वीरगंज, असार १२ – मधेश प्रदेशको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रतीकका रूपमा स्थापित श्री गहवा माई मन्दिर क्षेत्रको तृतीय गहवा माई रथ यात्रा असार १३ गते शुक्रवार हुने भएको छ। गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा यस वर्ष पनि झाँकी, भजन–किर्तन, सांस्कृतिक प्रस्तुति र महाप्रसाद भण्डारा सहित दुई दिनसम्म विविध कार्यक्रमहरू गरिने भएका छन्।
वीरगंज महानगरपालिका–६ स्थित माईस्थान परिसरमा बिहीवार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले सम्पूर्ण कार्यक्रमको विवरण सार्वजनिक गरेको हो।
रथ यात्रा कार्यक्रम
रथ यात्रा बिहान ७:३० बजे माईस्थान प्राङ्गणबाट सुरु भई घण्टाघर, रेलवे रोड, वीपी चौक, श्रीराम सिनेमा हल, श्री विर्ता मन्दिर, श्री अलखियामठ मन्दिर, श्री रानीसती मन्दिर, आदर्शनगर चौक, श्री महावीर मन्दिर हुँदै पुनः श्री गहवा माई मन्दिर परिसरमा समापन हुनेछ।
धार्मिक र सामाजिक पक्ष
समितिका सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) का अनुसार श्री गहवा माई मन्दिर न केवल सनातनी आस्थाको केन्द्र हो, यो क्षेत्र पर्यटकीय, सांस्कृतिक र सामाजिक गतिविधिको केन्द्रबिन्दु बन्न थालेको छ। गत वर्षहरूमा जस्तै यसपालिको रथ यात्रा पनि भव्य झाँकी, नृत्य–सांस्कृतिक प्रदर्शनीका साथ आयोजना हुनेछ।
छपन्न भोग र महाभण्डारा
असार १४ गते शनिवार बिहान छ बजे छपन्न भोग कार्यक्रम हुनेछ भने बेलुका ४ बजे भक्तजनका लागि महाप्रसाद भण्डाराको आयोजना गरिएको छ। कार्यक्रमको व्यवस्थापन, आर्थिक संकलन, सांस्कृतिक प्रस्तुति, स्वयंसेवक परिचालन लगायतका लागि विभिन्न उपसमिति गठन भइसकेको समितिले जनाएको छ।
अनुमानित खर्च र आगामी योजना
समितिले यसपालिको सम्पूर्ण आयोजनामा अनुमानित रु २५ लाख खर्च लाग्ने अनुमान गरेको छ। विशेषतः पण्डाल निर्माण, सजावट, सांस्कृतिक कार्यक्रम, भोजन तथा सुरक्षासम्बन्धी व्यवस्थापनमा खर्च हुने बताइएको छ।
अध्यक्ष श्यामकुमार पोखरेल नेतृत्वको समिति यसपटक जिल्ला प्रशासन कार्यालयमा विधिवत् रूपमा दर्ता भइसकेको र निकट भविष्यमा स्वास्थ्य शिविर, रक्तदान, र अन्य सामाजिक कार्यक्रमहरू पनि थप व्यापक रूपमा अघि बढाउने योजना रहेको छ।
विशेष सम्मान कार्यक्रम
रथ यात्राको अवसरमा विभिन्न सामाजिक अभियन्ता, विशिष्ट महानुभावहरूलाई विशेष सम्मान गर्ने कार्यक्रम पनि रहेको सचिव गुप्ताले जानकारी दिए। हालसम्मको कार्ययोजना अनुसार “सम्मान छनोट समिति” भने गोप्य राखिएको छ।
अपिल
समितिले वीरगंजवासी सम्पूर्ण श्रद्धालु, सञ्चारकर्मी, सुरक्षा निकाय, बुद्धिजीवी, मातृशक्ति, युवा वर्ग तथा विद्यार्थीहरूलाई रथ यात्रा तथा भण्डारा कार्यक्रमलाई नैतिक, भौतिक र आर्थिक रूपमा सहयोग गरि सहभागी हुन हार्दिक अपिल गरेको छ।

























