वीरगंज, १७ असार — पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसारपसारको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति बाराको कलैया उपमहानगरपालिका–१२ का २९ वर्षीय पवनकुमार साह हुन् । प्रहरीका अनुसार भारतबाट आएका दुईजना महिला पीडितहरूलाई वीरगंजमा खान र पैसा दिने प्रलोभन देखाई विभिन्न होटल तथा लजमा वेश्यावृत्तिमा लगाइ उनीहरूबाट आएका रकम आफैं राख्ने गरेको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो ।
मङ्गलवार दिउँसो करिब साढे १२ बजे वीरगंज महानगरपालिका–१५ स्थित भिष्वाबाट पीडितहरूलाई सकुशल उद्दार गरी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा साहविरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























