पोखरिया, १७ असार — कालिकामाई गाउँपालिकाको ११औं गाउँसभा अन्तर्गत बजेट सार्वजनिकिकरण कार्यक्रम सोमवार भव्य रूपमा सम्पन्न भएको छ। अनुमानित रु ४० करोड ८३ लाखको बजेट सार्वजनिक गरिएको छ।
गाउँपालिका कार्यालय, हरिहरपुरमा आयोजित कार्यक्रममा उपाध्यक्ष राजमतीदेवी बरइनीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुति दिँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र व्यापारलाई प्राथमिकता दिइएको बताइन्। गाउँपालिकाले समृद्ध कालिकामाईको आधार तयार गर्ने लक्ष्यका साथ बजेट निर्माण गरेको जनाइएको छ।
गापा अध्यक्ष वशिष्ठ गुप्ताले पालिकाको नीति तथा कार्यक्रमहरूमा सबै वडाहरूको सुझाव समेटिएको जानकारी गराउँदै, योजनाहरूको प्रभावकारी कार्यान्वयनमा सबैको सहयोगको अपेक्षा गरे।
प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले कार्यक्रमलाई सम्बोधन गर्दै समावेशी विकास र नागरिकको सहभागितामा आधारित बजेट निर्माणलाई सकारात्मक संकेत भएको बताए।
कार्यक्रममा वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको र सहभागीहरूले बजेटप्रति चासो र उत्साह देखाएको आयोजकले जनाएको छ।

























