कलैया, १७ असार – बाराको कोल्हबीबाट मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरी उनीहरूको साथबाट ५ वटा मोटरसाइकल बरामद गरेको छ।
विभिन्न मिति, समय र स्थानबाट हराएका तथा चोरी भएका मोटरसाइकलहरूको खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय, कोल्हबीबाट प्रहरी निरीक्षक रञ्जन मिश्रको कमाण्डमा खटिएको टोलीले उक्त मोटरसाइकलहरू बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार सम्बन्धित पीडितहरूले हराएको तथा चोरी भएको भन्दै प्रहरीमा निवेदन तथा जाहेरी दिएका थिए। सोही आधारमा अनुसन्धानको क्रममा विभिन्न स्थानबाट फेला परेका मोटरसाइकलसहित तीनजना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बारा, कोल्हबी नगरपालिका वडा नं १ निवासी २१ वर्षीय राहुल बिक, २३ वर्षीय अर्जुन खवास र २३ वर्षकै मुस्कान चौधरी रहेका छन्। पक्राउ परेकाहरूमाथि बारा जिल्ला अदालतबाट म्याद थप लिई चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।
बरामद गरिएका मोटरसाइकलहरू :
१) प्र.२-०३-००६ प ६५१५ नम्बरको १२५ सि.सि. क्षमताको होन्डा साइन
२) ना.४८ प.६९७० नम्बरको कालो रङको टिविएस आरटीआर २००
३) बा.९४ प.२१४६ नम्बरको निलो रङको बजाज पल्सर २२०
४) ना.६५ प.८८६० नम्बरको रातो–कालो टिविएस स्ट्राइकर
५) प्र.२-०३-००५ प ६२२६ नम्बरको निलो रङको टिविएस स्ट्राइकर रहेका छन्।

























