तास्केन्द, उज्वेकिस्तान — एएफसी वुमेन्स एसिया कप छनोट फुटबलको समूह ‘एफ’ अन्तर्गतका खेल आइतबारदेखि तास्केन्दस्थित मिली स्टेडियममा सुरु हुँदै छन्। यस समूहमा सहभागी नेपाल, उज्वेकिस्तान, लाओस र श्रीलंकाको एउटै लक्ष्य रहेको छ — छनोट चरण पार गरी अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी वुमेन्स कपमा स्थान सुरक्षित गर्नु। तर, समूहको विजेता मात्र छनोट हुनेछ।

पहिलो दिन नेपालले लाओससँग र आयोजक उज्वेकिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। शनिबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा चारै देशका प्रशिक्षकले आफ्नो टिम तयार रहेको र छनोट नै लक्ष्य रहेको बताए।

विज्ञापन

नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले भने, “हामी चाहन्छौं, नेपाल समूह विजेता बनोस्। सबै टिमले राम्रो खेलोस् भन्ने कामना गर्छु। हाम्रो टोली चुनौतीको सामना गर्न तयार छ।” उनले उज्वेकिस्तानी प्रशिक्षक कोट्राना कुलबाइटसँग आफ्नो पुरानो चिनजान रहेको उल्लेख गर्दै उनको तारिफ पनि गरे।

“हामीले लिथुवानियामा सँगै काम गरेका थियौं। उनी कुशल प्रशिक्षक हुन्। उज्वेक टिमसँग उनको लामो यात्रा बाँकी छ,” वाइल्डले भने।

कुलबाइटले पाँच महिना अगाडि उज्वेकिस्तानी महिला टिम सम्हालेकी हुन्। उनी वाइल्डलाई ‘मेन्टर’ मान्छिन्। उनले भनिन्, “वाइल्ड प्रायः ख्याल–ठट्टा गर्छन्, तर फुटबलमा उनी निकै गम्भीर छन्। प्रशिक्षक को हो, र उसले टिमलाई कसरी खेलाउँछ भन्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ।”

कान्तिपुरसँगको कुराकानीमा प्रशिक्षक वाइल्डले अनुभव मात्र नभई उत्कृष्ट खेलाडी पनि सफलताका लागि आवश्यक हुने बताए। “समय निकै थोरै पायौं, सबै कुरा तयार भएको छैन,” उनले भने।

लाओसका प्रशिक्षक जोङ सोङ चोनले भने, “हाम्रो पुरुष टिमले नेपाललाई हराएको छ, महिला टिमले पनि यस्तै प्रदर्शन गरोस् भन्ने चाहना छ।” उनले नेपालविरुद्धको पहिलो खेल रोमाञ्चक हुने विश्वास व्यक्त गरे।

श्रीलंकाका प्रशिक्षक एमआरएम जस्मिनले भने, “हामीसँग महिला फुटबलका राम्रा क्लब छैनन्। खेलाडीहरू प्रायः सेना, प्रहरी वा स्कुल स्तरका हुन्छन्।” उनले अप्रत्यक्ष रूपमा टिमको सीमित क्षमताको स्वीकारोक्ति गरे।

प्रशिक्षक वाइल्डका अनुसार, नेपाली खेलाडीहरू युरोप, मध्यपूर्व र दक्षिण एसियाका शीर्ष डिभिजन क्लबहरूमा खेलेका छन्, जसले टोलीलाई फाइदा दिनेछ। “हामीले मैत्रीपूर्ण खेलको मौका पाएनौं, तर नेपालले उत्कृष्ट प्रदर्शन गर्नेछ,” वाइल्डको भनाइ थियो।

लाओसविरुद्धको खेल नेपाली महिला फुटबलको सयौं अन्तर्राष्ट्रिय खेल हुनेछ, जुन ऐतिहासिक रूपमा पनि महत्त्वपूर्ण मानिन्छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here