- गुडिया मिश्रा
विसं २०८१ फागुन ०७ गतेको दिन बिहान करिब साढे ६ बजे म, बुबा (राजेश मिश्र) सँग मोटरसाइकलमा कलेजका लागि निस्कियौं। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि शैक्षिक भ्रमणका लागि जानुपर्छ भनेर अमृत सरले अवगत गराइसक्नु भएको थियो। यसपटक शैक्षिक भ्रमणको स्थान सिम्रौनगढ रहेको कुरा थाहा पाएपछि मेरो खुसीको सिमा थिएन। मधेश प्रदेशको पहिचानको रूपमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल सिम्रौनगढको भ्रमण मेरो लागि पहिलो पटक भएकोले म अत्यन्तै उत्साहित थिएँ। करिब २० मिनेटको मोटरसाइकल यात्रापछि म र बुबा कलेज पुग्यौं। बुबाले मलाई कलेज पुर्याएर घर फर्कनुभयो। कलेज पुग्ने बित्तिकै साथी रिमा पनि आइपुगिन्। साथी रूपा पहिला नै कलेज पुगेको थाहा भयो। कलेजमा प्रवेश गर्दा शिक्षिका उषा चौधरी म्यामसँग भेट भयो।
चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरू तथा म अध्ययन गरिरहेको तेस्रो वर्षका साथीहरू पनि आइपुगेका थियौं। केही विद्यार्थीहरू आउन बाँकी थिए। केही बेरमै साथी संगीता पनि आइपुगिन्। त्यसपछि हामी साथीहरू बसमा चढ्यौं। चौथो वर्षका दाइ-दिदीहरूसँग केही क्षण गफसफ गरियो। अमृत सर आए लगत्तै हामी सबै विद्यार्थीहरू बसमा आ-आफ्नो मिल्ने साथीहरूसँग सिटमा बस्यौं। बिहान करिब साढे ७ बजे कलेजबाट बस सिम्रौनगढ निस्कियो।
अमृत सरले भने अनुसार हाम्रो गन्तव्यको बाटोमै धार्मिक स्थल गढीमाई माताको मन्दिर पर्ने भएकोले गढीमाई दर्शन गरेर अगाडिको कार्यक्रम अगाडि बढाउने निर्णय गरियो। सोअनुसार हरियो पहेंलो खेतहरू, साना गाउँ बस्तीहरू देख्दै हामी गढीमाई मन्दिरको द्वारमा पुग्यौं। सबैले गढीमाईको जयकार लगाउँदै आआफ्नो समूह बनाएर बसबाट ओर्लियौं। गढीमाईसँगको यो मेरो दोस्रो भेट भएकोले मेरो लागि यो यात्रा अलि खास थियो। बसबाट ओर्लिने बित्तिकै लाइनबाटै प्रसाद तथा फलफूलका पसलहरू, फुलमाला बेच्दै गरेका मान्छेहरू, मेरो पसलबाट सामान लिन आउनु भनिरहेका केटाकेटीहरू, गढीमाई माताको मन्दिरका प्रवेशद्वारहरू देखेर मन गदगद भएको थियो।
म र साथी रिमा, प्रसाद-माला लिन पसल तिर लाग्यौं। साथी रिमा गढीमाताको धेरै पटक दर्शन गरिसकेको भएकाले त्यहाँका पसलहरूमा कसरी मोलमोलाई गर्ने भन्ने कुरा जान्ने रहेछिन्। साथीले मलाई सस्तो दाममा राम्रो सामान पाईहाल्ने पसल तिर लगाइन्। म पनि साथीको बाटो तिर लागेँ। पसलमा गएर मैले प्रसादका सामग्रीहरू, फूलको मालाहरू लिएँ। साथीले पनि आफूलाई चाहिने सामानहरू लिइन्। त्यस पसलमा बसेकी आमा एकदमै राम्रो थिइन्। हामीले आफ्नो जुत्ता त्यही खोलेर दुवैजना मन्दिरतिर लाग्यौं। बुधबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा बिदा परेकोले थुप्रै श्रद्धालुहरू दर्शनका लागि आएका थिए। मन्दिरको प्राङ्गणमा प्रवेश गर्ने बित्तिकै चारैतिर अगरबत्तीको बास्नाले वातावरण रमणीय बनेको थियो। मेरा कलेजका साथीहरू, चौथो वर्षका दाइ/दिदीहरू एवम् सर/म्याडम सबैको अनुहारमा मैले त्यो खुसीको पलको तस्बिर देखेँ। केही साथीहरू दर्शन गरेर यादका लागि तस्बिर खिच्दै थिए भने केही साथीहरू दर्शनका लागि जाँदै थिए। म पनि साथीहरूसँगै मन्दिरको मुख्य स्थानमा पुगेँ। मन्दिरका पुजारीलाई मैले लिएको प्रसाद र फूलमाला दिएँ अनि माताको दर्शन गरें। पुजारीले टिका लगाएर प्रसाद दिनुभयो। त्यसपछि साथीहरूसँग थुप्रै फोटो खिच्यौं र केही क्षण रमाइलो गरियो। मन्दिरको छेउको पोखरीमा डुल्दै गरेको हासँहरू पनि देखियो। त्यसपछि अमृत सरले भने अनुसार एउटा सामूहिक फोटो खिचेर हामी बस भित्र पस्यौं।
अब गढीमाताको दर्शनपछि हाम्रो बस सिम्रौनगढका लागि प्रस्थान गर्यो। सिम्रौनगढ जाँदा बाटो मेरो लागि अत्यन्त रमाइलो थियो। ती हरियाली गहुँका बाली लहलहाउँदै गरेका खेतहरू, पहेँलो तोरीका फूलहरू, चिरबिर गर्दै गरेका चराचुरुङ्गीहरूको मधुरो आवाज, तरकारी, मकै बालीका खेतहरू, बीचबीचमा आउँदै गरेका साना गाउँबस्तीहरू, ती बस्तीमा रहेका माटो तथा फुसका घरहरू, घर बाहिर खेलिरहेका केटाकेटीहरू, गाइभैंसीहरू, बाख्राहरू, हावाले उडाएका धुलोका कणहरू तथा ती सम्पूर्ण दृश्यहरूले मेरो मन आनन्दित थियो। बसभित्र साथीहरू गीत-संगीतको धुनमा रमाइरहेका थिए। यसरी बाटो कट्दै गयो।
लगभग दस बजेतिर हामी सिम्रौनगढ पुग्यौं। बारा जिल्लाको ऐतिहासिक तथा धार्मिक स्थल सिम्रौनगढको ऐतिहासिकता र धार्मिकता सुन्नेजस्तो दृश्य पनि थियो। हाम्रो बस सिम्रौनगढको प्रसिद्ध धार्मिक स्थल कंकालीमाई मन्दिर नजिकै रोकियो। बसबाट ओर्लिने बित्तिकै मैले एउटा ठूलो पोखरी देखेँ जुन मन्दिर नजिकै थियो। जरा सहितका ठूलाठूला सुकेका रुखहरू पनि थिए। हामी सबै अमृत सरसँगै मन्दिरतिर लाग्यौं। मन्दिरभित्र प्रवेश गर्ने बित्तिकै त्यो अनुभूति सायद शब्दमा बयान गर्न सकिँदैन। मन्दिर देख्नमा साधारण भए पनि त्यहाँको दैवी शक्तिले मन उत्साहित बनाएको थियो। पालैपालो हामी सबैले कंकाली माताको दर्शन गर्यौं। म पनि दर्शनका लागि मन्दिरभित्र प्रवेश गरेँ।
मन्दिरको प्राङ्गणमा प्रवेश गर्दा मैले चारैतिर मन्दिर देखें। त्यहाँ केन्द्रमा कंकाली माताको मन्दिर रहेको छ। म सबैभन्दा पहिले कंकाली माताको मन्दिर दर्शन गर्न अगाडि बढेँ। जुत्ता फुकालेर मन्दिरमा गएँ। मन्दिरमा कंकाली माताको रातो वस्त्र धारण गरेको एउटा सुन्दर मूर्ति थियो। मूर्ति छेउमा पूजा गर्ने एउटी आमा थिइन्। वहाँले सबैको निधारमा टिका लगाएर आशिर्वाद दिइरहेकी थिइन्। म पनि टिका लगाउन अगाडि बढेँ। पुजारी आमाले मलाई पनि टिका लगाएर आशिर्वाद दिनुभयो। दर्शन सकेपछि मन्दिरको एकपल्ट परिक्रमा गरेँ।
त्यसपछि साथी संगीता, रूपा र रिमासँगै तस्बिर खिचें र त्यहाँ रहेका अन्य देवी-देवताको स्थानमा दर्शन गर्न गएँ। केही बेर मन्दिर अवलोकन गरेपछि हामी विद्यार्थीहरू मन्दिरकै प्राङ्गणको एक स्थानमा भेला भयौं। सिम्रौनगढका स्थानीय बासी रहेका कक्षाका साथीहरू पनि त्यहीं आइपुगेका रहेछन्। अमृत सरले त्यहीको स्थानीय पत्रकारलाई पनि बोलाउनु भएको रहेछ। वहाँले हामीलाई कंकाली माताको स्थापना र त्यहाँ भएका सम्पूर्ण घटनाक्रमको बारेमा विस्तारमा सुनाउनु भयो। स्थानीय बासिन्दाले हामीलाई त्यही मन्दिरमा रहेको बाबाको मन्दिरमा पनि देखाउन लगाउनुभयो। त्यो स्थानमा बाबाले समाधि लिनुभएको रहेछ। स्थानीय साथीहरूले भने अनुसार बाबाको मन्दिरमा रहेको चरणपादुका प्रत्येक वर्ष बदलिन्छ किनभने त्यहाँ राखिएको त्यो चरणपादुका विस्तारै खिंईदै जान्छ।
हामी सबै विद्यार्थीहरू बाबाको मन्दिर हेर्न गयौं। प्रवेश गर्दा मैले एउटा चौकोल घेराको बीचमा सेतो कपडाले ढाकिएको स्थान देखें। त्यहाँ प्रत्येक वर्ष थुप्रै चरणपादुकाहरू राखिएको देखेँ। एउटा नयाँ चरणपादुका पनि समाधिको स्थानमा राखिएको थियो। वास्तवमै त्यहाँ थुप्रै चरणपादुकाहरू खिईएका थिए। केही तस्बिर लिएर हामी मन्दिरको दक्षिणपट्टि लाग्यौं। त्यहाँ सानासाना कोठामा प्राचीन मूर्तिहरू राखिएका थिए। सुरुमा मलाई विश्वास लागेन, तर एक-दुई पल्ट राम्ररी हेरेपछि मेरो आँखालाई पनि विश्वास भयो। स्थानीय साथीहरूले बताएअनुसार ती मूर्तिहरू त्यही सिम्रौनगढमा जमिन तथा पोखरी र ईनार खन्दा प्राप्त भएका मूर्ति तथा सामानहरू हुन्। अहिले पनि त्यहाँ जमिन खन्दा बहुमूल्य सामानहरू भेटिन्छन् भन्ने कुरा साथीहरूले बताए।
हामी मन्दिरको दक्षिणपट्टि रहेको द्वारबाट कालो चामल पाइने स्थानको अवलोकन गर्न तिर लाग्यौं। अमृत सर र उषा मैडमको नेतृत्वमा हामी एकअर्कासँग त्यस ठाउँको बारे छलफल गर्दै अगाडि बढ्यौं। बाटोमा सरले थुप्रै कुराहरू बताउनु भयो। त्यही बाटोमा एउटा ठूलो पोखरी थियो, जसमा बोतलहरू धागोले पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण दिशामा लम्पसार रूपमा बाँधिएको थियो। त्यो हाम्रो छलफलको अर्को विषय बन्यो।
सबैले आफ्नो अनुसारको जुक्ति लगाएर त्यो बोतलहरू किन त्यसरी बाँधिएको होला भनेर विचार प्रस्तुत गरे। त्यस क्रममा एउटा साथीले भन्यो कि त्यो पोखरीको माछा चराहरूले नखाओस् भनेर त्यस्ता बोतलहरू बाँधिएको हो, ताकि बोतलमाथि घामको किरण पर्दा त्यो किरण चराहरूको आँखामा सोझै पर्न गइ तिनीहरूले पोखरीमा रहेका माछा समात्न नपाओस्।
बाटोमा गफसफ गर्दै गर्दा अमृत सरले पानीले भरिएको जलकुम्भी र थुप्रै बिरुवा उम्रेको ठाउँ देखाउँदै सोध्नुभयो, “त्यस्तो ठाउँलाई के भनिन्छ?” सरको प्रश्न सुनेर सबै उत्तर खोज्न थाले। साथी संगीता जवाफ दिईन्, “सिमसार क्षेत्र।” सरले स्याबास दिनुभयो। त्यसपछि हामी कालो चामल पाइने स्थानमा पुगेका थियौं। तर त्यो ठाउँ सुन्न र हेर्नमा मैले फरक पाएँ। माटो थुपारेको सानो पहाड जहाँ घाँसपात उम्रिएका थिए। अर्कोतर्फ सुन्दर हरिया खेतहरू थिए। छेउमै फोहोर पनि थुप्रिएको थियो। त्यहाँका स्थानीय बच्चाहरू पनि त्यही आएका थिए।
हामी पनि उत्साहका साथ माटोबाट कालो चामल निकाल्न तिर लाग्यौं। उषा मैडम पनि उत्साहका साथ हामीसँगै चामल निकाल्न लाग्नुभएको थियो। ती बच्चाहरूले पनि हाम्रो उत्साह देखेर सहयोग गर्न थालेका थिए। केही क्षणमै एक-दुई साथीहरूले कालो चामलका केही कणहरू भेटाए। तर त्यो नतिजा अपेक्षित जस्तो भएन।
त्यसपछि हाम्रो टोली पुनः कंकाली माताको मन्दिरतिर फर्कियो। त्यहाँ गएर सरले खानाको व्यवस्था गर्न स्थानीय साथीहरूलाई भन्नुभयो। खाना तयार नहुँदासम्म हामी सिम्रौनगढको एउटा ठूलो तालको अवलोकन गर्न तिर लाग्यौं। त्यो ताल कंकाली माताको मन्दिरबाट लगभग बसको गतिमा १०-१५ मिनेट टाढा थियो। बाटोमा प्रहरीले हाम्रो बसलाई एक्कासि रोकेको हुँदा हामी विद्यार्थीहरू अलि अलमलमा पर्यौं। सबैले सोच्न थाल्यो, “किन प्रहरीले बस रोकेको होला?” तर सिम्रौनगढको सीमा भारतको घोडासान भन्ने ठाउँसँग जोडिएको हुँदा सुरक्षा कारणले केही बेरको लागि बस रोकेको भन्ने कुरा थाहा पाएपछि हामी ढुक्क भयौं। त्यसपछि हाम्रो बस त्यो ठूलो पोखरी तिर गयो। वास्तवमै त्यो ठाउँ सुन्दर र मनमोहक थियो। साथीहरूले भनेअनुसार त्यो पोखरीभित्र थुप्रै ईनारहरू पनि थिए। पोखरी छेउछाउमा बस्नका लागि भर्याङ बनाइएको थियो। पर्यटकीय आकर्षणका लागि पार्कको निर्माण हुँदै गरेको पनि देखियो।
फागुन महिना भए पनि चर्को घामले ज्याकेट खोल्न बाध्य तुल्यायो। बसमा सबैको उपस्थिति भएपछि सिम्रौनगढको मुख्य क्षेत्र अर्थात् सिम्रौनगढ दरबार हेर्न हामी सबै उत्साहित थियौं। त्यहाँको मुख्य बजार हेर्दै दरबार क्षेत्रमा प्रवेश गर्यौं। बसबाट ओर्लिने बित्तिकै मैले दरबार बाहिर एउटा मञ्चमा नृत्य प्रदर्शन भइरहेको देखें। त्यो नृत्य हेर्नका लागि स्थानीय बासिन्दाको भिड बढ्दै गएको दृश्य पनि देखियो। हामी पनि त्यही बाटो हुँदै दरबारको प्रवेशद्वारबाट प्रवेश गर्यौं। अति सुन्दर त्यो क्षेत्र देखेर मेरो मनले पहिलो शब्द यही थियो। सिम्रौनगढ दरबार क्षेत्रको दृश्य र अनुभूति शायद शब्दले बयान गर्न नसकिने भए पनि मेरो लागि त्यो स्मरणीय थियो। दायाँ-बायाँ रुखबोटले घेरिएको जङ्गलमय क्षेत्र र बिचमा रहेको बाटो, प्रवेशद्वारबाटै टाढा देखिएका ठूला रुखहरूले ढाकेको दरबारको झलक रमणीय थियो। मैले तुरुन्तै मोबाइलको क्यामेरा खोलेर फोटो खिच्न थालेँ। साथीहरू पनि एकअर्काको फोटो खिच्दै रमाइरहेका थिए। दरबार नजिकै पुग्यौं।
दरबार बाहिर केही निर्माण कार्यहरू भइरहेको थियो। म र अन्य विद्यार्थीहरू आआफ्नो जुत्ता फुकालेर दरबारभित्र प्रवेश गर्यौं। प्रवेश गर्दैगर्दा मैले भगवान हनुमानको एउटा सानो मन्दिर देखें। त्यहाँ पालैपालो सबैले पुजारी बाबासँग टिका लगायौं। केन्द्रमा ठूलो भवन थियो। छेउमा विशाल घण्टी पनि रहेको थियो। भवनमा ठूला भर्याङहरू थिए। वरिपरि साना कोठाहरू रहेका थिए। हामी पालैपालो भवनको माथि गयौं। भवनभित्र भगवान् रामसिताको मूर्ति रहेको थियो। हामी त्यहाँ ढोगेर मन्दिर वरिपरि अवलोकन गर्यौं।
अवलोकन गर्दा त्यहाँ रहेको इनार देखें। इनार गहिरो थियो। एकजना विद्यार्थीले इनारबाट पानी झिक्यो जुन शितल थियो। त्यो इनार प्राचीनकालको रहेको थाहा भयो। त्यसपछि सबैले केही तस्बिर लिएर दरबार बाहिर निस्कियौं। अन्य साथीहरूको प्रतिक्षामा म केही साथी र सर-म्याडमसँग बसेँ। त्यही बेला अमृत सरले कामदारसँग सोध्दा, उनीहरूले प्रयोग गरेको सिमेन्ट अन्य बजारका सिमेन्टभन्दा सर्वोत्कृष्ट रहेको जानकारी पाएँ। हामी दरबारको पूर्वपट्टि रहेको बाटो हुँदै अगाडि बढ्यौं। त्यताबाट एउटा पुरानो भत्किएको गौशाला देखियो। भत्किएको भए पनि त्यहाँ इतिहासका कथा लुकेको देखियो।
हिड्दै हामी दरबारको दक्षिण भागमा पुग्यौं जहाँ खेतहरू थिए। त्यसपछि हामी अन्ततः दरबारको पश्चिमपट्टि पुगेका थियौं। पश्चिमतिर ठूलो बगैँचा थियो। बगैँचामा साना जनावरहरू—हात्ती, जिराफका मूर्तिहरू पनि निर्माण गरिएका थिए। त्यहाँ ठूला रुख र थरिथरिका फूलहरूले वातावरण रमणीय देखिएको थियो। हामी बगैँचामा प्रवेश गर्यौं। त्यसपछि सबैले आफ्ना मनपर्ने स्थानतिर लाग्यौं। त्यहाँ बगैँचाको रेखदेख गर्न दुईजना वृद्ध श्रीमान्-श्रीमती बसेका थिए।
मैले हातमा रहेको प्रश्नावलीको नमुना लिएर वहाँहरू माझ गएँ। पहिलो भेट ती महिलासँग भयो। मैले वहाँलाई नमस्कार गर्दै बस्ने अनुमति मागेँ। त्यसपछि भ्रमणको उद्देश्य बताएँ। तर ती आमा अलि डराएकी जस्तो देखिइन्, आफू नपढेको भन्दै बूढोसँग जानकारी लिन भन्दै वहाँलाई बोलाइन्। वहाँको श्रीमान् आए। त्यसपछि मैले वहाँसँग प्रश्नावली अनुसार जानकारी हासिल गरेँ। उनीहरू व्यवहारमा एकदम राम्रा हुनुहुन्थ्यो। मलाइ सहयोग गरिदिएकोमा मैले उहाँहरूलाई धन्यवाद दिँदै केही तस्बिरहरू पनि खिचें। त्यसपछि आफैं पनि त्यो बगैँचाको भ्रमण गरें। बगैँचाको भ्रमण पश्चात हाम्रो टोली हाम्रो भ्रमणको अन्तिम स्थान तिर लाग्यौँ।
बसबाट करिब दस मिनेट जतिको यात्रा पश्चात हामी बाकस पाएको स्थानमा पुग्यौ। बसबाट ओर्लिएर हामी सम्पूर्णजना बाकस अवलोकनका लागि अगाडी बढ्यौ। बाकस भेटाएको स्थान सामान्य खालकै मैले पाएँ। त्यहाँ मैले एउटा सानो घरभित्र माटोमा धसिएको बाकसको भाग देखें। त्यो स्थानलाई स्थानीय महिलाहरूले धार्मिकमान्यता दिँदै त्यहाँ पूजा अर्चना गरेको प्रमाणहरू पनि फेला परे। साथै बाकस भएको ठाउँमा एउटा पिलर पनि थियो, जुन स्थानीय साथीहरूले भने अनुसार उखाल्न खोजे पनि नसकेको रहेछ। स्थानीय साथीहरूले भने अनुसार त्यहाँ विभिन्न खोज अनुसन्धान पनि भएका छन्। तर जति संरक्षण हुनुपर्ने हो त्यति नरहेको मैले महशुस गरें।
अमृत सरले सबैजनालाई आवाज दिँदै, “घर फर्किने बेला भयो”। सरको आवाज सुनेपछि सबैजना एक ठाउँमा जम्मा भयौं। त्यसपछि हामी सबैजना बस रहेको स्थानतर्फ लाग्यौं। सबैजना बसभित्र बसेपछि हाम्रो बस वीरगंजको लागि प्रस्थान गर्यो। बाटोमा गीत-संगीतको धुन र ती सुन्दर हरियालीयुक्त खेतहरूको दृश्य हेर्दै, करिब साँझको ४ बजे हामी वीरगंज आइपुग्यौं।
शैक्षिक भ्रमण गर्दाको अनुभवका सबल र दुर्बल पक्षहरू
सबल पक्षहरू :
- शैक्षिक भ्रमणले शिक्षासँग प्रयोगात्मक रूपमा पनि वार्तालाप गर्ने अवसर प्राप्त गरियो।
- आफू बसोबास गरेको क्षेत्रबाट नयाँ स्थानमा जाँदा नौलो अनुभूति प्राप्त भयो।
- कक्षाका साथीहरू एवं शिक्षक–शिक्षिकासँगको सम्बन्ध प्रगाढ बन्यो।
- साथी एवं शिक्षक–शिक्षिकालाई नजिकबाट चिन्ने मौका प्राप्त भयो।
- आफ्ना सिनियर दाजु–दिदीहरूसँग पनि परिचित भइयो।
- सामूहिक रूपमा काम गर्ने अनुभव प्राप्त भयो।
- एकतामा बसेर काम गर्दा काममा एकरूपता प्राप्त हुन्छ भन्ने ज्ञान मिल्यो।
दुर्बल पक्षहरू :
- शैक्षिक भ्रमणसम्बन्धी सूचना एक्कासि प्राप्त भएकाले सबै विद्यार्थीको उपस्थिति हुन सकेन।
- भ्रमणका लागि आवश्यक पूर्वतयारी हुन सकेको थिएन।
- सिनियर र जुनियर विद्यार्थीहरूबीच मतभेदको वातावरण देखियो।
- खाजा तथा पानीको व्यवस्था आफैंले गर्नुपर्ने अवस्था देखियो।
- कलेजले शैक्षिक भ्रमणप्रति आवश्यक जागरुकता देखाएन।
- मानविकी संकायका सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको उपस्थिति देखिएन।
- अध्ययनरत विषयसँग खोजमूलक सम्बन्ध भएता पनि विद्यार्थीहरूमा बेवास्ता देखियो।
सिम्रौनगढ भ्रमणबाट प्राप्त अनुभवहरू
यो मेरो सिम्रौनगढको पहिलो भ्रमण थियो, त्यसैले म त्यहाँको बारेमा जानकार थिइनँ। विद्यालयमा अध्ययन गर्ने क्रममा मात्र सिम्रौनगढसम्बन्धी कुराहरूको अध्ययन गरिएको थियो। घरमा कहिलेकाहीं बाआमाको मुखबाट पनि सिम्रौनगढको बारेमा एक–दुईपल्ट सुनेको थिएँ।
त्यही अध्ययन र सुनेका कुराका आधारमा कल्पनामा कोरेको चित्रसँग मेल खाने वास्तविकता म सिम्रौनगढ पुगेर अनुभूत गर्न सकें।
मैले सिम्रौनगढ साँच्चिकै ऐतिहासिक महत्व बोकेको स्थान हो भन्ने महसुस गरें। त्यहाँ रहेका पौराणिक मन्दिर, पोखरी, इनार, मूर्तिहरू, दरबार क्षेत्र—सबैले कुनै न कुनै कथा बोकेका छन्। त्यहाँका स्थानीय बासिन्दा व्यवहारमा एकदमै राम्रा र मिलनसार रहेछन्। प्रमुख पेशाका रूपमा खेतीपातीलाई अँगालेको पाइयो। तर विकासको दृष्टिकोणले हेर्दा, त्यो क्षेत्र अझै पनि पछाडि नै देखिन्छ। अनुसन्धानको क्रममा त्यहाँका स्थानीयहरूले पनि धेरै गुनासो प्रकट गरेका रहेछन्। त्यहाँको प्रसिद्ध कंकाली माताको मन्दिर जति संरक्षित र व्यवस्थित गरिनुपर्ने हो, त्यसरी देखिएन। धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि सरकारले कुनै विशेष कदम चालेको देखिएन।
स्थानिय बासिन्दाहरूका अनुसार सरकारी बजेट आए पनि राजनीतिक हस्तक्षेपका कारण ती बजेटहरू कहाँ पुग्छन् भन्ने थाहा पाउन सकिंदैन। पुरातात्त्विक र ऐतिहासिक महत्व बोकेको क्षेत्रलाई राज्यले अपेक्षित महत्त्व दिएको देखिएन। पूर्वाधारको विकास पनि देखिएन। भ्रमणमा आउने पर्यटकहरूका लागि विश्रामस्थलको व्यवस्था देखिएन। हामीले पनि जुन होटलमा गएका थियौं, त्यो वास्तवमा मदिरा सेवन गर्ने अड्डा रहेछ भन्ने थाहा पाइयो।
स्थानीय सरकारको पनि पर्यटन विकासप्रति चासो नरहेको अनुभव गरियो। पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै सिम्रौनगढ विकासमा पछाडि परेकाले पर्यटन पनि फस्टाउन सकेको छैन। राजनीतिक अस्थिरता, आर्थिक कठिनाइ र बढ्दो भ्रष्टाचारका कारण सिम्रौनगढ अहिले पनि पुरानै अवस्थामा अडिएको देखियो। त्यहाँका प्राकृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाहरू संरक्षणको अभावमा नष्ट हुने बाटोमा छन्। व्यक्तिगत रूपमा मलाई सिम्रौनगढ एकदमै मन पर्यो। मेरो कल्पना र वास्तविकताबीचको चित्र मिल्दो रहेछ।
त्यस क्षेत्रको संरक्षणका लागि स्थानीय स्तरबाटै पहल थालिनु पर्छ भन्ने महसुस गरें। मधेश प्रदेशको पहिचानसँग जोडिएको भएकाले प्रदेश सरकारले यस विषयमा ध्यान दिनुपर्छ। साथै केन्द्र सरकारले पनि आवश्यक चासो देखाउनुपर्छ।
आर्थिक सम्भावनाले भरिपूर्ण सिम्रौनगढका लागि आफूले पनि केही योगदान दिन सकूँ भन्ने मनोभाव छ। भविष्यमा पुनः त्यहाँ भ्रमण गर्दा एउटा विकसित, संरक्षित र समृद्ध सिम्रौनगढ हेर्न पाइयोस् भन्ने मेरो आशा छ।

























