएको कागज।
- मिति २०६४।१२।२७ गते अन्दाजी १८:३० बजेको समयमा म समेतको मोबाईल टोली गस्तीमा थियौं। अचानक बम पड्केको अवाज आएकोले तत्कालै के हो भनी बुझ्न जाँदै गर्दा तत्कालिन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेले संचार सेट बाट राजपुरमा बम बिष्फोटन भएको भन्ने जानकारी आएको छ, आतिएर सबै टोली त्यता मुभ हुँदा बुथमा अर्को घटना हुन सक्छ, त्यहाँ मैले अ.अ.टोली र अर्को थप मद्दत टोली परिचालन गरीसकेको छु, तपाई त्यहाँ जानु पर्दैन, आफ्नो एरियाको बुथहरुको सुरक्षालाई बिशेष ध्यान दिनु भनी निर्देशन दिनुभएकोले म त्यसतर्फ नगई बुथहरुको निरीक्षण र अनुगमन गर्ने तिर लागे। भोलि ऐ.२८ गते बिहानै देखि म निर्वाचन सुरक्षार्थ एवं साँझ निर्वाचन सम्पन्न भए पश्चात सदरमुकाम सम्म मत पेटीका संकलनको कार्यमा ब्यस्त रहेको र निर्वाचनका कामहरु सकिएपछि सम्बन्धित कार्यालयमा फिर्ता भएको हुँ भनी मिति २०७६।०७।१५ गते प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोत्तम कंडेलले गरी दिएको घटना बिबरण कागज।
- प्रतिवादीहरु मो.आफताब आलम, मो.महताब आलम, शेख भदई, मो. मोबिन आलम, शेख सेराज भन्ने शेष सराज, बद्रि सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, तथा नाम थर र वतन खुल्न नसकेका अन्य व्यक्तिहरु समेतले विष्फोटक पदार्थ ऐन, २०१८ को दफा ४ को कसूर अपराधमा सोही ऐनको दफा १०(1)(क) बमोजिम सजाय गरी पाउन र घाईते सफी अहमद र गौरी शंकर राम चमारलाई ज्यानमार्ने उद्योगको कसूर अपराध गरेको तर्फ साविक मुलुकी ऐन, २०२०को ज्यान सम्बन्धीको महलको १ र १५ नं. को कसूर अपराधलाई हालको प्रचलित मुलुकी अपराधसंहिता, २०७४ को दफा १८३ (१) समेतले कसूर अपराध कायम गरेको हुँदा निज प्रतिवादीहरु लाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १५नं. तथा उक्त संहिताको दफा १८३ (२) बमोजिम तथा घाईतेहरुलाई जिउँदै जलाई कर्तव्य गरी मारी लाशहरु नष्ट गरे तर्फ साविक मुलुकी ऐन, २०२० को ज्यानसम्बन्धीको महलको १ र १३(१) नं. को कसूर अपराधलाई हालको प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) ले समेत कसूर अपराध कायम गरेको हुँदा निज प्रतिवादी हरुलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. तथा हालको उक्त संहिताको दफा १७७(२) बमोजिम समेत सजाय गरी पाउन तथा प्रतिवादी मुक्ति साहले कसूर अपराध घटेको चाल पाई जाहेर नगरी कसूर दबाउन खोजेको देखिँदा निज प्रतिवादी मुक्ति साहलाई मुलुकी ऐन, ज्यान सम्बन्धि महलको २५नं. बमोजिम तथा मुलुकी अपराध संहिता, २०७४ को ३६(३)(ख) बमोजिमको कसूर अपराधमा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यान सम्बन्धि महलको २५नं. तथा अपराध संहिताको दफा ३६(३) (ख) बमोजिम समेत एउटै वारदातमा एकभन्दा बढी कसूर अपराध भएको हुँदा छुट्टा छुट्टै कसूर अपराध कायम गरी सजाय समेत गरी पीडित घाइते तथा मृतकका हकवालालाई प्रतिवादीहरुबाट उचित मनासिव क्षतिपूर्ति समेत दिलाई भराई पाउँ भन्ने समेतको वादी नेपाल सरकारसमेतको अभियोग मागदावी।
- प्रतिवादी आफताब आलमले सुरु अदालतसमक्ष गरेको बयान:
प्रतिवेदकहरु प्रहरी निरिक्षक पपु नायक, प्र.ना.नि.दिपक कुमार गुप्तासमेत र जाहेरवालाहरु श्रीनारायण सिंह राजपुत, रोक्शाना खातुन, सफि अहम्मद, शंकर भनिने गौरी शंकर राम चमारलाई मैले चिनेको छैन। नचिनेको हुँदा नाता लेनदेन रिसइवी कारोवार केही पनि छैन। मैले ओसी अख्तर मियाँ र त्रिलोकप्रताप सिंह राजपुतलाई मैले चिनेको छैन। नचिनेको हुँदा मैले 2064 सालको चैत्रमा भएको चुनाबमा मेरो प्रचार प्रसारमा सामेल गराएको छैन। विक्रम सम्बत् 2064 सालको चैत्रमा भएको चुनाबमा मेरो प्रचार प्रसारमा भारतीय नागरिक कोही पनि सामेल थिएनन्। म वारदात भएको भनिएको मिति 2064।12।27 गते निर्वाचन प्रचार प्रसार गर्न बन्द थियो। त्यसैले म सो दिन विहानदेखि बेलुकासम्म म राजपुर नगरपालिका अन्तर्गतको आफ्नै निबासमा थिएँ। साथीहरुसँग निर्वाचनको अवस्था बारेमा व्यवस्थापन गर्ने विषयमा छलफल गरी बसेको थिएँ। मिति 2064।12।30 गते तत्कालिन उम्मेदवार शैलेन्द्र साह समेतले जिल्ला प्रहरी कार्यालय रौतहटमा दिएको संयुक्त निवेदनमा उल्लेखित व्यहोरा मलाई पढी सुनाउँदा सुने। निजसमेतले दिएको उक्त निवेदन व्यहोरा झुठ्ठा हो। मिति 2064 सालको चुनाबमा निज शैलेन्द्र साह एमालेको तर्फबाट मेरो प्रतिद्वन्दी भई चुनावमा उम्मेदवार भएको र निज लगभग बाह्र हजारको अन्तरले पराजित भएको कारण सोही रिसईवीमा म उपर सो निवेदन दिएका हुन। निवेदनमा लेखिए बमोजिमको व्यहोरा झुठ्ठा हो। म पटक पटक विधार्थी कालदेखि राजनिति गरी मिति 2054 साल देखि भारी मत ल्याई निर्वाचित भई सांसद र मन्त्री पटक पटक भई कार्य गरेको र हालसम्म पनि सांसद रहिरहेको हुँदा मेरो विरोधीहरुले सो कुरा देख्न नसकेर प्रस्तुत मुद्दामा फसाइएको हो। विरोधीहरुले मेरो लोकप्रियता देख्न नसकेर मेरो राजनितिक पृष्ठभूमि समाप्त पार्नको लागि मलाई मुद्दामा फसाएपछि आफ्नो राजनिति सफल हुन्छ भनेर मानिसहरु प्रयोग यस्तो झुठ्ठा कुरा लेखाएको हो। अर्को कुरा म राष्ट्रवादी व्यक्ति हुँ त्यसको प्रमाण 2064 सालको संविधान सभामा यो देशलाई तोडदिन्छु भन्दा म मात्रले यो देश कसैको पेवा होइन कोही ठेक्दार पनि होइन कसैले भन्दैमा केही हुँदैन भनेर 601 सभासदबाट म एकजनाले बोलेको छु। मधेश आन्दोलन हुँदा पनि म जिल्लामा भएको र मधेशी र पहाडी मिलेर बस्नुपर्छ आपसी सदभाव राख्नुपर्छ भनेर मैले भूमिका निर्वाह पनि गरेको थिएँ र यो जिल्लामा कुनै अप्रिय घटना घटेन र सुरक्षीत रहेको थियो। यहि लोकप्रियता समाप्त पार्न मलाई यस्तो झुठ्ठा आरोप लगाई लेखाएको हो। मेरो राजनितिक पृष्ठभूमी खतम पार्न मेरो विरोधीहरुले मानिसहरु प्रयोग गरी त्यस्तो कागज गर्न लगाएको हो। प्रस्तुत घटना घटेको छैन। घटना नघटेको हुँदा प्रमाण पनि छैन।घटना घटेकै छैन।को को स्थलगत निरीक्षणमा गए के कस्तो रिपोर्ट दिए मलाई थाहा छैन।ओसी अख्तरको ससुरा समसुल मिया, काका मो. जाजुल, पत्नी अमना खातुन, ओहिद मिया कवारी,साजहान खातुन कलाम मियाँ, जफरुल मियाँ समेतले गरेको कागज बेहोरा झुठा हो।बम फिस्फोटनको घटना नै नघटेको अवस्थामा घाईते भनिएका जाहेरवाला लगायतका व्यक्तिहरु के कसरी घाईते भए कहाँ उपचार गराई घाउजाँच गराएका हुन मलाई थाह छैन।मैले बिस्फोटक पर्दाथ सम्बन्धी कसूर गरेको छैन।तत्कालिन अवस्थामा मुद्दा नचल्ने गरी जिल्ला सरकारी वकिलले गरेको निर्णय बेहोरा सम्म ठिक हो।अन्य बेहोरा सबै झुठा हो।मलाई अभियोग दावीबाट सफाई गरी पाउँ।
घटना घटेकै होइन, कहाँ कहाँबाट प्रतिवेदन तथा निर्णयहरु भए मलार्इ झिकार्इ नबुझिएको हुँदा सो सम्बन्धमा मलार्इ थाह भएन। मेरो प्रमाणको हकमा म उपर लागेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय, रौतहट देखि तत्कालिन महान्यायाधीवक्ता समेतले प्रमाणको अभावमा मुद्दा नचल्ने निर्णय भएको कारण मेरो ठोस प्रमाण त्यहीनै हो । साथै 2054 सालमा 4500 मतान्तरले विजयी भएको, 2056 सालमा 29500 मत ल्यार्इ (नेपालमै अत्याधिक मत ल्यार्इ) विजयी भएको, 2064 सालमा 11000 मतान्तरले विजयी भएको, 2074 सालमा समेत 20000 मत ल्यार्इ विजयी भएको छु, यसरी सर्वसाधारणबाट अत्यधिक मत, माया विश्वास पार्इ राज्यको काममा जीवन समर्पित गरेको मान्छेले घटना घटाउने कुरै आउँदैन । निर्वाचन कार्यालयबाट प्रमाण बुझि पाऊँ। अहिले नेपालको 3 पुस्ता सम्म संसदमा प्रतिनिधित्व गर्दै आएको मेरो र्इतिहास छ। सोही कारणले गर्दा विपक्षीहरुले मलार्इ फसाए पछि रौतहट जिल्लाको राजनितिमा कब्जा गर्ने मानसिकता भर्इ विभिन्न व्यक्तिहरुलार्इ मेरो विरुद्धमा प्रयोग गरेको हो भन्ने प्रतिवादी मोहमद आफताब आलमको ततिम्बा बयान ।
- मिति 2076।07।29 गते भएको थुनछेक आदेश:
प्रतिवादी मो.आफताब आलम हालैको अबस्थामा निर्दोष रहेछन् भनी भन्ने सक्ने अबस्था नरहेकोले पछि थप प्रमाण बुझ्दै र परिक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाल कसूरको प्रकृति र गम्भीरता र वादीको साक्षी प्रमाणलाई पार्न सक्ने प्रतिकूल प्रभाव समेतबाट निज प्रतिवादी मोहमद आफताब आलमलाई हाल मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(१) बमोजिम थुनामा राखी मुद्दाको पूर्पक्ष गर्नुपर्ने अवस्थाको विद्यमानता देखिँदा निज प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० बमोजिम थुनुवा पूर्जी दिई थुनामा राख्न कारागार कार्यालय, गौर रौटहटमा पठाई दिने भन्ने मिति 2076/07/29 गते भएको आदेश।
- सुरु अदालतबाट भएको साक्षी संरक्षणात्मक आदेश:-
जाहेरवाला¸पीडित र साक्षीहरुको सुरक्षामा खतरा रहेको हुँदा सुरक्षा प्रवन्धको लागि सम्बन्धित निकायको नाममा आदेश जारी गरिपाउँ भनी जाहेरवालातर्फका विद्वान कानून व्यवसायीले बहसको क्रममा निवेदन गर्नु भएको र प्रतिवादीका मानिसहरुले जुनसुकै समयमा अपहरण गरी मेरो विरुद्धमा प्रमाण लाग्ने कागजमा सही गराउँन सक्ने र डर¸ त्रास धम्की र अनुचित प्रभाव समेत पार्न सक्ने हुँदा आवश्यक शान्ति सुरक्षाको प्रबन्ध समेत गरिपाउँ भनी जाहेरवाला शंकर भन्ने गौरी शंकर राम चमारले मिति २०७६।६।२८ मा निवेदन दिएको देखिएकोले जाहेरवाला¸पीडित र साक्षीहरुको सुरक्षाको प्रत्याभूति दिनु पर्ने जिम्मेवारी र दायित्व नेपाल सरकारको रहेको र कसूरको गम्भीरतालाई विचार गर्दा निजहरुलाई सुरक्षाको प्रत्याभूति दिनु पर्ने आवश्यक देखिएबाट जाहेरवाला¸पीडित र साक्षीहरुको सुरक्षाको उचित व्यवस्थापनका लागि देहायका कार्य गर्नु भनी प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा मुलुकी फौजदारी कार्यविधि संहिता¸२०७४ को दफा ११४(२) र मुलुकी फौजदारी कार्यविधि नियमावली¸२०७५ को नियम ६१ बमोजिम यो आदेश जारी दिएको छ।
- जाहेरवाला¸ पीडित र नेपाल सरकारका साक्षीहरुलाई सुरक्षित रुपमा अदालतमा ल्याउँने वा अदालतबाट निजको बसोबास रहेको स्थानसम्म पुर्याउँने प्रबन्ध मिलाउँनू।
- जाहेरवाला¸ पीडित र साक्षीहरुलाई संरक्षणगृह वा त्यस्तै प्रकारका संस्थामा सुरक्षित रुपमा बसोबास गर्ने व्यवस्था मिलाउँनू।
- जाहेरवाला¸ पीडित वा साक्षीको व्यक्तिगत वासस्थानको सुरक्षा गर्नू।
- जाहेरवाला¸ पीडित वा साक्षीको सुरक्षामा खलल पुर्याउँने व्यक्तिलाई आवश्यक कानूनी कारवाहीगर्नू।” भनी मिति 2076।07।29 गतेको आदेश।
- यस उच्च अदालत जनकपुर अस्थाइ इजलाश बीरगन्जबाट मिति 2076।10।24 मा भएको आदेश।
प्रस्तुत मुद्दाको सन्दर्भमा संविधानले मार्ग निर्देश गरे बमोजिमको न्यायिक निष्पक्षता कायम राख्न र न्याय सम्पादनको क्रममा हुने सबैप्रकारका प्रभावहरुलाई न्यायालयको परिसरभित्रको प्रबेशलाई निषेध गर्न समेत निबेदकलाई धरौट/जमानतमा राख्ने समेत उपयुक्त हुने देखिएन। सुरु रौतहट जिल्ला अदालतले निजलाई पुर्पक्षका लागि थुनामा राख्दा लिइएका आधार र कारणहरु समेत मनासिब देखिएको र माथि विवेचित आधार र कारणहरुले निजको पुर्पक्षका लागि थुनामा रहेको हालको अवस्थालाई निरन्तरता दिनु आवश्यक एवमउपयुक्त देखिएकोले रौतहट जिल्ला अदालतबाट भएको मिति २०७६।७।२९ को उक्त आदेशलाई बेरितको भन्न मिलेन ।
- श्री सर्वोच्च अदालतबाट मिति 2079।01।23 मा भएको आदेश।
मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट अहिले नै यी प्रतिवादी आफताब आलम कसूरदार होईन न्भनी विश्वास गर्न सकिने मनासिव आधार देखिन नआएकाले प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम पूर्पक्षको लागि थुनामा राख्ने गरी तहाँ उच्च अदालत जनकपुर अस्थाइ इजलाश बीरगन्ज अदालतबाट मिति 2076।10।24 मा भएको आदेश बेरितको नदेखिँदा परिवर्तन गरिरहनु परेन” भनी मिति 2079।01।23 मा श्री सर्वोच्च अदालतले गरेको आदेश।
- प्रतिवादी मुक्ति साहले सुरु अदालतसमक्ष गरेको बयान:
मिति 2077।02।24 गते अं.6:30 बजेको समयमा सिम्रौनगढ बजारबाट मलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा ल्याएको हो मलाई किन पक्राउ गर्दै हुनुहुन्छ भनि सोध्दा तपाई माथि ज्यान सम्बन्धि रौतहट जिल्ला अदालतमा मुद्दा कारवाही युक्त अवस्थामा रहेको छ भनी मलाई पक्राउ गरेको हो। मिति 2064।12।27 गते साँझ अं.6:30 बजेको समयमा जिल्ला रौतहट गा.वि.स. राजपुर फरहदवा वडा नं.4 म रहेको नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद आफताब आलमको घरमा बम बिस्फोट हुँदा जाहेरवालाका छोराहरु पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसि अख्तर मिया समेत घाइते भएकोमा नजिकैको ईट्टा भट्टाको चिम्निमा जलाई कर्तव्य गरी मारी लाश नष्ट गरेको कुरा मैले सुनेको थिएन। प्रमु पटेल, लखिन्द्र पटेल मेरै गाउँ घरको भएकोले चिनजान छ। मैले कहिले पनि राजा ईट्टा भट्टा उद्योगमा काम गर्ने गरेको थिएन। उक्त घटना विवरण कागज झुठ्ठा हो। निजले मेरो नाम किन पोल गरेको हो सो कुरा उसैलाई थाहा होला।
- मिति 2077।03।03 गते भएको थुनछेक आदेश:
प्रतिवादी मुक्ति साह हालैको अबस्थामा निर्दोष रहेछन् भनी भन्ने सक्ने अबस्था नरहेकोले पछि थप प्रमाण बुझ्दै र परिक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई मुलुकी फौजदारी कार्य विधि संहिता, २०७४ को दफा ६८(१) र सोही संहिताको दफा ७२ बमोजिम प्रतिवादी मुक्ति साहबाट रु.५०,०००।-(पचास हजार) धरौट वा सो बरावरको जेथा जमानत वा बैंक जमानत दिए लिए तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्नु नदिएमा निजलाई कानून बमोजिमको सिधा खर्च खान पाउने गरी थुनुवा पूर्जी दिई कारागार कार्यालय रौतहट गौरमा थुनामा राख्न पठाई दिने भन्ने मिति 2077/03/03 गते भएको थुनछेक आदेश।
- प्रतिवादी शेख सेराज भन्ने शेष सराजले सुरु अदालतसमक्ष गरेको वयान:
जाहेरी बेहोरा झुठा हो।प्रस्तुत मुद्दाका जाहेरवालाहरु सँग मेरो कुनै चिनजान छैन। अभियोग पत्रमा उल्लेखित प्रतिवादीहरु मध्ये मो. आफताब आलम मेरो क्षेत्रका नेता तथा मन्त्रि भएकाले निजलाई चिन्छु। अरु प्रतिवादीहरु सँग चिनजान छैन। निजहरुको अनुहार पनि चिनेको छैन। ओसी अख्तर मियाँलाई म चिन्दिन। निजको जुत्ता, मोजा र सुइटरको बारेमा मलाई थाहा छैन।घटना बिबरण कागज झुठा हो। घटना विवरण कागज गर्ने मानिसहरुलाई तथा मृतक भनिएको ओसी अख्तर मियाँलाई म चिन्दिन। मैले त्यस्ता अपराधिक कार्य गरेको होइन छैन। म भारतको पंजाव भन्ने ठाउँमा काम गर्न गएकोले सो घटना बारे मलाई केही थाहा जानकारी थिएन। मोहम्मद आफताब आलम पक्राउ परे देखि यस घटनाबारे मलाई थाहा भएको हो। मैले अभियोगदावी अनुसारको कसूर अपराध नगरेकाले मलाई अभियोग दावी बमोजिम सजाय हुनु पर्ने होईन। मैले झुठ्ठा अभियोग दावीबाट सफाई पाउनु पर्ने हो। भारतको पंजाबमा म घट्ना हुनु भन्दा करीव १ महिना अगाडी नै गएको थिए। त्याहाँ म खेतिपातीको काम गर्थे र त्याहाँबाट २०६५ सालको भाद्र महिनामा म पंजावबाट घर फर्की आएको हुँ भनि वयान गरेको देखियो भने मौकामा अनुसन्धानका क्रममा निज प्रतिवादीले वयान गर्दा म तथा मोहम्मद महताव आलमले ओसी अख्तर मियाँलाई मोटरसाईकलमा चढाई शेख इद्रिसको घरमा बम बनाउने काममा लगाएको छैन। ओसी अख्तर मियाँलाई म चिन्दैन। निजहरुलाई ट्र्याक्टरमा राखी चिम्नी भट्टामा जलाएको होइन छैन। समसुल मियाँ, मो. वाजुल मियाँ, अमना खातुन समेतले के कुन कारणले कागजमा व्यहोरा उल्ले गरेको हो मलाई थाहा छैन। ओसी अख्तर मियाँलाई म समेतले मोटरसाईकल चढाई लगेको होइन। शेख इद्रिसको गोठ घरमा वम विष्फोटन भएको होइन। पिन्टु सिंह र ओसी अख्तर मियाँ नाम गरेको व्यक्ति मोहम्मद आफताब आलमको चुनावी प्रचार प्रसारमा आएको छैन। जाहेरवालाहरुले मोहम्मद आफताब आलम चुनावमा विजयी भएको कारण म समेतका प्रतिवादीहरुलाई मुद्दामा फसाउने नियतले झुठ्ठा व्यहोरा उल्लेख गरी जाहेरी दरखास्त दिएको हुनु पर्दछ।
- मिति 2077।03।28 मा भएको आदेश:
प्रतिवादी शेख सेराज भन्ने शेष सराज कसूरदार रहेनछन भनि विश्वास गर्न सकिने मुनासिव आधार प्रमाण विद्यमान रहेको नदेखियबाट पछि थप प्रमाण बुझ्दै र परीक्षण हुँदै जाँदा ठहरे बमोजिम हुने गरी कसूरको प्रकृति र परिस्थिति एवं अवस्थालाई समेत विचार गर्दा प्रतिवादी शेख सेराज भन्ने शेष सराजलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ (१) (क) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने अवस्थाको विद्यमानता देखिदा निज प्रतिवादी शेख सेराज भन्ने शेष सराजलाई सोही संहिताको दफा ८० बमोजिम थुनुवा पूर्जी दिइ थुनामा राख्न कारागार कार्यालय रौतहट गौरमा पठाइ दिनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७९ बमोजिम प्रस्तुत आदेश पर्चा खडा गरिदिएको छ भन्ने मिति 2077।03।28 मा भएको आदेश।
- प्रतिवादी बद्री सहनीले सुरु अदालतसमक्ष गरेको बयान:
मिति 2077।6।16 गते अं.6:30 बजेको समयमा इन्डियन र नेपाली प्रहरीले भारत विहार राज्यको पश्चिम चम्पारण मोतिहारी जिल्ला आदापुर थाना अन्तर्गत झिटकैया भन्ने गाउँमा बसमा चढी मोतिहारी त्रिकौलिया भन्ने ठाउँमा प्रोस्टेट (पेसाब जम्मा हुने ठाउँमा मासु पलाएको) को अप्रेशन भै दोस्रो पटक उपचार गराउन जाँदा प्रहरीले बाटोमा समातेको हो। मैले राजा र्इट्टा भट्टा उद्योगमा कहिले पनि काम गरेको छैन। घटना विवरण कागज गर्ने मानिस हरिनारायण साहलार्इ पनि चिन्दिन।मुक्ति साह मेरो गाउँले भएकोले चिन्जान छ।अन्य प्रतिवादीहरुसँग चिनजान छैन।हत्या गरिएका भनेका ओसी अख्तर मियाँ र पिन्टु भन्ने त्रिलोक प्रताप सिंहलाई चिन्दिन।बारदात मिति 2064।12।27 मा राज ईट्टा उद्योगमा म काम गरेको थिए। मैले कसैलार्इ पनि चिम्नी भट्टाको आगको बाल्ने भग्रोमा पालो पाली हाली जलार्इ पूर्ण रुपले नष्ट गरेको काम गर्ने गरेको छैन। उक्त घटना विवरण कागज झुठ्ठा हो भन्ने प्रतिवादी बद्री सहनीले गरेको बयान।
- मिति 2077/06/23 गते भएको थुनछेक आदेश:
प्रतिवादी बद्री सहनी पूर्ण रुपमा निर्दोष मान्न सकिने अबस्था नरहेकोले पछि थप प्रमाण बुझ्दै र परीक्षण हुँदै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई प्रतिबादी बद्रि सहनीसंग मुलुकी फौजदारी कार्यविधि संहिता,2074 को दफा 72समेतलाई विचार गरि मुलुकी फौजदारी कार्यविधि संहिता,2074 को दफा ६८ बमोजिम निज प्रतिबादी बद्रि सहनीबाट रु.2,00,000(दुई लाख) लिई दिए पूर्पक्ष गर्नु, नदिए सोही संहिताको दफा 80 बमोजिम थुनुवा पूर्जी दिइ थुनामा राख्न कारागार कार्यालय रौतहट गौरमा पठाइ दिनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता,2074 को दफा 79 बमोजिम प्रस्तुत आदेश पर्चा खडा गरिदिएको छ भन्ने मिति 2077।6।23 गते भएको आदेश ।
- उच्च अदालत जनकपुर अस्थाइ इजलाश बीरगन्जबाट मिति 2079।03।09 मा भएको आदेश।
प्रतिवादी बद्री सहनी कसूरदार होइनन् भन्न सकिने अवस्था नदेखिएको र आरोपित कसूरको गाम्भिरता समेतलाई दृष्टिगत गरी हेर्दा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, को दफा ६७ आकर्षित हुने अबस्था देखिन आएकोले ऐ.दफा ६८ बमोजिम निज प्रतिवादी संग नगद दुई लाख दिए लिइ निजलाई मुद्दा पुर्पक्षका लागी तारिखमा राखे गरी त्यस अदालतबाट मिति २०७७।६।२३ मा भएको आदेश मिलेको नदेखिँदा बदर गरी दिएको छ। पछि प्रमाण बुझ्दै जादा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादी बद्री सहनीलाई मुद्दा पुर्पक्षका लागी थुनामा राखी मुद्दा कारवाही किनारा गर्नुहोला।
- प्रतिवादी मो. महताव आलमले सुरु अदालतसमक्ष गरेको बयान:
जाहरी दर्खास्तमा भनिएको मिति २०६४।१२।२७ गते कुनै विष्फोटको घटना नै भएको छैन तथा कोही पनि ब्यक्ति घाइते भएको वा कोही कसैको मृत्यु भएको पनि होइन। वारदात भएको भनिएको सबै घटना झुठ्ठा हो। मेरो र मेरा दाजुको राजनीतिक पृष्ठभूमिको कारण झुठा जाहेरी र अनुसन्धानको क्रममा कागजहरू खडा गरिएका हुन्। जाहेरवालालाई पनि चिन्दिन। त्यो महिलाको नाम थाहा छैन। चिनेको पनि छैन। जाहेरी व्यहोरा झुठ्ठा हो। कोही कसैको लाश पनि जलाईएको छैन। मैले अनुसन्धानको क्रममा गरेको वयान ठिक छ। शैलेन्द्र साहले राजनितिक प्रतिशोधका लागि यो सबै झुठ्ठा व्यहोरा लेखाएको हो।
- मिति 2077।08।28 गते भएको थुनछेक आदेश:
प्रतिवादी मोहमद महताब आलम निर्दोष रहेछन् भन्ने विश्वास गर्न सकिने मनासिव आधारको विद्यमानता नदेखिँदा पछि प्रमाण परिक्षण हुँदै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रतिवादी मोहमद महताब आलमलाई लगाईएको अभियोग मागदावी एवं माथी विवेचित पूर्पक्षको सिलसिलामा थुनामा राख्नुपर्ने आधार र कारण समेतका आधारमा हाल मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ (१) (क) बमोजिम थुनामा राखी मुद्दाको पूर्पक्ष गर्न कानून बमोजिम सिधा खाना पाउने गरी सोही संहिताको दफा ८० बमोजिम पूर्जी दिई कारागार कार्यालय रौतहट गौरमा थुनामा राख्न पठाई दिने भन्ने मिति 2077/08/28 गते भएको आदेश।
- प्रतिवादीको साक्षी समसुल मियाँले सुरु अदालतमा गरेको बकपत्र:
उक्त मिति 2064।12।28 मा गरेको कागज व्यहोरा पढीवाची सुनाउँदा सुनी पाए। सो व्यहोरा झुठ्ठा हो। प्रहरी प्रशासनले बनाई मलाई सहि छाप सम्म गराएको हो। निज ओशी अख्तर मियाँ मेरा छोरी ज्वाई हुन। निज विदेशमा थिए। मिति 2064 सालमा घर फर्कि आएका थिए। मैले 2064 सालको निर्वाचनमा मेरो गाउँघरमा निर्वाचनमा भागलिई म लालबन्दीमा तरकारीको व्यापार गर्न ल्याएकोले लालबन्दीमा गए। निर्वाचन को 3/4 दिन पछि ओशी आन्तर मियाँ र त्रिलोक प्रताप सिंहले मसँग सर्लाही जिल्लाको लालबन्दीमा भेटघाट गरेका थिए। निज ज्वाई र आमा बीचमा राजनैतिक विवाद पनि थियो। निजको आमा ने.क.पा.को नेता हुनुहुन्थ्यो। त्यसपश्चात निज ज्वाई घरबाट निस्केका हुन। अहिले के कहाँ छन सो सम्बन्धमा मलाई थाहा छैन। निज ओसी अख्तर मिया र निजको आमा बीच आपसी मतभेदका कारणले घरबाट निस्कि गएको हो भन्ने समसुल मियाले गरेको बकपत्र।
- प्रतिवेदक प्र.नि.पपु नायकले सुरु अदालतमा गरेको बकपत्र:
उक्त प्रतिवेदनमा लेखिएको व्यहोरा मेरो हो। सहि पनि मेरो हो। घटना भएको मिति 2064।12।27 गते भएकोमा मिसिलमा बम विष्फोट सम्बन्धित कुनै पनि जाहेरी वा प्रतिवेदन नरहेको र आफू सो घटनाको अनुसन्धान अधिकृत भई खटिएकोमा मिति 2076।06।29 गते मैले प्रतिवेदन पेश गरेको हुँ। उक्त प्रतिवेदन मैले एक्लैले लेखि पेश गरेको हुँ। निज व्यक्तिहरु घटना विवरण कागज, जाहेरी दरखास्त र घाइतेको कागज अनुसार यो प्रतिवेदन लेखिएको हो। ती मध्ये 2 जना घाइते गौरीशंकर राम चमार र सफि अहमद जो यस घटनाका जाहेरवाला समेत हुन्। यि वाहेकका अन्य व्यक्तिको नाम थाहा छैन। प्रत्यदर्शी तथा उक्त घटनाको घाइते सफि अहमद तथा उक्त घटनाका साक्षीहरुले गरिदिएको घटना विवरणको कागजको आधारमा र जाहेरवालाले दिएको जाहेरी दरखास्तको आधारमा प्रतिवेदनमा उक्त मानिसहरु खुलाइएको हो। घटना अं.13 वर्ष अगाडी भएको र तत्कालिन समयमा घाइतेहरु हतोत्तसाही भई र डर, त्रासको कारणले प्रत्यक्ष प्रहरीको सम्पर्कमा नआएको वा उक्त मुद्दामा अनुसन्धान गर्दै जाँदा निज घाइतेहरु नै उक्त घटनाको जीवित प्रमाण भएकोले निजहरुको वयान कागजको आधारमा प्रतिवेदन पेश गरेको हुँ भन्ने प्रतिवेदकले गरेको बकपत्र।
- वादीको साक्षी आमना खातुनले सुरु अदालतमा गरेको बकपत्र:
मिति 2065 साल बैशाख 28 गते प्रहरी समक्ष गरेको कागजमा भएको वेहोरा पढी सुनी पाए साथै व्यहोरा झुठ्ठा हो। प्रहरी जवरजस्ती मलाई लेखिएको कागजमा मसँग साइन गराएको हो। वेहोरा मेरो होइन। सहिसम्म मेरो हो।ओसी अख्तर मियाँको कहाँ कहिले मृत्यु भएको मलाई थाहा छैन। मेरो श्रीमान ज्याला मजदुर गर्न विदेशमा रहनु भएकाले आउँदा म त्योबेला नयाँ दुलहन थिए। घरबाट कहिले जानु भएको हो। मलाई थाहा भएन भनेर पनि गएको थिएन। मैले घटनाको वारेमा केही पनि भनेको होइन जवरजस्ती लेखिएको कागजमा साईन गराएको हो। मेरो श्रीमानको मृत्यु बम काण्डबाट भएको होइन। बम काण्ड नै भएको होइन भन्ने आमना खातुनले गरेको बकपत्र।
- जाहेरवाला श्रीनारायण सिंह राजपुतले सुरु अदालतमा गरेको बकपत्र:
उक्त मितिमा मैले सो जाहेरी दिएको हुँ। सोमा भएको सहिछाप समेत मेरो हो।जाहेरीमा उल्लेखित प्रतिवादीहरुलाई सजाय हुनु पर्दछ।उक्त मिति 2064।12।19 गतेका दिन प्रतिवादी मोहमद आफताब आलमका मानिसहरु चुनाव प्रचार प्रसारको लागि मेरो छोरा त्रिलोक प्रताप सिंहलाई लिन आएका थिए। मिति 2064।12।20 गते मेरो छोरालाई लगेका थिए। मिति 2064।12।27 को राती बम विष्फोट भएको आवाज सुने। गाउँघरमा हल्ला भयो। सोको भोली पल्ट म राजपुर फरहदवामा गए। सो चिम्नी भट्टामा गए। त्यहाँ मान्छे पोलिएको जस्ता गन्ध पनि थियो। त्यसपछि म आफताब आलमको घरमा गए। त्यहाँ 12 जना मानिस थिए। मैले मेरो छोरा कहाँ छ भनि सोध्दा तपाईको छोरा माथी गयो। तपाई जानुहोस नत्र तपाईलाई पनि माथी पठाइदिन्छु भनि पश्चात मलाई थाहा भयो। त्यसको सबुत प्रमाणमा मेरो छोरा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह अहिलेसम्म आएको छैन। यसका साथै हालको अनुसन्धानका कागजात प्रमाणको रुपमा छन भन्ने जाहेरवाला श्रीनारायण सिंह राजपुतले गरेको बकपत्र।
- वादीको साक्षी शैलेन्द्र साहले सुरु अदालतमा गरेको बकपत्र:
पहिलो संविधान सभाको चुनावको बेलाको घटना हो । यो मिति 2064।12।27 अं.6:30 बजे म आफ्नो गौरबाट आफ्नो घर जाने क्रममा राजपुर (फ) नजिकै पुग्दा बम विष्फोटको ठुलो आवाज आयो। अनि धुवा पनि हेरे। अनि म तत्कालै त्यहाँ घटनास्थलमा पुग्दा त्यहाँको दृश्य यथावह थियो। 1/2 जना मरेको अवस्थामा र केही 15/16 जना घाइते र त्यसमा चिने जानेको दुई जना घाइते पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर घाइते थियो। उनीहरुको हात, खुट्टा कान क्षरविक्षर थियो। प्रतिवादी मो. आफताब आलम, मो. महताव आलम लगायतका मानिसहरु मोविल, भदई, शेख सेराज भन्ने शेष सराज यिनीहरु लगायत मलाई गाली गलौज धाक धम्की दियो। म तपाईलाई पनि मारदिन्छु नत्र भाग अनि म बाध्य भएर त्यही नजिकै आफन्तको घरमा गई ट्रेक्टरमा लोड गरी राखेको लासको पोकाहरु आफन्तको चिम्नी भट्टामा लगेको देखे। मो. आफताब आलम, मो. महताव आलम, शेख सेराज भन्ने शेष सराज, भदई, मोबिल प्रतिवादी लगायत अन्य व्यक्ति उपर विभिन्न किसिमको हात हातियार, बम विष्फोट ज्यान मार्ने उद्योग भएको घटना जधन्य खालको अपराध सत्य तथ्य जानकारी गराईएको यव संयुक्त निवेदनमा त्यसबेला उनीहरु माथि छानविन गर्न सचेत नागरिकको हैसियतले निवेदन दिएका थिए। यो पाँच जनालाई चिन्छु। यिनीहरु राजपुर (फ) को छ। राजपुर (फ) गा.वि.स. मान्छेहरु छन। संयुक्त निवेदनमा एक जना आफताब आलम घटना प्रतिवेदनमा 5 जनाको नामै किटेर त्यसैको आधारमा 5 जनाको नाम लिएको हो। यो निवेदन दिदा खेरी हार जित वा चुनावको परिणाम आएकै थिएन। र म लगायत संयुक्त निवेदनका व्यक्तिहरु कुनै प्रकारका मानसिकताका र पूर्वाग्राही, रिसइवी नभएकोले निवेदनको कुरा ठीक छ भन्ने वादीको साक्षी शैलेन्द्र साहले गरेको बकपत्र।
- वादीको साक्षी रामविनोद साह सोनारले सुरु अदालतमा गरेको बकपत्र:
उक्त मितिमा भएको दरखास्तमा भएको सहि मेरो होइन। केही थाहा भएन। सो दिन म वाहिर गएको थियो। सो मितिमा कुनै प्रकारको घटना भएको छैन। म निवेदन दिइएको होइन। मेरो व्यहोरा होइन। उक्तमा मेरो सहि नभएकोले सो निवेदन दरखास्त गलत नै हुन भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- वादीको साक्षी नागेन्द्र प्रसाद सिन्हाले सुरु अदालतमा गरेको बकपत्र:
उक्त मितिमा भएको निवेदनमा मेरो सहि छैन। व्यहोरा पनि मेरो होइन। घटना नै भएको छैन भन्ने थाहा हुने कुरा नै हुँदैन। उक्तमा मेरो नामको अगाडी कसैले किर्ते गरेको हो। यसमा निवेदन उल्लेख भएको व्यक्ति शैलेन्द्र साहले नै किर्ते गराएको हुनसक्छ। सबै कुरा जाली हो। कुनै किसिम घटना वारदात भएको होइन। प्रतिवादी बनाइएको व्यक्तिहरु गाउँ घरको राम्रो सजन, व्यवहारिक व्यक्ति हुन। अभियोग दावी झुठ्ठा हो निज प्रतिवादीहरुलाई सो अभियोगबाट सफाई पाउनु पर्ने हो भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- वादीको साक्षी अब्दुल जवारले सुरु अदालतमा गरेको बकपत्र:
उक्त मितिको निवेदनमा मेरो सहि छाप र व्यहोरा मेरो छैन। घटना वारे थाहा भएन। घटना भएको भए आवाज आउनु पर्ने थियो।आवाज आएन। म सो दिन घर मै थिए। सो समयमा म मधेशी जन अधिकार फोरम पार्टीबाट उम्मेदवार दिइएको थिए। संविधान सभा सदस्यको पदमा उम्मेदवारी दिइएको थिए। सो मितिमा कुनै किसिमको घटना भएको छैन। थाहा पनि छैन। प्रचार प्रसारको बेला कतै सुनेको थिएन। उक्त मेरो नाम सहि छाप कसैले किर्ते गरेको छ भन्ने वादीको साक्षी अब्दुल जवारले गरेको बकपत्र।
- प्र.ना.नी. इश्वर विक्रम साहले सुरु अदालतमा गरेको बकपत्र:
उक्त कागजमा परेको सहिछाप र व्यहोरा मेरो हो। त्यहाँको(घटनास्थल भनिएको ठाउँ) अवस्था सामान्य थियो। कुनै किसिमको तनावको अवस्था थिएन। कुनै किसिमको आक्रमणको प्रयास भएको थिएन। त्यहाँ भएको व्यक्तिहरु बीच प्रश्न सोध्ने सवाल जवाफको उत्तर, जानकारी गाउँलेहरुले दिइरहेको अवस्था थियो। घटनास्थल इद्रिसको गोठघरमा अन्दाजी 500 जति पुरुष महिला समेतका मानिसहरुले मानवअधिकार इन्सकको टोली समेतलाई घेराउ गरेका भन्ने सूचना पायौ। सो सूचना पश्चात म समेतको प्रहरी टोली घटनास्थलमा गयौ। त्यहाँ जादा 40/50 जना मानिसहरु थिए। अवस्था सामान्य नै थियो। मानव अधिकार समेतको टोली हामीसँगै इ.प्र.कार्यालय फर्कि आएका हौ भन्ने प्र.ना.निले गरेको बकपत्र।
- वादीको साक्षी दिपक कुमार गुप्ताले सुरु अदालतमा गरेको बकपत्र:
प्रतिवेदन साथ पेश भएको शंकर भन्ने गौरी शंकर रायको फोटो थान-5 म समेतले पेश गरेको साँचो हो। परिवर्तन गरेर बनाएको थियो। मिति 2077 साल कार्तिक महिना 5 गते म त्यही कार्यरत हुँदा मेरो कमाण्डमा तीन जनाको टोली जि.प्र.का.बाट गठन गरी अनुसन्धान गर्दै जाँदा र पहिला साक्षीहरुको कागज अनुसार समेतका आधारमा र 2064 सालमै सामाचार मिडियाबाट थाहा भएको हो भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- वादीको साक्षी मो. एकलाख आलम भन्ने एकलाख आलमले सुरु अदालतमा गरेको बकपत्र:
म 6:30 बजे चिम्नीमा थिएँ। रात भरी चिम्नीमा नै थिएँ। भोली पल्ट चुनावमा भाग लिएको थिए। सो दिन दिन भरी म आफ्नै चिम्नीमा रहेको थिए। उक्त दिन र रातको समयमा त्यहाँको वातावरण सामान्य थियो। घटना भएकै छैन भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- वादीको साक्षी मोजमिल आलमले सुरु अदालतमा गरेको बकपत्र:
उक्त मिति समयमा म चिम्नी भट्टामा काम ज्यालादारीको रुपमा गर्दथे। दिनरात सोही चिम्नीमा बसी हिसाव किताव सम्बन्धी जिम्मेवारी हेर्दथे। उक्त मिति समय पछि उक्त ईटा भट्टामा कुनै पनि मानिसहरु आएका थिएन। सोही उक्त समयमा कुनै पनि प्रकारको आवाज, घटना तथा दृश्यहरु देखेको थिएन। यस मुद्दाका प्रतिवादी मो. आफताब आलमलाई मैले देखेको भेटेको छैन। हिसाब किताव पनि गर्ने र पुरै चिम्नीको जिम्मेवारी पनि निभाउने भएकोले म विश्वास छु कि त्याँहा कुनै पनि प्रकारको मानिसहरु आएको थिएन भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- वादीको साक्षी शेख सोएवले सुरु अदालतमा गरेको बकपत्र:
उक्त दिन बम बिष्फोट भएको घटना बारे मलाई थाहा भएन। प्रतिवादी मो.आफताब आलम समेतलाई चिन्दछु। मेरो घर र राजा इट्टा भट्टा डेढ किलोमिटर दुरीमा पर्छ। जाहेरीको वारेमा मलाई केही थाहा छैन भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- वादीको साक्षी मेवालाल राय यादवले सुरु अदालतमा गरेको बकपत्र:-
मिति 2064 साल चैत्र 27 गते साँझको 18:30 बजे ठुलो भएंकर आवाज आयो। धुवा धुलो उडयो, के भएको भनि हेर्न गए। त्यहाँ पुग्दा भिड भई सकेको थियो। त्यहाँ पुग्दा मलाई भाग भनि भगाउदै थियो। मैले त्यहाँ 2 दुई जनाको मरेको लाश देखेको थिए। साथै अन्य मानिसहरु घाइते भई छट्टपटाई रहेको थियो। दुई जना जिउदै थियो। दुई जनामा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मिया रहेको थिए। त्यसपछि त्यहाँ महमद आफताब आलम, शेख मोविन, शेख सेराज भन्ने शेष सराज, शेख सगिर, शेख मल्कार लगाएतका मानिसहरु (12/13) वर्ष अघिको भएकाले अन्यको नाम त्यति याद भएन) ले घाईते छटपटाई रहेका व्यक्तिहरुलाई जुटको वोरामा हाल्दै गरेका थिए। त्यसपछि रातो ट्र्याक्टरको टेलरमा हालेर मुस्ताक आलमको राजा इट्टा भट्टाको तर्फ लिएर गए। त्यहाँ चिम्नीमा लगि निजहरुलाई जलाई दिएको हो। जहाँ बम विष्फोट भएको थियो। त्यस घरको दिवाल र छाना बमले उडाई दिएको थियो। यो सबै मैले आफ्नै आखाँले देखेको थिए। त्यहाँ सुनर महरा, हरिनारायण साह तेली, परिक्षण साह तेली, राम बहादुर साह तेली लगाएतका अन्य व्यक्तिहरु त्यहाँ रहेका थिए। उक्त राजा इट्टा उद्योग महमद मुस्ताक आलमको हो। उक्त इट्टा उद्योग साल दुई साल भित्रैमा भत्काइएको थियो। उक्त स्थानमा अहिले धान मुसुरो रोप्ने गरेको छ। समतले खेतको रुपमा रहेको छ। महताव आलमले यो कुरा कसैलाई भनेमा तलाई चिम्नीमा फाल्दिन्छु भनेको, शेख मोविन र शेख सेराज भन्ने शेष सराज गाली गर्दै यहाँबाट भागिहाल भनि धम्काएर लखेटेको थियो भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- वादीको साक्षी लखिन्द्र पटेल भन्ने लखिन्दर राउत कुर्मीले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति समयमा म बारा जिल्ला सिम्रौनगढ न.पा. हरिहरपुर वडा नं.4 मा रहेको थिए। म घर गाउँमा गहुँको कटनी गर्ने काम गरेको थिए। सो मितिमा म कुनै इट्टा भट्टामा काम गरेको थिइन। म आफ्नो गाउँ घरमा खेती पातिको काम गर्ने गर्दथे। मैले र मेरो चिनजानको कोही पनि रौतहटको इट्टा उद्योगमा काम गरेको थिएन। मलाई प्रहरीले जयमंगल साह किरण साह नेताजी भन्ने समेतले घरबाट पक्राउ गरी सिम्रौनगढ थानामा लगि उनीहरुले जवरजस्ती आफ्नो वेहोरा भन्न लगाउँदा थाहा पाएको हो। उक्त समयमा जयमंगल र किरण साहले भनेको कुराको विरोध गर्दा केही हुँदैन भनि सहि छाप गर्न लगाएको हो। मैले पढेर सुनाउनु हानेर सहि गर्न भन्यो र मैले सहि गर्न वाध्य भए। सोही वेहोरा जवरजस्ती भन्न लगाई सो को भिडियो समेत बनाएको थियो। 3/4 पटक भिडियो रेकर्ड गरेको थियो भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- वादीको साक्षी शंकर साह तेलीले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति 2076।07।09 गतेको घटना विवरण कागज लेखिएको वेहोरा सत्य साँचो हो। उक्त वेहोरा र सहिछाप समेत मेरो हो। म आफ्नो घरमा बसिरहेको थिए। साँझको उक्त समयमा इद्रिसको गोठमा बम पडकेको सुनेर म लगायत अन्य धेरै जना त्यहाँ हेर्न गएका थियौ। त्यहाँ जाँदा बम पडकेको देखे, त्यहाँ शेख सेराज भन्ने शेष सराज, भदै, मोमिन सहताव, आफताब समेतका मान्छेहरु थिए। 2064 साल चैत्र महिनामा सो भएको थियो। 13 वर्ष पाहिलेको घटना भएकोले गते मलाई याद भएन। उल्लेखित व्यक्तिहरु प्रतिवादीहरुले त्यहाँ घटना स्थलमा यताउता हेर्दै, त्यहाँ आउने मानिसहरुलाई भगाउदै घाइते तथा मृतकहरुलाई जुटको वोरामा हालेर बोराको मुख बाँधी ट्र्याक्टरको ट्रेलरमा हाली राजा इट्टा भट्टामा लगि झारेको हो। पछि के के गरे थाहा भएन भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- घटना विवरणको कागजका मानिस परीक्षण साह तेलीले सुरु अदालतमा गरेको बकपत्र:-
मिति 2064 सालमा चैत्र महिनामा बम विष्फोट भयो। ठुलो आवाज, धेरै धुवा भयो। 2 दिन इद्रिस नेता साहेवको घर लडेको थियो। खपडाको घर थियो। म आफ्नो घर दरवाजामा थिए। आफताब, महताव, मोमिनवा, मल्लकरवा, भदैया, गौरीमा, गुल्टेनीया भन्ने सगीर सबै जना थियो। 2 वटा लाश मरेको थियो। बोरामा कसेर राति ट्याक्टरमा राखियो। 15/16 जना घाइतेहरु, कसैको कानमा कसैको तिघ्रामा लागि छटपटाई रहेको थियो। म र शिव कानु, मेवालाल, हरिन्द्र, बहादुर, सुनर समेत थिए। गाली गलौज गरेपछि हामी त्यहाँबाट गए। यति मात्र मलाई थाहा छ भन्ने घटना विवरणका कागजका मानिसले गरेको बकपत्र।
- वादीको साक्षीले शेख अदुदले सुरु अदालतमा गरेको बकपत्र:-
म उक्त दिन चिम्नीमा इट्टाको काम गर्दै थिए। उक्त जाहेरी वेहोरा झुठ्ठा हो। विपक्षी शैलेन्द्र साहले झुठ्ठा मुद्दा लगाएको हो।बम विष्फोट भएको छैन। मैले कोही कसैबाट सुनेको पनि छैन भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- घटना विवरण कागज गर्ने सोनर राम महराले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त दिन सोधिएको स्थानमा बम बिष्फोट भएको आवाज सुनी म लगायतका मानिसहरु घटना स्थल तर्फ जाँदा शेख इद्रिसको घरमा विष्फोट भई 14-15 जना मानिस विष्फोटबाट मरेको देखे जस मध्ये 2 जना मैले चिनेका पिन्टु सिंह र ओसी अख्तरलाई मृत देखेको हुँ। उक्त मितिको घटना विवरणको कागजमा भएको व्यहोरा र सहिछाप मेरै हो। मैले घरमा रहदा कै अवस्थामा बम पडेकेको सुनी शेख इद्रिसको घरमा गई हेर्दा देखेको हो भन्ने घटना विवरण कागजका साक्षी सोनर राम महराले गरेको बकपत्र।
- घटना विवरण कागज गर्ने जलिफ मियाले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति दिन र रातको समयमा म घरमै रहेको थिए। घरमा खेतीपाती गर्दै थिए। मेरो घर सिम्रौनगढ नगरपालिका हरिहरपुर टोल बारा जिल्लामा पर्दछ। उक्त मितिमा म सो ठाउँमा गएको छैन। बद्री सहनी मेरो गाउँको हो। आफताब आलमलाई म चिन्दिन। बद्री सहनी गाउँघरमा खेती किसानी गर्दछन।
- वादीका साक्षी रामबहादुर साहले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति समयमा भएको घटना विवरण कागजमा भएको व्यहोरा र सोमा परेको सहि छाप समेत मेरो नै छ। उक्त घटना हुँदा म आफ्नो घर दरवाजामा थिए। उक्त घटना हुँदा धुवाको ठुलो मुस्लो निस्किदा मैले आफ्नो घर दरवाजाबाटै देखेर थाहा पाएँ त्यस म उक्त घटना स्थलमा समेत गएर हेरे। उक्त वारदात स्थलमा पुग्दा त्यहा मो. आफताब आलम, मो. महताक आलम, सगीर आलम, शेख सेराज भन्ने शेष सराज, मोबिल आलम, भेदे लगायत 2/3 जना अरुसँग भेटघाट भएका थिए। निज व्यक्तिहरुसँग शेख इद्रिस नेताजीको गोठ घरमा बम विष्फोट भएको ठाउँमा भेटघाट भएको थियो। उक्त घर बम विष्फोटले छिया छिया भएको थिए। छानाको केही भाग वा एउटा पंख नै उठाएको थियो। उक्त घटना स्थलमा 15/16 जनाको लास घाइते अवस्थामा थियो। यो व्यक्तिहरु ती लासहरुलाई चटीको बोरामा कसी रहेको थियो। हामीहरु त्यहाँ जादा उनीहरु भगाई दिए। चटीको बोरामा अन्तगिन्ती बोराहरु लोड गरी धानको बोरा साईज 1 मन 1 मन भएको बोराहरु मो.आफताब आलम, मो.महताव आलम, भदई शेख सेराज भन्ने शेष सराज, मोबिल आलम भन्ने व्यक्तिहरु भनिएका वारदात स्थलबाट करिब राती 8:00 बजेको समयमा लोड गरी ल्याएका थिए। उक्त घर घटना घटेको राती देखि नै मर्मत सुरु गरी भोली पल्ट सम्म मर्मत भइसकेको थियो। कसले मर्मत गर्यो सो कुरा मैले देखेन भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- जाहेरवाला शंकर भन्ने गौरीशंकर राम चमारले सुरु अदालतमा गरेको बकपत्र:-
म राजा इट्टा उद्योगमा भट्टामा काम गर्दथे।जाहेरी बेहोरा ठिक हो।सोमा लागेको सही छाप मेरो नै हो। हाम्रो प्रत्येक हप्ता काम गरेको पैसा माग्दथ्यौ। चुनावको एक दिन अगाडी इट्टा भट्टामा काम गर्ने मुन्सिसँग पैसा माग्दा हाल पैसा दिनको लागि गाह्रो छ। माननीय ज्यू चुनावमा वयस्त हुनुहुन्छ। पैसा माग्न माननीय आफताब आलमको घरमा जाँदा त्यहाँ भएको गाई गोठको घरमा एक दर्जन भन्दाबढी मानिसहरु भेला भएको थियो। म त्यहाँ गएको 4/5 मिनेट पछि त्यहाँ ठुलो आवाज आउने गरी बमविष्फोट भयो। त्यो विष्फोटको छरराले मेरो कान, छाती समेतमा आगो लाग्यो। म 600/700 मिटर टाढा भागेर गई वेहोस अवस्थामा लडे मेरो खल्तीबाट विस्तारै डायरी निकाली मेरो डायरीको नम्बरमा फोन गरी मेरो भाईको ससुरा आई मलाई विदेश भारत सितामढीको अस्पतालमा 20-22 दिनपछि होस आउँदा। म हस्पिटलमा रहेको कुरा थाहा भयो। आफताब आलमले मेरो बाबुले पैसा माग्न जादा नदिएको र गाली गलौज गरी फिर्ता पठाइदिएको कारणले गर्दा सो समयमा जाहेरी नदिई मिति 2076 सालमा जाहेरी दिएको हुँ भन्ने जाहेरवालाले गरेको बकपत्र।
- घटना विवरण कागजका मानिस अब्बास मियाले सुरु अदालतमा गरेको बकपत्र:-
राजा ईटा उद्योगमा बेलुका देखि रातभरी Duty गरी बसी रहेको थिए। सो समयमा वातावरण सफा जुनेली रात थियो। अदुत, नथुनी थियो। अरु कोहि थिएन। घटना घटेको छैन। मिति याद छैन 2 वर्ष जति भए काम छोडेको भन्ने घटना विवरणको कागजका मानिसले गरेको बकपत्र।
- प्रतिवादी मुक्ति साहको साक्षी मुनिलाल साह कल्वारले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति समयमा प्रतिवादी मध्येका मुक्ति साह आफ्नो गाउँ घरमा नै थिए। आफताब जीको घरमा बम विष्फोट भएको सम्बन्धी मुद्दामा मुक्ति साहको तर्फबाट बकपत्र गर्न आएको छु। प्रतिवादी मुक्ति साह यस मुद्दामा पक्राउ परे पछि र उसले भनेपछि मलाई थाहा जानकारी भएको हो। घटनाको बारेमा अन्य जानकारी छैन भन्ने प्रतिवादीको साक्षीले गरेको बपकत्र।
- प्रतिवादी मो.आफताब आलमको साक्षी मो. समसुल होदाले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति समयमा म राजपुर (फ) गाउँमै रहेको हुँदा सो मिति समयमा त्यहाँ कुनै पनि प्रकारको घटना घटेको छैन। यि जाहेरवाला र प्रतिवेदकहरु मो. आफताब आलम माथि राजनितिक षडयन्त्र गरेका छन। सेराजुल मिया समेतको घटना विवरण कागज समेत झुठ्ठा हो। निज उपरको अभियोग दावी झुठ्ठा हो। झुठ्ठा अभियोग दावीबाट सफाई पाउनु पर्ने हो भन्ने प्रतिवादीको साक्षीले गरेको बकपत्र।
- वादीका साक्षी शिव साह कानुले सुरु अदालतमा गरेको बकपत्र:-
बम विष्फोट पश्चात उक्त ठाउँमा म गएको थिए। बम विष्फोटको घटना भएको हो। मिति 2064 सालको चैत्र महिना थियो। गते समय याद भएन। उक्त घटनास्थल मेरो घरबाट पश्चिम दिशामा पर्छ। अं.250/300 मिटर दुरीमा छ। घटना भएपश्चात म सो ठाउँमा गएको थिए। त्यहाँ घटना भएको आवाज सुनेको थिए। घटनास्थलमा पुगेपछि त्यहाँ मानिसहरु यत्रतत्र भएको मेरो आखाँले देखेको हुँ। म सो वमितिमा घटनास्थलमा गएको थिए। त्यहाँ मो. आफताब आलम, मोमताज आलम, शेख भदई लगायतका मानिसहरुलाई देखेको थिए। मो. आफताब आलम लगायतले मलाई यहाँबाट जानु होस भनि गाली गलौज गरी पठाएका हुन भन्ने शिव साह कानुले गरेको बकपत्र।
- प्रतिवादीका साक्षी इस्तेखारले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति समयमा मेरो गाउँ घरमा कुनै किसिमको अप्रिय घटना घटेको थिएन। सबै झुठ्ठा कुरा हो। प्रतिवादी बनाइएका मोहमद आफताब आलम नेपाली काँग्रेसका नेता हुन। निज चार पटक चुनाव जिति मन्त्री समेत भएका व्यक्ति हुन। निजको राजनितिक जीवन समाप्त पार्न विपक्षीहरुले निज उपर जाहेरी दरखास्त दिएका हुन। घटना घटेकै छैन। प्रतिवादी मोहमद आफताब आलमले अभियोग दावीबाट सफाइ पाउनुपर्ने हो भन्ने प्रतिवादीको साक्षीले गरेको बकपत्र।
- वादीका साक्षी रवि कुमारले सुरु अदालतमा गरेको बकपत्र:-
साँझ पखको बेलामा अचानक ठुलो आवाज आउँदा त्यति बेला म आफ्नो गाउँ घरमै थिए। अनि यति ठुलो के को आवाज आयो भनेर गाउँका धेरै मानिसहरु आवाज आएका ठाउँ तिर जान थाल्दा म पनि ती मानिसहरुसँग उतै तिर गए। उत्ता जाँदा त बम विष्फोट भई धुवा धुवा भएर अनध्यारो जस्तो भएको थियो। बम विष्फोट भएको ठाउँमा जाँदा 1/2 जना मृत अवस्थामा र 15/16 जना व्यक्तिहरु घाउँ चोट लागेर छत-विछत अवस्थामा थिए। कसैको एउटा हातै नभएको घाइते थियो। त कतिको कान, पेट, छाती, खुट्टामा समेत चोट लागि घाइते भएर छटपटाई रहेका थिए। गौरी साह कानु भन्ने व्यक्ति ट्रेक्टर लिई एकाएक घटनास्थलमा आई चटीको बोरामा ती मृतक र घाइतेहरुलाई हाली ट्रेक्टरमा लोड गर्ने व्यक्तिहरु मो.आफताब आलम मो.महताव आलम, भदै शेख शेख सेराज भन्ने शेष सराज, मोविलहरुले लोड गरी पश्चिम तिर लगेको कुरा मैले देखेको छु। ती घाइतेहरुलाई लोड गर्ने कार्यमा सगीर नामको व्यक्ति पनि थिए। राजा ईट्टा उद्योग तिर लग्यो कि कता लग्यो सो कुरा मलाई थाहा भएन भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- वादीका साक्षी हरिनारायण साहले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मितिमा भएको कागजमा भएको वेहोरा सहि हो र सहिछाप पनि मेरो हो। उक्त वेहोरा मेरो हो। संविधान सभाको चुनाव थियो। एक दिन अगाडी 2064।12।27 गते 6:30 बजे बम विष्फोट भयो। बम विष्फोट हुँदा ठुलो भ्यांकर आवाज भयो। म घरमा नै थिए। मेरो घरको 40 मिटरको दुरीमा छ। घटनास्थल शेख इद्रिसको गोठमा भयो। त्यहाँ विष्फोट हुँदा मान्छेहरु धेरै भिड भयो। म घटनाको 5 मिनेट पछि गए। घटना स्थलमा मान्छेहरु लास हेरेर भागी रहेको थियो। भगाई रहेको थियो। म त्यहाँ जाँदा 15-16 जनाको छटपटी रहेको अवस्थामा घाइतेहरुलाई हेरे। 2 जना मरेको अवस्थामा हेरे। घाइते 2 जना चिनेको थिए। चिनेको व्यक्तिमा 1 जना त्रिलोक प्रताप सिंह थियो। अर्को एक जना घाइतेको नाम याद छ तर अहिले नाम विर्सेको छु। त्रिलोकी र अर्को व्यक्ति जिउदै थियो। अरु घाइते व्यक्तिहरु भारतको पनि थिए। त्यहो घाइतेहरु भारत भाग्न सफल भयो। 2-4 जना भारत भागे। अरु घाइतेलाई सुई दिइरहेको थियो। मान्छे छटपटाई रहेको थियो। मरेकोलाई जुटको बोरामा आफताब आलम, महताव आलम, शेख मोविम, सविर जुमाई, भदै, जुटको बोरामा मरेको व्यक्तिहरुलाई बोरामा कसी पछि जिउदो मान्छेहरुलाई पनि मारी बोरामा कसी आफताब आलमको भान्जा राजा इट्टा उद्योगमा लगि बद्री सहनी हेड मिस्त्री आफ्नै हातले आफताब, महताव, शेख भदै, मुविन, सविर, बद्री सहनीलाई अडर दिई चिम्नीमा चढी आफ्नै हातले मरेको बोरामा कसेको मृतकहरुलाई जलाइयो। वाहिरी पत्राकारहरु आयो। सबै पत्रकारहरुलाई भगाई रहेको थियो। यि घटनाबाट आफू बाच्नको निमित प्रशासनहरुलाई कुनै प्रमाण नपुग्ने किसिमले घटना नष्ट गर्न जनताहरुलाई पुलिस द्वारा दमन गराई कसैले बोल्न नपावस भन्ने हिसावले घटनालाई छोपिएको भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- वादीका साक्षी शेख नथुनीले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति समयमा एकलाखको इट्टा भट्टामा काम गर्दै थिए। म बसेको ठाउको वरीपरीको वातावरणमा केही भएको थिएन। सहि रहेको थियो। कुनै घटना भएको छैन। कोही मरेको छैन। अभियोग झुठ्ठा हो। श्रीनारायण सिंह राजपुत शैलेन्द्र साहको पार्टीको मान्छे भएकोले फसाउन झुठ्ठा आरोप लगाएको हो। न त पिन्टु मरेको छ न त ओसी अख्तर मरेको छ भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- वादीका साक्षी उमाशंकर साहले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति समयमा भएको कागजको व्यहोरा र सहि छाप पनि मेरो नै हो। उक्त वारदात घटना मैले सुनेको मात्र थिए। आफ्नो आँखाले देखेको थिएन। उक्त ट्रेक्टर मेरो नाममा नामसारी मिति 2067।03।23 गते भएको हो। सोही मितिको 5/7 दिन अगाडी समेतको बयाना दिएको थियो। उक्त मिति समयमा ट्रेक्टर खरिद गर्दा पहिला बढी मुल्य भनेको थियो। पछि मेडियम मुल्यमा घटाएर सहमती भई मसँग बेच्नु भएको हो। मेरो ट्रेक्टर प्रतिवादी मो. आफताब आलम समेत भएको बम विष्फोट सम्बन्धी विषयमा समाती ल्याएका थिए भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- प्रतिवादीका साक्षी गणि महमदले सुरु अदालतमा गरेको बकपत्र:-
जाहेरी व्यहोरा झुठ्ठा हो। घटना भएकै छैन। बुझिएका व्यक्तिहरुको कागज सबै झुठ्ठा हो।घटना भएको छैन। केही आवाज आएको छैन। यि सबै प्रतिवादीलाई लागेको अभियोग दावी झुठ्ठा हो भन्ने प्रतिवादीको साक्षीले गरेको बकपत्र।
- प्रतिवादीका साक्षी शेख अन्सारुल हकले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति र समयमा म प्रतिवादी बनाइएका मो.आफताब आलमको घरमा थिए। सो समयमा म निजकै घरमा भएकोले भेटघाट भएको थियो। सो मिति समयमा मेरो(हाम्रो) गाउँघरमा कुनै किसिमको अप्रिय घटना घटेको थिएन। उक्त समय मितिमा राजपुर फरदहवामा कुनै किसिमको बम विष्फोटको घटना नै भएको थिएन। श्रीनारायण सिंह राजपुत लागयतले दिनुभएको जाहेरी दरखास्त तथा प्रतिवादी मो. आफताब आलम समेत विरुद्धको अभियोग दावी झुठ्ठा हो भन्ने प्रतिवादीको साक्षीले गरेको बकपत्र।
- घटना विवरण कागजका मानिस जमुनिया भन्ने जुमन देवानले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति समयमा म साविक राजपुर फरहदवा गा.वि.स. वडा नं.4 स्थित आफ्ने घरमा रहेको थिए। उक्त मिति समयमा मेरो घर वरपरको वातावरण सामान्य रहेको थियो। सो सम्बन्धमा घटना घटेको छैन भन्ने घटना विवरण कागजमा मानिस जमुनिया भन्ने जुमन देवानले गरेको बकपत्र।
- प्रतिवादी बद्री सहनीको साक्षी आस महमद मियाले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति समयमा म र बद्री सहनी एकै साथ आफ्नो गाउँ घरमा थिए। प्रस्तुत मुद्दाका प्रतिवेदक दिपक कुमार गुप्ताको प्रतिवेदन लखिन्द्र पटेल समेतको कागज व्यहोरा झुठ्ठा हो। निज उपर लगाएको अभियोग दावी झुठ्ठा हो भन्ने प्रतिवादीको साक्षीले गरेको बकपत्र।
- प्रतिवादीका साक्षी शेख अब्दुल्लाहले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति समयमा प्रतिवादी बनाइएका मो.महताव आलमको घरमा थिएँ। मेरो निज प्रतिवादी छिमेकी भएकाले भेटघाट भइरहन्छ। उक्त मिति समयमा निज प्रतिवादीसँग भेटघाट भएको थियो। उक्त मिति समयमा मेरो गाउँ घरमा कुनै किसिमको अप्रिय घटना घटेको थिएन। जाहेरी दरखास्त बुझिएका मानिसको कागज र अभियोग दावी झुठ्ठा हो। राजनितिक कारणबाट षडयन्त्र तथा पूर्वा ग्रहको कारणबाट जाहेरी दरखास्त र अभियोग पत्र दिएको हो। प्रतिवादी महताव आलमले अभियोग दावीबाट सफाई पाउनुपर्ने हो भन्ने प्रतिवादीको साक्षीले गरेको बकपत्र।
- जाहेरवाला शेख सफि अहमदले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मितिमा म भारत पंजावमा काम गर्न गएकोमा त्यही रहेको थिए। पंजावमा खेती पाती घाँस भुस्सा खुवाउने काम गर्थे। मेरो घर नेपालको सर्लाही जिल्ला गोडैता न.पा. वडा नं.2 मा रहेको छ। मलाई पथ्थरी भएर सोको अप्रेसन गरेको खत रहेको छ। मिठ्ठा पकाउँदा पोखरीएर पेटमा लागेको घाउँको खत रहेको छ। सो वाहेक अरु कुनै त्यस्तो खत छैन। खुट्टामा सामान्य काटेको खतहरु रहेको छ। मलाई प्रहरीले आफ्नो घरबाट पक्राउ गरी मलंगवा थानामा आधा घण्टा राखी त्यहाबाट चन्द्रनिगाहपुर थानामा लिएर राखेको र त्यहाँ प्रहरीले कुटपिट गरेको हो। त्यहाँ समसुलले पैसा दिन्छु भनेर आफ्नो वेहोरा लेख्न लगाएको थियो। उसले आफ्नो वेहोरा लेखेर मलाई केही हुँदैन भनेर सहि छाप गर्न डर धम्की समेत देखाई वाध्य बनाई प्रहरीले लेखेको जाहेरीमा मलाई सहिछाप गर्न लगाएको हो। सो जाहेरीको वेहोरा मेरो होइन। सहिछाप सम्म मेरो हो भन्ने जाहेरवालाले गरेको बकपत्र।
- प्रतिवादीका साक्षी शेख अन्सारुल हकले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति समयमा मेरो घर गाउँमा कुनै अप्रिय घटना घटेको थिएन। जाहेरी दरखास्त अभियोग दावी र बुझिएका मानिसको कागज सबै झुठ्ठा हो। प्रतिवादी बनाइएका मोहमद महताव आलमको दाजु मो.आफताब आलम नेपाली कांग्रेसको नेता हुन। निज चार प६क चुनाव जिति मन्त्री समेत भएका व्यक्ति हुन। निजको दाजु मो.आफताब आलमको राजनितिक जीवन समाप्त पार्न विपक्षीहरुले जाहेरी दरखास्त दिएका हुन। प्रतिवादी मो.महताव आलमले अभियोग दावीबाट सफाइ पाउनु पर्ने हो भन्ने प्रतिवादीको साक्षीले गरेको बकपत्र।
- वादीका साक्षी जाजुल मिया कवारीले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति समयमा म आफ्नै घरमा रहेको थिए। खेतीपातीको कामहरु गर्दै रहेको थिए। मेरो घर साविक सरुअठा वडा नं.9 हाल यमुनामाई गा.पा. वडा नं.4 रौतहटमा पर्दछ। उक्त समयमा बम विष्फोट भएको थिएन। सो कुरा झुठ्ठा हो।
- वादीका साक्षी शेख ओजाहिर भन्ने शेख बलजाहिरले सुरु अदालतमा गरेको बकपत्र:-
त्यति धेरै दिन अघिको कुरा मलाई याद भएन। हो, प्रहरीमा कागज गरेको थिए। प्रहरीले कुटेर कागज गराएको थियो। निवेदन लेखेर हुलाकबाट पठाएको छु भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- वादीका साक्षी राजेश प्रसाद सहनीले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति समयमा म आफ्नै घरमा थिए। खेती पातीको काम गर्दै थिए। बारा जिल्ला हरिहरपुर गा.वि.स. हाल सिम्रौनगढ न.पा. हो। ठाउँको नाम हरिहरपुर हो। उक्त मिति समयमा म रौतहट आएको थिइन। मैले कुनै घटनाको सम्बन्धमा कागज गरेको छैन। प्रहरीले जवरजस्ती गराई दिएको छ। मिति थाहा भएन। ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा घरबाट समातेर ल्याएर कागज गराएको थियो। त्यही प्रहरी किरण साह, जयमंगल साह, गौरका प्रहरीहरु समेत थिए। बद्री सहनी गाउँघरको भएकाले चिन्दछु। आफताब आलमलाई चिन्दिन भन्ने वादीको साक्षीले गरेको बकपत्र।
- प्रतिवादी बद्री सहनीको साक्षी ध्रुप सहनीले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति 2076।12।27 गते म आफ्नो गाउँ घरमा थिए प्रतिवादी बद्री सहनीसँग उक्त मिति समयमा गाउँ घरमा भेट घाट भएको थियो। दिपक कुमार गुप्ताको प्रतिवेदन लखिन्द्र पटेल समेतका कागज व्यहोरा र अभियोग दावी झुठ्ठा हो। बम काण्ड नै भएको होइन। प्रतिवादी बद्री सहनी मसँग थिए भन्ने ध्रुप सहनीले गरेको बकपत्र।
- मिति 2080/10/18 गते सुरु अदालतबाट भएको आदेश:-
जाहेरवाला शंकर भन्ने गौरी शंकर राम चमारको शारीरिक परीक्षणका लागि जिल्ला प्रहरीकार्यालय रौतहटको मिति २०७६/०७/१३ च.नं. १३०२ को पत्रबाट फरेन्सिक मेडिसिन बिभाग महाराजगंजमा पठाईएको भन्ने देखिएकोमा त्यसको परीक्षण प्रतिवेदन पेश हुन आएको नदेखिँदा अबिलम्ब उक्त प्रतिवेदन प्राप्त गरी जिल्ला सरकारी वकीलकार्यालय मार्फत पेश गर्नु भनी जिल्ला प्रहरी कार्यालय, रौतहटलाई पत्राचार गर्नु। वादी पक्षका साक्षी गवाहहरुलाई बकपत्रका लागि झिकाई पाउँ भनी जिल्ला सरकारी वकील कार्यालय, रौतहटबाट पटक पटक माग भई यस अदालतबाट माग अनुसार पटक पटक साक्षी उपस्थित गराउनु भनी वादीपक्षलाई आदेश भएकोमा सबै साक्षीहरु उपस्थित नभएको हुँदा ती साक्षी गवाहहरुलाई बकपत्र गराउन पुनः आदेश गरी पाउँ भनी आज पनि जिल्ला सरकारी वकील कार्यालय, रौतहटको च.नं.३३३३ मिति २०८०/१०/२८ को पत्र आएको देखियो। आफ्ना साक्षी गवाहहरुलाई अदालतमा उपस्थित गराई बकपत्र गराउने जिम्मेवारी वादी पक्षकै हुनेमा पटक पटक समय लिएर पनि उपस्थित नगराउनु कानून संगत भएन। त्यसमा पनि प्रहरी कर्मचारीहरुलाई नै उपस्थित गराउन नसक्नु झनै अस्वभाविक हो। यो मुद्दा थुनुवा र पुरानो समेत भईसकेको अवस्थालाई गम्भिरतापूर्वक मनन् गरी दिई अब उक्त पत्रमा उल्लेखित तथा घटनास्थल प्रकृति मुचुल्का, घटना बिबरण कागज गर्ने राजिब बहादुर बस्नेत, रामबहादुर प्रसाद, गेनालाल साह कानु, ईन्द्र प्रसाद सुवेदी, उदय नारायण साह, असगर अली खाँ, सराजुल मियाँसमेतलाई बकपत्र हुने दिन किटान गरी सो दिन निजहरुलाई जिल्ला सरकारी वकील कार्यालय, रौतहट मार्फत अदालत समक्ष उपस्थित गराउनु र उपस्थित गराउन नसक्ने भए स्पष्ट लेखी पठाउनु भनी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखलाई सम्बोधन गरी पत्राचार गर्नु भन्ने मिति 2080/10/18 गते भएको आदेश।
- घटना विवरण कागज गर्ने प्र.ना.उ. र्इन्द्रप्रसाद सुवेदीले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मितिको घटना विवरण कागज वेहोरा र सहि छाप मेरो नै हो। मिति 2064/12/28 गतेको निर्वाचन हुनुभन्दा 1 हप्ता अगाडि मात्र म प्रहरी निरिक्षक आधारभुत तालिम समापन्न पश्चात जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजीर भएको थिएँ। मिति 2064/12/28 गतेको निर्वाचनको लागि मलार्इ रौतहट क्षेत्र नं.2 र्इलाका प्रहरी कार्यलय राजपुरमा वेश बनार्इ मोवाइल कमाण्डरको रुपमा खटाइएको थियो। मिति 2064/12/12 गतेको अ.6:30 बजेको समयमा र्इलाका प्रहरी कार्यालय राजपुर देखि पश्चिम तर्फ करिब 1-1 कि.मि. टाढाबाट ठूलो बिस्फोटन सहित मुस्लो देखे पश्चात उक्त ठाउँ तर्फ जादै गर्दा तत्कालिन जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्र.उ.लक्ष्मण न्यौपाने समक्ष बिस्फोटको सम्बन्धमा जाहेर गरे पश्चात उक्त दिशा तर्फ जाने क्रम बीच बाटोबाट फर्किन आदेश गरी जिल्ला प्रहरी कार्यालउमा आउन आदेश दिए पश्चात म जिल्ला प्रहरी कार्यालय फिर्ता आए। उक्त चुनाब अवधीभर म जिल्ला प्रहरी कार्यालयमा रिजर्भ टोलीको कमाण्डर भर्इ बसेको हो। बिस्फोटनको ३६ना सम्बन्धी सो बिस्फोटनमा रौतहट क्षेत्र नं.2 का उम्मेदवार आफताब आलमको घर गोठमा भएको भन्ने विभिन्न संचार माध्यमबाट थाहा पाएको हो।
- घटना स्थल प्रकृति मुचुल्कामा काम तामेल गर्ने तत्कालिन प्र.स.नि राम बहादुर प्रसादले अदालतमा गरेको बकपत्र:
मिति 2065/01/14 र 15 गते घटनास्थल प्रकृति मुचुल्काको काम तेमल गर्ने महलमा म समेतले गरेको छ। सोमा भएको सहि छाप मेरो पनि हो।सो घटना भएको भनिएको कथित भनिएको मितिले अ.ब17 दिनमा खडा भएको थियो। उक्त मिति 2064/12/27 गते बेलुका 6:30 बजेको रौतहट जिल्लाको क्षेत्र नं.1को सरुअठाको मदरसा मतदान केन्द्रमा खटेको थिए। उक्त मिति समयमा यी प्रस्तुत मुद्दामा बनाइएको प्रतिवादीहरु सँग भेट घाट भएको छैन।
- घटना विवरण कागज गर्ने प्र.उ.राजिव बहादुर बस्नेतले सुरु अदालतमा गरेको बकपत्र:-
उक्त मिति 2065/1/14 मा र मिति2065/01/15 मा मैले गरेको घटना स्थल मुचुल्कामा गरेको काम तामेलको वेहोरा र सहि छाप मेरो नै हो। र मिति 2075/07/12 गतेको घटना विवरण कागज वेहोरा र सहि छाप मेरो नै हो। घटना धेरै पुरानो भएको हुँनाले सबै कुरा खुलाउन सकिन मलाई थाहा भए सम्मको कुराहरु मिति २०६५/१/१४ गते घटना स्थल भनिएको शेख इर्दिसको गोठमा पुगि स्थलगत निरीक्षण गरी देखिएकासम्मका कुराहरु खुलाइ घटना स्थल मुचुल्का बनाई आवश्यक प्रक्रिया पुर्यार्इमिसिल सहि छाप समेत गरी मिसिलमा समावेश 1 गरिएको थिए। ऐ.1५ गते राजा र्इटा उद्योग प्रा.लीमा गई मुचुल्का गरी दुई सानो वोटामा खरानी वरामद गरीलिई सहि छाप समेत गरी उक्त मुचुल्का सहित फर्कि आएका थिए। र सो मुचुल्का मिसिल सामेला राखेको थिए। मिति 2076/07/12 गते जिल्ला प्रहरी कार्यालय रौतहटले हाजिर हुन भन्दा सो मितिमा हाजिर भई उक्तघटना विवरण कागज गरी सहि छाप समेत गरिदिएका थिएँ।
- सुरु अदालतको फैसला (ठहर)
जाहेरी दरखास्त, अनुसन्धानमा बुझिएका मानिसहरुको कागज, हरिनारायण साह, रबि कुमार, रामबहादुर साह, मेवालाल राय यादव, परीक्षण साह तेली, शिव साह कानु लगायतको बकपत्र, जाहेरवाला श्री नारायण सिंह राजपुत तथा शंकर भनिने गौरीशंकर राम चमारको बकपत्र, घटनास्थल प्रकृति मुचुल्का, प्र.ना.उ. इन्द्रप्रसाद सुवेदी, प्र.स.नि.राम बहादुर प्रसाद तथा प्र.उ.राजिव बहादुर बस्नेतको बकपत्र, मिसिल संलग्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतको प्रतिवेदन तथा घटनास्थलको फोटोग्राफ लगायतका प्रमाणहरुबाट मिति 2064/12/27 गते बेलुकी स्व.शेख इद्रिसको गोठघरमा बिष्फोट भएको तथ्य स्थापित हुन्छ। उक्त विष्फोटनमा घाइते भएका पिण्टु भन्ने त्रिलोक प्रताप सिंह राजपुत र ओसी अख्तर मिया लगायतलार्इ यी प्रतिवादीहरु मोहम्मद आफताब आलम, मोहम्मद महताब आलम, शेख सेराज भन्ने शेष सराज, बद्री सहनीसमेतले बोरामा हाली ट्रयाक्टरमा राजा इँटा उद्योगको चिम्नी भट्टामा लगी जलार्इ मारेको भन्ने समेत अभियोग मागदावी रहेको छ। प्रतिवादीहरु मोहम्मद आफताब आलम तथा मोहम्मद महताव आलमले आरोपित कसूर गरेको इन्कार गरेको भएपनि उक्त दिन र समयमा आफूहरु घरमै रहेको तथ्य स्वीकार गरेको देखिएको छ। त्यस्तै प्रतिवादी शेख सेराज भन्ने शेष सराज र बद्री सहनीले आफू अन्यत्रै रहेको जिकिर गरेको भएपनि त्यसको ठोस प्रमाण दिन सकेको पाइँदैनन। निज पिण्टु भन्ने त्रिलोक प्रताप सिंह राजपुत र ओसी अख्तर मियाको जिवित अस्तित्व र रहे बसेको स्थान समेतको बारेमा यी प्रतिवादीहरुले कुनै प्रमाण पेश गर्न सकेको देखिँदैन। यस्तो गम्भीर कसूरको आरोप लागेको अवस्थामा निज प्रतिवादीहरुले एउटै जिल्लाका निज पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाको जिवित अस्तित्व रहेको तथ्य प्रमाणित गर्न सक्नुपर्ने देखिन्छ। त्यसका लागि प्रतिवादीहरुलार्इ यथेष्ट समय र मौका प्राप्त रहेको पनि देखिन्छ तर प्रतिवादीहरुले सो प्रमाणित गर्न सकेको देखिएन। तसर्थ निज प्रतिवादीहरुले बिष्फोटमा परी घाइते भएका निज पिण्टु भन्ने त्रिलोक प्रताप सिंह राजपुत र ओसी अख्तर मियालार्इ अभियोग दावी बमोजिम इँटा भट्टामा जलार्इ कर्तव्य गरी मारेको ठहर्छ। मिसिल संलग्न जाहेरवाला सफी अहमद र शंकर भनिने गौरी शंकर राम चमारको फोटोग्राफ तथा निजहरुको चोटपटकको खत दागहरुको परीक्षण गरी त्रि.वि. महाराजगंज मेडिकल क्याम्पस फरेन्सिक मेडिसिन विभागबाट प्राप्त प्रतिवेदन हेर्दा, सफी अहमदको शरीरमा लागेको चोटपटकहरुको सम्भावित कारण बिष्फोट (BLAST INJURY) हो भन्ने उल्लेख भएको पाइन्छ। यसबाट पनि बिष्फोट भएको, निज समेत घाइते भएको र निज त्यहाँबाट गर्इ उपचार गरार्इ बचेको भन्ने कुरा समर्थित हुन्छ। साथै निज सफी अहमद र शंकर भनिने गौरीशंकर राम चमारको जाहेरी तथा निज गौरीशंकर राम चमारको बकपत्र समेतको बारेमा प्रतिवादीहरुले अन्यथा सावित गर्न सक्नेगरीको कुनै ठोस प्रमाण वा जिकिर प्रस्तुत गर्न सकेको देखिँदैन। उक्त बिष्फोटन यी प्रतिवादीहरुले गरी पिण्टु भन्ने त्रिलोक प्रताप सिंह राजपुत र ओसी अख्तर मियाको मृत्यु भएको तथा सफी अहमदसमेत घाइते भएका भन्ने अभियोग दावी छैन। बिष्फोटबाट घाइते भएका निज पिण्टु भन्ने त्रिलोक प्रताप सिंह राजपुत र ओसी अख्तर मियालार्इ प्रतिवादीहरुले इँटा भट्टामा जलार्इ मारेको भन्ने अभियोग दावी रहेको परिप्रेक्ष्य र घाइते निज सफी अहमद र गौरीशंकर राम चमार बच्न गएको अवस्था रहेको हुँदा यी प्रतिवादीहरुले निजहरुलार्इ पनि जलार्इ मार्न सक्थे भन्ने अन्दाज गरी निजहरुले ज्यान मार्ने उद्योगको कसूर समेत गरेको ठहर गर्न मिल्दैन। तसर्थ यी प्रतिवादीहरुले ज्यान मार्ने उद्योगतर्फको अभियोग दावीबाट सफाइ पाउने ठहर्छ।
- यी प्रतिवादीहरु उपरको विष्फोटक पदार्थतर्फको अभियोग दावीका सम्बन्धमा हेर्दा, मिसिलबाट बिष्फोटक पदार्थ ऐन, 2018 मा परिभाषित कुन बिष्फोटक पदार्थको प्रयोग भएको थियो र बिष्फोट भएको हो भन्ने सम्बन्धमा यकिन हुन सकेको अबस्था नहुँदा निज प्रतिवादीहरुलार्इ उक्त ऐनको दफा 10 (१) (क) बमोजिम सजाय गरीपाउँ भन्ने अभियोग दावी पनि पुग्न सक्ने देखिएन। तसर्थ उक्त कसूरमा सो ऐनको दफा 10 (१)(ख) को व्यवस्था आकर्षित हुने देखिन आयो।अतएव मिसिलमा रहेका उपर्युक्त प्रत्यक्ष तथा परिस्थितिजन्य प्रमाणहरुबाट यी प्रतिवादीहरु मोहम्मद आफताव आलम, मोहम्मद महताव आलम, शेख सेराज भन्ने शेष सराज र बद्री सहनीले तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धीको महलको 1 नं. र 13 नं. को कसूर गरेको देखिएको हुँदा निजहरुलार्इ उक्त महलको 13 (३) नं. बमोजिम जनही जन्मकैद सजाय हुने ठहर्छ। कुनै बस्तु वा हतियारले प्रहार गरेको भने तथ्य नभएकोले सो महलको 13 (१) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दावी सो हदसम्म पुग्न सक्दैन। साथै कुन बिष्फोटक पदार्थ थियो भने यकिन नभएको अवस्था भएकाले निजहरुलार्इ बिष्फोटक पदार्थ ऐन, 2018 को दफा 10 (१)(ख) बमोजिम जनही 01 बर्ष कैद र रु.10,000।– जरीवाना हुन्छ। उक्त ऐनको दफा 10 (1)(क) बमोजिम सजाय गरी पाउँ भन्ने अभियोग दावी समेत सो हदसम्म पुग्न सक्दैन। अभियोग पत्रमा क्षतिपूर्तिको दावी गरेको भएपनि तत्काल बहाल रहेको कुन कानून अनुसार क्षतिपूर्ति भराउनु पर्ने हो भन्ने उल्लेख नगरेको हुँदा त्यसतर्फ विचार गर्न परेन। अर्का प्रतिवादी मुक्ति साहका हकमा हेर्दा, निज प्रतिवादी आरोपित कसूरमा अदालतसमक्ष इन्कार रहेको देखिन्छ। जाहेरवालाहरु सह प्रतिवादीहरु तथा घटना विवरण कागज गर्ने मानिस लगायत कसैले निज प्रतिवादीले आरोपित कसूर गरेको भनी पोल गरेको पनि देखिँदैन। तसर्थ निजले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्ने सुरु रौतहट अदालतबाट भएको फैसला।
- वादी नेपाल सरकारको पुनरावेदन पत्रको संक्षप्त बेहोराः-
बम विष्फोट भएको गोठ घरमा नयाँ ईट्टाहरुले मर्मत गरेको नयाँ बास भाटा र नयाँ टानी खपडावाट मर्मत गरी घटना स्थलको प्रकृती परिवर्तन गरिएको भन्ने घटनास्थल मुचुल्का र अनौपचारीक क्षेत्र सेवा केन्द्र INSEC, नेपाल बार ऐशोसिएशन, नेपाल राष्ट्रिय मानव अधिकार आयोग समेतको स्थलगत निरीक्षण प्रतिवेदनले देखिएको छ। उक्त विष्फोटमा परि घाइते भएका व्यक्ति सफि अहमदको मौकामा भारत मोतिहारमा र पछि नेपालमा समेत जाँच उपचार भई Blast Injury भनि घाउँ जाच रिपार्ट रहेको र घटनास्थलमा घाईते ओसि अख्तर मियाको स्वीटर, जुता मोजा भेटिई जांच गर्न पठाएको र हजारौ डिग्री फरेनहाइटको इट्टा भट्टा चिम्नीमा लाश जलाएका कारण लाशको कुनै अवशेष फेला नपरेको, रातीको समयमा घटना घटी प्रतिवादीहरुको दवाव प्रभावको कारण स्थानीय व्यक्तिहरु र प्रहरी समेत घटनास्थलमा जान नसकेको, जाहेरवालाका छोराहरु हाल सम्म फेला नपरेका, प्रतिवादीहरुले निजहरुको अस्तित्व देखाउन नसकेको, निजहरुको मृत्यु सोही राजपुर फरहदवा भन्ने ठाउँमा भएको भनि मृत्यु दर्ता प्रमाण पत्र प्राप्त भएको,तत्कालिन प्रहरी संगठन प्रमुख IGP तथा प्रहरी कर्मचारीहरु समेतको कागजबाट घटना बारदात घटित भएको पुष्टि भएको, प्रत्यक्षदर्शीहरुको कागज, मावन अधिकारी संघ संस्थाको प्रतिवेदनबाट घटना घटेको पुष्टि भएको। कसुरदारले लास नष्ट गरि नभेटिएको अवस्थामा कसुरदारले उन्मुक्ति पाउने अवस्था नभएको र निर्वाचनलाई प्रभावित पारी परिणाम आफ्नो पक्षमा पार्ने उदेश्य रहेको, कानूनद्वारा निषेधित विष्फोटक पदार्थ ल्याई भण्डारण गरी बम लगायतका वस्तुहरु बनाउन लगाएको। यस्ता विष्फोटक पदार्थ पडकाएमा वा Human Error बाट पडकिन गएमा मानविय क्षति समेत हुम सक्छ भन्ने परिणाम (Result) को पूर्व जानकारी भएको तथा Possessory Crime अन्तर्गतको कसूर भएको। त्यस्ता विष्फोटक पदार्थ ल्याउन् राख्न भण्डारण गर्न प्रयोग गर्न कानूनले निषेध गरेकोमा सो विष्फोटक पदार्थ विष्फोटनमा दर्जन भन्दा बढी मानिसहरु घाइते भएकोमा पछि जिउदै जलाएको देखिएको अवस्थामा प्रतिवादीहरु मोहम्मद आफताब आलम, मोहम्मद महताब आलम, शेख सेराज भन्ने शेष सराज र बद्री सहनीले वारदात घटाउन कुनै वस्तु या हतियार प्रयोग गरेको भले नदेखिएको भनि मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(१) नं. अनुसार सजाय नगरी १३(३)नं. अनुसार सजाय गर्ने गरी भएको कम सजायको फैसला त्रुटीपूर्ण रही बदर भागी छ। प्रतिवादी मुक्ति साहले वारदातको सम्बन्धमा जानकारी रहदा रहदै सो सम्बन्धमा कसैलाई जानकारी नगराई बसेको र निजले सो जानकारी नगराएको कारणले नै गएको समेतको परीस्थिति रहेको अवस्था समेतलाई मध्ये नजर गरी निजलाई सजाय गर्नु पर्नेमा सो विपरित प्रतिवादी मुक्ति साहले आरोपित कसूरमा अदालत समक्ष इन्कार रही बयान गरेको र जाहेरवालाहरु र सह- प्रतिवादीहरु तया घटना विवरण कागज गर्ने मानिस लगायत कसैले पनि निज प्रतिवादीले आरोपित कसूर गरेको भनी पोल गरेको नदेखिएको भनि फैसलामा उल्लेख भएको अवस्था छ। यस अवस्थामा कसूरमा संलग्नताको आरोप लागेका व्यक्तिहरुले आरोपका बारेमा इन्कारी गर्नु पनि अस्वभाविक होईन। कसूरबाट बच्न प्रयत्नशिल रहने मनोवृति रहने को इन्कारी स्वभाबिक अभिव्यक्ति नै हो तर, यस्तो इन्कारीलाई अन्य प्रमाणहरुको पक्षमा विश्लेषण नगरी केवल इन्कारीलाई मात्र आधार मानी न्याय निरोपण गरिदा बास्तबिक कहिल्ये पनि कानूनी दायरामा आउन नसक्ने समेत निधित छ यस परिस्थितिमा प्रतिषार्थीहरुको स्वभाविक इन्कारीलाई आधार मानि प्रतिवादीहरुलाई सफाई दिन मिल्दैन सो सन्दर्भमा सम्मानित सर्वोच्च अदालतले ने.का.प.२०७३, अडक-१, नि.नं.९५१९ मा कुनै प्रमाणविनाको इन्कारी बयान अर्थहीन र प्रयोजनहीन हुन्छ र यस्तोमा संकलित अप्रत्यक्ष प्रमाणलाई पनि निजका विरुद्ध अदालतले प्रमाणमा ग्रहण गर्नुपर्ने। कुनै अभियुक्तले वारदातको समयमा आफू घटनास्थलमा नभई अन्यत्र छु भनी अन्यस्थल (Alibi) को जिकीर लिन्छ भने सो जिकीरलाई प्रमाणित गर्ने भार पनि निज अभियुक्तउपर नै रहन्छ। यस्तो अन्य स्थल को जिकीर तथ्यपरक निश्चयात्मक तथा लिखतको प्रमाणवाट समर्थित हुन सके मात्र सो जिकीर लिने व्यक्तिको पक्षमा प्रमाणयोग्य हुन सक्ने हुन्छ र सो जिकीर त्यस्तो निर्विवाद र तथ्यपरक प्रमाणबाट स्थापित हुन नसके त्यस्तो जिकीर लिने व्यक्तिका विरुद्ध नै प्रमाण लाग्न जाने भनी सिद्धान्त प्रतिपादिन भएको अवस्थामा सो विपरित प्रतिवादीले अनुसन्धानको क्रममा र अदालतमा उपस्थित भई कसुरमा ईन्कार रही बयान गरेको उल्लेख गरी भएको फैसला बुटीपुर्ण रही बदर भागी छ भन्ने समेत ब्यहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र।
- प्रतिवादीहरु मोहम्मद आफताव आलम, मोहम्मद महताव आलम, शेख शेराज भन्ने शेष सराजको एकै मिलानको छुट्टा छुट्टै पुनरावेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ:
मिति २०६४/१२/२७ गते बेलुका ६:३० बजेको समयमा स्व. शेख इद्रिसको गोठघरमा विष्फोटक भएको तथ्य कुनै पनि स्वतन्त्र वस्तुनिष्ट तथ्य र प्रमाणवाट स्थापित हुन सकेकै छैन। कथित वारदातस्थान स्व. शेख इद्रिसको गोटघरवाट अनुसन्धानको क्रममा घटनास्थल प्रकृति मुचुल्का सहित २०६५ साल वैशाख १४ गते उठाई ल्याएको माटो समेतको अरिक्षणबाट रगत भएको र बम विष्फोट भएको भन्ने कुराको प्रभाण बादी पक्षले गुजार्नसकेको छैन।शंका र अनुमानका आधारमा विष्फोट भएको भन्ने कुरालाई फैसलामा स्वीकार गरिएको तर के कुन विष्फोटक पदार्थ के कसरी विष्फोट भएको हो भन्ने कुरा एकिन गर्न नसकी विष्फोटक भएको भन्ने जरियालाई टेकी घाइतेलाई इट्टाभट्टामा जलाई कर्तव्य गरी मारेको ठहर्छ भनी भएको फैसला प्रथम दृष्टिमा (Prima Facie) नै त्रुटिपुर्ण छ।
जिल्ला प्रहरी कार्यालय वारदातस्थलवाट उठाई ल्याएको माटोको नमुना बिष्फोट भएको देखिन्छ वा देखिदैन ? भनी चारवटा नमुनामा परिक्षण गरिएकोमा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनमा “Opinion: Blood could not be detected on exhibit nos 1,2.3 and 4 अर्थात् यी चारैवटा सामाग्रीमा रगत नभेटिएको भनी कथित बम विष्फोटन भएको घटनास्थलबाट तत्काल बरामद गरिएको भनिएको माटोको कणमा कुनै पनि मानवको रगत नभेटिएको भनी उल्लेख गरेको अवस्था छ। उक्त वैज्ञानिक प्रमाणहरूलाई अनदेखा गरी राजनैतिक प्रतिसोध राख्ने केही व्यक्तिको मौखिक कथनलाई मुख्य प्रमाणको रुपमाग्रहण गरी विष्फोटन भएको भन्ने ठहर फैसला गर्नु त्रुटिपूर्ण भई अन्यायपूर्ण समेत छ।
माटोको नमुनामा बम बिष्फोटन भएको जस्तो देखिन्छ कि देखिदैन भन्ने सम्बन्धमा “बिष्फोटक पदार्थ परिक्षण गर्ने सुबिधा हाल यस प्रयोगशालामा नभएको भनी फिर्ता गएको देखिन्छ। माटो परिक्षणबाट रगत नदेखिएको तथ्य र मिति २०६५/१/१४ गते खड़ा गरेको घटनास्थल प्रकृति मुचुल्कामा “प्रत्येक कोठाहरुमा रहेको चिज वस्तुहरु हटाइ हेर्दा सामान्य अवस्थामा रहेको सो कोठाहरुमा कुनै प्रकारको विष्फोटन नभइ क्षति भएको भन्ने नदेखिएकोले सो कोठाहरुबाट माटो ननिकालिएको” भन्ने समेत व्यहोरा उल्लेख भएको घटनास्थल प्रकृति मुचुल्का समेतबाट बम विष्फोट भन्ने देखिदैन। सो मुचुल्कामा काम तामेल गर्ने प्र. स. नि. राम बहादुर प्रसादले मुचुल्काको व्यहोरालाई नै समर्थन गरी मिति २०८०/११/१६ गते अदालतमा वकपत्र समेत गरेको अवस्थाबाट कुनै पनि विष्फोटक पदार्थ विष्फोट भएको भन्ने तथ्य (Corpus delicti) स्वतन्त्र एवं वस्तुनिष्ट तथ्य र प्रमाणवाट पुष्टि हुनै नसकेको अवस्थामा विष्फोट भएको भनी हचुवा तवरबाट उल्लेख भए गरिएको फैसलाको निर्णयाधार प्रत्यक्ष त्रुटिपूर्ण हुनुको साथै अन्यायपूर्ण समेत छ।
जाहेरी दरखास्तलाई मुख्य प्रमाणको रुपमा ग्रहण गरी कसुर ठहर फैसला गरिएको छ जुन प्रत्यक्ष त्रुटिपूर्ण छ।
ज्यान मार्ने उद्योग मुद्दाका जाहेरवालाहरु सफी अहमद र गौरी शंकर राम चमारको जाहेरी दरखास्त महान्यायाधिवक्ताबाट मुद्दा नचलाउने निर्णय मिति २०६५/३/३० मा भएपछि र सर्वोच्च अदालतबाट मिति २०६९/२/१६ मा थप पुन, प्रमाण बुझी प्रचलित कानुन बमोजिम कार्य गर्ने गराउने भनी आदेश फैसला भएपछि मिति २०७६/६/३० मा र मिति २०७६/७/१४ मा बदनियत चिताई दर्ता भए गरिएको हो। यी दुई जाहेरवाला मध्ये सफी अहमदले अदालतमा बकपत्र गर्दा जाहेरी दरखास्तको वेहोरालाई खण्डन गरी वक्रपत्र गरेका छन् भने गौरी शंकर राम चमारले घटनाक्रम संग मेल नखाने सफेद झुट कुरा लेखाएको उनको बकपत्रबाट देखिन्छ। जसक्को परिणाम निजहरुले दिएको ज्यान माने उद्योगको कसुर ठहर हुन सकेको अवस्था छैन। Department of Forensic Medicine Maharajgunj ले गौरी शंकर राम चमारलाई वम विष्फोटबाट घाइते भएको हो भन्ने कुरा अस्विकार गरेको अवस्था छ। कुनै प्रत्यक्षदर्शी नै नभएको वा नरहेको अवस्थालाई नजरअन्दाज गरी विल्कुलै विरोधाभाषपूर्ण एवं मनगढन्ते तवरको बादीको साक्षीको बकपत्रलाई प्रमाणको रूपमा ग्रहण गरी भएको फैसला त्रुटिपूर्ण भइ बदरभागी छ।
अनुसन्धानकै क्रममा मिति २०६५।०१।३० गते बुझीएका व्यक्ति एकलाख आलम, शेख सोयव, जुगन मिया, अवास मिया समेतले कागज गदा “मिति २०६४।१२।२७ गतेमा ईट्टा भट्टामा कोही कसैलाई जलाएको होईन। सो ईटा भट्टामा काम गर्ने मानिस बाहेक अरु कोही थिएनन। ईटा भट्टामा अन्य कुनै मानिस आएको होईन” भनी घटनालाई नै इन्कार गरी कागज गरी दिएका छन। त्यस्तै गरी मिति २०६५।०१।३१ गते बुझीएको व्यक्ति शेख मलकार, मोजामिल आलम, सेख नचुनी सेख अदुद समेतले कागज गर्दा “देखाइएको ईट्टा भट्टामा कुनै घटना भएको होईन, बम विष्फोट समेत भएको छैन हामी सोही ईट्टा भट्टामा नजिक थियो, कुनै कुनै पनि घटना वारदात भएको छैन” भन्ने समेत व्यहोराको अनुसन्धानको क्रममा कागज गरी दिएको छन् भने सोही कागज व्यहोरालाई पुष्टि हुने गरी अदालतमा समेत बकपत्र गरी दिएका छन। त्यस्तै मिति २०६५।०२।०१ गतेमा अनुसन्धानको क्रममा बुझीएका व्यक्ति सेख हविवले कागज गर्दा “घटना देखेको छैन, को कसले मायों मारेन थाहा छैन, मृतकलाई चिन्दैन” भन्ने समेत व्यहोरा उल्लेख गरी कागज गरेको र अदालत समेतमा सोही व्यहोराको वकपव गरी दिएकोबाट बादीको अभियोग दावी स्वतन्त्र प्रमाणद्वारा पुष्टि नभई राखेको अवस्थामा आरोपित अभियोग दावीवाट पूर्ण रुपमा सफाई पाउनु पर्दछ।
प्र.ना.उ. इन्द्र प्रसाद सुवेदी (घटना विवरण कागज गर्ने व्यक्ति, प्र.उ.प्र.स.नि. रामवहादुर प्रसाद (घटनास्थल मुचुल्का काम तामेल गर्ने व्यक्ति), प्र.उ. राजिव बहादुर बस्नेत (घटनाविवरण कागज गर्ने व्यक्ति) ले मिति २०८०/११/१६ गते अदालतमा बकपत्र गर्दा लेखाएको व्यहोरालाई गलत किसिमले अर्थ ग्रहण गरी जिल्ला अदालतले प्रमाणको रुपमा ग्रहण गरी भएको फैसला प्रत्यक्ष त्रुटिपूर्ण छ।
मिति २०६४/१२/२७ गते स्व. शेख इद्रिसको गोठघरबाट विष्फोट भएपछि जिउदै इट्टाभट्टामा हालियो भनिएको “राजा इट्टा उद्योग प्रा. लि. बाट १५ दिन अगावै इट्टा पकाएको खरानी रहेको, सो खरानी मध्येबाट प्लाष्टिकको सानो दुई बोरामा प्रहरीले खरानी उठाई लगेको सो इट्टा भट्टा देखी दक्षिण र पश्चिममा लेबर वस्ने सानो फुसको छानो रहेको, सो इट्टा भट्टामा मानिस जलाएको नदेखिएको चार किल्ला सहितको विवरण ठिक दुरुस्त छ भनी खरानी समेत झिकी” खडा गरेको मिति २०६५/१/१५ को घट्नास्थल मुचुल्का र सोलाई पुष्टि हुने गरी रोहवरमा वस्ने र काम तामेल गर्ने प्र. स. नि. रामवहादुर प्रसाद समेतले बकपत्र गरेको अवस्था छ ।जिउदै जलाएको भनिएको घटनास्थल (स्थान) राजा इट्टा भट्टाको अवस्थिति अर्थात् इट्टा भट्टामा इट्टा पोल्न राखिएको भए त्यस्तो अवस्थामा कोही जान सकिने वा राख्न सकिने अवस्था नहुने तर्फ न्यायिक मनको प्रयोग गरिएन । मिति २०६५/१/१५ गते खड़ा गरेको घटनास्थल प्रकृति मुचुल्कामा गरेको घटनास्थल प्रकृति मुचुल्कामा “इट्टाभट्टाको पुर्व साइडबाट १५ दिन अगावै इट्टा पकाएको खरानी रहेको सो खरानी मध्येबाट प्लाष्टिकको सानो २ वोरामा प्रहरीले खरानी उठाई बरामद गरि लगेको” र सो को परिक्षण गर्न केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालालाई पत्राचार गरेको अवस्था देखिन्छ ।जिल्ला प्रहरी कार्यालय रौतहटबाट मिति २०६५/०१/१७ (च. नं. ४६१८) वाट “परिक्षणार्थ पठाइएको” भन्ने विषयमा आता केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालालाई निम्नानुसारका दशीहरुको परिक्षण गर्न पठाएको अवस्था देखिन्छ।
पोका नं.१
वारदात स्थलबाट बरामद में आएको रामनामा मानिस जलाएको देखिन्छ, देखिदैन ?
भए कति जना मानिसहरुलाई जलाएको देखिन्छ ?
अनुसन्धान कार्यमा सहयोग हुने केही भए सो कुराहरू
पोका नं. २
मृतक भनिएको ओसी अख्तर मियाको सुइटर (हाइनेक) मा रगत लागेको भए उक्त रगत मानिसको हो वा जनावरको हो ?
भए उक्त रगत के कुन ग्रुपको हो ?
सो सुइटर (हाइनेक) जुत्ता र मोजा समेतमा बम विष्फोटन भएको केहि देखिन्छ या देखिदैन ?
अनुसन्धान कार्यमा सहयोग पुग्ने अन्य केही भए सो कुरा समेत खुलाई दिनुहुन?
उल्लेखित परिक्षणार्थ पठाइएको खरानी समेत केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले मिति २०६५/०२/१३ मा परिक्षण गरिएको प्रतिवेदनमा दशीका नमुनाहरुलाई निम्नानुसार उल्लेख गरी Benzidine Test Takayama Test को फरेन्सिक पद्दतिबाट (Forensic Methodology) परिक्षण गरिएको देखिन्छः
- A green colored sweeter measuring about 5 cm long, wrapped by paper and kept in plastic bag-marked here as exhibit no. १ (हरियो रडको स्वेटर जसको नाप ६१.८ cm लामो भएको र जसलाई प्लास्टिक व्यागमा राखिएको जसलाई समान न १ भनि जनाइएको।।Ash colored soil particles kept plasti bag and packed in a cartoon bos and sealed. marked here as exhibit no.२ (खरानी बालुवा समेत प्लास्टिक व्यातमा राखिएको र कार्टुन बाकसमा प्याक गरिएको र सिल गरिएको जसलाई सभान नं २ भनि जनाइएको।
- A pair of black shoes, each measuring about ११ cm long, kept in a plastic bag-marked here as exhibit no ३. (एक जोडी कालो जुत्ता र ११ cm लम्बाइको नाप भएको प्लास्टिक व्यागमा राखिएको जसलाई समान नं ३ भनी जनाइएको।
- d) A pair of blackish colored socks, kept in a plastic bag-marked here as exhibit no. (एक जोडी कालो रङ्गको मोजा प्लास्टिक व्यागमा राखिएको)
Forensic Medicine अन्तर्गत Benzidine Test र Takayama Test बमोजिम माथि उल्लेखित चारवटा नमुनामा परिक्षण गरिएकोमा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनमा “Opinion: Blood could not be detected on exhibit nos. 1.2.3 and 4 अर्थात् यी चारैवटा सामाग्रीमा रगत नभेटिएको भनी कथित घटनास्थलबाट तत्काल बरामद गरिएको भनिएको खरानी बालुवा (दशी सामान) मा कुनै पनि मानवको रगत नभेटिएको भनी उल्लेख गरेको अवस्था छ । यसरी वैज्ञानिक रुपबाटै खरानी/वालुवा जाँच गर्दा मानव रगत नभेटिएको भन्ने वैज्ञानिक प्रमाणहरूलाई अनदेखा गरी राजनैतिक प्रतिसोध राख्ने केही व्यक्तिको गोलमटोल भाषाको मौखिक कथनलाई मुख्य प्रमाणका रुपमा ग्रहण गरी अन्य वस्तुनिष्ठ स्वतन्त्र प्रमाणवाट समर्थित गराउन नसकेको अवस्थामा पनि ठहर फैसला गर्नु त्रुटिपूर्ण हुनुको साथै अन्यायपूर्ण समेत छ ।हराएका व्यक्तिलाई अनुमानका भरमा मृत मानेर अभियोग दर्ता गर्न र कसुरदार ठहर गर्न कुनै हालतमा मिल्दैन मृत्यु भएको वा जीवितै रहेको दुवै सम्भावना रहेको अवस्थामा मृत्यु भएको निष्कर्षमा पुग्नका लागि अन्य बलिया प्रमाणहरूको खोजी अपरिहार्य हुन आउँछ।
मृतक भनी अभियोग पत्रमा उल्लेख गरिएका ओसि अख्तर मियाँको श्रीमती आमना खातुनले रौतहट जिल्ला अदालतमा मिति २०७६/८/१० मा दर्ता गरेको निवेदन र यसैलाई समर्थन गरी मिति २०७७/७/२५ मा अदालतमा गरेको बकपत्र समेतमा मेरो लोग्ने ज्याला मजदुरीको सिलसिलामा बिदेश गएको र सासु रुक्सान खातुनले बनाएको मृत्यु दर्ता प्रमाण पत्र एवं निजले नै दिएको जाहेरी समेत झुट्टा रहेको भनी दिएको निवेदन र बकपत्र समेतलाई नजरअन्दाज गरी फैसला गर्न मिल्दैन। हाल अस्तित्वमा नरहेको भनिएको ओसी अख्तरको श्रीमतीले प्रस्तुत मुद्दाको अनुसन्धानको क्रममा सम्मानित रौतटह जिल्ला अदालत समक्ष उपस्थित भई मिति २०७६/८/१० मा दिएकी “निवेदनमा आफ्नो श्रीमान् ज्याला मजदुरीको सिलसिलामा विदेशमा गएकोमा २ महिनाको विदामा आफ्नो घर आएको तथा मेरो पतिले मलाई कुनै जानकारी नदिई कहाँ गई बसेका छन् मलाई थाहा छैन। विभिन्न व्यक्तिहरुले प्रतिवादी अफताव आलमलाई झुट्टो मुद्दामा फसाउन मेरो सासु लगायत घर परिवारलाई धाकधम्की प्रलोभन देखाई सासुद्धारा जाहेरी दरखास्त दिन लगाएकोले स्वर्गीय सासुले दिनु भएको जाहेरी दरखास्त झुट्ठा हो। साथै मिति २०६५।१।२१ गते मलाई प्रहरी कार्यालय रौतहट गौरमा बोलाई के कुन व्यहोराको कागज गराएका छन्, मलाई थाहा छैन। सो कागज मलाई पढीवांची नसुनाई प्रहरीहरुले मानसिक यातना समेत दिई सही गराएको हुँदा सत्य तथ्य खुलाई प्रस्तुत निवेदन गरेकी छु भनि निवेदन समेत दिएको अवस्था हुँदा हालसम्म पनि सो कथित घटनामा मृत्यू भएका भनिएका व्यक्तिहरुको लास वरामद नभएको तथा मुद्दा समेत विचाराधिन रहेकोले मृतक भनिएका व्यक्तिनै संदिग्ध अवस्थामा रहेको देखिएको र निजकी श्रीमतीले सत्य तथ्य खुलाई आफु उपस्थित भई सम्मानित रौतहट जिल्ला अदालतमा निवेदन दर्ता गरी जाहेरी समेत खण्डित भईसकेको अवस्था छ।
अर्का व्यक्ति समसुल मियाले मिति २०७७।०७।२७ गते अदालतमा बकपत्र गर्दा स.ज. ८ मा “उक्त घटना वारदात मिति २०६४/१२/२७ गते र सो भन्दा अगाडी पनि मेरो ज्वाई ओशी अख्तरसंग भेट भएको थियो भनी गरेको बकपत्र गरेका छन भने सवाल जवाफ ३५ मा “मिति २०६४/१२/२७ मा निजसंग भेटघाट भएको थियो। निजलाई मैले आफ्नो घरमा जानुहोस, बालबच्चा छन् भनी सम्झाए। निज ज्वाई निजको आमासंग (रोक्साना) विवाद भएको कारणले आफ्नो घरमा नगई मेरो घरमा नै बसेका थिए। त्यसको भोलिपल्ट चुनाव थियो । म सो दिन चुनावमा लागेको थिएँ । त्यसपछि निजको मसंग त्यो दिन भेट भएन। पछि ३/४ दिन पश्चात सर्लाही जिल्लाको लालबन्दीमा निजसंग भेट भएको थियो । अहिले सम्पर्क विहिन छु” भनी बकपत्र गरेबाट पनि निज ओशी अख्तर कथित वारदात पछिको अवस्था सम्म पनि जीवित रहेको भन्ने पुष्टि भएको छ ।त्यसैगरी, शेख अकबरको छोरा शेख बलजाहिरले समेत मिति २०७६।८।१८ गते रौतहट जिल्ला अदालत समक्ष सत्य तथ्य खुलाई निवेदन दर्ता गराउनु भएको र सो निवेदनमा मिति २०७६/७/१ गते बेलुका ६:३० मेरो गाउँमा प्रहरी आई म आफ्नो घरमा नै रहेको बेलामा प्रहरीले मलाई पक्राउ गरी थुनामा राखी कुनै कुराको जानकारी नदिई शारिरीक तया मानसिक यातना समेत दिई जवरजस्ती बयान गराएको र कागजमा सहीछाप गराउन खोज्दा सो कागजको व्यहोरा पढेर सुनाउन अनुरोध गर्दा पढेर नसुनाई विभिन्न धम्की दिई मेरो इच्छा बिरुद्ध कागज गराएको हुँदा सो कागजमा लेखेको व्यहोरा मेरो आफ्नो नभएको भनि निवेदन दिएको अवस्था छ ।
त्यस्तैगरी, राजेश प्रसाद सहनीले मिति २०७६।८।१८ गते र जलिफ मियाँले मिति २०७६/८/१८ गते छुट्टा छुट्टै निवेदन दर्ता गराउनु भएको र सो निवेदनहरुमा समेत मिति २०७६/७/४ गते माथि उल्लेखित व्यहोराबाटै प्रहरीले धरपकड गरी आफ्नो नियन्त्रणमा लिई गैरकानूनी रुपले जबरजस्ती कागज गराएको र कागजको व्यहोरा प्रहरीले आफुखुशी तयार गरेको भनी निवेदन दायर गरको अवस्था रहेको छ
त्यस्तै बादी नेपाल सरकारका साक्षी शेख ओजजाहिर भन्ने शेख बलजाहिर, जाजुन् मिया कबारी: रमेश प्रसाद सहनी, लेखिन्द्र पटेल भन्ने लेखिन्दर राउत कुर्मी र जालिफ मिया समेतले अदालतमा बकपत्र गर्दा घटनाविवरण कागजको व्यहोरा प्रहरीले आफै लेखी जवर्जस्ती रुपमा हामीलाई सहिछाप गराएको हो, निज प्रतिवादीहरुलाई झुट्टा मुद्दा लगाइएको हो, सफाई पाउनुपर्ने हो भन्ने समेत व्यहोराको बकपत्र गरेको अवस्था छ। यसतर्फ रौतहट जिल्ला अदालतले ध्यान दृष्टि पुर्याउन सकेन।
प्रस्तुत मुद्दामा हाल अस्तित्वमा नरहेको भनिएको कथित मृतक पिन्टु भन्ने त्रिलोक प्रताप सिंह उपर (विरुद्धमा) चिन्दु भन्ने राकेश कुमार साहको जाहेरीले वादी नेपाल सरकार प्रतिबादी निज पिन्टु भन्ने त्रिलोक प्रताप राजपुत समेत उपर वारदात मिति २०६४/७/२० भएको मानव ओसारपसार मुद्दा रौतहट जिल्ला अदालतमा मिति २०६५।९।२ मा फरारी भनी अभियोग पत्र दर्ता भइ जिल्ला अदालतवाट मिति २०६५/९/२० गते फैसला हुँदा सो मुद्दामा निज पिन्टु भन्ने त्रिलोक प्रसाद राजपुत फरार रहेको भनि निजहरुको हकमा अ.व. १९० वमोजिम मुद्दा मुलतवीमा राखे गरी फैसला भएको र अन्य प्रतिवादीहरुले अभियोग दावीबाट सफाई पाउने ठहर फैसला भएकोमा तत्कालिन पुनरावेदन अदालत हेटौडाबाट मिति २०६७/११/१७ गते फैसला हुँदा उपरोक्त फैसलामा समेत निजलाई फरार देखाई अन्य प्रतिवादीहरुलाई २ वर्ष कैद हुने ठहरी फैसला भएको देखिन्छ । यस फैसलालाई सर्वोच्च अदालतबाट मिति २०७२/२/३२ गते पुनरावेदन अदालतको फैसलालाई नै सदर कायम हुने ठहरी फैसला भएबाट निज मृतक भनिएका ब्यक्ति पिन्टु भनिने त्रिलोक प्रताप राजपुत मानव ओसार पसार मुद्दाका साविक देखि फरार प्रतिवादी रहेको भन्ने देखिन्छ।
अतः सुरू रौतहट जिल्ला अदालतले कुनै वस्तुनिष्ठ आधार र प्रमाण वेगर कुनैपनि तथ्यगत प्रमाणहरूले पुष्टि नै नगरेको अवस्थामा शंका र अनुमानका भरमा कर्तव्य ज्यान र विष्फोटक पदार्थ सम्बन्धि कसुर ठहर गरी गरेको फैसला प्रत्यक्ष कानूनी त्रुटिपूर्ण छ। विष्फोटन भएको भन्ने कुरा घटनास्थल प्रकृति मुचुल्का, फरेन्सिक परिक्षण (Benzidine Test/Takayama Test) समेतका कुनै पनि वस्तुनिष्ठ प्रमाणले समर्थन नगरेको, त्रिलोक प्रताप सिंह र ओसी अख्तर मेरे नमरेको एकिन नभएको, जिवितै रहेको तर्फ निजका नातेदारले अदालतमा बकपत्र गरेका, वारदात (घटना) को कोही पनि प्रत्यक्षदर्शी नरहे नभएको अवस्थामा म प्रतिबादीले आरोपित कसुर गरेको भन्न सकिने अवस्था नै छैन। म पुनरावेदक प्रतिवादी कसुरमा पूर्णरुपमा इन्कार रहेको, घर ध्वस्त भई भत्केको र दर्जनौ मानिस मरेको भन्ने कुरा संचार माध्यमवाट सार्वजनिक भएको भन्ने कथनबाट राजनैतिक प्रतिसोध राखी प्रस्तुत मुद्दाको उठान गरेको देखिएकोले यो यो व्यक्तिहरु यो यस्को कर्तव्यवाट मारिएका हुन् भन्ने कहिँ कतैबाट नदेखिएको वा नखुलेको, मारेको भन्नका लागि मारे तर्फ अटुट कडीको रुपमा तथ्ययुक्त प्रमाण स्थापित हुन नसकेको एवं शङ्कारहित तथ्ययुक्त सवुद प्रमाणबाट कसुर गरेको पुष्टि हुन नसकेको अवस्थामा माथि उल्लेखित नजिर सिद्धान्त समेतको विपरीत भएको फैसला उल्टी गरी अभियोग दावीबाट पूर्ण रूपमा सफाई पाउने गरी न्याय इन्साफ दिलाई पाउँन सादर पुनरावेदन जिकिर गर्दछु।
ठहर खण्ड
- नियम बमोजिम साप्ताहिक तथा दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलाश समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसल अध्ययन गरी वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान सह-न्यायाधिवक्ता श्री कोषहरी निरौला, उप-न्यायाधिवक्ता श्री उत्तम श्रेष्ठ र जाहेरवालाका तर्फबाट उपस्थित विद्वान अधविक्ता श्री पुष्पराज पौडेलले बहस गर्नुभयो। तत्कालीन अबस्थामा पर्याप्त प्रमाण नभएको आधारमा कसै उपर मुद्दा नचल्ने भनी महान्यायाधिवक्ताबाट निर्णय भएको हो, प्रमाण प्राप्त भएका बखत मुद्दा चल्ने भन्ने कुरा निर्णयमा उल्लेख नै थियो, पछि प्रमाण प्राप्त भयो र सोहि अनुसार प्रतिवादीहरु उपर मुद्दा चलाइएको हो, जाहेरी दरखास्तहरु, घटना वारदात भएको प्रत्यक्ष देख्ने, सुन्ने, थाहा पाउने अन्य मानिसहरुको कागज, शेख इद्रिशको गोठमा बिष्फोट भएको स्पष्ट देखिने घटनास्थल मुचुल्का तथा फोटोग्राफ समेतका भौतिक प्रमाण र जाहेरवाला सफी अहमद समेतको शरीरमा रहेको खत BLAST INJURY को खत हो भन्ने फरेन्सिक निष्कर्ष, 16/17 बर्ष भइसक्दा पनि जलाएर मारिएका भनिएका पिन्टु भन्ने त्रिलोक प्रताप सिंह राजपुत र ओसी अख्तर मियाको जिवित अस्तित्ब रहेको नदेखिनु, प्रतिवादीहरुले पनि देखाउन नसक्नुबाट प्रतिवादीहरुको कसूर स्थापित हुन्छ, केही साक्षी बकपत्र गर्न आएनन् वा केही होस्टाइल भए भन्ने मात्र आधारमा प्रतिवादीहरुले कसूरबाट उन्मुक्ति पाउने अबस्था छैन, तसर्थ प्रतिवादीहरुलार्इ अभियोग मागदावी बमोजिम सजाय हुनुपर्दछ भनी बहश गर्नुभयो।
- सबै प्रतिवादीहरुका तर्फबाट उपस्थित विद्वान बरिष्ठ अधिवक्ता श्री साविर हुसैन, विद्वान बरिष्ठ अधिवक्ता श्री रामेश्वर सेढाई र विद्वान अधिवक्ताहरु श्री सुधिर कर्ण, अफताब आलम, श्री सरोजकृष्ण घिमिरे, श्री संजिव कुमार मल्लिक र रामेश्वर न्यौपानेले बहस प्रस्तुत गर्नुभयो। मिति 2064/12/30 को सुरु जाहेरी दरखास्त सनाखत गर्न जाहेरवाला नआएका श्री नारायण सिंह राजपुतको जाहेरी मिति 2064/12/27 को वारदात देखाई मिति 2065/01/18 मा मात्र दर्ता गरिएकोले After thought statement हो।अनुसन्धान अधिकृतले मिति 2065/01/14 मा तयार गरेको घटनास्थल मुचुल्कामा शेख इद्रिसको घरको सबै कोठाहरुको छानामा माकुराको जालो लागेको रहेको कोठाहरुमा कुनै प्रकारको बिस्फोटन नभई क्षति भएको जस्तो नदेखिएको, भनी विवरण खुलाएको देखिन्छ। राज ईट्टा उद्योग प्रा.लि. को मिति 2065/01/१5 मा तयार गरेको घटनास्थल मुचुल्कामा पन्ध्र दिन अगावै ईट्टा पकाएको खरानी रहेको, सो ईट्टा भट्टामा मानिस जलाएको नदेखिएको भनी विवरण खुलाएको देखिन्छ। मोहम्मद अफताब आलमको घरको मिति 2065/01/15 मा गरिएको घटनास्थल मुचुल्कामा कोठा भित्र कुनै प्रकारको बम बिस्फोटन नभएको देखिएको भनी बिबरण तयार गरेको देखिन्छ। मिति 2065/01/20 मा तयार गरिएको घटना स्थल बरामदी मुचुल्कामा आपराधसंग प्रमाण लाग्ने दशीको कुनै सबूद प्रमाण फेला नपरेको भनी विवरण तयार गरेको देखिन्छ। मृतक भनिएको पिण्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तरको स्वीटर, जुत्ता, मोजाहरुको परीक्षण प्रतिवेदन तथा राजा ईट्टा भट्टाबाट संकलन गरिएको खरानी परीक्षण प्रतिवेदनमा blood could not be detected (रगत फेला नपरेको) देखिएको छ। राजा ईट्टा उद्योग प्रा.लि.का प्रोपराईटर मो. एखलाल आलम सो उद्योगमा काम गर्ने मोजामिल आलम, शेष मलकार आवास मिया, मोसुदिन मियाले अनुसन्धानको क्रममा गरेको कागजमा मिति 2064/12/27 मा ईट्टा भट्टामा काम गर्ने साहु तथा कामदार बाहेक अन्य कोही पनि नआएको मृतक लाश ल्याई ईट्टा पकाउनेमा जलाई नष्ट गरेको होईन भनी कागज गरेको देखिन्छ। मृतक भनिएका पिण्टु भन्ने त्रिलोक प्रताप सिंह रौतहट जिल्ला अदालतमा मिति 2064/09/3 मा चलेको 064 को फौ.नं.68 को मानव ओसारपसार मुद्दाको फरारी प्रतिवादी रहेको देखिन्छ। आफ्नो पति मृतक भनिएका ओसी अख्तर मिया मजदुरीको सिलसिलामा विदेश गएको भनी निजकी पत्नि आमना खातुनले रौतहट जिल्ला अदालतमा सत्यतथ्य खुलाई निवेदन दिएको र सोही बेहोराको अदालतमा बकपत्र गरेको देखिन्छ। यसैगरी ओसी अख्तरका ससुरा समसुल मियाले 2064 सालको निर्वाचनको 3/4 दिनपछी ओसी अख्तर मिया र त्रिलोक प्रताप सिंहले आफूसंग सर्लाही जिल्लाको लालबन्दीमा भेट गरेको त्यसपश्चात मात्र घरबाट निस्केका हुन भनी अदालतमा बकपत्र गरेको देखिन्छ।वादी नेपाल सरकारले तयार गरेको घटनास्थल मुचुल्कामा बम बिस्फोट नभएको र ईट्टाभट्टामा मानिस जलाएको नदेखिएको र सो कुरा ईट्टा भट्टामा काम गर्ने व्यक्तिहरुको बकपत्रबाट पुष्टि भएको अवस्था छ।उल्लेखित सबै प्रमाणहरुको समग्र विश्लेषणबाट वादी दावीको वारदात (Corpus delicti) स्थापित हुन सकेको देखिएन।प्रतिवादीहरुले सफाई पाउनुपर्ने हो भनी बहश गर्नुभयो।
- मिसिलमा रहेका उपर्युक्त प्रत्यक्ष तथा परिस्थितिजन्य प्रमाणहरुबाट यी प्रतिवादीहरु मोहम्मद आफताव आलम, मोहम्मद महताव आलम, शेख सेराज भन्ने शेष सराज र बद्री सहनीले तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धीको महलको 1 नं. र 13 नं. को कसूर गरेको देखिएको हुँदा निजहरुलार्इ उक्त महलको 13 (३) नं. बमोजिम जनही जन्मकैद सजाय हुने ठहर्छ। कुनै बस्तु वा हतियारले प्रहार गरेको भने तथ्य नभएकोले सो महलको 13 (१) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दावी सो हदसम्म पुग्न सक्दैन। जाहेरवाला सफी अहमद र गौरीशंकर राम चमारको ज्यान बच्न गएको हुँदा निजहरुको ज्यान मार्ने उद्योग तर्फको अभियोग दावीबाट प्रतिवादीहरुले सफाई पाउने ठहर्छ। साथै कुन बिष्फोटक पदार्थ थियो भन्ने यकिन नभएको अवस्था भएकाले निजहरुलार्इ बिष्फोटक पदार्थ ऐन, 2018 को दफा 10 (१)(क) को दावी नपुगी ऐ. दफा 10 (1)(ख) बमोजिम जनही 01 बर्ष कैद र रु.10,000।– जरीवाना हुने ठहर्छ। प्रतिवादी मुक्ती साहका हकमा हेर्दा, निज प्रतिवादी आरोपित कसूरमा अदालत समक्ष इन्कार रहेको, जाहेरवालाहरु सह- प्रतिवादीहरु तथा घटनाविवरण कागज गर्ने मानिस लगायत कसैले निज प्रतिवादीले आरोपित कसूर गरेको भनी पोल गरेको पनि नदेखिदा निजले अभियोग दावीबाट सफाई पाउने ठहर्छ भनी शुरु रौतहट जिल्ला अदालतबाट मिति 2081/01/13 मा भएको फैसला उपर सुरु अभियोग दावी बमोजिम सजाय गरी पाउँ भनी वादी नेपाल सरकारको एवं सुरु फैसला उल्टी गरी अभियोग दावीबाट सफाई पाउँ भनी प्रतिवादीहरुको पुनरावेदन परेको देखियो।
- अव प्रस्तुत मुद्दामा निम्न प्रश्नहरुमा केन्द्रित रही न्याय निरुपण गर्नुपर्ने देखियोः-
- प्रतिवादीहरुले मिति २०६४।१२।२७ मा बम बिष्फोट गराएको हो वा होइन ?
- प्रतिवादीहरुले हत्या गरिएका भनेका ओसी अख्तर मियाँ र पिन्टु भन्ने त्रिलोक प्रताप सिंहलाई जलाएको हो वा होइन ?
- शुरु रौतहट जिल्ला अदालतवाट भएको फैशला मिलेको छ वा छैन? अभियोगदावी बमोजिम प्रतिवादीहरुलाई सजाय हुनुपर्ने हो वा होइन?
- निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरु मो.आफताब आलम, मो.महताब आलम, शेख भदई, मो. मोबिन आलम, शेख सेराज भन्ने शेष सराज, बद्रि सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, तथा नाम थर र वतन खुल्न नसकेका अन्य व्यक्तिहरु समेतले विष्फोटक पदार्थ ऐन, २०१८ को दफा ४ को कसूर अपराधमा सोही ऐनको दफा १०(1)(क) बमोजिम सजाय गरी पाउन र घाईते सफी अहमद र गौरीशंकर राम चमारलाई ज्यान मार्ने उद्योगको कसूर अपराध गरेकोतर्फ साविक मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धीको महलको १ र १५ नं. को कसूर अपराधलाई हालको प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा १८३(१) समेतले कसूर अपराध कायम गरेको हुँदा निज प्रतिवादीहरुलाई मुलुकी ऐन, ज्यान सम्बन्धीको महलको १५ नं. तथा उक्त संहिताको दफा १८३(२) बमोजिम तथा घाईतेहरुलाई जिउँदै जलाई कर्तव्य गरी मारी लाशहरु नष्ट गरे तर्फ साविक मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धीको महलको १ र १३(१) नं.को कसूर अपराधलाई हालको प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) ले समेत कसूर अपराध कायम गरेको हुँदा निज प्रतिवादीहरुलाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(१) नं. तथा हालको उक्त संहिताको दफा १७७(२) बमोजिमसमेत सजाय गरी पाउन तथा प्रतिवादी मुक्ति साहले कसूर अपराध घटेको चाल पाई जाहेर नगरी कसूर दबाउन खोजेको देखिँदा निज प्रतिवादी मुक्ति साहलाई मुलुकी ऐन, ज्यान सम्बन्धि महलको २५ नं. बमोजिम तथा मुलुकी अपराध संहिता, २०७४ को ३६(३)(ख) बमोजिमको कसूरअपराधमा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यान सम्बन्धि महलको २५ नं. तथा अपराध संहिताको दफा ३६(३)(ख) बमोजिम समेत एउटै वारदातमा एक भन्दा बढी कसूर अपराध भएको हुँदा छुट्टा छुट्टै कसूर अपराध कायम गरी सजाय समेत गरी पीडित घाइते तथा मृतकका हकवालालाई प्रतिवादीहरुबाट उचित मनासिव क्षतिपूर्ति समेत दिलाई भराई पाउँ भन्ने समेतको वादी नेपाल सरकारसमेतको अभियोगदावी रहेको देखिन्छ।
- प्रतिवादीहरु मो. आफताब आलम, मुक्ति साह, शेख सेराज भन्ने शेष सराज, बद्री सहनी, मो. महताव आलमले बम फिस्फोटनको घटना नै नघटेको तथा हत्या गरिएका भनेका ओसी अख्तर मियाँ र पिन्टु भन्ने त्रिलोक प्रताप सिंहलाई जलाईएको छैन भनी कसूरमा इन्कार रही मौकामा र अदालत समक्ष बयान गरेको देखिन्छ।
- सर्वप्रथम जाहेरी दरखास्तमा उल्लेखित व्यहोराको विश्लेषण गरौं। 2064 सालको संविधान सभाको निर्वाचनमा उम्मेदवार रहेका ने. क. पा. माओबादीका सुरेन्द्र प्रसाद जयसवाल, ने.क.पा. एमालेका शैलेन्द्र साह, म.ज.अ. फोरमका अब्दुल जवार, त.म.लो.प. का नागेन्द्र प्र. सिंह, स्वतन्त्र उम्मेदवार अफताब आलम, स्वतन्त्र उम्मेदवार राम विनोद साह सोनार, स्वतन्त्र उम्मेदवार असगर अलि खाँ, स्वतन्त्र उम्मेदवार सोहन प्र. गुप्ता, स्वतन्त्र उम्मेदवार मोहमद अवास, स्वतन्त्र उम्मेदवार राजेश कुमारले जिल्ला प्रहरी कार्यालय रौतहटमा मिति 2064/12/30 मा हुलाक द्वारा संयुक्त पहिलो जाहेरी दरखास्त दर्ता गराएको देखिन्छ। सो जाहेरीमा नेपाली कांग्रेसका उम्मेदवार मो. अफताव आलमलाई मात्र बिपक्षी बनाएको देखिन्छ। सो जाहेरीमा मिति 2064/12/27 गते साँझ 6:30 बजेको समयमा ने.का.का उम्मेदवार मो. अफताव आलमको घरमा बम बिष्फोट भएको, सो घटनामा पिण्टु सिंह भन्ने त्रिलोक प्रताप सिंह, ओसी अख्तर मिया लगायत दर्जनौको मृत्यु भएको र निजको घर ध्वस्त भई भत्केको र त्यसमा मृत्यु भएका दर्जनौ लासलाई घटनास्थल नजिकैको निजको आफन्तको ईट्टा पकाईरहेको चिम्नीमा सो लास लगी जलाई नष्ट गरेको हो। निज विपक्षीले निर्वाचन(कसूर र सजाय) ऐन, 2064 को दफा 4, 4(ख), 7, 8, 10 समेतको कसूर गरेको र संविधान सभा निर्वाचन आचार संहिता, 2064 को दपा 13 समेतको उल्लंघन गरेकोले प्रचलित कानून बमोजिम कारवाही गरि पाउन माग गरेको देखिन्छ। जिल्ला प्रहरी कार्यालयबाट उक्त जाहेरी दरखास्त सनाखत गराउन दरखास्तवालालाई खोजतलास गर्दा सबै जना काठमाण्डौतर्फ गएको बुझिएको भनी मिति 2065/01/10 मा प्रतिवेदन पेश भएको देखिन्छ।
- अब जाहेरवालाहरुले अदालत समक्ष गरेको बकपत्रको बिश्लेषण गर्दा, मिति 2064/12/30 मा सुरु जाहेरी दिने 2064 सालको संविधान सभाको निर्वाचनमा उम्मेदवार रहेका ने. क. पा. माओबादीका सुरेन्द्र प्रसाद जयसवाल, ने का प एमालेका शैलेन्द्र साह, म. ज. अ. फोरमका अब्दुल जवार, त.म.लो.पा.का नागेन्द्र प्र. सिंह, स्वतन्त्र उम्मेदवार अफताब आलम, स्वतन्त्र उम्मेदवार राम विनोद साह सोनार, स्वतन्त्र उम्मेदवार असगर अलि खाँ, स्वतन्त्र उम्मेदवार सोहन प्र. गुप्ता, स्वतन्त्र उम्मेदवार मोहमद अवास, स्वतन्त्र उम्मेदवार राजेश कुमारमध्ये स्वतन्त्र उम्मेदवार राजेश कुमार र स्वतन्त्र उम्मेदवार असगर अलिखाले मिति 2076/04/25 मा र ने.क.पा. एमालेका उम्मेदवार रहेका शैलेन्द्र साहले मिति 2076/04/25 मा घटना विवरण कागज गरेको देखिन्छ। सो संयुक्त जाहेरी दरखास्तवाला मध्येका स्वतन्त्र उम्मेदवार रामबिनोद साह सोनार, म.ज.अ. फोरमका अब्दुल जवार, त.म.लो.पा. का नागेन्द्र प्र. सिंह, ले अदालतमा वादीको साक्षीको रुपमा उपस्थित भई बकपत्र गर्दा मिति 2064/12/30 को संयुक्त जाहेरी दरखास्तमा भएको सहिछाप र बेहोरा आफ्नो नरहेको, वारदात भएको भनिएको मिति 2064/12/27 मा कुनै प्रकारको घटना बारदात नभएको भनी एकै मिलानको बकपत्र गरी दिएको देखिन्छ। सोही जाहेरी दरखास्तवाला मध्येका सुरेन्द्र प्रसाद जयसवाल, अकताव आलम र सोहन प्रसाद गुप्ताले अदालतमा उपस्थित भई जाहेरी वेहोरा समर्थन नगरेको अवस्था छ। जाहेरी दरखास्तवाला मध्येका मिति 2076/04/24 मा घटना विवरण कागज गर्ने असगर अलि खाँ र राजेश कुमारले अदालतमा उपस्थित भई बकपत्र नगरेको अवस्था छ। यसरी सो जाहेरी दरखास्तवाला ९ जनामध्येका 3 जनाले जाहेरी दरखास्त विपरित मिति 2064/12/27 मा कुनै प्रकारको घटना बारदात नभएको भनी एकै मिलानको बकपत्र गरेका र 5 जना अदालतमा बकपत्रको लागी उपस्थित नभएकोले सो जाहेरी बेहोरा विश्वासनीय प्रमाणको रुपमा ग्रहण योग्य रहेको देखिएन।
- तत्पश्चात मिति 2065/01/18 मा नारायण सिंह राजपुत र रोक्साना खातुनको अलग अलग जाहेरी दरखास्त परेको देखिन्छ। जाहेरवाला नारायण सिंह राजपुतले दिएको जाहेरी दरखास्तमा विपक्षीहरुले आफ्नो छोरा त्रिलोक प्रताप सिंहलाई आफ्नो चुनाव प्रचारमा लिई गएको, निज अफताव आलमकै आफन्तको खपरावाला घरमा चैत्र 27 गते साँझ 6:30 बजे बम बिस्फोटन गरी छोरा घाईते भई इलाज गराउन निज छोराले म आफ्नो घरमा जान्छु घर जान दिनुस भन्दा निज अपराधीहरुले सुरक्षा बल समेतको सहयोग लिई निज घाइते छोरालाई इलाज गराउनुको सट्टा उल्टै सो गाउँको नजिकको निज विपक्षीकै मतका व्यक्तिको ईट्टा पकाउने भट्टामा बाहिर रहेको दाउरा हाल्ने प्वालमा घाईते छोरालाई हाली जलाई लाश बेपत्ता गरिएको वेहोरा उल्लेख गरेको देखिन्छ। यसैगरी जाहेरवाला रोक्साना खातुनको जाहेरी दरखास्तमा मिति 2064 साल चैत्र 27 गते साँझ 6:30 बजेको समयमा निज विपक्षी अफताव आलम र महताव आलम समेतले भोलिपल्ट हुने संविधान सभा चुनावलाई आफ्नो पक्षमा पार्न निज अफताब आलमकै आफन्तको खपडावाला घरमा बम पडकाउँदा मेरो छोरा ओसी अख्तरलाई लागी घाईते बनाईदिएकोमा सो घाईते छोरा छट्पटाउँदा इलाज गराउनुको सट्टा रहस्यमय घटना खुलासा होला भनी अफताव आलमकै मतका व्यक्तिको ईट्टा भट्टामा ईटा पोल्ने प्वालको आगोको भुंग्रोमा जिउँदै छोरालाई लगी हाली कर्तव्य गरी मारेको कुरा थाहा पाई निज अफताव आलमको घरमा गई सोधपुछ गर्दा तिम्रो छोरा मरिसक्यो, तिम्रो छोराको जुत्तासम्म शेख मोबिन आलमको जिम्मामा छ भनी भन्दा सो जुत्तासम्म फिर्ता दिएको, निज अपराधीहरुले सुरक्षाबल प्रशासन समेतको सहयोग र सक्रियतामा घटना र अपराधको दशी सबुद लोप पार्ने षड्यन्त्र रची मारी छोराको लाशसम्म नदिएको वेहोराको जाहेरी दरखास्त दिएको देखिन्छ।
- जाहेरवाला श्रीनारायण सिंह राजपुतको जाहेरी दरखास्तमा सो वारदातको बारेमा कसरी जानकारी प्राप्त हुन आएको हो खुलेको देखिदैन। निजले सुरु अदालतमा बकपत्र गर्दा सो मितिको घटना आँखाले नदेखेको भनी उल्लेख गरेको देखिन्छ। जाहेरी वेहोरामा सुरक्षाबल समेतको सहयोग लिई ईट्टा पकाउने भट्टामा दाउरा हाल्ने प्वालमा हाली लाश बेपत्ता पारिएको भनी उल्लेख गरेको देखिन्छ सुरक्षा बलको सहयोग लिई लाश बेपत्ता पारिएको भनिएतापनि अभियोगपत्रमा सुरक्षाकर्मीलाई प्रतिवादी नै बनाईएको देखिदैन। जाहेरवाला प्रत्यक्षदर्शी नरहेको र वारदातको जानकारीको स्रोत नखुलेको तथा सुरक्षाबलको सहयोग लिई लाश बेपत्ता पारिएको जाहेरी बेहोरा बिश्वासनीय देखिन आएन। यसैगरी जाहेरवाला रोक्साना खातुनको जाहेरी दरखास्तमा सुरक्षाबल प्रशासनको सहयोग र सक्रियतामा ओसी अख्तरलाई ईट्टा भट्टाको ईट्टा पोल्ने प्वालको आगोको रापमा हाली जलाइएको बेहोरा उल्लेख गरेको देखिन्छ। सुरक्षाबल र प्रशासन समेतको सहयोग र सक्रियतामा मृतकलाई जलाएको भनिएकोमा कुन सुरक्षाबल र प्रशासनको सहयोग र सक्रियतामा सो कार्य भएको हो अभियोग दावीमा खुल्न नआएको ती व्यक्तिहरुलाई प्रतिवादी नबनाइएको समेतका आधारमा जाहेरी बेहोरा विश्वसनीय देखिन आएन। निज जाहेरवालको अदालतमा बकपत्र हुन नसकेको अवस्था पनि देखिन्छ।
- मृतकको लाश ईट्टा भट्टाको आगोमा हाली लाश बेपत्ता पारिएको अभियोग दावी देखिन्छ। आगोमा लाश पोल्दा लासको मांसपेशी लगायतका कुरा जली वाष्पिकरण भई लोप हुन सक्छ तर लाशको हड्डी खरानी (अस्तु)((Human ashes) मा परिणत हुन्छ। खारानीको (Forensic test) बाट मानव शरीर जलाई खरानीमा परिणत भएको कुरा पत्ता लाग्न सक्छ भन्ने कुरा चिकित्सकिय विधिशास्त्रको स्थापित मान्यता हो।[1] त्यसकारण मान्छे जलाई दशी लोप हुन सक्ने होइन, दशीको रुपसम्म परिवर्तन हुन सक्ने हो। खरानीको (Forensic test) गरी मानव शरीर जलाइएको हो भन्ने कुरा पुष्टि गर्ने प्रमाणको भार वादीमा नै रहन्छ।
- वारदात भएको दावी गरिएको राजा ईट्टा भट्टामा मिति 2065/01/15 मा खरानी मध्येबाट प्लाष्टिकको सानो 2 बोरामा प्रहरीले खरानी उठाई परीक्षणका लागि पठाइएको देखिन्छ। सो को जाँच गर्ने Central Police Forensic Science Laboratory को Benzidine test गरी दिएको मिति 2065/0२/१3 को प्रतिवेदनमा Blood could not be detected भन्ने राय आएको देखिन्छ। यसका अतिरिक्त जिल्ला प्रहरी कार्यालय रौतहटले केन्द्रिय प्रहरी विधिविज्ञान प्रयोगशालामा मिति 2065/01/23 मा बम बिस्फोटन भएको भनिएकोमा ठाउँको माटोको परीक्षण गरिदिन निम्म प्रश्नहरु राखी पठाइएको देखिन्छः
- वारदातस्थलबाट उठाई ल्याएको नमुना नं.1,2,3 र 4 समेतमा रहेको माटोमा बम बिष्फोटन भएको जस्तो देखिन्छ, देखिदैन ?
- बम बिस्फोटन हुँदा मानिसको मृत्यु भएको जस्तो देखिन्छ देखिदैन ?
- भए सो माटोमा भएको रगत मानिसको हो वा जनावरको हो?
- अन्य अनुसन्धान कार्यमा सहयोग हुने केही कुरा भए सो कुरा समेत खुलाई दिनु हुन ?
- सो को जवाफमा केन्द्रिय प्रहरी विधिबिज्ञान प्रयोगशालाले मिति 2065/02/20 मा बिस्फोटक पदार्थ परीक्षण गर्ने सुबिधा प्रयोगशालामा नरहेको भनी जवाफ पठाएको देखिन्छ। अर्थात वादी दावीको शेख इन्द्रिसको घरकोठा वा अफताब आलमको घरमा बम बिस्फोट भएको भन्ने वादीले पुष्टि गर्न सकेको देखिएन।
- जाहेरवाला श्रीनारायण सिंह राजपुतको अदालत समक्ष बयान गर्दा आफ्नो छोरा त्रिलोक प्रताप सिंह उपर जिल्ला अदालतमा मुद्दा चलेको कुरा स्वीकार गरेको देखिन्छ। प्रतिवादीको तर्फबाट प्रतिरक्षा गर्ने कानून व्यवसायीहरुले रौतहट जिल्ला अदालतमा वादी नेपाल सरकार पिण्टु भन्ने त्रिलोक प्रताप सिंह प्रतिवादी रहेको 2064 सालको फौ.नं.0068 को मानव ओसारपसार मुद्दा मिति 2064/09/03 मा दायर भई अदालतबाट मिति 2065/09/20 मा फैसला भएको र सो फैसलामा पिण्टु भन्ने त्रिलोक प्रताप सिंह फरार प्रतिवादी रहेको भन्ने देखिन्छ।
- राज ईट्टा भट्टाका कामदारहरु मिति 2064/12/27 मा साँझ देखि रातीसम्म सो ईट्टा भट्टामा नै रहे बसेको भन्ने अनुसन्धानबाट देखिन्छ। ती सबै कामदारहरुले मृतक लाश ईट्टा भट्टामा जलाइएको होईन भनी मौकामा र अदालतमा बकपत्र गरेको अवस्था छ। मृतक लाश ईट्टा भट्टामा जलाई नष्ट गर्ने जस्तो गम्भीर कसूरमा त्यहाका कामदारहरुले सहमती दिएका होलान भन्ने कुरा विवेकसंगत देखिएन। यदी सो कसूरमा सहमती जनाएको भन्ने वादी दावी हो भने ती व्यक्तिहरु पनि कसूरदार हुने भई वादीले ती व्यक्तिहरुलाई पनि प्रतिवादी कायम गरी अभियोग लगाउनुपर्ने हो। ती व्यक्तिहरु मृतक लाशलाई ईट्टा भट्टामा जलाउन सहमत रहेको वादी दावी रहेको अवस्थामा ती व्यक्तिहरुलाई प्रतिवादी कायम नगरी अभियोग दायर गरेबाट नै अभियोग दावी बिरोधाभासयूक्त रहेको देखिन आयो।
- अब अनुसन्धानको क्रममा तयार गरिएको घटनास्थल मुचुल्का, बरामदी मुचुल्का र घटनाविवरण कागजको विवेचना गरौं। अनुसन्धानकर्ताले मिति 2065/01/14 मा जाहेरी दरखास्तमा उल्लेखित शेख इन्द्रिसको गोठ घरको घटनास्थल मुचुल्का तयार गरेको देखिन्छ। सो मुचुल्कामा शेख इन्द्रिसको गोठ घरको 6 वटा कोठा रहेको देखिन्छ। सो मध्ये 1 नं. कोठामा परालको भूस रहेको, भूसको भाग निकाली हेर्दा सामान्य रहेको देखिएको सो घर पुरानो र नयाँ खपडाले छाएको अवस्थामा रहेको, घरको पूर्व दक्षिण साइडको छानामुनी पुरानो माकुराको जाल लागेको रहेको देखिएको छ। 2 नं. कोठामा प्रवेश गरी हेर्दा छानमुनी माकुराको जाल लागेको रहेको देखिएको, भुई जमिनमा गाई बस्तुको खानको लागि भूस राखेको अवस्थामा रहेको, 3 नं. कोठामा भूई जमिनमा खाना पकाउने दाउरा राखिएको र छानामुनी माकुराको जाल लागेको, 4 नं. कोठामा गाईबस्तु बाख्रा बाँध्ने गरेको स-साना किल्ला गाडिएको अवस्थामा रहेको, 5 नं. कोठामा भूई जमिनमा बालुवा रहेको र सो बालुवा माथि आलु रहेको सो बालुवा रहेको, सो कोठाको छानामुनी माकुराको जाल लागेको रहेको, 6 नं. कोठामा टयाक्टर गाडीको पुरानो पार्टपूर्जाहरु रहेको देखिएको र छानमुनी माकुराको जालो लागेको रहेको सो कोठाहरु अगाडी रहेको बराण्डामा धान राख्ने भकारी रहेको र छानामुनी माकुराको जाल लागेको देखिएको अवस्था मुचुल्काबाट देखिन्छ। यसैगरी मुचुल्कामा प्रत्येक कोठाहरुमा रहेको चिजबस्तुहरु हटाई हेर्दा सामान्य अवस्थामा रहेको, सो कोठाहरुमा कुनै प्रकारको बिष्फोटन नभई क्षति भएको जस्तो नदेखिएको सो कोठाहरु मध्ये नं.1,2,3,4 कोठाहरुबाट भूई जमिन खनी छुट्टाछुट्टै माटो निकाली प्रहरीले आफ्नो साथमा लगेको भन्ने बेहोरा लेखाएको देखिन्छ।
- यसैगरी बारदात दावीको राज ईट्टा उद्योग प्रा.लि. को मिति 2065/01/15 मा तयार गरेको घटनास्थल मुचुल्कामा पन्ध्र दिन अगावै ईट्टा पकाएको खरानी रहेको, सो खरानी मध्येबाट प्लास्टिकको सानो 2 बोरामा प्रहरीले खरानी उठाई लगेको सो ईट्टा भट्टामा मानिस जलाएको नदेखिएको भनी विवरण खुलाएको देखिन्छ। यसैगरी जाहेरी दरखास्तमा उल्लेखित मोहम्मद अफताब आलमको घरको मिति 2065/01/15 मा गरिएको घटनास्थल मुचुल्कामा सो घरको सबै कोठाहरु जाँच गर्दा ठीक दुरुस्त हालतमा रहेको, सो कोठा भित्र कुनै प्रकारको बम बिस्फोटन नभएको देखिएको भनी बिबरण तयार गरेको देखिन्छ। यसैगरी अनुसन्धानको क्रममा मिति 2065/01/20 मा तयार गरिएको घटना स्थल बरामदी मुचुल्कामा प्रतिवादी मोहम्मद अफताब आलम र प्रतिवादी मोहम्मद महताब आलम, प्रतिवादी शेख भदई, प्रतिवादी मोहम्मद मोविन आलमको घरमा आपराधसंग प्रमाण लाग्ने दशीको कुनै सबूद प्रमाण फेला नगरेको भनी विवरण तयार गरेको देखिन्छ।
- मृतक भनिएको ओसी अख्तरको स्वीटर, जुत्ता, मोजाहरुको परीक्षण प्रतिवेदनमा जाँच गर्ने Central Police Forensic Science Laboratory को Benzidine test गरी दिएको मिति 2065/0२/१3 को प्रतिवेदनमा Blood could not be detected रगत फेला नपरेको अवस्था छ। राजा ईट्टा उद्योग प्रा.लि.का प्रोपराईटर मो. एखलाल आलम सो उद्योगमा काम गर्ने मोजामिल आलम, शेष मलकार, आवास मिया, मोसुदिन मियाले अनुसन्धानको क्रममा गरेको कागजमा मिति 2064/12/27 मा ईट्टा भट्टामा काम गर्ने साहु तथा कामदार बाहेक अन्य कोही पनि नआएको मृतक लाश ल्याई ईट्टा पकाउनेमा जलाई नष्ट गरेको होईन भनी कागज गरेको देखिन्छ।
- मृतक भनिएका पिण्टु भन्ने त्रिलोक प्रताप सिंह रौतहट जिल्ला अदालतमा मिति 2064/09/3 मा चलेको 064 को फौ.नं.68 को मानव ओसारपसार मुद्दाको फरारी प्रतिवादी रहेको रौतहट जिल्ला अदालतको मिति 2065/09/20 को फैसलाबाट देखिन्छ। आफ्नो पति मृतक भनिएका ओसी अख्तर मिया मजदुरको सिलसिलामा विदेश गएको भनी निजकी श्रीमित आमना खातुनले रौतहट जिल्ला अदालतमा 2076 साल कार्तिकमा सत्यतथ्य खुलाई निवेदन दिएको देखिन्छ र सोही बेहोराको अदालतमा बकपत्र गरेको देखिन्छ। यसैगरी ओसी अख्तरका ससुरा समसुल मियाले 2064 सालको निर्वाचनको 3/4 दिनपछी ओसी अख्तर मिया र त्रिलोक प्रताप सिंहले आफूसंग सर्लाही जिल्लाको लालबन्दीमा भेट गरेको त्यसपश्चात मात्र घरबाट निस्केका हुन भनी अदालतमा बकपत्र गरेको देखिन्छ। मृतक भनिएका ओसी अख्तरका काका जाजुल मिया कवारीले मिति 2064/12/27 को कागज झुठ्ठा हो। बम बिष्फोट भएको छैन, आफ्नो भतिजो मरेको भन्ने झुठ्ठा हो। मृतक भनिएका ओसी अख्तरले 2064 सालको चुनावको 3/4 दिनपछि सर्लाहीको लालबन्दीमा समसुल मियालाई भेटेका थिए। झुठ्ठा मुद्दा चलाउन वर्ष दिन पछि मृत्युदर्ता प्रमाणपत्र बनाएका थिए। मिति 2065/01/28 मा आफूलाई जवरजस्ती कागज गराएका थिए भनी बकपत्र गरेको देखिन्छ। उल्लेखित वादीका साक्षीहरुको बकपत्रबाट वादी दावी पुष्टि हुन सकेन।
- मृतक भनिएका व्यक्तिहरुलाई ईट्टा भट्टाको आगोको भुंग्रोमा जलाएको भए सो को खरानी (Human ashes) बाट मान्छे जलाएको फोरेन्सिक जाँचबाट पुष्टि गर्नुपर्नेमा सो पुष्टि हुन नसकेको अवस्था एकातिर छ भने बम बिस्फोटनबाट घाईते भएको दावी गरिएका त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाको कपडा र जुत्तामा रगत फेला नपरेको अवस्था अर्कोतिर छ। वादी नेपाल सरकारले तयार गरेको घटनास्थल मुचुल्कामा बम बिस्फोट नभएको र ईट्टाभट्टामा मानिस जलाएको नदेखिएको र सो कुरा ईट्टा भट्टामा काम गर्ने व्यक्तिहरुको बकपत्रबाट पुष्टि भएको अवस्था छ।
- सर्वोच्च अदालतको आदेश बमोजिम पुनः अनुसन्धान हुँदा मिति 2076/04/25 मा घटना विवरण कागज गर्ने शैलेन्द्र साह समेतका व्यक्तिहरुले “बम बिष्फोटनबाट पूर्ण रुपले क्षति भएको शेख इन्द्रिसको गोठा घर यी सबै प्रतिवादीहरु भारतीय नागरिक आफन्तहरुको सहयोगमा सोही राती पुनः गोठ घर निर्माण गरी सो गोठ घरमा गाईबस्तुको खानको लागि भूस राखी त्यसपछी अन्य पुराना घरहरुबाट माकुराको जालो ल्याई सो घरभित्र घरको छानामा जालो लगाई घटनास्थललाई कृत्रिम रुपमा परिवर्तन गरेका हुन” भनी कागज गरेको देखिन्छ।2 माकुराको जालो अति संवेदनशिल रहने त्यसलाई उठाउदा वा चलाउदा नष्ट हुने र एक ठाउँबाट अर्को ठाउँमा लगी जालो लगाउन सम्भव छैन भन्ने सामान्य ज्ञानको विषय हो। घटना विवरण कागज गर्ने मध्येका शैलेन्द्र साहले अदालतमा उपस्थित भई बकपत्र गर्दा “माकुराको जालो एक घरबाट अर्को घरमा लगेर राख्न हु- बहु सकिदैन” भनी खुलाएको पनि देखिन्छ। बम बिष्फोटनबाट क्षतिग्रस्त गोठ घर पुनः निर्माण गरी गोठ घरमा भूस राख्न सकिएला तर पुरानो घरबाट माकुराको जालो ल्याई घरको छानोमा जालो लगाउन सकिन्छ भन्ने कुरा विश्वसनीय देखिन आएन। अनुसन्धानकर्ताबाट मिति 2065/01/14 मा तयार गरिएको घटनास्थल मुचुल्काको सत्यता र मौलिकता (Truthfulness, Originality) गोठघरको छानोमा लागेको माकुराको पुरानो जालोबाट पुष्टि हुन्छ।
- अनुसन्धानको क्रममा संकलन गरिएको घटनास्थल मुचुल्का बारदातको धरातलिय प्रमाण (Foundational Evidence) मानिन्छ। यसको जगमा अन्य प्रमाणहरुको प्रमाणिक स्तर देखिन्छ विष्फोटन भएको भनिएको दावीको गोठघरको अवस्था सामान्य रहेको, सो कोठाहरुमा कुनै प्रकारको विष्फोटन नभई क्षतिभएको जस्तो नदेखिएको भनी घटनास्थल मुचुल्कामा नै उल्लेख भएको अवस्थामा तथा सो घटनास्थल मुचुल्कालाई झुठा सावित गरी सो गोठघरमा बम बिष्फोटन भएको हो भनी पुष्टि हुने सोही स्तरको भरपर्दो र विश्वसनीय ठोस र बस्तुनिष्ठ प्रमाणको अभावमा अदालतले वादी दावी बमोजिम सो गोठघरमा बम बिष्फोटन भएको हो भनी मान्न मिल्ने देखिएन। सो गोठघरमा बम बिष्फोटन भएको हो भनी वादीले नै पुष्टि गर्नुपर्छ। सोको ठोस र बस्तुनिष्ठ प्रमाणको अभावमा वादी दावी पुग्न सक्दैन। 2065 सालको WO-0038 को मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नचलाउने गरी मिति 2069/02/16 मा गरिएको निर्णयसम्म बदर गरी पुनः अनुसन्धान गर्न आदेश गरेको सम्म हो अनुसन्धानबाट संकलित सबुत प्रमाण बदर गरेको अवस्था होईन। मौकाको घटनास्थल मुचुल्का मिसिलमा यथावत रहे भएकै देखिन्छ जसमा प्रष्टसँग बिष्फोटको घटना घटेको छैन भन्ने बेहोरा उल्लेख रहेको छ।
- शैलेन्द्र साह समेतले मिति 2064/12/30 मा दिएको जाहेरी दरखास्तमा मिति 2064/12/27 मा मो. अफताब आलमको घरमा बम बिष्फोट भएको थियो भनी उल्लेख गरेको देखिन्छ। मो. अफताब आलमको घर र शेख इन्द्रिसको घर परस्परमा संधियार नरहेको भन्ने बस्तुस्थिति मुचुल्काबाट देखिन्छ। बम बिष्फोटनको दावी गरिएको घर शेख इद्रिसको घर हो वा अफताव आलमको घर हो अनुसन्धान स्पष्ट रहेको भन्ने देखिएन।
- अनुसन्धानको क्रममा अफताब आलमको घरमा समेत मिति 2065/01/15 मा घटनास्थल मुचुल्का खडा गरेको देखिन्छ। सो घरमा बीचमा आगन भई चारैतिर 8 बटा कोठाहरु रहेको, उक्त कोठाहरु जाँच गर्दा बम पडकेको नभई ठीक दुरुस्त हालतमा रहेको माथिल्लो तल्लामा प्रवेश गरी हेर्दा 8 वटा कोठा र 2 वटा ट्वाईलेट रहेको, उक्त कोठाहरु जाँच गर्दा ठीक दुरुस्त हालतमा रहेको सो कोठा भित्र कुनै प्रकारको बम बिष्फोटन नभएको देखिएको भनी विवरण तयार गरेको देखिन्छ। यसरी यस घटना विवरण कागजबाट समेत बम बिष्फोटको बारदात भएको भन्ने देखिएन।
- बम बिष्फोटनका घाईतेहरुलाइ निज अफताब आलमको मतका व्यक्तिको राजा ईट्टा भट्टामा लगी चिम्नीमा हाली जलाई नष्ट गरिएको भनिएको राजा ईट्टा भट्टाको पनि मिति ०65/01/15 मा घटनास्थल मुचुल्का खडा गरेको देखिन्छ। मुचुल्कामा सो ईट्टा भट्टामा 15 दिन अगाबै ईट्टा पकाएको खरानी रहेको, सो खरानी मद्येबाट प्लाष्टिकको सानो 2 बोरामा प्रहरीले खरानी उठाई लगेको सो ईट्टा भट्टा देखि दक्षिण र पश्चिममा लेवर बस्ने सानो फुसको छाप्रो रहेको, सो ईट्टा भट्टामा मानिस जलाएको नदेखिएको भनी विवरण तयार गरेको देखिन्छ। वादीले नै तयार गरेको घटनास्थल मुचुल्कामा “सो ईट्टा भट्टामा मानिस जालएको नदेखिएको” भनि रहेको अवस्थामा उक्त घटना स्थल मचुल्कालाई झुठ्ठा सावित गरी मानिस जलाईएको देखिने कुनै ठोस सबूद प्रमाणको अभावमा उक्त राजा ईट्टा भट्टामा मानिस जलाईएको हो भनी निश्कर्षमा पुग्न सक्ने देखिएन।
- अनुसन्धानको क्रममा मिति 2065/01/20 मा मोबिन आलमको घर, शेख भदैको घर, मो. अफताब आलम र मो. महताब आलमको घरको अलग अलग खानतलासी बरामदी मुचुल्का तयार गरेको देखिन्छ। ती सबै मुचुल्कामा “अपराधसंग प्रमाण लाग्ने दशीका सामान फेला नपरेको” भन्ने देखिन्छ। यस खानतालासी, बरामदी मुचुल्काबाट प्रतिवादीहरु उपरको अभियोग दावी पुष्टि हुने देखिएन।
- अनुसन्धानको क्रममा कागज गर्ने राजा ईट्टा भट्टाका मो. एकलाख आलम, मोजामिल आलम, शेष मलकार, आवास मिया, मोसुदिन मियाले मिति 2064/12/27 मा ईट्टा भट्टामा काम गर्ने साहु तथा कामदार बाहेक अन्य कोही पनि नआएको मृतक लाश ल्याई ईट्टा पकाउनेमा जलाई नष्ट गरेको होईन भनी एकै मिलानको कागज गरेको देखिन्छ। कागज गर्ने मध्येका मो. एकलाख आलम, मोजामिल आलम, आवास मियाले अदालतमा उपस्थित भई सोही बेहोरा समर्थन गरेको देखिन्छ। उल्लेखित घटना विवरण कागज एवं बकपत्र वादीका बिरुद्ध प्रमाणमा ग्रह्य हुन्छ। यसबाट राजा ईट्टा भट्टामा मृतक लाश ल्याई जलाईएको अभियोग दावी झुठ्ठा रहेको देखिन आयो।
- घटनाविवरण कागज गर्ने सराजुल मियाले मिति 2065/01/20 मा घटना विवरण कागज गरेकोमा निज अदालतमा उपस्थित भई बकपत्र नगरेकाले प्रमाण ऐन, 2031 को दफा 18 बमोजिम प्रमाणमा ग्रहण गर्न मिलेन। प्रमाण ऐन, 2031 को दफा 18 बमोजिम तहकिकातको सिलसिलामा बुझिएका व्यक्तिहरु तथा खडा गरिएका मचुल्कामा बस्ने साक्षीहरुको अदालतमा सोधपूछ, र जिरहको माध्यमबाट परीक्षण गर्नु आवश्यक हुन्छ तवमात्र साक्षीले अनुसन्धानको सिलसिलामा भनेका कुराहरु विश्वासयोग्य हुन्छ।[2]
- अब सो जाहेरी दरखास्तवाला मध्येका शैलेन्द्र साहको जाहेरी बेहोरा एवं घटना विवरण कागजको विवेचना गरी हेर्दा, निजले मिति 2076/04/2५ मा अनुसन्धान अधिकृत समक्ष “मिति २०६४/१२/२७ गते बेलुका अन्दाजी १८:३० बजेको समयमा म ने.क.पा. एमाले पार्टीबाट २०६४ सालको संविधान सभाको चुनावमा उम्मेदवार थिए। प्रतिवादी मोहम्मद अफताब आलम लगायत हामी चुनावमा भाग लिएको थियौं। चुनाव प्रचार प्रसारको शिलशिलामा घटनास्थल नजिकैमा आई पुग्दा बम बिष्फोटन भएको ठुलो धमाका आएकोमा मैले पनि घटनास्थलमा गई हेर्दा घटनास्थल शेख ईद्रिशको गोठघर पूर्ण रुपले क्षति भएको १५/१६ जना मानिसहरु शक्त घाईते भई उक्त घरको भूईमा छटपटि रहेको र १/२ जना मानिसहरुको मृत्यु समेत भई सकेको थियो। कुनै घाईतेको आँखा, कान, टाउँको थिएन त कोही कसैको हात खुट्टा थिएन सो घटनामा मैले चिनेको मध्ये ओसी अख्तर मियाँको बाँया हात -थिएन, पिन्टु भन्ने त्रिलोक प्रताप सिंहको बाँया खुट्टा, दाँया हात, बाँया तर्फको कान थिएन, निजहरु समेतका सबै घाईतेहरु छटपटी रहेको देखेको हुँ, प्रतिवादी मोहम्मद अफताब आलम, शेख सराज, मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोबिन आलम समेतका प्रतिबादीहरुले तत्कालै घाईतेहरुलाई बोरामा राख्दै गरेको र म समेतका घटनास्थलमा रहेका मानिसहरुलाई यी प्रतिबादीहरुले गाली गलौज गरी गोली हानी मारी दिन्छौ भनि बिभिन्न प्रकारको धाक धम्की दिदै हामीलाई सो ठाउँबाट भगाई दिएका हुन। सो घटनामा परी घाईते भएका मानिसहरुलाई मैले आफ्नै आँखाले प्रत्यक्ष रुपमा देखेको हुँ। घाईते तथा मृतक समेतलाई यि प्रतिबादी मोहम्मद अफताब आलम, शेख सराज, मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोबिन आलम समेतका प्रतिबादीहरुले तत्कालै घाईतेहरुलाई बोरामा राख्दै गरेको देखि प्रहरी लगायत सम्बन्धित सबैलाई खवर गरिदिएको हुँ। सबै घाईतेहरु तथा मृतकहरु समेतलाई प्रतिबादी मोहम्मद अफताब आलमले प्रयोग गर्ने गरेको ट्याक्टर गाडीको टेलरमा लोड गरी आफन्तको राजा ईट्टा उद्योग ईट्टा चिम्नी भट्टामा लगि घाइते समेतलाई अत्यन्त बर्बरतापूर्वक जिउँदै जलाएको हो। बम बिष्फोटनबाट पूर्ण रुपले क्षति भएको शेख ईद्रिसको गोठघर यी सबै प्रतिबादीहरु भारतीय नागरिक आफन्तहरुको सहयोगमा सोही राती पुनः गोठघर निर्माण गरी सो गोठघरमा गाई बस्तुको खानाको लागी भूस राखी त्यस पछि अन्य पुराना घरहरुबाट माकुराको जालो ल्याई सो घर भित्र घरको छानोमा जालो लगाई घटनास्थललाई कृतिम रुपमा परिवर्तन गरेका हुन जुन कुरा ईन्सेकको सचित्र प्रतिवेदनवाट समेत पुष्टी हुन्छ। प्रतिबादी अफताब आलम तत्कालिन सत्ताधारी पार्टीको ब्यक्ति भएको र निजकै सरकार रहेको कारण घटनालाई ढाकछोप गर्नको लागि सारा संयन्त्र परिचालन गरी उक्त मुद्दालाई ढाकछोप गरी दवाउने प्रयत्न अनुरुप रातारात घटनास्थल गोठघर परिवर्तन गरेको कुरा मैले प्रत्यक्ष रुपमा देखेको हुँ।” भन्ने बेहोराको कागज गरेको देखिन्छ। निजले मिति 2064/12/30 मा अफताब आलमको घरमा बम बिष्फोट भएको भनी जाहेरी दिएकोमा घटना विवरण कागजमा शेख इद्रिसको घरमा बम बिष्फोट भएको भनी जाहेरी भन्दा फरक वेहोरा लेखाएको देखिन्छ। यसैगरी सुरु जाहेरीमा सो घटनामा पिण्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मिया लगायत दर्जनौको मृत्यू भएको र त्यसमा मृत्यु भएका दर्जनौ लाशलाई घटनास्थल नजिकैको निजको आफन्तको ईट्टा पकाईरहेको चिम्नीमा सो लाशहरुलाई लगी जलाई नष्ट गरेको भन्ने बेहोरा लेखाएको देखिन्छ। घटना विवरण कागज मा 15/16 जना व्यक्ति घाईते भएको, ओसी अख्तर र त्रिलोक प्रताप सिंह घाईते भई छटपटाइरहेको, घाईते भएका मानिसहरुलाई प्रत्यक्ष आफ्नै आँखाले देखेको हुँ भनी लेखाएको र सो बेहोरा मिलान हुने गरी अदालतमा बकपत्र गरेको देखिन्छ। निजले भनेको बारदातमा मानिसहरुको मृत्यु भएको हो वा घाईते भएका हुन? निजको भनाईमा एकरुपता नदेखिएको अवस्था छ। बम बिष्फोटका घाईतेहरुलाई आफूले प्रत्यक्ष देखेको भनी घटना विवरण कागज र अदालतमा बकपत्र गरेकोमा सुरु जाहेरीमा सो घटनाको आफू प्रत्यक्षदर्शी रहेको लेखाउन सकेको देखिएन। 2064 सालको निर्वाचन अघि स्मार्ट मोबाईलको प्रयोग सामान्य रहेको तथा निजले बकपत्रको स.ज.50 मा आफूले फोन मार्फत बिभिन्न सञ्चार माध्यमलाई खबर गरेको भनेकोमा निजले सो बारदातको फोटो खिची पेश गर्न सकेको देखिएन। निजले फोटो खिची पेश नगरेको अवस्था समेतबाट निजले प्रत्यक्ष देखेको भन्ने भनाई विश्वासयोग्य देखिन आएन। यसैगरी घटना विवरण कागजमा बम बिष्फोटबाट पूर्णरुपले क्षति भएको गोठ घर पुनः निर्माण गरी अन्य घरबाट माकुराको जालो ल्याई सो घरभित्र छानोमा जालो लगाएको भनी बेहोरा लेखाएको देखिन्छ। क्षतिग्रस्त घर पुनः निर्माण गर्न संभव छ तर एउटा घरमा रहेको माकुराको जालो अर्को घरमा ल्याएर लगाउन संभव देखिदैन। निजले बकपत्रमा आफै सो कुरा स्वीकार गरेको देखिन्छ निजले घटना विवरण कागजमा घटनास्थललाई कृत्रिम रुपमा परिवर्तन गरेको भनेकोमा अदालतमा गरेको बकपत्र को स.ज.20 मा मिति 2065/01/14 मा गरेको घटनास्थल प्रकृति मुचुल्का सही रहेको अनुसन्धान अधिकारीले घटना लगत्तै संकलन गरेको प्रमाण साँचो हो भन्ने स्वीकार गरेको देखिन्छ। निजको बकपत्र र घटना विवरण कागज परस्परमा बिरोधाभासयुक्त रहेको देखिन्छ। यसैगरी त्रिलोक प्रताप सिंह र ओसी अख्तर घाईते भई हात, खुट्टा, पेटमा चोट लागी रगत बगेको भनी भनेकोमा फोरेन्सिक रिपोर्टमा ती ब्यक्तिहरुको कपडामा रगत फेला नपरेको भन्ने प्रतिवेदन मिसिल संलग्न छ।
- साक्षीले अदालतमा बकपत्र गर्दा कुनै बारदातको प्रत्यक्षदर्शी हुँ भनी बारदातको विवरण खुलाएको भन्ने आधारमा मात्र निर्णायक प्रमाणको स्थान ग्रहण गर्न सक्दैन साक्षीको प्रत्यक्षदर्शीता बस्तुपरक र यथार्थपरक देखिनुपर्छ र अन्य स्वतन्त्र प्रमाणले समर्थित हुनुपर्छ। सोको विश्वसनीयता परीक्षण गर्नुपर्छ। घटनाविवरण कागज र निजले अदालतमा गरेको बकपत्र तथा सुरु जाहेरी वेहोरामा एकरुपता नदेखिएको, बकपत्र परस्परमा बिरोधाभासयुक्त रहेको र निजको साक्षी कथन अस्वाभाविक रहेकोमा सोको प्रमाणिक मुल्यमा ह्रास आउने नै हुन्छ। वादीका साक्षी शैलेन्द्र साह समेत 2064 सालको संविधान सभाको निर्वाचनमा एउटै क्षेत्रबाट उम्मेदवार रही प्रतिवादी मो. अफताब आलम बिजयी भएको र निज शैलेन्द्र साह पराजित भएको मिसिलबाट देखिएको अवस्थामा निजको बकपत्रमा परस्परको राजनैतिक प्रतिद्वन्दिता पनि मिसिएको छ की भनी हेर्नुपर्छ। म ज अ फोरमका अब्दुल जवार, त म लो प का नागेन्द्र प्र. सिंह, स्वतन्त्र उम्मेदवार राम विनोद साह सोनारले अदालतमा बकपत्र गर्दा शैलेन्द्र साहले राजनितिक प्रतिशोध साध्न उजुरी दिएको खुलाएको देखिन्छ। साक्षी शैलेन्द्र साह र प्रतिवादी बीचको पारस्परिक प्रतिद्वन्दिता देखिएको अवस्थामा बिरोधाभासयुक्त, परस्परमा एकरुपता समेत नभएको बकपत्रलाई बिश्वसनीय र स्वतन्त्र प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन।
- सर्वोच्च अदालतबाट मिति 2069/02/16 मा पुनः अनुसन्धान गर्नु भनी भएको आदेश पश्चात मिति 2076/12/11 देखि अनुसन्धान गर्दा निम्न प्रमाणहरु संकलन गरेको देखिन्छः-
- मिति 2076/03/11 मा मेवालाल राय यादवले गरिदिएको घटना विवरण कागज।
- मिति 2076/03/12 मा शिव साह कानु, धरिछन साह तेली, रामसोगारथ यादव र रबिकुमारले गरिदिएको घटना विवरण कागज।
- मिति 2076/04/24 मा राजेश कुमार र असगर अली खाँले गरिदिएको घटना विवरण कागज।
- मिति 2076/04/25 मा शैलेन्द्र साहले गरिदिएको घटनाविवरण कागज।
- मिति 2076/03/25 मा सुनर राम, राम बहादुर साह र उदय नारायण साहले गरिदिएको घटनाविवरण कागज।
- मिति 2076/04/07 मा विजेन्द्र साहले गरिदिएको घटना विवरण कागज।
- अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकको प्रतिवेदन।
- मिति 2076/03/28 मा सफी अहमदले गरिदिएको घटना विवरण कागज।
- मिति 2076/06/30 मा सफी अहमदले ज्यान मार्ने उद्योगमा दर्ता गरेको जाहेरी दरखस्त।
- उमाशंकर साहको दर्ताको सवारी दर्ता किताब र ट्याक्टर।
- मिति 2076/07/03 मा मोहम्मद अफताब आलमसंग लिएको ततिम्बा बयान।
- मिति 2076/07/04 मा समसुल मियाले ट्रयाक्टर सनाखत गरिदिएको कागज।
- मिति 2076/07/03 मा शेख ओलजाहिरले गरिदिएको घटनाविवरण कागज।
- मिति 2076/07/04 मा कमलादेवी सिंहले गरिदिएको घटनाविवरण कागज।
- मिति 2076/07/04 मा जहिफ अन्सारीले गरिदिएको घटना विवरण कागज।
- मिति 2076/07/04 मा राजेश प्रसाद सहनीले गरिदिएको घटनाविवरण कागज।
- मिति 2076/07/04 मा अनुसन्धान अधिकृतले तयार गरेको घटना विवरण कागज जसमा मेवालाल राय यादव, सुनर महरा, राम बहादुर साहले सही गरेको र जनप्रतिनिधिहरुले सही गर्न इन्कार गरेको।
- मिति 2076/07/05 मा उमाशंकर साहले गरिदिएको घटना विवरण कागज।
- मिति 2076/07/08 मा लखिन्द्र पटेलले गरिदिएको घटना विवरण कागज।
- मिति 2076/07/09 मा प्र.ना.उ. इन्द्र प्रसाद सुवेदीले गरिदिएको घटनाविवरण कागज।
- मिति 2076/07/09 मा गरिनारायण साह, परीक्षण साह तेली, शंकर साह तेली, गेनालाल साह कानुले गरिदिएको घटना विवरण कागज।
- मिति 2076/07/12 मा प्र.ना.उ. राजिव बहादुर बस्नेतले गरिदिएको घटना विवरण कागज।
- मिति 2076/07/13 मा प्र.ना.नि. ईश्वर बिक्रम शाहले गरिदिएको घटना विवरण कागज।
- मिति 2076/07/13 मा गौरीशंकर रामले दिएको जाहेरी दरखास्त।
- मिति 2076/07/15 मा प्र.ना.उ. पुरुषोत्तम कडेलले गरिदिएको घटनाविवरण कागज।
- 2076 सालमा घटनाविवरण कागज गर्ने मध्येका मेवालाल राय यादव, शिव साह कानु, रवि कुमार, सुनर राय, राम बहादुर साह, हरि नारायण साह, परीक्षण साह तेली, शंकर साह तेली र शैलेन्द्र साहले अदालतमा उपस्थित भई घटना विवरण कागज समर्थन गरेको भन्ने देखिन्छ भने सो मध्ये सफी अहमद, समसुल मिया, राजेश प्रसाद सहनी, उमाशंकर साह र लखिन्द्र पटेलले अदालतमा बकपत्र गर्दा घटना विवरण कागज विपरित वेहोराको बकपत्र गरेको देखिन्छ।
- अब संकलित प्रमाणबाट बम बिष्फोट लगायतका बारदात पुष्टि हुने हो वा होईन भन्नेतर्फ बिचार गरौ। मिति 2076/03/12 मा घटना विवरण कागज गर्ने मध्येका धरिछन साह तेली र रामसोगारथ यादव अदालतमा उपस्थित भई बकपत्र गरेको देखिएन। मिति 2076/03/25 मा कागज गर्ने मध्येका उदयनारायण साह अदालतमा उपस्थित भई बकपत्र गरेको देखिएन। मिति 2076/04/07 मा घटना विवरण कागज गर्ने विजेन्द्र साहले अदालतमा उपस्थित भई बकपत्र गरेको देखिएन। मिति 2076/04/07 मा घटना विवरण कागज गर्ने कमला देवी सिंह अदालतमा उपस्थित भई बकपत्र गरेको देखिएन। मिति 2076/07/09 मा घटना विवरण कागज गर्ने मध्येका गेनालाल साह कानु अदालतमा उपस्थित भई बकपत्र गरेको देखिएन। प्रमाण ऐन, 2031 को दफा 18 बमोजिम तहकिकातको सिलसिलामा बुझिएका व्यक्तिहरु तथा खडा गरिएका मचुल्कामा बस्ने साक्षीहरुको अदालतमा सोधपूछ, र जिरहको माध्यमबाट परीक्षण गर्नु आवश्यक हुन्छ तवमात्र साक्षीले अनुसन्धानको सिलसिलामा भनेका कुराहरु विश्वासयोग्य हुन्छ।[3] घटना विवरण कागज गरेकोमा निज अदालतमा उपस्थित भई बकपत्र नगरेकाले प्रमाण ऐन, 2031 को दफा 18 बमोजिम प्रमाणमा ग्रहण गर्न मिलेन।
- मिति 2076/03/11 देखि मिति 2076/07/15 सम्म बिभिन्न मितिमा घटना विवरण कागज गर्ने मध्येका मेवालाल राय यादव, शिव साह कानु, रवि कुमार, सुनर राम र राम बहादुर साह, हरिनारायण साह, परीक्षण साह तेली, शंकर साह तेलीले र गौरीशंकर रामले अदालतमा उपस्थित भई घटना विवरण कागज समर्थन गरेको देखिन्छ।
- हरिनारायण साहले मिति 2076/07/09 मा अनुसन्धान अघिकृत समक्ष कागज गरेको देखिन्छ।निजले अदालत समक्ष सोही बेहोराको बकपत्र गरेको देखिन्छ। बम बिष्फोट हुँदा घरमा आगो लागेको, घरको छाना उडेको, घरको वाल भत्केको मिति 2064/12/28 मा घरको निर्माण गरिएको हो भनी बकपत्र गरेकोमा निजले नै सोको फोटो छैन भनी भनेको पाइन्छ। बकपत्रको स.ज. ४१ मा बमले आगो लागेको भनेकोमा स.ज.55 मा बम बिष्फोटसम्म भएको हो आगो लागेको थिएन भनी परस्परमा बिरोधाभासपूर्ण बकपत्र गरेको पाइन्छ। बकपत्रको क्रममा त्रिलोक प्रतापको बायाँ हात, बायाँ खुट्टा थिएन भनेको पाईन्छ जुन कुरा अन्य साक्षीहरु शैलेन्द्र साहको बकपत्र भन्दा फरक देखिन्छ। बाहिर पत्रकारहरु आएका थिए भनेकोमा पत्रकारले घाईते भनिएका व्यक्तिहरु लगायत बारदात स्थलको फोटो खिचेको र पेश गरेको देखिएन। निजले बकपत्रमा जनताहरुलाई पुलिसद्वारा दमन गर्न लगाई घटनालाई ढाकछोप गर्न लगाएको भनेकोमा अपराध ढाकछोप गर्न पुलिस समेत प्रयोग गरेको कुरा विश्वसनीय देखिन आएन। यसै गरी आफू वारदातको प्रत्यक्षदर्शी रहेको भनेकोमा मृतक भनिएका पिण्टु भन्ने त्रिलोक प्रताप सिंहको कपडाको रंग थाहा नभएको भनेको पाइन्छ। बिष्फोट भएको भनिएको घरमा कोठा छुट्याइएको थिएन भनी बकपत्र गरेकोमा सो गोठ घरमा 6 वटा कोठाहरु रहेको मिसिल प्रमाणबाट देखिन्छ। निजले मिति 2064/12/27 मा भएको भनिएको बारदातको विषयमा मिति 2076/07/09 मा मात्र कागज गरेकोमा 12 वर्षपछी मात्र जानकारी दिनुपर्ने कुनै युक्तियुक्त कारण पेश गर्न सकेको देखिएन। डरत्रासको कारण प्रहरीलाई जानकारी नगराएको भनेकोमा कुनै पनि प्रतिवादीले धम्क्याएको थिएन भनी निजले नै भनेको पाइन्छ। यसरी निजको बकपत्र परस्परमा बिरोधाभासयुक्त रहेको, तथ्यपरक पनि नरेहेको समेतबाट निजको बकपत्र विश्वासनीय प्रमाणको रुपमा ग्रहणयोग्य रहेको देखिएन।
- वादीका साक्षी मेवालाल राय यादवले मिति 2076/02/11 मा घटना विवरण कागज गरेको देखिन्छ र सोही व्यहोरा समर्थन गरी अदालत समक्ष बकपत्र गरेको देखिन्छ। निजले बकपत्रको स.ज.6 मा वारदात आँखाले देखेको, त्यहाँ सुनर महरा, हरिनारायण साह तेली, परीक्षण साह तेली, राम बहादुर साह तेली रहेको भनी बकपत्र गरेकोमा स.ज.15 मा मिति 2064/12/27 गते बेलुका 6:30 बजे आफ्नै घरमा रहेको, त्यहाँ आफ्ना आफन्तहरुसंग बसेको भनी बोलेको पाइन्छ। यसै गरी बकपत्रको स.ज.17 मा जिल्ला प्रहरी कार्यालयबाट फोन गरी बोलाउँदा मिति 2076/03/10 मा मात्र बम काण्डको बारेमा थाहा पाएको भनी भनेको पाइन्छ। यसै गरी मृतक भनिएका ओसी अख्तरको ठेगाना सर्लाही जिल्ला रहेको भनी बकपत्र गरेको कुरा तथ्यपरक रहेको देखिएन। यसरी निजको बकपत्र तथ्यपरक र बस्तुपरक रहेको नदेखिएको र परस्परमा बिरोधाभासयुक्त्त रहेको देखिएकोले विश्वसनीय प्रमाणको रुपमा ग्रहणयोग्य रहेको देखिएन।
- वादीका साक्षी परीक्षण साह तेलीले मिति 2076/03/11 मा घटना विवरण कागज गरेको देखिन्छ र सोही ब्यहोरा मिलान हुने गरी अदालत समक्ष बकपत्र गरेको देखिन्छ। निजले पनि मिति 2064/12/27 गते बेलुक 6:30 बेजको समयमा आफ्नै घरमा रहेको, घर घटनास्थल देखि 200 गज दुरीमा रहेको भनी बकपत्र गरेको देखिन्छ। निजले बारदातको प्रत्यक्षदर्शी रहेको भनेतापनि बारदात भएको भनिएको मिति र समयमा 200 गज टाढा रहेको घरबाट सबै घटनाहरु देखेको कुरा विश्वसनीय देखिन आएन। यसैगरी वादीका साक्षी राम बहादुर साह, शंकर साह तेली, शिव साह कानु, सुनर रामले बारदात भनिएको मिति र समयमा आफ्ने घरमा रहेको, भनेको वारदातको फोटो समेत नरहको समेतबाट निजहरुको बकपत्र बिश्वसनीय र निर्णायक प्रमाणको रुपमा ग्राहयोग्य रहेको देखिएन।
- वादीको साक्षीहरु मेवालाल राय यादव, शिव साह कानु, रवि कुमार, सुनर राम, राम बहादुर साह, हरि नारायण साह, परीक्षण साह तेली, शंकर साह तेलीले मिति 2064/12/27 को बारदातको विषयमा 2076 साल असार पछि मात्र घटना विवरण कागज गरेको देखिन्छ। यसरी 12 वर्षसम्म यति भयानक भनिएको बारदातको सूचना प्रहरी समक्ष नदिनुको कुनै युक्तियुक्त कारण र आधार मिसिलबाट खुलेको देखिएन। यति भयानक भनिएको बारदात लुकेर टुलुटुलु हेरेको सो को फोटो लगायत कुनै पनि दशी प्रमाण फेला नपरेको अवस्था छ। यति भयानक बारदात भनिएकोमा छरछिमेकले प्रतिकार नगरेको भन्ने देखिन्छ। प्रहरी प्रशासन समेत लगाई बम बिष्फोटको घाईते र मृतकहरुलाई बोरामा हाली इट्टा भट्टामा लगी जलाएको भन्ने कुरा आफैमा विश्वसनीय देखिन आएन। कुनै वारदात भएपश्चात् पनि त्यस्तो वारदात गर्ने गराउने ब्यक्तिका बिरुद्ध पीडित पक्षबाट स्वाभाविक रुपमा किटानी अभिब्यक्ति आउनुपर्दछ तबमात्र त्यस्तो अभिब्यक्तिलाई विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिन्छ ।[4] जाहेरी ब्यहोरा प्रमाणमा ग्राह्य हुनको लागि त्यसलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन आवयक देखिछ। सोका अलावा जाहेरी पनि युक्तियुक्त रुपमा बिश्वसनीय देखिनु आफैमा अपरिहार्य पनि हुन्छ। जाहेरी ब्यहोरा यर्थाथपरक हुनको लागि महत्वपूर्ण तत्व भनेको सो जाहेरी वारदात भएको समयदेखि अनुचित विलम्ब गरी दायर गरेको हुनुहुँदैन। अनुचित विलम्ब गरी दिइएको जाहेरी ब्यहोरालाई प्रमाण मुल्याङ्कनको कसीमा खरो उत्रनको लागि अन्य स्वतन्त्र प्रमाणहरुबाट पुष्टि हुन जरुरी हुने।[5] कुनै वारदातको बारेमा वारदात हुनासाथ जाहेरी नदिई केही समयको विलम्ब गरी पछिबाट सोच विचार गरी किटान गरी दिएको (After thought statement) जाहेरीलाई प्रमाण मुल्याङ्कनको रोहमा उच्च स्तरको प्रमाण मन्न मिल्ने देखिँदैन र यस्तो जाहेरी ब्यहोरालाई प्रमाणित गर्ने गरी भएका बकपत्र ब्यहोरा समेतलाई सोही बमोजिम हेर्नुपर्ने ।[6]
- वारदातको वियषमा अनुसन्धान अधिकृतले मिति 2065/01/14 मा तयार गरेको घटनास्थल मुचुल्का, राजा ईट्टा उद्योग प्रा.लि. मा मिति 2066/01/15 मा गरेको घटनास्थल मुचुल्कामा वारदात घटेको होईन भनी मिसिलबाटै देखिन्छ। मिति 2065/01/20 मा तयार गरेको वरामदी मुचुल्कामा प्रमाण लाग्ने दशी केही पनि बरामद नभएको अवस्था छ। ईट्टा भट्टाको खरानी र बरामद लुगाको परीक्षण प्रतिवेदन (Benzidine test) मा रगत फेला नपरेको भन्ने देखिन्छ। वादीका उल्लेखित साक्षीहरुको बकपत्रलाई प्रमाणको समग्रतामा हेरेमा मात्र सही निश्कर्ष आउन सक्छ। अनुसन्धानबाट संकलित समग्र प्रमाणबाट दावीको वारदात घटेको छैन भन्ने निश्कर्ष आईरहेकोमा सो विपरित उल्लेखित साक्षीहरुले 12 वर्षपछी मात्र बारदात भएको भनी गरेको बकपत्रको आधारमा मात्र अन्य ठोस सबुद प्रमाणको अभावमा निर्णयक प्रमाण (Conclusive evidence) मान्न मिल्ने देखिएन। माथि गरिएको विवेचना बमोजिम उल्लेखित दावीका साक्षीहरुको बकपत्र परस्परमा बिरोधाभासयुक्त रहेको, तथ्यपरक नदेखिएको समेतबाट पनि निर्णायक प्रमाणको स्थान ग्रहण गर्न सक्ने देखिएन। यसैगरी 2064/12/27 को बारदात लगतै घटना विवरण कागज गर्ने वादीका सबै साक्षीहरुले दावीको वारदात घटेको छैन, मुद्दा झुठ्ठा हो भनी अदालत समक्ष बकपत्र गरेको देखिन्छ। 2076 साल अषाढ पछी घटना विवरण कागज गर्ने वादीका साक्षीहरु जलिफ मिया अन्सारी, लखिन्दर राउत कुर्मी, शेख बलजाहिर, शेख अदुद, जलिफ मिया अन्सारी, लखिन्दर राउत कुर्मी समेतले प्रहरीले आफूलाई कुटेर कागजमा सही गराएको, घटना भएको छैन भनी अदालत समक्ष बकपत्र गरेको पाईन्छ। उल्लेखित सबै प्रमाणहरुको समग्रतामा हेर्दा वादीका उल्लेखित साक्षीहरुको बकपत्रलाई एकमात्र निर्णायक प्रमाण (Conclusive evidence) मान्न सकिएन।
- अब वादीका साक्षी सफी अहमदले मिति 2076/03/28 मा घटना विवरण कागज गरेको र मिति 2076/06/30 मा ज्यान मार्ने उद्योगमा जाहेरी दरखास्त दिएको देखिन्छ। Department of forensic medicine, Mahrajgunj मा निजको घाउँ जाँज रिपोर्ट यस प्रकार रहेको देखिन्छः-
A Whitish old healed scar mark measuring 25cm x 20cm on anterior aspect of the chest, surgical linear 18 cm x 0.5 cm on upper abdomen, old scar mark 0.5cm x 0.5cm and 1cm x 0.5cm, 2cm apart on right lumbar region of the abdomen, old healed scar mark 1.5cm x 0.5 cm on left lumbar region, scar mark 1cm x 1cm, 8 cm on antero-lateral of right antecubital fossa 1/3 rd of the right forearm located 13cm from the wrist respectively, On the basis of only the medical examination of the examinee, the types of the original injuries for which the surgical operations and the skin graft were performed and the causative factors of the injuries cannot be determined, On the basis of the medical examination of the examinee together with the analysis of the hospital records of the examinee, the probable causation of the original injuries for which the surgical operations and the skin graft were performed is blast injuries, A Confirmatory opinion as to the causation of the original injuries can most likely to given if the original surgical treatment and documents and operation theater notes are made available
उक्त प्रतिवेदनमा “The probable causation of the injury is blast injury” भन्ने देखिन्छ र सोही प्रतिवेदनमा “Causative factors of the injury cannot be determined भनेको देखिदा सफी अहमदको शरीरमा रहेको घाउँ खतको कारण के हो भन्ने यकिनसाथ भन्न नसकिने, यसको संभावित कारण Blast injury हुन सक्ने भन्ने देखिन्छ तर Bomb blast injury भन्ने देखिदैन। निज सफी अहमदले अदालत समक्ष बकपत्र गर्दा बारदात मितिमा आफु भारत पंजावमा रहेको आफ्नो पेटमा पत्थरी अपरेशनको खत रहेको, मिठा पकाउँदा पोखिएर पेटमा लागेको घाउँको खत रहेको, सो बहेक अन्य खत नरहेको भनी खुलाएको देखिन्छ। यसरी निजको पेटमा रहेको खत बम बिष्फोटको खत रहेको भनी यकिनसाथ भन्न सकिने देखिएन। निजले आफूलाई प्रहरीले कुटपिट गरी प्रहरीले लेखेर राखेको जाहेरीमा सही गराएको भनी अदालत समक्ष बकपत्र गरेको देखिन्छ। यसरी निजले आफ्नो जाहेरी बेहोरा प्रतिकुल र घटनाविवरण कागज प्रतिकुल बकपत्र गरेको अवस्था समेतबाट निजको शरीरमा रहेको खत बम बिष्फोटको खत रहेको निश्कर्श आउन सक्ने देखिएन।
- जाहेरवाला गौरीशंकर राम चमारले मिति 2076/07/13 मा जाहेरी दरखास्त दिएको देखिन्छ। निजको जाहेरी बेहोरा यस प्रकार रहेको छः-
मिति २०६४।१२।२७ गते बेलुकी अन्दाजी १८:३० बजेको समयमा घटनास्थल राजपुर फरहदवा शेख ईद्रिशको गाई बस्तु बाध्ने गोठघर अगाडी आई पुग्दा धेरै मानिसहरु थिए र सो गोठघर भित्र १५।१६ जना मानिसहरु बसेका कुरा गोठघरको ढोका खुल्ला भएको कारण देखेको हुँ। अचानक बम बिष्फोट भएको ठुलो धमाका आएको र सो बमको टुक्रा, छर्राहरुले मेरो दुबै कान, घाँटी, छाती समेतमा गम्भिर घाउ चोट लागी रगत समेत बगेको, बिष्फोटनमा परी २।३ जना मानिसको मृत्यु भएको र धेरै जना मानिसहरु घाईते भई जोडले रुदै कराउँदै गरेको देखेको हुँ। सो बम बिष्फोटनबाट मेरो दुबै कान चुडिएको, घाँटी र छाती समेतमा बमको छर्रा लागी म घाईते भएकोमा म आफू बच्नको लागि सो ठाउँबाट करिब ७०० मिटरसम्मको दूरीमा दक्षिण आई सके पछि म पूर्णरुपले बेहोस भई भूइँ जमीनमा लडेको। त्यस पश्चात १५।२० दिन पछि होसमा आउदा भारत बिहार राज्यको जिल्ला सितामढी, सितामढी स्थित सदर अस्पतालमा बेड भर्ना भएको रहेछु। पिसाब नलीमा, नाकमा, मलद्धार समेतमा पाईप लगाएको र मेरो अनुसहारको भागमा, घाँटीमा, छाती समेतमा पट्टि बाँधेको अवस्थामा म रहेको थिएँ। म संगै मेरी आमा मरनी देबि रहेकी थिईन्। मलाई यहाँ को कसले उपचारको लागि ल्याएको भनी आमाले बच्चा रामको ससुरा रौतहट जिल्लाको जिगडीया बस्ने बद्रि रामले ल्याएको हो भनी आमालाई सोध्दा मलाई बताउनु भएको थियो। सोही अस्पतालमा म संगै ईट्टा उद्योगमा काम गर्ने मेरै गाउँको अं.३०।३२ बर्षको नरेश राम, अं.बर्ष ४०।४२ को बिकाउ राम समेत सोही अस्पतालमा उपचार गराउदै गरेको अवस्थामा देखेको हुँ। पछि निजहरु संग बुझ्दा निजहरुले हामी पनि सोही बम बिष्फोटनमा परी सक्त घाईते भएका हौं भनी बताएका थिए।
जाहेरी दरखास्तमा सो बम बिष्फोटनबाट घाइते भएकोमा आफू बच्नको लागि सो ठाउँबाट करिब 700 मिटरसम्मको दुरीमा दक्षिण आईसकेपछी पूर्ण रुपले बेहोस भई भुईमा लडेको, त्यसपश्चात 15/20 दिनपछी होसमा आउँदा भारत विहार राज्यको जिल्ला सितामढी, सितामढी स्थित सदर अस्पतालको बेडमा रहेको भनी खुलाएको, यसैगरी निजलाई उपचारको लागि बद्री रामले ल्याएको भनी आफ्नो आमाले भनेको भनी जाहेरी बेहोरा खुलाएको देखिन्छ। अदालत समक्ष बकपत्र गर्दा बम बिष्फोटको छर्राले कान, छातीमा समेत आगो लागेको 600/700 मिटर टाढा भागेर गई बेहोस अवस्थामा लडे, मेरो खल्तीबाट बिस्तारै डायरी निकाली मेरो डायरीको नम्बरमा फोन गरी मेरो भाईको ससुरा आई भारतको सितामढी अस्पतालमा लगी 20-22 दिन पछी होस आउँदा आफू हस्पिटलमा रहेको थाहा भयो भनी बेहोरा खुलाएको देखिन्छ। निजले बेहोशी अवस्थामा डायरी निकाली भाईको ससुरालाई फोन गरी निजले अस्पताल लगेको भनी जाहेरी दरखास्त भन्दा फरक बेहोरा उल्लेख गरेको देखिन्छ। बेहोश भई लडेको व्यक्ति 20-22 दिनपछी मात्र होस खुलेको व्यक्तिले बेहोशी अवस्थामा भाईको ससुरालाई फोन गरेको कुरा विश्वासनीय देखिन आएन। निजले उपचार गरेको भनिएको अस्पतालको कागजातको Prescription मा स्टोभ पड्की घाउँ खत लागेको भन्ने देखिदा निजको शरीरको खत बम बिष्फोटको खत रहेको कुरा झुठा सावित हुन्छ। बकपत्रको क्रममा आफु राजा ईट्टा भट्टामा काम गर्दथे, मुन्सीसंग पैसा माग्दा नदिएकोले अफताब आलमको घरमा पैसा माग्न गएको अवस्थामा बम बिष्फोट भएको भनी भनेकोमा राजा ईट्टा उद्योगमा काम गर्ने एकलाख आलम, शेख नथुनी, शेख अदुद समेतले आफुले गौरीशंकर रामलाई नचिनेको, निजले भट्टामा काम नगरेको भनी बकपत्र गरेको पाइन्छ। यसै गरी राजा ईट्टा भट्टामा काम गर्ने भनिएको ब्यक्तिले अफताब आलमसंग पैसा माग्न जानुको तर्कसंगत कारण पनि खुलेको देखिएन। निजले आफु अफताब आलमको घरमा नगएको भनी बिरोधाभाषयुक्त बकपत्र गरेको समेत देखिन्छ। यसैगरी मिति 2064/12/27 को बारदात देखाई मिति 2076/07/13 मा मात्र जाहेरी दरखास्त दिनुको कुनै युक्तियुक्त कारण खुलेको देखिएन। यसरी निज गौरीशंकर रामको बकपत्र हेर्दा, स्टोभ पडकी घाउँ खत लागेको भन्ने अस्पतालको Prescription, बेहोशी अवस्थामा फोन गरेको भन्ने कुरा अपत्यारिलो रहेको तथा जाहेरी वेहोरा भन्दा फरक बकपत्र रहेको तथा परस्परमा बिरोधाभासयुक्त बकपत्र समेतका आधारमा निज गौरीशंकर रामको बकपत्र सत्यतामा आधारित नरहेकोले विश्वसनीय प्रमाणको रुपमा ग्रहणयोग्य रहेको देखिएन।
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (INSEC) को प्रतिवेदन मिसिल सामेल रहेकोमा सो प्रतिवेदनलाई प्रमाणमा लिन मिल्ने हो वा होइन भन्ने तर्फ विवेचना गर्नुपर्ने देखियो। संयुक्त राज्य अमेरिकामा Miranda Rule[7] उल्लंघन गरी संकलन गरिएका प्रमाणहरु अदालतमा प्रमाणमा ग्राह्य हुन सक्दैन।[8] यस प्रकारका लिखतहरुमा अमेरिकामा प्रचलित Exclusionary Rule (अपवर्जनात्मक नियम) आकर्षित हुन्छ। यस नियमको सहायक नियमको रुपमा अमेरिकी अदालतबाट Doctrine of the Fruits of Poisonous Tree[9] को विकास भएको पाइन्छ। कुनै वृक्ष नै विषाक्त छ भने सो को फल पनि विषाक्त नै हुने हुँदा सो फलको उपयोग गर्नु हुँदैन, बहिष्कार गर्नुपर्छ।[10] नेपालमा सर्वोच्च अदालतले पनि विभिन्न मुद्दाहरुमा उक्त सिद्दान्तलाई अनुशरण गरेको देखिन्छ। विरेन्द्र कुमार कर्ण विरुद्व न्याय परिषद[11] भएको मुद्दामा “प्रमाण संकलनको स्रोत, अधिकारक्षेत्र र प्रकृया नै दुषित छ भने त्यसको परिणामस्वरुप प्राप्त प्रमाण ग्रहणयोग्य हुन नसक्ने” भन्ने व्याख्या भएको छ। त्यस्तै नेपाल सरकार विरुद्व जीवन भन्ने जीवनाथ देवकोटा[12] भएको मुद्दामा “अधिकार प्राप्त अधिकारीबाट तयार भएका कागजात बाहेक कानूनी प्रकृया विपरित तयार भएका कागजका आधारमा अभियोजन गर्न नमिल्ने” भन्ने व्याख्या भएको छ। क्षेत्राधिकार उल्लंघन गरी संकलन गरिएका प्रमाणहरु प्रमाणमा ग्रहणयोग्य हुदैनन्। अग्राह्य प्रमाण (inadmissible) को अन्तरवस्तुमा प्रवेश गर्न मिल्दैन। इन्सेकको प्रतिवेदन तत्काल प्रचलित सरकारी मुद्दा सम्बन्धी ऐन, 204९ का प्रावधान विपरीत रहेकोले यस मुद्दामा प्रमाणको बैधताको अभावमा विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिन आएन।
- कतिपय अवस्थामा परिस्थितिजन्य प्रमाणको आधारमा मात्रै पनि कसुरदार ठहर्याउनुपर्ने अवस्था सिर्जना हुने कुरामा यो इजलासको असहमति रहेको छैन । तर परिस्थितिजन्य प्रमाणलाई ग्रहण गरी कसुरदार ठहर गर्नुपर्दा प्रमाण कानूनका केही मूलभूत मान्यताहरूलाई भने आत्मसात गर्नुपर्ने हुन्छ। भारतीय सर्वोच्च अदालतले परिस्थितिजन्य प्रमाणको आधारमा कसुरदार ठहर गर्नुपर्दा देहायका पूर्वसर्तहरू पूरा भएको हुनुपर्ने गरी परिस्थितिजन्य प्रमाण ग्रहण गर्नुपर्दाको आधारभूत मापदण्डहरूलाई अभ्यासमा ल्याएको पाइन्छ (Sharad Bardichand Sarda vs State of Maharashtra, AIR 1984 SC 1622) :[13]
- जुन परिस्थितिहरूको आधारमा कसुरदार ठहर गरिने हो ती परिस्थितिहरू पूर्णरूपमा स्थापित भएको हुनुपर्छ,
- यसरी स्थापित तथ्यहरू कसुरदार हो भनी देखिने एउटै मात्र निष्कर्षलाई समर्थन गर्ने प्रकृतिको हुनुपर्छ। कसुरदार हो भनेर देखिनेबाहेकको अन्य सम्भावनालाई पनि समर्थन गर्दछ भने त्यस्तो अवस्थामा परिस्थितिजन्य प्रमाणलाई आधार मानिनु न्यायसङ्गत हुँदैन,
- परिस्थितिहरू अकाट्य प्रकृति (conclusive nature) को हुनुपर्छ,
- प्रमाणित हुनुपर्ने तथ्यबाहेकका अरू सम्भावित तथ्यहरूलाई अमान्य(exclude) तुल्याएको हुनुपर्छ,
- परिस्थितिहरू अभियुक्त निर्दोष हो कि भन्नुपर्नेसम्मको अलिकति पनि मनासिब आधाररहित पूर्णतया मालाकार कडीमा जोडिएको हुनुपर्छ र सम्पूर्ण मानवीय सम्भावनाहरू (all human probability) लाई आधार मान्दा कसुर यिनै अभियुक्तले गरेको हो भनेर मान्नुपर्ने अवस्थाको हुनुपर्छ ।
बेलायतका अदालतहरूमा पनि यो मापदण्डलाई स्वीकारिएको पाइन्छ … “A single circumstance inconsistent with guilt is of more importance, than all other circumstances, as it may destroy a hypothesis of guilt {R v Hodge (1838) 2 Lewin 227} । भारतीय सर्वोच्च अदालतले बोलेको कथन मननीय छः-
It is well settled that in a case which rests on circumstantial evidence, law postulates two-fold requirements: (i) Every link in the chain of the circumstances necessary to establish the guilt of the accused must be established by the prosecution beyond reasonable doubt. (ii) All the circumstances must be consistent pointing only towards the guilt of the accused.[14]
भारतीय सर्वोच्च अदालतले Inspector Of Police, Tamil Nadu vs John David मा बोलेको कथन मननीय छ[15]
“The law is well-settled that each and every incriminating circumstance must be clearly established by reliable and clinching evidence and the circumstances so proved must form a chain of events from which the only irresistible conclusion that could be drawn is the guilt of the accused and that no other hypothesis against the guilt is possible.
This Court has clearly sounded a note of caution that in a case depending largely upon circumstantial evidence, there is always a danger that conjecture or suspicion may take the place of legal proof.
The Court must satisfy itself that various circumstances in the chain of events have been established clearly and such completed chain of events must be such as to rule out a reasonable likelihood of the innocence of the accused.
It has also been indicated that when the important link goes, the chain of circumstances gets snapped and the other circumstances cannot in any manner, establish the guilt of the accused beyond all reasonable doubts.
It has been held that the Court has to be watchful and avoid the danger of allowing the suspicion to take the place of legal proof.”
- हाम्रो सर्वोच्च अदालतले पनि परिस्थितिजन्य प्रमाणलाई आधार मान्ने सम्बन्धमा धेरै मुद्दाहरूमा यस्तै मान्यतामा आधारित रहेर सिद्धान्त प्रतिपादन गरेको पाइन्छ। “साक्षीका शङ्कास्पद कथन र अपुष्ट परिस्थितिजन्य प्रमाणलाई आधार मानेर कसैलाई दोषी ठहर गर्न मिल्दैन। परिस्थितिजन्य प्रमाण जहिले पनि प्रत्यक्ष हुनुपर्छ जुन अनुमानबाट समर्थित हुने विषय होइन। के कस्तो परिस्थितिजन्य प्रमाण हो भन्ने कुरा स्पष्ट रूपमा खुलाउनुपर्छ, घटनासँग सम्बन्धित विभिन्न कडीहरू मालाकार रूपमा एक अर्कोसँग जोडिएको र त्यसबाट परिणामको स्वाभाविक निष्कर्ष आउनुपर्ने हुन्छ। प्रतिवादीको कुन कार्य कुन परिस्थिति र परिणामसँग आवद्ध छ भन्ने कुरा स्पष्ट रूपमा देखिनुपर्दछ” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ।[16] अर्को एउटा मुद्दामा यस अदालतबाट “परिस्थितिजन्य प्रमाणको लागि तथ्यका प्रत्येक कडी एकआपसमा आबद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नुपर्ने” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ।[17] यसैगरी अर्को एउटा मुद्दामा “सङ्कलित वस्तुगत प्रमाणहरू, बुझिएका व्यक्तिहरूको भनाइ र वारदातको परिस्थितिजन्य प्रमाणहरू एक आपसमा बाझिएमा र आफैँमा शङ्कास्पद देखिएमा त्यस्ता प्रमाणहरूका आधारमा कसैलाई दोषी ठहर गर्नु फौजदारी न्यायको सिद्धान्तको प्रतिकूल हुन जाने” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ।[18] परिस्थितिजन्य प्रमाणलाई ग्रहण गरी कसुरदार ठहर गर्नुपर्दा प्रमाण कानूनका केही मूलभूत मान्यताहरूलाई आत्मसात् गर्नुपर्ने। प्रतिवादीको निर्दोषिता प्रमाणित हुन सक्ने वैकल्पिक निष्कर्षको सम्भावना छ भने त्यस्तो अवस्थामा केवल परिस्थितिजन्य प्रमाणलाई मात्र आधार बनाएर कसुरदार ठहर्याउन परिस्थितिजन्य प्रमाणको ग्राह्यताको सिद्धान्तविपरीत हुने[19]
- परिस्थितजन्य प्रमाणको विश्लेषण गर्दा श्री नारायण सिंह राजपुतको जाहेरी दरखास्तमा प्रतिवादी शेख भदईले मिति 2064/12/20 मा पिन्टु भन्ने त्रिलोक प्रताप सिंहलाई चुनाव प्रचारमा लगेको भनी उल्लेख गरेको देखिन्छ। प्रतिवादीहरु त्यसतर्फ इन्कारी रहेको देखिन्छ। जाहेरवालाको जाहेरी कथनलाई नै मान्ने हो भने मिति 2064/12/20 देखि ऐ.27 गतेसम्म पिन्टु भन्ने त्रिलोक प्रताप सिंह प्रतिवादीहरुको नियन्त्रणमा रहेको कहिकतैबाट पुष्टि हुदैन। चुनाव प्रचारमा गाउँघरमा जहाँकही स्वतन्त्र रुपले घुमफिर गर्न सक्ने नै हुँदा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह प्रतिवादीहरुको संगसाथमा रहेको वा नियन्त्रणमा रहेको अर्थ गर्न मिल्दैन। पिन्टु भन्ने त्रिलोक प्रताप सिंह मिति 2064/12/27 गते 6:30 बजे बारदात स्थल भनिएको शेख इन्द्रिसको घरमा रहेको पुष्टि हुदैन। वादी नेपाल सरकारले नै तयार गरेको घटनास्थल मुचुल्कामा बम बिष्फोट नभएको उल्लेख भएको देखिन्छ। वादीका साक्षी शैलेन्द्र साह, हरिनारायण साहले आफूले पिन्टु भन्ने त्रिलोक प्रताप सिंहलाई बम बिष्फोटबाट घाईते अवस्थामा देखेको भनेतापनि माथि बिभिन्न प्रकरणमा गरिएको बिश्लेषण बमोजिम निज साक्षीहरुको बकपत्रलाई विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्न सकिने अवस्था छैन। सो बाहेक वादी नेपाल सरकारले अन्य कुनै सबुद प्रमाण पेश गर्न सकेको छैन। यसैगरी घाईते पिन्टु भन्ने त्रिलोक प्रताप सिंहलाई राजा ईट्टा भट्टामा जलाइएको भनिएकोमा सो भट्टाको खरानीको मिति 2065/02/13 मा गरिएको Forensic test report मा सो मानिस जलाइएको पुष्टि हुन सकेको छैन तथा ईट्टा भट्टामा गरिएको वादीकै घटनास्थल प्रकृति मुचुल्काबाट समेत वादी दावी पुष्टि हुन सकेको छैन। यसरी दावीको घटनासंग सम्बन्धित बिभिन्न कडीहरु मालाकार रुपमा एक अर्कोसंग जोडिएको अवस्थाको विद्यमानता देखिन आएन। सथै यसबाट स्वाभाविक रुपमा प्रतिवादीहरु उपरको अभियोग स्थापित हुन आएन। वारदातको बिभिन्न परिस्थितिहरुबाट परिस्थितिजन्य प्रमाणको विश्लेषण गर्दा जहाँ दुईवटा निश्कर्षको सम्भाव्यता छः एउटा अभियुक्तलाई दोषी देखाउँदै छ र अर्को निर्दोष देखाउछ भने अभियुक्तलाई सुविधा हुने निश्कर्ष मान्नुपर्छ भन्ने प्रमाण कानूनको स्थापित नियम हो। In cases where heavy reliance in placed on circumstantial evidence is that where two views are possible one pointing to the guilt of the accused an the other towards his innocence, the one which is favorable to the accused must be adopted. [20]
- रोक्साना खातुनको जाहेरी दरखास्तमा ओसी अख्तरलाई मिति 2064/12/27 मा चुनावमा सहयोग गर्न भनी विपक्षीहरुले लगेको, सोही दिन 6:30 बजे बम बिष्फोटमा परी निज ओसी अख्तर घाइते भएको भनिएको छ तर माथि बिवेचना गरिए बमोजिम घटनास्थल मुचुल्का बाट नै घटनाक्रमको कडी टुटेको देखिन्छ। मिति 2065/01/06 मा वरामद भएको ओसी अख्तरको जुत्ता, मोजा, सुइटरमा रगत फेला नपरेको भन्ने Forensic test report बाट देखिएकोले निज बम बिष्फोटमा परी घाइते भएको दावी पुष्टि हुन सकेन। यसरी मृतक भनिएका पिण्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मिया मिति 2064/12/27 गते 6:30 बजे बम बिष्फोटनमा परेको भन्ने कही कतैबाट पुष्टि हुन सकेन।
- मिति 2064/12/30 मा सुरु जाहेरी दिने संविधान सभाका उम्मेदवारहरु मध्येका मधेशी जनाधिकार फोरमका उम्मेदवार अब्दुल जवार, त.म.लो.पा. का उम्मेदवार नागेन्द्र प्रसाद सिन्हा र स्वतन्त्र उम्मेदवार, रामविनोद साहले आफुले जाहेरी दरखास्त नदिएको, शैलेन्द्र साहले राजनीतिक प्रतिशोध साध्न उजुरी दिएको भनी अदालतमा बकपत्र गरेको देखिन्छ। संबिधानसभाका तत्कालिन उम्मेदवारहरुले नै बम बिष्फोटन लगायत कुनै पनि वारदात भएको छैन भनी गरेको बकपत्र उच्चस्तरको प्रमाणको रुपमा ग्रहणयोग्य देखिन्छ।
- पुनः अनुसन्धानको क्रममा मिति 2076 अषाढ पछि कागज गर्ने मध्येका जलिफ मिया अन्सारी, लखिन्दर राउत कुर्मी, शेख बलजाहिरले घटना विवरण कागजमा प्रहरीले जवरजस्ती कुटपिट गरी सहिछाप गराएको भनी प्रतिकुल बकपत्र गरेको देखिन्छ। उक्त बकपत्र वादीका पक्षमा प्रमाण लाग्ने देखिएन।
- अनुसन्धानको क्रममा मिति 2065/01/28 मा कागज गर्ने समसुल मिया र मिति 2065/01/28 मा कागज गर्ने मृतक भनिएका ओसी अख्तरका श्रीमती आमना खातुनले मिति 2064/12/27 मा दावीको बारदात भएको छैन भनी बकपत्र गरेको देखिन्छ। मृतक भनिएका ओसी अख्तरका काका जाजुल मिया कवारीले मिति 2064/12/27 को कागज झुठ्ठा हो। बम बिष्फोट भएको छैन, आफ्नो भतिजो मरेको भन्ने झुठ्ठा हो। मृतक भनिएका ओसी अख्तरले 2064 सालको चुनावको 3/4 दिनपछि सर्लाहीको लालबन्दीमा समसुल मियालाई भेटेका थिए। झुठ्ठा मुद्दा चलाउन वर्ष दिन पछि मृत्युदर्ता प्रमाणपत्र बनाएका थिए। मिति 2065/01/28 मा आफूलाई जवरजस्ती कागज गराएका थिए भनी बकपत्र गरेको देखिन्छ। उल्लेखित वादीका साक्षीहरुको बकपत्रबाट वादी दावी पुष्टि हुन सकेन।
- कुनै व्यक्तिको अवस्था अज्ञात हुनु र त्यस्ता व्यक्तिको हत्या हुनु अलग अलग कुरा हुन। प्रतिवादीले कुनै व्यक्तिको हत्या गरेको हो भन्ने पुष्टि हुन सो कसूरको वारदात (corpus delicti) स्थापित हुनुपर्छ। कुनै व्यक्तिको स्थिति अज्ञात रहेको भन्ने आधारमा मात्र ज्यान मारेको कसूर स्थापित हुन सक्दैन। कसूरको वारदात स्थापित हुन सर्वप्रथम आपराधिक कार्य (Actus reus) पुष्टि हुनुपर्छ।माथि विभिन्न प्रकरणमा गरिएको विवेचना बमोजिम शैलेन्द्र साह, हरिनारायण साह लगायतका वादीका साक्षीहरुको बकपत्र परस्परमा विरोधाभासयुक्त रहेको र वारदातको फोटो समेत पेश हुन नसकेको समेतका आधारमा सर्वोत्तम प्रमाणको स्थान ग्रहण गर्न नसकेको अवस्था एकातिर छ भने दावीको वारदात लगत्तै वादी नेपाल सरकारबाट गरिएको अनुसन्धान हेर्दा मिति 2065/01/14 मा शेख इद्रिसको गोठ घरको घटनास्थल मुचुल्का र मिति 2056/01/15 मा दावीको राजा ईट्टा उद्योग प्रा.लि. मा गरिएको घटनास्थल मुचुल्कामा मानिस जलाएको नदेखिएको अवस्था, सोही मितिमा राजा ईट्टा उद्योगबाट संकलन गरिएको खरानीको मिति 2065/02/13 मा प्राप्त Forensic test report मा पनि मानिस जलाएको नभेटिएको अवस्था, वरामद भएको जुत्ता, मोजा, कपडाको Forensic test report मा पनि रगत फेला नपरेको अवस्था समेतको रोहमा हेर्दा शैलेन्द्र साह समेतका वादीका साक्षीको बकपत्रको आधारमा मात्र प्रतिवादीहरु उपरको कसूर स्थापित हुन सक्ने देखिएन। फौजदारी मुद्दामा वादीले पहिले आपराधिक घटना भएको भन्ने तथ्य (Corpus delicti) नै प्रमाणित र स्थापित गर्न सक्नु पर्दछ । आपराधिक घटनाको वारदात स्थापित भइसकेपछि मात्र अभियोग लगाइएको व्यक्तिले नै त्यस्तो अपराध गरेको हो भनी प्रमाणित गर्नु पर्दछ । कुनै पनि व्यक्तिलाई त्यस बेलासम्म दोषी करार गर्न सक्दैन जबसम्म वादी दाबी अनुसारको आपराधिक वारदात भएको तथ्य स्थापित हुँदैन।[21] आपराधिक वारदात भएको तथ्य स्थापित हुनु पर्दछ भन्ने कुरा प्रमाण सम्बन्धी नियमका साथै फौजदारी कानूनको आधारभूत व्यवस्था पनिहो । आपराधिक वारदात स्थापित नभएसम्म प्रतिवादीले अपराध गरेको भनी साबित भए पनि उक्त साबितीलाई प्रमाणको रूपमा स्वीकार गर्नु हुँदैन भन्ने नै प्रमाणको नियम हो । त्यसैगरी अभियोजन पक्षले आपराधिक घटनाको वारदात (Corpus delicti) स्थापित नगरेसम्म कसैलाई कसुरदार बनाइनु हुँदैन भन्ने फौजदारी कानूनको आधारभूत नियम हो ।[22] तसर्थ, कुनै पनि फौजदारी कसुरको अभियोगमा कसैलाई दोषी ठहर गर्न सर्वप्रथम आपराधिक घटनाको वारदात स्थापित भएको हुनु पर्दछ । कुनै पनि व्यक्ति काल्पनिक वारदात वा अनुमानित वारदातको लागि दोषी ठहर्नु हुँदैन भन्ने फौजदारी न्यायको स्थापित मान्यतालाई हाम्रो फौजदारी विधिशास्त्रले स्वीकार गर्दै आएको छ।प्रस्तुत मुद्दामा वादी दाबी अनुसारको वारदात भएको तथ्य स्थापित हुन नसकेको मात्र नभई कानूनी व्यवस्थातर्फ पनि अभियोजन पक्षको ध्यान पुग्न सकेको देखिँदैन ।[23] कमजोर अनुसन्धान तहकिकात, जाहेरी दरखास्त र जाहेरवालाको बकपत्रबाट विरोधाभाष देखिएको तथ्यहरूको आधारमा गरिएको अभियोजन र आफूले लिएको दाबी स्थापित गराउन न्यूनतम प्रमाणसमेत प्रस्तुत गर्न नसकेको अवस्थामा शंका, अनुमान र अन्दाजको आधारमा गरिएको अभियोग दाबीको आधारमा कसैलाई कसुरदार ठहर्याउन न्यायोचित हुँदैन।[24]
- माथी गरिएको विवेचना बमोजिम रौतहट जिल्ला अदालतको 2064 सालको फौ.नं.68 को मानव ओसार पसार मुद्दाको फैसलाबाट पिन्टु भन्ने त्रिलोक प्रताप सिंह फरारी प्रतिवादी रहेको देखिन्छ। मृतक भनिएका ओसी अख्तर मियाका श्रींमती आमाना खातुनले दावीको वारदातमा ओसी अख्तर नमरेको भनी बकपत्र गरेको, काका जाजुल मिया कवारीले दावी वारदातमा भतिजो ओसी अख्तर नमरेको र ससुरा समसुल मियाले 2064 सालको निर्वाचनको 3/4 दिनपछि निजलाई सर्लाहीको लालबन्दीमा भेटेको भनी गरेको बकपत्र समेतबाट उक्त कुरा थप पुष्टि भएको छ। यसरी हेर्दा मृतक भनिएका व्यक्तिहरुको अवस्था अज्ञात रहेको देखिन्छ। अवस्था अज्ञात रहेको आधारमा मात्र ती व्यक्तिहरुलाई यिनै प्रतिवादीहरुले ईट्टा भट्टामा जलाई मारेको भनी अर्थ गर्नु फौजदारी न्यायको विधिशास्त्र अनुकूल हुन सक्दैन।
- हरेक मानव केही अहरणीय जन्मसिद्ध मानव अधिकार बोकेर जन्मेका हुन्छन। ती मध्ये एउटा हो: निर्दोषिताको अनुमान (Presumption of innocence) ।नेपालको संविधानको धारा 20 को उपधारा (5) मा कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसूर प्रमाणित नभएसम्म कसूरदार मानिने छैन। ICCPR को Article 14 मा पनि निर्दोषिताको अनुमान (Presumption of innocence) लाई प्रत्याभूत गरेको छ।[25] यही मान्यताका आधारमा प्रमाण ऐन, 2031 को दफा 25 मा “फौजदारी मुद्दामा आफ्नो अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको हुनेछ” भनी व्यवस्था गरिएको छ। यसका लागि तत्काल प्रचलित सरकारी मुद्दा सम्बन्धी ऐन, 2049 को दफा 7, 8, 9, 10, 11, 12, 13 र 14 समेतका प्रावधानमा सम्बन्धित प्रहरीलाई अनुसन्धान, तहकिकात गर्ने अधिकार, कर्तव्य र सो को कार्यविधि समेत तोकेको पाइन्छ र हाल प्रचलित मुलुकी फौजदारी कार्यविधि संहिता, 2074 को परिच्छेद-2, को प्रावधानमा सम्बन्धित प्रहरीलाई अनुसन्धान, तहकिकात र सोही संहिताको परिच्छेद-3 मा अभियोगपत्र दायर गर्ने व्यवस्था गरेको पाइन्छ। यसैगरी संकलित सबूद प्रमाणको प्रमाण ऐन,2031 को बिभिन्न दफाहरुमा न्यायिक परीक्षणको व्यवस्था गरिएको पाइन्छ। यावत कानूनी व्यवस्थाबाट अभियोग लागेका हरेक व्यक्तिलाई स्वच्छ सुनुवाईको हक (Fair trial rights) सुनिश्चित गर्न खोजिएको छ। नेपालको संविधानको धारा 20 को उपधारा(9) मा “प्रत्येक व्यक्तिलाई स्वतन्त्र, निष्पक्ष र सक्षम अदालत वा न्यायिक निकायबाट स्वच्छ सुनुवाईको हक प्रत्याभूत गरेको पाइन्छ। ICCPR को Article 14 मा Fair trial rights[26] प्रत्याभूत गरेको पाइन्छ। उपरोक्त व्यवस्थाको सार हो: निर्दोषलाई सजाय नहोस र दोषी नउम्कोस। यही मान्यतामा आधारित रही अदालतले न्यायको मान्य सिद्धान्त बमोजिम फौजदारी मुद्दामा वादी नेपाल सरकारले पेश गरेका प्रमाणहरुको न्यायिक परीक्षण गरी ग्रहणयोग्य प्रमाणहरुको आधारमा अभियोग दावी पुग्ने वा नपुग्ने ठहर गर्दछ। कुनै पनि अभियुक्तलाई दोषी नै हो भनी पूर्वाधारणा बनाउन मिल्दैन। अनुमान, शंका वा विश्वासको आधारमा कसैलाई पनि दोषी ठहर गर्न मिल्दैन त्यसो गरेमा हरेक व्यक्तिका मानव अधिकार एवं स्वतन्त्रता खतरामा पर्न सक्ने जोखिमतर्फ अदालत सचेत रहन्छ। त्यसैले भनिन्छ: “A hundred suspicions don’t make a proof” त्यसैकारणले अभियुक्त उपरको कसूर प्रमाणले पुष्टि गर्नुपर्छ। अभियुक्त उपरको कसूर शंकारहित तवरले पुष्टि हुनुपर्छ (Beyond reasonable doubt) न्यायिक प्रकृयामा शंका र अनुमानले प्रमाणको हैसियत लिदैछ कि भन्नेतर्फ सचेत रहन आवश्यक छ। प्रस्तुत मुद्दामा प्रतिवादीहरु उपरको अभियोग पुष्टि हुने प्रमाण पेश हुन सकेको देखिएन बल्की वादी नेपाल सरकारले अनुसन्धान गरी संकल्न गरेका घटनास्थल मुचुल्काहरु, विधिविज्ञान प्रतिवेदन ( Forensic test reports) वादीका सक्षीहरुले अदालतमा गरेका बकपत्रबाट वारदात पुष्टि हुन नसकेको अवस्था छ। यसरी मिसिल संलग्न प्रमाणबाट अभियोग दावी पुष्टी हुन नसकी प्रतिवादीहरुले सफाई पाउने देखियो।
- माथी विभिन्न प्रकरणमा गरिएको विश्लेषण बमोजिम अनुसन्धान अधिकृतले मिति 2065/01/14 मा तयार गरेको घटनास्थल मुचुल्कामा बम बिस्फोटको वारदातको दावीको शेख इद्रिसको घरको सबै कोठाहरुको छानामा माकुराको जालो लागेको रहेको प्रत्येक कोठाहरु सामान्य अवस्थामा रहेको, कोठाहरुमा कुनै प्रकारको बिस्फोटन नभई क्षति भएको जस्तो नदेखिएको, कोठाहरुको भूई जमिन सामान्य रहेको प्रत्येक कोठाहरु खपडाले छाएको अवस्थामा रहेको भनी विवरण खुलाएको देखिन्छ। यसरी बारदात दावीको राजा ईट्टा उद्योग प्रा.लि. को मिति 2065/01/१5 मा तयार गरेको घटनास्थल मुचुल्कामा पन्ध्र दिन अगावै ईट्टा पकाएको खरानी रहेको, सो खरानी मध्येबाट प्लास्टिकको सानो 2 बोरामा प्रहरीले खरानी उठाई लगेको सो ईट्टा भट्टामा मानिस जलाएको नदेखिएको भनी विवरण खुलाएको देखिन्छ। यसैगरी जाहेरी दरखास्तमा उल्लेखित मोहम्मद अफताब आलमको घरको मिति 2065/01/15 मा गरिएको घटनास्थल मुचुल्कामा सो घरको सबै कोठाहरु जाँच गर्दा ठीक दुरुस्त हालतमा रहेको, सो कोठा भित्र कुनै प्रकारको बम बिस्फोटन नभएको देखिएको भनी बिबरण तयार गरेको देखिन्छ। यसैगरी अनुसन्धानको क्रममा मिति 2065/01/20 मा तयार गरिएको घटना स्थल बरामदी मुचुल्कामा प्रतिवादी मोहम्मद अफताब आलम र प्रतिवादी मोहम्मद महताब आलम, प्रतिवादी शेख भदई, प्रतिवादी मोहम्मद मोविन आलमको घरमा आपराधसंग प्रमाण लाग्ने दशीको कुनै सबूद प्रमाण फेला नपरेको भनी विवरण तयार गरेको देखिन्छ। मृतक भनिएको पिण्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तरको स्वीटर, जुत्ता, मोजाहरुको परीक्षण प्रतिवेदन तथा राजा ईट्टा भट्टाबाट संकलन गरिएको खरानी परीक्षण प्रतिवेदनमा blood could not be detected (रगत फेला नपरेको) देखिएको छ। राजा ईट्टा उद्योग प्रा.लि.का प्रोपराईटर मो. एखलाल आलम सो उद्योगमा काम गर्ने मोजामिल आलम, शेष मलकार आवास मिया, मोसुदिन मियाले अनुसन्धानको क्रममा गरेको कागजमा मिति 2064/12/27 मा ईट्टा भट्टामा काम गर्ने साहु तथा कामदार बाहेक अन्य कोही पनि नआएको मृतक लाश ल्याई ईट्टा पकाउनेमा जलाई नष्ट गरेको होईन भनी कागज गरेको देखिन्छ। मृतक भनिएका पिण्टु भन्ने त्रिलोक प्रताप सिंह रौतहट जिल्ला अदालतमा मिति 2064/09/3 मा चलेको 064 को फौ.नं.68 को मानव ओसारपसार मुद्दाको फरारी प्रतिवादी रहेको रौतहट जिल्ला अदालतको मिति 2065/09/20 को फैसलाबाट देखिन्छ। आफ्नो पति मृतक भनिएका ओसी अख्तर मिया मजदुरीको सिलसिलामा विदेश गएको भनी रौतहट जिल्ला अदालतमा 2076 साल कार्तिकमा सत्यतथ्य खुलाई निवेदन दिएको देखिन्छ र सोही बेहोराको अदालतमा बकपत्र गरेको देखिन्छ। यसैगरी ओसी अख्तरका ससुरा समसुल मियाले 2064 सालको निर्वाचनको 3/4 दिनपछी ओसी अख्तर मिया र त्रिलोक प्रताप सिंहले आफूसंग सर्लाही जिल्लाको लालबन्दीमा भेट गरेको त्यसपश्चात मात्र घरबाट निस्केका हुन भनी अदालतमा बकपत्र गरेको देखिन्छ।वादी नेपाल सरकारले तयार गरेको घटनास्थल मुचुल्कामा बम बिस्फोट नभएको र ईट्टाभट्टामा मानिस जलाएको नदेखिएको र सो कुरा ईट्टा भट्टामा काम गर्ने व्यक्तिहरुको बकपत्रबाट पुष्टि भएको अवस्था छ। उल्लेखित सबै प्रमाणहरुको समग्र विश्लेषणबाट वादी दावीको वारदात (Corpus delicti) स्थापित हुन सकेको देखिएन। यसरी बम बिष्फोट र ईट्टा भट्टामा जलाई मारेको भन्ने बारदात नै स्थापित नभएको हुँदा जाहेरवाला गौरीशंकर राम र सफी अहमदको ज्यान मार्ने उद्योग तर्फको अभियोग दावी नपुग्ने र प्रतिवादी मुक्ती साहले अभियोग दावीबाट सफाई पाउने ठहर्याई भएको सुरु फैसला सो हदसम्म मिलेकै देखियो।
- अत: माथि विवेचित आधार र कारणबाट प्रस्तुत मुद्दामा मिति 2064/12/27 मा बम बिष्फोटको बारदात भएको भनिएकोमा सो बारदात अनुसन्धानबाट पुष्टि हुन नसकेको, सो बिषयमा जाहेरी परी अनुसन्धान भई मारिएका भनिएका व्यक्तिहरुको मृत्यु भएको भन्ने यकिन साथ पुष्टि हुन नसकेको भनी महान्यायाधिवक्ता कार्यालयबाट मिति 2065/03/30 मा कसै उपर मुद्दा नचलाउने गरी निर्णय गरेको देखियो। सम्मानित सर्वोच्च अदालतबाट उक्त मिति 2065/03/30 को निर्णय बदर गरी पुनः प्रमाण बुझी प्रचलित कानून बमोजिम गर्न गराउन मिति 2069/02/16 मा परमादेश जारी भई मिति 2075/12/11 मा पुनः अनसुन्धान भएको देखिन्छ। संकलित सबुद प्रमाणबाट मोहम्मद अफताब आलमको घरमा मिति 2064/12/27 मा बम बिष्फोटको बारदात बस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको, बिष्फोटको घाईते भनिएका पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तरलाई ट्रयाक्टरमा हाली राजा ईट्टा भट्टामा लगी पोलेको भन्ने ठोस सबुद प्रमाण वादीले पेश गर्न नसकेको र विधिविज्ञान परीक्षण प्रतिवेदनबाट समेत मृतकहरुलाई ईट्टा भट्टामा पोलिएको अभियोग दावी पुष्टि हुन नसकेको अवस्थामा सुरु रौतहट जिल्ला अदालतबाट प्रतिवादीहरु मोहम्मद अफताब आलम, मोहम्मद महताब आलम, शेख सेराज भन्ने शेष सराज र बद्री सहनीलाई तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको 13(3) बमोजिम कसूर ठहर गरी जन्मकैद हुने ठहर गरेको र बिष्फोटक पदार्थ ऐन, 2018 को दफा 10(1)(ख) बमोजिम जनही 1 वर्ष कैद र रू.10,000/- जरिवाना हुने ठहर गरी मिति 2081/01/13 मा भएको फैसला मिलेको नदेखिदा उल्टी भई सबै प्रतिवादीहरु मोहम्मद अफताब आलम, मोहम्मद महताब आलम, बद्री सहनी र शेख सेराज भन्ने शेष सराजले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ। वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन। साधकको लगत कट्टा गरिदिएको छ। अरुमा तपसिल बमोजिम गर्नू।
तपसिल खण्ड
- माथि इन्साफ खण्डमा लेखिए बमोजिम सुरु रौतहट जिल्ला अदालतबाट भएको फैसला उल्टी भई सबै प्रतिवादीहरु मोहम्मद अफताब आलम, मोहम्मद महताब आलम, बद्री सहनी र शेख सेराज भन्ने शेष सराजले आरोपित कसूरबाट सफाई पाउने ठहर भएको हुँदा निज प्रतिवादीहरुलाई लागेको कैद र जरिवानाको लगत कट्टा गर्नु भनी सुरु रौतहट जिल्ला अदालतमा लेखि पठाई दिनू……………………………………………………….1
- प्रतिवादीहरुले आरोपित कासूरबाट सफाई पाउने ठहरेकाले प्रस्तुत फैसला उपर चित्त नबुझे ऐनका म्याद भित्र श्री सर्वोच्च अदालतमा पुनरावेदन गर्न जानु भनी पुनरावेदन म्याद सहितको फैसलाको जानकारी उच्च सरकारी वकिल कार्यालय, वीरगन्जलाई दिनू………………………………………………………………………………………….2
- प्रस्तुत फैसलाको नक्कल माग गर्ने सरोकारवालालाई नियमानुसार दस्तुर लिइ नक्कल दिनू………………………………………………………………………………………….3
- फैसलाको प्रति विद्युतीय प्रणालीमा अपलोड गर्नू…………………………………………..4
- मुद्दाको दायरीको लगत कट्टा गरी सुरु मिसिल सुरु जिल्ला अदालतमा पठाई रेकर्ड मिसिल अभिलेख शाखामा बुझाई दिनू………………………………………………………5
| डा. खुशीप्रसाद थारु
न्यायाधीश |
फैसला तयार गर्न सहयोग गर्नेः–
इजलास अधिकृत:- गणेश दत्त जोशी
फैसला टाइप गर्नेः- देवेन्द्र पटेल
ईति सम्वत् २०82 साल जेठ महिना 14 गते रोज ४ शुभम्………………………………….।
प्रमाणिकरण मितिः अदालतको छापः
[
|