तस्वीर : जिल्ला प्रहरी कार्यालय, पर्सा

वीरगंज, १७ असार — स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँ हुण्डी रकमसहित पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई फरक–फरक स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामा पर्साको पकाहामैनपुर गाउँपालिका–२ का २६ वर्षीय अनिल कुमार बर्णवाल, वीरगंज महानगरपालिका–३ आदर्शटोलका २३ वर्षीय बिनित कुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ का ४४ वर्षीय दिपक कुमार सोनार छन्।

विज्ञापन

प्रहरीका अनुसार अनिल कुमार बर्णवाल मकालु चोकबाट पक्राउ परेका थिए। उनको साथबाट कालो झोलामा लुकाइछिपाइ राखिएको कुल ९ लाख ४७ हजार रुपैयाँ बरामद गरिएको छ। उक्त रकम विभिन्न दरका नोटहरूमा रहेको थियो।

त्यसैगरी बिनित कुमार श्रीवास्तवलाई लिंकरोडस्थित कृषि विकास बैंक नजिकबाट पक्राउ गरिएको हो। उनको साथबाट १५ लाख ८१ हजार रुपैयाँ नगद र आठ थान विभिन्न बैंकका चेक बरामद गरिएको प्रहरीले जनाएको छ।

तेस्रो व्यक्तिका रूपमा पक्राउ परेका दिपक कुमार सोनार रजत जयन्तीचोकबाट पक्राउ परेका थिए। उनी चढेको मोटरसाइकल तथा लगाएको पाइन्टको खल्तीबाट तीन लाख रुपैयाँ नगद बरामद गरिएको छ।

तीनै जना विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबारसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here