वीरगंज, २२ असार — चिकित्सकमाथि भइरहेका आक्रमण र दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक सङ्घले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
यसैक्रममा सङ्घको नारायणी अञ्चल शाखाले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै सोमवार आकस्मिक सेवा बाहेक सम्पूर्ण नियमित स्वास्थ्य सेवा बन्द गरिने जनाएको छ।
नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयबाट गएको असार २० गते जारी भएको निर्णयअनुसार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा यो आन्दोलन कार्यक्रम लागू गरिने जनाइएको छ।
नारायणी शाखाका अध्यक्ष डा मनोजकुमार गुप्ता र सचिव डा नौसाद हकद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित संस्थाहरूलाई एकजुट भई संघर्ष कार्यक्रमलाई सफल बनाउन अनुरोध गरिएको छ।
सङ्घले चिकित्सकीय पेशामाथि भइरहेका ‘अक्षम्य प्रहार’ को घोर विरोध जनाउँदै सुरक्षाको प्रत्याभूति नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। आगामी संघर्षका कार्यक्रमहरू क्रमशः सार्वजनिक गरिने सङ्घले जनाएको छ।

























