वीरगंज, १५ असार — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहनेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको छ।
त्यस्तै, देशको उच्च–पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको पूर्वानुमान छ।
आज राति पनि देशभर साधारणतया देखि पूर्णतया बदली रहने मौसम रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा अन्य भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। राती पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।
यसैबीच, मौसमविद्हरूले सतर्क रहन आग्रह गरेका छन्, विशेषगरी पहाडी र हिमाली क्षेत्रहरूमा सम्भावित भारी वर्षाले बाढी, पहिरो र अवरुद्ध मार्गजस्ता जोखिम निम्त्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
























