कलैया, १८ असार – बाराका नेपाली कांग्रेस नेता तथा पूर्व संविधानसभा सदस्य रामअयोध्या यादवको ७२ वर्षको उमेरमा बुधवार निधन भएको छ।
बाराको सुवर्ण गाउँपालिका–२ कवही निवासी यादवको उपचारका क्रममा वीरगंज हेल्थकेयर हस्पिटलमा बुधवार बिहान निधन भएको पारिवारिक श्रोतेल जानकारी दिएको छ। यादव लामो समयदेखि मधुमेहबाट पीडित थिए।
संविधानसभा दोस्रो निर्वाचन (२०७०) मा यादव नेपाली कांग्रेस बारा–१ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। उनी कांग्रेसका पूर्व जिल्ला सचिव तथा पार्टी महासमिति सदस्य समेत थिए।
यादवका २ छोरा, २ छोरी र श्रीमती छन्। उनको अन्तिम संस्कार बुधवार दिउँसो १ बजे कवहीमा गरिने पारिवारिक स्रोतले जनाएको छ।
यस दुःखद घडीमा सुवर्ण गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, पालिकाको मातहतका सम्पूर्ण कार्यालय तथा सार्वजनिक निकायहरूमा बुधवार एक दिन शोक बिदा रहने सूचनासमेत जारी गरिएको छ।

























