वीरगंज, २८ असार — पानीको चरम अभाव झेलिरहेको अवस्थामा वीरगंज–११ श्रीपुर नयाँ बस्तीका बासिन्दाहरूलाई जगरनाथपुर गाउँपालिकाले मानवीय आधारमा पानी वितरण गरेको छ। जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवको निर्देशनमा पठाइएको ट्यांकरमार्फत बस्तीमा पानी पुर्‍याइएको हो।

विगत केही सातादेखि श्रीपुर लगायतका क्षेत्रमा पानीको हाहाकार मच्चिएको छ। यस्तो बेलामा वीरगंज नपाका वडा नं ११ अन्तर्गतको नयाँ बस्तीमा गाउँपालिकाले पानी सहयोग पु-याएको हो।

विज्ञापन

स्थानीय समाजसेवी राधेश्याम पटेलका अनुसार, जगरनाथपुर गाउँपालिकाबाट पठाइएको ट्यांकरले सयौं लिटर पानी पुर्‍याएको थियो, जसले केही समयका लागि भए पनि स्थानीयहरूलाई सहजता मिलेको छ। बासिन्दाहरू बाल्टी, गाग्री र ड्रम लिएर लाइनमा उभिएका थिए, र शान्तिपूर्ण वातावरणमा वितरण कार्य सम्पन्न गरिएको थियो।

गाउँपालिका अध्यक्ष यादवले भने, “यो सानो प्रयास हो, तर सङ्कटको घडीमा राहत दिने उद्देश्यसहित गरिएको मानवीय सहकार्य हो। आपसी समन्वय र सहयोगबाटै यस्ता समस्या समाधान गर्न सकिन्छ।” उनले अन्य स्थानीय तहहरूलाई पनि यस्ता उदाहरणबाट प्रेरणा लिन आह्वान गरे।

पानी वितरणपछि श्रीपुर नयाँ बस्तीका स्थानीयहरू खुसी भएका छन्। उनीहरूले गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन्। स्थानीयको सद्भाव र धन्यवादप्रति प्रतिक्रिया दिँदै जगरनाथपुर गाउँपालिकाले पनि हार्दिक आभार प्रकट गरेको छ।

पानी वितरण कार्य एकपटकमा सीमित नहोस् भन्ने माग पनि उठेको छ। स्थानीय बासिन्दाहरूले यस किसिमको राहत कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन्। “हामीलाई यस्तो सहयोग बारम्बार चाहिन्छ, जबसम्म पानी आपूर्ति नियमित हुँदैन,” एक स्थानीय महिलाले भनिन्।

संकटको बेलामा स्थानीय तहबीचको यस्तो सहकार्यले सामाजिक एकता र सहनुभूतिको सन्देश दिनुका साथै सङ्कट व्यवस्थापनमा पनि प्रभावकारी भूमिका खेलेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here