वीरगंज, १७ असार — हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिम नेपाल नजिक उत्तरतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका धेरै स्थानहरूमा आज दिउँसोदेखि मौसम बदली रहनेछ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ। साथै, उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। यी प्रदेशहरूका पहाडी क्षेत्रहरूमा पनि मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद्हरूका अनुसार, मनसुन सक्रिय रहेकाले पहाडी तथा तराई क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ। नदी तथा खोला किनारमा बसोबास गर्नेहरूलाई आकस्मिक बाढी र पहिरोको जोखिमबारे सतर्क रहन सुझाव दिइएको छ।

























