वीरगंज, १२ असार — भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख डा प्रभात झासहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ अनुसार राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था विपरीत VOLEC/NCB/2079/80/01 अन्तर्गतको भवन निर्माण ठेक्काको सूचना सौर्य राष्ट्रिय दैनिकमा एकप्रति मात्र प्रकाशन गरिएको पाइएको हो। पौडेलका अनुसार प्रेश काउन्सिल नेपालले २०८२ जेठ २ गते लेखी पठाएको पत्रअनुसार बोलपत्र सम्बन्धी कुनै सूचना नआएको पुष्टि भएपछि अनुसन्धान अघि बढाइएको थियो।
सूचना लुकाई ठेक्का प्रक्रियामा गम्भीर अनियमितता गरिएको, एक मात्र निर्माण व्यवसायीलाई रेस्पोन्सिभ देखाई आर्थिक प्रस्ताव खोलिएको, तथा झुटा बिल बनाई रू १,२९,६६७ भुक्तानी दिइएको पाइयो। उक्त रकम गैरकानुनी रूपमा लाभ लिई राष्ट्रलाई हानि पुर्याएको ठहर गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका प्रमुख डा प्रभात झा तथा तत्कालिन लेखापाल अनिल लिम्बु र मोडक एडभर्टाइजिङ प्रालिका प्रोपाइटर कौशलराज सिंहमाथि आरोपपत्र दायर गरिएको पौडेलले बताए ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा बिगो असुल उपरको माग गर्दै अभियोग लगाइएको छ। विज्ञ केन्द्रका तत्कालीन दुई कर्मचारीमाथि ऐनको दफा ८ अनुसार, र कम्पनी तथा प्रोपाइटर सिंहमाथि सोही ऐनको दफा २२ बमोजिम मुख्य कसूरदार सरहको सजाय माग गरिएको आयोगले जनाएको छ।

























