वीरगंज, २६ असार – वीरगंज महानगरपालिका–११ निवासी प्रमोद रौनियारका ९ वर्षीय छोरा बजरंगी रौनियारको स्वीमिङ पुलमा डुबेर मृत्यु भएको छ। बुधवार दिउँसो वीरगंज–११ स्थित आदर्शनगर क्षेत्रको दियालो लर्डस होटलको स्वीमिङ पुलमा नुहाउने क्रममा बालक डुबेर गम्भीर अवस्थामा पुगेका थिए।
स्थानीय र होटल कर्मचारीहरूले तत्काल उद्धार गरी बालकलाई उपचारका लागि नारायणी अस्पताल लगेको बताइएको छ। तर अस्पताल पुगेपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बालकको शव हाल नारायणी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























